२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

'हिरो' र 'कलाकार' दुवै बन्न चाहन्छन् प्रदीप

'पहिला सधैं फिल्म बन्नुपर्छ र प्रदर्शन हुनुपर्छ भन्ने मात्रै सोचें'
रीना मोक्तान

काठमाडौँ — अभिनय नै सिकेर/पढेर फिल्म क्षेत्रमा आएका होइनन्, प्रदीप खड्का । एमबीए गरेका उनलाई फिल्म बन्नु र प्रदर्शन हुनु नै महत्त्वपूर्ण लाग्थ्यो । यस्तै पहिरन बदल्नु नै प्रदीप खड्काका लागि नयाँ चरित्र हुन्थ्यो । डाक्टरको भेष पहिरिँदा डाक्टर । गितार बोक्दा गायक । सेनाको पहिरनमा सेना । 

'हिरो' र 'कलाकार' दुवै बन्न चाहन्छन् प्रदीप

तर, एक दिन डाक्टर भेषमा जड्याहा चरित्र निभाएको फिल्म हेरिसकेपछि उनलाई पात्र भनेको पहिरन वा पेशा होइन रहेछ भन्ने भान भयो । त्यसपछि भने उनमा अभिनय सिक्ने हुटहुटी पैदा भयो ।

'कपाल पाल! हिरो बनाइदिन्छु' भनेकै भरमा फिल्ममा प्रवेश गरेका प्रदीपका लागि त्यतिबेला पर्दामा देखिनु ठूलो थियो । त्यहीमाथि एकपछि अर्को 'हिरो' बन्ने अफरले उनी हौसिएका थिए । आफैंले लगानी गरेको पहिलो फिल्म 'स्केप' फ्लप भए पनि 'प्रेमगीत'ले चर्चा कमाएपछि उनको यात्रा सहज बन्दै जान थाल्यो । 'प्रेमगीत २', 'रोज', 'लिलिबिलि', 'लभ स्टेसन' लगायतमा कस्तो चरित्र गर्दैछु भन्ने मतलब उनलाई थिएन । लगातार प्रमुख भूमिका पाउनुमै आफ्नो सफलता देख्थे ।

प्रदीप आफ्नो कामको मूल्यांकन गर्छन्, 'म कहिल्यै चरित्रमा राम्रो काम गर्नुपर्छ भन्नेतिर लागिनँ । सधैं फिल्म बन्नुपर्छ अनि प्रदर्शन हुनुपर्छ भन्नेतर्फ मात्र लागें ।'

आफू सन्तुष्ट भए पनि उनी अभिनित फिल्मको समीक्षा आइदिन्थ्यो- 'गुदी नभएको', 'प्याकेजिङ मात्र', 'तरकारीमा नुन नपुगेको' ।

यस्ता समीक्षाले पनि 'अभिनय सिक्नुपर्छ' भन्ने अनुभव गराएको प्रदीप सुनाउँछन् । 'कुनै समीक्षा सुधार गर्नुपर्छ भन्ने विचारसहित आउँथे भने कुनै पूर्वाग्रहसहित । कुनै परिचालित पनि हुन्थे । तर, मलाई कुनै बेला किन यस्तो लेखेको होला ? हामीले आफ्नोतर्फबाट मेहनत गरेका हौं भन्ने लाग्थ्यो,' उनले सुनाए, 'उहाँहरूलाई मबाट केही आशा रहेछ, मैले उहाँहरूले मनपराउने खालका काम पनि गर्नुपर्छ । साथै, मैले गरेको फिल्मले यो क्षेत्र कता जाने भन्ने कुरालाई डोर्‍याउँछ भने म सजक भएर काम गर्छु भनेर ग्रोथ खोज्न थालियो ।'

समीक्षकलाई मन पर्ने किसिमका फिल्म गर्ने सोच आइसकेपछि कसरी अगाडि बढ्ने भन्ने तयारी भने थिएन । त्यही समयमा एक दिन निर्देशक दिनेश राउत र विकास सुवेदीसँग उनको भेट भयो । त्यो भेट नयाँ प्रोजेक्टका लागि थियो ।

विकासले आफूसँग भएको फिल्मको आइडिया सुनाउने क्रममा 'प्रकाश'को वानलाइन पनि चुहाइदिए- 'विद्रोहबाट आएको एउटा सत्ताले अर्को विद्रोह निम्त्याउँदै छ' । 'प्रकाश' फिल्मको यो आइडिया सुन्नेबित्तिकै प्रदीपलाई मन पर्‍यो ।

विकास र दिनेशलाई भने, 'मलाई आइडिया मनपर्‍यो । यसमा काम गरौं । एउटा फिल्मले भविष्यवाणी गर्न सक्छ भने त्योभन्दा ठूलो उपलब्धि के हुन्छ ?'

त्यसपछि कथा लेखन अगाडि बढ्यो । दुई ड्राफ्टपछि स्क्रिप्ट सुने । चरित्र त जुम्लाको थियो । म्युजिक भिडियोको कामले केही दिनका लागि जुम्ला पुगे पनि नजिकबाट नियाल्ने मौका उनलाई मिलेको थिएन । खेत जोतेको अनुभव पनि प्रदीपसँग थिएन । त्यसमाथि जुम्ली भाषा बोल्न पनि नआउने । उनको तनाव बढ्यो । प्रदीप फिल्म नगर्ने निर्णय पुगे ।

'यो फिल्ममा म फेल भएँ भने मलाई व्यक्तिगत रुपमा खासै फरक पर्दैन । तर त्यसले लेखक, निर्देशकको मिहिनेत र निर्माताको पैसा फेल हुन्छ । म कमजोर भएँ भने बाँकी ५०/५५ जनाको मिहेनत खेर जान्छ । स्क्रिप्टमा शंका लागेर फिल्म छोडेको गलत सन्देश गयो भने प्रदीपले नै अभिनय गर्ने कन्फिडेन्ट नभएर छोडेको हो भनिदिनुस् भनदिएँ,' प्रदीपले सुनाए, 'मलाई फिल्म फेल हुने भार बोक्न मन थिएन । मेरो कारणले निर्माताको पैसा डुबेको सुन्न चाहन्न थिएँ । तर, निर्देशकले मलाई विश्वास छ तिमीले गर्न सक्छौ भन्नुभयो ।'

फिल्म नगर्ने कुरा गरिसकेपछि निर्देशक राउतले नै प्रदीपलाई अभिनय सिक्न सुझाए । त्यसपछि नै हो, अभिनयका गुरु अनूप बरालसँग अभिनय सिक्न प्रदीप पोखरा पुगेको ।

अभिनयको कक्षापछि भने अहिलेसम्म आफूले अभिनयलाई कति सहज ठानेको रहेछु भन्ने भान उनलाई गरायो । 'एउटा फुटबल खेलाडी वर्षौं दौडिरहेको हुन्छ । संगीतकार दैनिक साधना गरिरहेको हुन्छ । तर कलाकारका हिसाबले मैले के गरें त ? न मैले डान्स, फाइटिङ अथवा अभिनय कक्षा लिएँ । अभिनेताका रुपमा मैले यस्तो कुरा गरिनछु । कक्षा लिइसकेपछि झनै मिहिनेत गर्नपर्छ भन्ने भयो,' प्रदीपले भने ।

तीन महिना मात्रै अनूपसँग अभिनय सिकिसकेपछि फिल्मका लागि प्रदीपले अडिसन दिए । त्यतिन्जेल कास्टिङ निर्देशकमा अनूप फिल्ममा जोडिसकेका थिए । निर्देशकदेखि कास्टिङ निर्देशकलाई भरोसा दिलाउन अडिसन दिएको प्रदीप सुनाउँछन् ।

'‍उक्त चरित्रका लागि मेरो प्रस्तुति त्यो तहमा देखिएन भने अन्य कलाकारलाई लिने भनेर २/४ जना स्ट्यान्डबाई नै थिए,' प्रदीपले भने । अडिसन दिनुअगावै प्रदीपले फिल्मको सम्झौता गरिसकेका थिए । एडभान्स रकम पनि लिइसकेका थिए ।

'त्यसो भए अरुलाई देखाउनलाई मात्रै अडिसन गर्नुभएको ?' भन्ने प्रश्नमा उनले भने भने, 'मेकरलाई कन्फिडेन्ट दिनका लागि अडिसन दिएको हुँ । अडिसनपछि तपाईं त्यो चरित्रमा फिट हुन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।'

एउटै किसिमका चरित्रमा दर्शकले मनपराइदिँदा कलाकार पनि त्यही चरित्र चित्रणमै अड्किन्छन् । प्रदीप पनि लभस्टोरी फिल्ममै सीमित भएका थिए । फिल्मकर्मीले उनलाई नयाँ चरित्रमा खासै विश्वास नै गर्न चाहेनन् भने पनि हुन्छ ।

नयाँ चरित्रका लागि कलाकारले अडिसन नदिँदा पनि उनीहरू एउटै किसिमको चरित्रमा अड्किने गरेको प्रदीप तर्क गर्छन् । 'नयाँ चरित्रमा हामीलाई विश्वास नगर्ने कारण त शायद फिल्मकर्मी त्यो जोखिम मोल्न पो चाहँदैनन कि ! अर्को त कलाकारले पनि फरक चरित्रमा अडिसन दिने जोखिम मोल्दैनन्,' उनले भने, 'कलाकारले जोखिम लिन नखोजेपछि दर्शकले जे कुरामा मन पराइदिएका छन्‚ त्यस्तै चरित्र दोहोरिने हो ।'

अडिसनपछि छनोट हुने/नहुने विषयलाई महत्त्व दिनुभन्दा पनि चरित्रमा आफू फिट भइन्छ कि भइँदैन भन्ने निर्क्यौल गर्न अडिसन दिनुपर्ने प्रदीप बताउँछन् । 'त्यसैले अडिसनका लागि कलाकार खुला हुनुपर्छ । त्यसपछि फिल्मकर्मी पनि नयाँ चरित्र दिन तयार हुन्छन्,' उनले भने, 'अडिसनमा बोलाएर मलाई कम आँकेको भन्न थालियो भने कलाकारले कहिल्यै पनि नयाँ चरित्रमा कन्फिडेन्ट देखाउन सक्दैन ।'

लामो समय टिक्न -अभिनय सिक्नुपर्छ

अहिलेसम्म गरेका फिल्महरुले प्रदीपलाई 'स्टार'को ट्याग दिइसकेको छ । उनको फ्यान लाखौंमा छन् । फिल्महरू लगातार पाइरहेकै थिए । बजारमा उनी अभिनित फिल्मको चर्चा पनि राम्रै हुन्थ्यो । चाहे त्यो सकारात्मक होस् या नकारात्मक । तर, आफूले गर्दै आइरहेको फिल्मले लामो समय टिकाउँदैन भन्ने प्रदीपलाई थाहा थियो । त्यसैले आफूले अभिनय सिकेको प्रदीप सुनाउँछन् ।

'हामी मानव जाति विकसित हुँदै जाने भएर नै अहिलेको अवस्थामा आइपुगेका हौं । कलाकारका हिसाबले म विकसित भइन, परिस्थितिअनुसार परिवर्तन भइन भने म पनि उस्तै रहन्छु । आउटडेटेड हुन्छु । म परिस्थितिअनुसार परिवर्तन हुँदै जानुपर्छ, अपडेट हुँदै जानुपर्छ यदि टिक्ने हो भने । यहि कुरामा म प्रस्ट थिएँ,' प्रदीप परिपक्व सुनिए, 'कलाकारका हिसाबले अब कहीँ न कहीँबाट सुरु गर्नुपर्‍यो । सिकेरै हो सुरु गर्ने भनेर अगाडि बढें । सिक्न छोड्न हुँदैन, परिवर्तन हुँदै जानुपर्छ भन्ने कुरा हो ।'

फिल्म करिअरको यो छोटो यात्रामा आफूले कमाएको परिचय प्रदीप गुमाउन चाहँदैनन् । त्यही परिचय जोगाउनकै लागि उनमा फरक काम गर्नुपर्छ भन्ने आत्मबोध भएको हो ।

'फिल्ममेकिङ त संसारको एक उत्कृष्ट पेशा हो । यहाँ धेरै मनिसहरू भेट्न पाइन्छ । अलग-अलग चरित्रमा बाँच्न पाइन्छ । अलग-अलग ठाउँमा जान पाइन्छ । दर्शकको माया पाइन्छ । पहिचान पनि पाइन्छ,' उनले भने, 'अहिलेको संसारमा सबै जना त्यही पहिचानको खोजीमा छन् । त्यसलाई कतिले सामाजिक सञ्जालमा खोज्नुहुन्छ । त्यसैको खोजीमा समाज नै बिरामी हुन थालेको छ । त्यस्तो अवस्थामा यो व्यापक पहिचान पाउनु त मेरो लागि गर्वको विषय हो । अहिलेसम्म मैले जति पाएँ, मैले पाउनेभन्दा बढी पाएँ भन्ने लाग्छ ।'

हिँडेरै बिजुलीबजार,त्रिपुरेश्वर, एकान्तकुना

'प्रकाश'को प्रदर्शन नजिकिँदै जाँदा प्रदीपले खाली खुट्टा घरदेखि बिजुलीबजार, त्रिपुरेश्वरसम्म हिँडेका कुरा खुबै चर्चामा आएको थियो । उनका गुरु अनूपले नै एउटा अन्तर्वातामा यो प्रसंग उठाएपछि चर्चा झनै चुलिएको हो ।

खासमा प्रदीपलाई फिल्मको लागि वजन घटाउनु थियो । २/३ दिन गाडीबाट जिम जाने गरेपछि उनलाई लाग्यो, 'गाडीबाट जिम जानु त, लिफ्ट चढेर ट्रेडमिलमा हिँडेको जस्तो भयो । ट्रेडमिलमा हिँड्न जाँदा भर्‍याङ चढेरै जाँदा भयो नि !'

त्यसपछि प्रदीपले एकान्तकुनादेखि बिजुलीबजारमा रहेको वर्कसपसम्म हिँड्ने सोचे । हिँडेरै पुगे त्रिपुरेश्वरमा रहेको जिमखाना पनि । गुरु अनूपले त्यो कुरालाई नियालेका रहेछन् । एक दिन अनूपले नै प्रदीपलाई उक्त हिँडाइलाई चरित्र निर्माणका लागि प्रयोग गर्न सुझाए ।

'गाउँले केटा जसरी भीरपाखामा खाली खुट्टा दौडिरहेको हुन्छ; त्यसरी आफूलाई तयारी गर भन्नुभयो । त्यसपछि मैले निरन्तर खाली खुट्टा हिँड्न थालें । हिलो भएको ठाउँमा चप्पल लगाउँथे । त्यसरी हिँड्दा म अरुको हिँड्ने शैली नियाल्थें । त्यतिबेला यो कुरा चर्चामा आउला भनेर सोचिनँ,' प्रदीप सुनाउँछन् ।

क्याप, मास्क लगाएर यसरी हिँड्ने क्रममा अरुले खासै नचिनेको प्रदीप सुनाउँछन् । 'मेरो शरीरको बनोट अन्यका झैं कमन छ । म त्यस्तो अग्लो पनि छैन । म सबैतिर मिल्छु । यसरी १५/२० दिन हिँडें । फिल्ममा फरक बडी ल्याङ्ग्वेज देखियोस् भनेर बाटोमा अभ्यास गर्दै हिँड्थे । अरुले मलाई नोटिस गरे कि गरेनन् यादै गरिनँ । तर, म आफ्नै सुरमा हिँड्थे,' प्रदीपले भने ।

यसबीच प्रदीपले आफू अहिलेसम्म हिरो भई काम गरेको अब कलाकार बन्न चाहेको बताउँदा त्यो अभिव्यक्तिलाई धेरैले उडाए । त्यसलाई लिएर सामाजिक सञ्जालमा ट्रोल नै भयो‚ 'म पहिला विद्यार्थी थिएँ, अब स्टुडेन्ट बन्छु; म पहिला युएसए गएको थिएँ, अब अमेरिका जान्छु‚' आदि ।

त्यस्ता कमेन्ट देखेपछि भने प्रदीपलाई ट्रोल गर्नेहरुले हिरो र कलाकारबीचको फरक बुझेछन् भन्ने भयो । समाज कति 'जजमेन्टल' छ भन्ने कुरा उनले त्यसैमा देखे ।

'मैले भनेको कुरामा जतिले कमेन्ट गर्दै जज गर्नुभयो त्यो उहाँहरुको कुरा हो । तर त्यो पोस्टमा धेरै त १९/२० वर्षका थिए । मैले त्यसलाई इग्नोर गर्न सक्थें । तर अहिले हाहा गरेर बित्यो भने जिन्दगीले भोली हाहा गर्छ भन्ने सन्देश दिनुपर्छ भन्ने जिम्मेवारी बोध भयो । कति कुरालाई गम्भीर लिनुपर्छ भनेर नवाजुद्दिन सिद्दिकीले हिरो र कलाकारको फरक छुट्याएर बोलेको कोट स्क्रिनसट गरेर राखिदिएँ,' प्रदीप भन्छन्, 'गलत अर्थ ननिकाल्ने हो भने सायद ठिकै कुरा गरेजस्तो लाग्छ । फिल्मको हिरो त भइहाल्यो, सबै क्षेत्रमा हिरोहरु हुन्छन् । फिल्मको हिरो पनि हिरै हो, अन्तिममा बचाउन आउने । तर, त्यसरी बचाउन नसक्ने पनि त पात्र हुन्छन् । आफ्नो परिवारलाई बचाउन नसक्ने दयनीय पात्र हुन्छ नि त । त्यस्ता चरित्रलाई हिरो भन्न मिलेन ।'

२० वर्षको उमेरमै 'स्केप' नामक फिल्ममा लगानी गर्दै 'हिरो' बनेका प्रदीप थप्छन्, 'म जहिल्यै 'प्रकाश'जस्तो चरित्र खोज्दै हिँड्छु भन्ने होइन । दर्शकले मलाई प्रेमगीत र लिलिबिली जस्ता चरित्रमा रुचाइदिनु भएको छ, म त्यस्तो पनि गर्छु । चरित्रमाथि आधारित फिल्म गर्न सकें भने पनि गर्छु ।'

प्रकाशित : श्रावण ५, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?