कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पर्दा पछाडि

'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो]

जसले राजेश हमालदेखि अनमोल केसीलाई समेत चिया खुवाएका छन्
रीना मोक्तान

काठमाडौँ — उनी मिठो चिया बनाएर खुवाउँछन् । चिया मात्रै होइन, कलाकारलाई खाना/नास्ता खुवाउने अनि छाता ओढाउने जिम्मा उनकै हुन्छ । छायांकन स्थललाई चिटिक्क पार्न होस् या प्राविधिक सामग्री बोक्न, उनकै खाँचो पर्छ । हरबखत कलाकार, निर्देशकको अगाडि तम्तयार भएर खडा हुनुपर्छ ।

'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो]

बिहानदेखि रातिसम्म सेटमा सहयोगीका रुपमा खट्ने पुराना 'स्पटब्वाई' हुन्, राजु फुयाँल । राजुले ३० वर्ष फिल्म क्षेत्रमा बिताइसके । उनी सँगैका केही समकालीन स्पटब्वाई हुँदै निर्देशक, छायांकार बने । तर, निर्देशक बन्ने उनको सपना पढाइकै कारण पूरा हुन सकेन । निर्देशक बन्ने सपना कसैले कोट्याइदिए उनीसँग एउटै जवाफ हुन्छ, 'डाइरेक्टर बन्ने मन त थियो । तर, आमाबुबाले पढाइदिएनन् । गरिब परिवार भएर सपना पूरा गर्न सकिएन।'

राजु सानैमा आमासँग काठमाडौं आए । अर्काको घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर्न थाले । त्यो कामले उनलाई गुजारा चलाउन नै ठिक्क थियो । राजुले पढ्न पाएनन् । काम नजान्दा उल्टै कुटाइ खाएको सम्झन्छन् राजु । त्यसै क्रममा 'रोमा दिदी'सँग उनको भेट भयो । रोमाले नै निर्देशक शम्भु प्रधानको घरमा काम गर्न सल्लाह दिइन् । निर्देशकको घरमा काम गरेपछि फिल्ममा देखिन पाइन्छ भन्ने आसा थियो । तर शम्भुको घरमा काम गरेको एक वर्षमै उनी बने -'स्पटब्वाई' ।

'काठमाडौं आउनुअघि म गाउँमा घाँस, दाउरा गर्थें । सानैदेखि दु: ख पाएँ । तर, काठमाडौंको डिल्लीबजारमा एक दिन रोमा दिदीलाई भेटें । दिदीले शम्भु प्रधानकहाँ भाँडा माझ्न जाने हो ? कलाकार बन्न पाइन्छ भन्नुभयो । निर्माताको घरमा बसेपछि फिल्म लाइनमा जान पाइन्छ भन्ने लाग्थ्यो । रोमा दिदीले गर्दा नै म यो फिल्म क्षेत्रमा आएँ,'राजु पुराना दिन सम्झन्छन् ।

हुन त शम्भुको घरमा काम गर्न बस्दा राजु धेरै कलाकारलाई चिन्थेनन् । तर, राजेश हमाल कस्तो होला ? भन्ने जिज्ञासा मनमा उब्जन्थ्यो । उनले शम्भुको घरमा दुई वर्ष काम गरे । तर, एक वर्ष नहुँदै फिल्ममा 'स्पटब्वाई' बन्न पाए । 'सम्पत्ति'को छायांकन स्थल नै 'स्पटब्वाई' करिअरको पहिलो खुड्किलो बन्यो । फिल्मका निर्देशक थिए उनै शम्भु । शम्भु कलाकारलाई कुर्सी लगिदिन भन्थे, राजु त्यसै गर्थे । सेटमा गाली पनि खान्थे । तर, पहिलो पटक अर्जुन श्रेष्ठ, मौसमी मल्ललाई आफ्नै हातले पकाएको चिया खुवाउँदाको आनन्द अझै उनको अनुहारमा झल्किन्छ । 'पहिलो पटक चिया बनाएको त्यतिबेलै हो । उहाँहरू दुवैले चिया मिठो छ भन्नुभएको थियो,' त्यसबेलाको क्षण सम्झँदै उनले भने ,'कलाकार कस्तो होलान् भन्ने लाग्थ्यो । अहिले खासै केही लाग्दैन ।'

पहिलो पटक सेटमा छिर्दा चिया पकाउन पनि जान्दैनथे, राजु । आनन्दबहादुर गुर्माछाने 'नन्दु'ले उनलाई चिया पकाउन सिकाए । राजु नन्दुले 'गाउँले' फिल्मको छायांकनमा आफूलाई चिया पकाउन सिकाएको सुनाउँछन् । पहिलो फिल्मपछि राजुले ‍अरुका घरमा काम गर्नु परेन । 'स्पटब्वाई'को रुपमा उनको डिमान्ड बढ्न थाल्यो । झन्डै २ सयभन्दा बढी फिल्ममा 'स्पटब्वाई' बनिसकेका राजु आफूले गरेका फिल्महरूको मनपर्ने सूचीमा 'सम्पत्ति', 'सुख–दु:ख', 'हामी तीन भाइ' र 'सक्कली–नक्कली'को नाम लिन छुटाउँदैनन् । पछिल्लो समय 'छक्का–पञ्जा', 'नाइँ नभन्नु ल–५', 'ए मेरो हजुर–४' र 'लाखे'मा काम गरेका राजु कलाकारले आफ्नो चियाको खुबै तारिफ गर्ने बताउँछन् । 'राजेश दाइले राजुको हातको चिया खाइदिउँ न त भन्नुहुन्थ्यो । राजु पनि पुरानो म पनि पुरानो भन्नुहुन्थ्यो,' उनले मुसुक्क हाँस्दै सुनाए । राजेश हमालदेखि अनमोल केसीसम्मलाई चिया खुवाएका राजु आफूले अधिकांश कलाकारसँग काम गरिसकेको दाबी गर्छन् । 'सबै कलाकारसँग काम गरेको छु । मलाई सबैले माया गर्नुहुन्छ । सबले राजु यता आऊ, यो गर्देऊ भनेर मलाई नै सम्झनुहुन्छ । राजुले कति काम गर्छ भन्नुहुन्छ । राजु फुयाँलले बनाएको चिया कसैले नमिठो भन्दैन,'उनले भने,'खासमा मलाई चिया बनाउँदा सफा सुग्घर चाहिन्छ । चियाको भाँडा पनि सफा नै चाहिन्छ ।'

कलाकारको बीचमा रमाइलो-नरमाइलो :

पर्दामा देखिने कलाकारको बीचमा काम गर्दा बाल्यकालमा आफूले भोगेको दु:ख बिर्सन्छन्, राजु । सेटमा जति दु:ख गर्नुपर्दा पनि उनी हाँसेर गरिदिन्छन् । त्यसैले अभिनेत्री झरना थापाले दिने एउटा प्रतिक्रिया उनी कहिल्यै भुल्दैनन् । 'झरना दिदीले यो राजु त रिसाउँदा पनि रिसाउँदैन, हाँसेको हास्यै देख्छु भन्नुहुन्छ । दीपाश्री निरौला दिदीले पनि त्यस्तै भन्नुहुन्छ । म पनि कलाकारको बीचमा काम गर्दा सानो बेलाको दु:ख बिर्सन्छु । त्यो बिर्सँदा अनुहारमा हाँसो छाउँछ । राजु फुयाँलले बनाएको चिया खाउँखाउँ लाग्छ भन्छन् कलाकारहरू पनि,'कलाकारका प्रतिक्रिया सम्झँदै हाँस्न थाले उनी ।

दर्शकले नजिकबाट देख्न नपाएका कलाकारका माझ काम गर्ने 'स्पटब्वाई'का दु:ख कम्तीको हुँदैन । कतै डाँडामा फिल्मको छायांकन गर्नुपर्‍यो भने त्यहाँसम्म क्यामेरादेखि छायांकनका सामग्री 'स्पटब्वोइ'ले नै बोक्नुपर्छ । पानी नपाउने ठाउँमा पानी खुवाउने जिम्मा उनीहरूकै हुन्छ । 'कलाकारलाई छाता ओढाउने, सेटमा कुचो लगाउने । कलाकारले खाए/खाएनन् हेर्ने । तीन पटक चिया बनाएर खुवाउने । कुनै घरमा सुटिङ भइरहेको छ भने टेबल पुछ्नुपर्छ । अलिअलि गल्ती भयो भने लास्टै गाली गर्छन् डाइरेक्टरले,' उनले हाँस्दै आफ्ना जिम्मेवारी सुनाए,'कलाकारहरू भोकै भए भने पनि स्पटब्वाईले नै गाली खान्छ । कलाकारले पानी पिउन पाएनन् भने पनि हामीलाई नै गाली गर्छन् । गाली हाम्रै थाप्लोमा हुन्छ ।' 'काली'को सेटमा कुर्सी समयमा नपुर्‍याउँदा रेखा थापाको गाली खानुपरेको उनलाई हिजोजस्तै लाग्छ । जल शाहको पहिरन नमिलेको निहुँमा दयाराम दाहालले चिया हुर्‍याइदिएको उनले बिर्सेका छैनन् ।

सेटमा हरबखत अस्तव्यस्त हुने भएर होला राजुलाई काम गर्दाका खासै रमाइलो क्षण याद रहेनछ । तर, 'मारुनी', 'नाइ नभन्नु ल–५', 'छक्का पञ्जा'मा खुसी हुँदै काम गरेको रमाइलो अनुभव उनीसँग छ । 'एउटै परिवार भएर काम गर्दा रमाइलो भइहाल्छ नि । घरको परिवारले त हेप्दैनन् नि । पहिला त कति दु:ख गरियो । हामी त सानो तहको काम गर्छौं, त्यसैले कतिले हेप्थे । नहेप्नेहरू पनि हुन्थे,' अनुहार मलिनो बनाउँदै उनले सुनाए । कामकै आधारमा हेला गर्न खोज्नेहरूलाई अहिले राजुको प्रश्न छ, 'स्पटब्वाईलाई हेपे, चिया पकाएर कसले खुवाउँछ । सफा गरभन्दा स्पटब्वाईले सफा गर्दिएनन् भने ?'

उनीसँगैका 'स्पटब्वाई' दयाराम दाहाल निर्देशक हुँदै चलचित्र विकास बोर्डको अध्यक्ष बने । 'पाहुना' फिल्ममा उनले नै काम सिकाउन ल्याएका हरि हुमागाईं छायांकार बनेको देख्दा राजु आफू निर्देशक हुन नपाएकोमा थकथकी मान्छन् । पर्दामा देखिने कलाकारहरू त कार चढ्छन् । उनीहरूकै चर्चा चुलिन्छ । तर, पर्दा पछाडि काम गर्ने उनीजस्ता प्राविधिकहरूलाई कमैले चिन्छन् । आफूहरूले कलाकारको दाँजोमा निकै कम पारिश्रमिक पाउने गरेको गुनासो उनको छ । त्यही पारिश्रमिक पाउन पनि बारम्बार धाइरहनु परेको उनको समस्या अन्य प्राविधिकको भन्दा फरक छैन ।

'समयमा पारिश्रमिक दिँदैनन् हामीलाई । काम सकिसकेको हुन्छ । तर, पारिश्रमिक माग्दा भोलि आइज, पर्सी आइज भन्छन्,'फिल्महरूको नाम नखुलाउने सर्तमा उनले आफ्नो समस्या पोखे,'कलाकारको पारिश्रमिक घटाएर स्पटब्वाईलाई अलि बढी थपिदिनुपर्ने हो । दैनिक १५ सय दिए पनि राम्रो हुन्थ्यो, तर हामीलाई दिनको हजार नै दिइन्छ । राम्रो बजेट छ भने मात्र १५ सय पाउँछौं । बढाइदेऊ भन्दा बढाइदिँदैन । जति रोइकराइ गर्दा पनि बढाइदिँदैनन् । कलाकारहरूलाई १० लाख, २० लाख दिन्छन् हामीलाई त त्यही हजार ।'

दैनिक ज्यालादारीमै भर पर्ने हुँदा पहिलो लकडाउनमा उनलाई परिवार पाल्न हम्मेहम्मे भयो । 'धेरै गाह्रो भयो नि त्यतिबेला । मैले परिवारलाई कसरी खुवाएँ होला ? मलाई दु:ख भयो भन्ने थाहा पाएपछि प्राविधिक संघले चामल पुर्‍याउन आउनुभयो । नीता ढुंगाना, दीपाश्री निरौला, दिनेश डिसीले पनि चामल दिनुभयो,'उनले सुनाए,'पहिलो लकडाउनमा त के गरौं, के भनौं भएको थियो । छोरो पनि बिरामी । पछि दीपा दिदीले पाँच हजार दिनुभयो । विकास सरले पनि पैसा दिनुभयो । धेरै प्राविधिकलाई खान गाह्रो परेको थियो ।'

समयमै पारिश्रमिक नपाउँदा राजुलाई 'पैसा नदिनेहरूबारे पत्रिकामा समाचार छपाइदिएर फिल्म लाइन नै छोड्ने' झोंक पनि चल्दो रहेछ । भन्छन्,'कहिलेकाहीँ त धेरै रिस उठ्छ । दुनियाँलाई चिया पकाएर खुवाउनुपर्छ । कलाकारहरू उभिएको देख्यो भने डाइरेक्टरले कम कराउँछ ? कुर्सी दिनु पर्दैन भन्छन् । बिहान ६ देखि रातको ७ बजेसम्म काम गर्छौं हामी, हाम्रै पारिश्रमिक बढ्दैन ।'

प्रकाशित : असार ३२, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?