कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
पर्दा पछाडि

उत्तमको उपलब्धिबारे अन्जान फिल्म क्षेत्र [भिडियो]

'हामीकहाँ फिल्म लक भइसकेपछि मिक्सिङका लागि ल्याइन्छ । त्यसअघि साउन्डको अन्य प्रक्रिया हुन्छ भन्ने पनि फिल्मकर्मीले बुझ्दैनन् । फिल्म मिक्सिङमा जानुभन्दा अगाडि डिजाइनमा जानुपर्छ । '
रीना मोक्तान

काठमाडौँ — 'पिक्चर लक' भइसकेपछि मात्र साउन्ड डिजाइनर/मिक्सर उत्तम न्यौपाने कहाँ आइपुग्छन्, निर्देशक/निर्माता । त्यतिञ्जेल फिल्मको प्रदर्शन मिति नजिकिसकेको हुन्छ । विदेशतिर बिक्री हुन थालिसकेपछि त फिल्मकर्मीलाई फिल्म सकाउनै हतार । त्यसैले छोटो समयमै उत्तमले ध्वनिको काम सक्नुपर्छ ।

उत्तमको उपलब्धिबारे अन्जान फिल्म क्षेत्र [भिडियो]

पोस्ट प्रोडक्सनमा अधिकांश फिल्महरु यही हतारोमा आइपुग्छन् । उनीहरु बिर्सन्छन् फिल्मको आधा काम पोस्ट प्रोडक्सनमै हुन्छ भन्ने । कथ्य शैलीमा ध्वनि सशक्त पाटो हो भन्ने फिल्मकर्मीले नबुझिदिँदा साउन्ड डिजाइनर आफ्नो काममा संवेदनशील बन्न नसकेको अनुभव छ उत्तमसँग ।

'एउटा फिल्ममा साउन्डको काम गर्न तीन महिना लाग्छ । तर हामीले एक महिनामा सक्नुपर्छ । हामीकहाँ साउन्डको डिपार्टमेन्ट हुँदैन, एक्लैले सबै काम गर्नुपर्छ । फोली रेकर्ड गर्न घण्टौं लाग्छ । समय दिएर काम गर्‍यो भने राम्रो नतिजा निस्कन्छ,'उत्तमले भने,'हामीकहाँ फिल्म लक भइसकेपछि मिक्सिङका लागि ल्याइन्छ । त्यसअघि साउन्डको अन्य प्रक्रिया हुन्छ भन्ने पनि फिल्मकर्मीले बुझ्दैनन् । फिल्म मिक्सिङमा जानुभन्दा अगाडि डिजाइनमा जानुपर्छ । डायलग, साउन्ड इफेक्ट सम्पादन गर्नुपर्छ भन्ने कुराहरु विस्तारै थाहा हुँदैछ । तर, त्यो बुझ्ने पनि सीमित फिल्मकर्मी छन् ।'

जब डायलग रेकर्डिङसहित सम्पादित फिल्म स्टूडियोमा आइपुग्छ । साउन्ड डिजाइनरले दृश्यपिच्छे साउन्ड रेकर्डिङ सुरु गर्छ । कलाकारको हिँडाई, कपडाको आवाज सबैका लागि फोली रेकर्डिङ हुन्छ । त्यसपछि साउन्ड इफेक्टको लाइनअप अनि एम्बियन्स प्रयोग गरिन्छ । डायलगदेखि रुम टोनलगायतका चरणबद्ध प्रक्रियामा ध्वनिको काम हुन्छ । ध्वनिले दृश्यले बोल्न खोजेको कुरालाई मात्रै होइन दृश्यको अनुपस्थिमा पनि एक पात्रलेझैं बलियो भूमिका निभाउने उत्तम बताउँछन् । 'निर्देशकले कुनै दृश्य खिच्न छुटाएको छ भने के गर्ने ? साउन्डमार्फत त्यसलाई प्रस्तुत गर्छौं हामी,'उनले भने,'हुन त फिल्म श्रव्यदृश्यको माध्यम हो । तर, दृश्य नहुँदा पनि त मानिस रेडियो नाटकमा रमाउँथे नि । त्यसैले साउन्डको महत्त्व अर्थाउँछ । साउन्ड फिल्मका लागि एकदमै महत्त्वपूर्ण पक्ष हो । अडियोमार्फत दृश्यलाई अझै विश्वासिलो बनाइउन सक्छौं ।'

तस्बिरहरू : दिपेन्द्र रोक्का/कान्तिपुर

निर्माणको सुरुवातदेखि नै साउन्ड डिजाइनरलाई फिल्ममा समावेश गर्ने अभ्यास नेपालमा छैन भन्दा पनि हुन्छ । ध्वनिमार्फत पनि कथा वाचन गर्न सकिन्छ भन्ने बुझेका फिल्मकर्मी औंलामा गन्न सकिने छन् । प्रदर्शनको तयारीमा रहेको 'प्रकाश'को छायांकनका क्रममा उत्तमले सुरुदेखि नै सिंक साउन्डमा काम गरे । 'प्रसाद २'मा पनि सिंक साउन्डका लागि उनी निर्माण टोलीसँग छायांकनमै पुगिसके ।

हुन त ८० बढी फिल्म पोस्ट प्रोडक्सनमै आएपछि उत्तमले त्यसमा काम गरे । कति फिल्मलाई हतारमै सक्नु पर्‍यो । तर, त्यसमध्ये 'बुलबुल', 'ददिया'जस्ता केही फिल्ममा मात्र चित्तबुझ्दो काम गर्न पाए । त्यसैले सन् २०१९ यता आफूले हतारमा फिल्म गर्न छोडिदिएको बताउँछन् उत्तम । 'त्यतिबेला गरेका धेरै काम बिग्रियो । त्यसमा म फिल्मकर्मीलाई दोष दिदिँन । त्यसबाट पाठ सिकियो । तर अहिले मसिनजस्तो काम गरेर हुँदैन, संवेदनशिल हुनुपर्छ भन्ने लागेर छनोट गरेर मात्रै काम गर्न थालेको छु । छोटो समयमै फिल्म सक्नुपर्छ भन्ने प्रोजेक्टलाई 'नो' भन्न पनि सिकियो,' उत्तमले आफ्नो अनुभव सुनाए,'सायद हामीले पनि साउन्डको महत्त्वबारे फिल्मकर्मीलाई बुझाउन सकेनौं । अब संख्यात्मक भन्दा पनि नतिजा राम्रो निकाल्न सक्ने गरी काम गर्नुपर्छ भन्ने भएको छ ।'

ध्वनि सिर्जनशील मात्र नभइ प्राविधिक पक्ष पनि हो । त्यसैले ध्वनिको प्राविधिक चुनौतीहरु समेट्दै काम गर्नुपर्ने हुँदा साउन्ड डिजाइनिङमा समय धेरै लाग्छ । त्यसैले साउन्ड मिक्सिङ, डिजाइन हतारमा गर्न नहुने बताउँछन् उत्तम । 'हामी कलाकारलाई मात्रै पात्र सोच्छौं । तर कहिलेकाहीँ पात्रले प्रयोग गरेको गाडी नै पनि पात्र हुन सक्छ । हामीले प्रकाशमा कर्णाली खिच्यौं, फिल्मभरि हामीले हावालाई पात्रको रुपमा साउन्ड डिजाइनिङले प्रस्तुत गरेका छौं,'उत्तम सुनाउँछन्,'कहिलेकाहीं डायलग रेकर्डिङमा समस्या भेटिन्छ फेरि त्यसमा रि-रेकर्डिङ गर्नुपर्‍यो । त्यस्ता टेक्निकल चुनौती धेरै हुन्छन् साउन्डमा ।'

फिल्मलाई नै बाँच्ने आधार बनाएका प्राविधिकहरुका लागि हातमा आउने फिल्महरु हतारमा सक्नु बाध्यता हो । उत्तमले पनि आफ्नो करिअरमा गरेका ८० फिल्म जीवन चलाउनकै लागि गरे । फिल्मका कलाकारलाई लाखौं पारिश्रमिक दिइरहँदा प्राविधिकलाई चित्तबुझ्दो नदिने समस्या अझै फिल्म क्षेत्रमा रहेको उत्तम सुनाउँछन् । 'मेरो लागि फिल्म नै जीवन हो । यसबाहेक म अन्य काम जान्दिनँ । यही पढेको छु, यही गर्दैछु,'उनले सुनाए,'हो हाम्रो लागि जति छुट्याउनुपर्ने हो त्यति बजेट छुट्याइदिँदैनन् । फेरि मलाई पारिश्रमिकमा बार्गेनिङ गर्न आउँदैन । सायद पैसा माग्न नसक्नु मेरो कमजोर पक्ष हो । तर, बुझेर फिल्मकर्मीले पर्याप्त रकम दिनुपर्छ जस्तो लाग्छ । हामीले पनि कलाकारलेझैं आफ्नो क्षेत्रमा मिहेनत गर्छौं । तर उनीहरुले पाउनेजस्तो पारिश्रमिक त हामी पाउँदैनौं ।'

थप्छन्,'लगातार फिल्महरु आउँदा त गरौं भन्ने लाग्छ नि । त्यसकै कमाइले बाँच्नु पर्छ । तर, अब लामो यात्रा गर्ने हो राम्रो नतिजा दिने फिल्ममा काम गर्नुपर्छ । हतारमा फिल्म सकेर हुँदैन । आफूलाई चुनौती दिने फिल्ममा काम गर्नुपर्‍यो ।'

सिनेमा अडियो सोसाइटीको उपलब्धि

पर्दा पछाडि काम गर्ने प्राविधिक/कलाकारलाई खासै दर्शकले चिन्दैनन् । तर, उत्तम त्यस्ता व्यक्ति हुन् जसलाई ध्वनि सम्बन्धी प्रतिष्ठित संस्था 'सिनेमा अडियो सोसाइटी'ले चिन्छ । यो संस्थामा आबद्धहरुले आफ्नो नामको पछाडि 'सिएएस'को क्रेडिट राख्न पाउँछन् । नेपालमा आफ्नो नामको पछाडि यो क्रेडिट राख्ने उत्तम एक्ला छन् । दुई वर्षअघि 'सिनेमा अडियो सोसाइटीले'को सक्रिय सदस्य बनिसकेपछि उत्तमले यो उपलब्धि प्राप्त गरेका हुन् । ध्वनिमा काम गर्न थालेदेखि नै साउन्ड इन्जिनियरको नामको पछाडि लेखिएको यो क्रेडिटले सधैं उत्तमलाई लोभ्याउँथ्यो । विनोद पौडेलको लघु फिल्म 'अवेकन आइज' हँदै फिल्ममा डेब्यु गरेका उनले 'मिसन पैसा', 'मेरो एउटा साथी छ' गर्दासमेत यो क्रेडिटबारे थाहा पाइसकेका थिएनन् ।

तर, जुन दिन बाहुबलीमा ध्वनिका काम गरेका जस्टिन जोसले 'सिनेमा अडियो सोसाइटीले'को सक्रिय सदस्यमा आफू छनोट भएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरे त्यसदिनदेखि उत्तमले यसबारे सोधखोज गरे । आवेदन भरे । तर, आवेदनमा २ जना सक्रिय सदस्यको स्पोन्सर चाहिने रहेछ । लामो समय खोजिसकेपछि एमी विजेता र ओस्कर जितिसकेका दुई व्यक्ति उनका लागि स्पोन्सर गर्न तयार भए । प्रक्रिया गाह्रो थियो, तर उत्तम लगातार लागिरहे । अन्तत संस्थाको सक्रिय सदस्यमा उनी छानिए । 'समय लाग्यो तर मैले पाएँ । नेपालबाट पहिलो पटक मलाई छनोट गर्दा म अत्यन्तै खुशी थिएँ,'उत्तम सुनाउँछन्,'मलाई सिनेमा अडियो सोसाइटीले तीन वटा फिल्म पठाउभन्दा मसँग त्यहाँ पठाउन लायकको फिल्म थिएन । तर जसोतसो तीन वटा खोजेर पठाएँ ।' लकडाउनबीच करिअर ठप्प भएको बेला उत्तमको हातमा सिनेमा अडियो सोसाइटीको प्रमाणपत्र पर्‍यो । उक्त संस्थाको सक्रिय सदस्यमा चुनिँदा जिम्मेवारी थपिएको उनले महसुस गरेका छन् । 'संसारभरकै साउन्ड इन्जिनियर, डिजाइनरहरुको धेरै ठूलो संस्था हो सिनेमा अडियो सोसाइटी । मेरो लागि त्यो ठूलो उपलब्धि हो । ‍त्यहाँसम्म पुग्न त एकदमै गाह्रो भयो । विदेशका साउन्ड डिजाइनरहरुका फिल्महरु त अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन भइरहेको हुन्छ । हाम्रो त त्यस्तो हुँदैन नि त । त्यसैले व्यक्तिगत रुपमा हामीले आफैंले कोसिस गर्नुपर्ने हुन्छ,'कुरा गरिरहँदा उत्तमको अनुहारमा खुसी छायो,'मलाई पाँच वर्ष जति लाग्यो त्यसमा छनोट हुन ।'

'सिनेमा अडियो सोसाइटी'बारे जानकार फिल्म क्षेत्रमा पनि थोरै नै छन् । त्यही उपलब्धिका कारण उत्तमले भने केही अन्तर्राष्ट्रिय फिल्महरुमा काम गर्ने अवसर पाएका छन् । सक्रिय सदस्यमा चुनिएपछि उत्तमले गरेको अन्तर्राष्ट्रिय प्रोजेक्ट 'द समिट अफ गड' नेटफ्लिक्समा छ । तर, उत्तमको उपलब्धिबारे फिल्म क्षेत्र अझै गुमनाम छ । 'नेपालमा अडियोमा काम गर्ने केही प्रतिशतलाई मात्र सिएएस के हो भन्ने थाहा छ । सक्रिय सदस्यमा जब म अवार्डेड भएँ निश्चित व्यक्तिहरु मात्र खुशी हुनुभयो जसलाई यसबारे थाहा थियो,'उत्तम सुनाउँछन्,'तर त्यसले मलाई एकदमै सहयोग भयो । त्यसपछाडि मैले धेरै अस्कर विजेतासँग काम गर्न पाएँ । साउन्ड सम्बन्धी काम गर्ने ठूलो समूहमा चिनिने मौका पाएँ । अन्तर्राष्ट्रिय रुपमा त फाइदा भयो तर अझै यहाँका मानिसहरुले बुझिसकेका छैन ।'

सन् २००५ मा रौतहटदेखि काठमाडौं आएका उत्तम टंक न्यौपानेको स्टुडियोमा धाइरहन्थे । विस्तारै उनलाई ध्वनितिर रुचि बढ्दै गयो । प्रदीप उपाध्यायसँग ध्वनिको कक्षा लिए । ३ महिने कोर्स सकेलगतै गीत रेकर्डिङमा काम सुरु गरे । डेढ वर्षसम्म इमनविक्रम शाहको स्टुडियोमा गीत रेकर्डिङको काम गरेका उनले नीर शाहको नेस्नल स्टुडियोमा पनि काम गरे । त्यहाँ उनको भेट दीप तुलाधारसँग भयो । त्यसपछि उनी फिल्मतिर तानिए । विनोद पौडेलको लघु फिल्म 'अवेकन आइज'मा साउन्डको काम गर्दै उनी फिल्मतिर मोडिए । 'मेरो एउटा साथी छ' सक्नासाथ चेन्नईको 'नेस्नल इन्स्टिच्युट अफ अडियो आर्ट'मा ८ महिना साउन्डको कक्षा लिइसकेपछि उत्तमले ध्वनिमार्फत कथा भन्ने यात्रा सुरु गरे ।

प्रकाशित : असार २५, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?