अनि स्वस्तिमालाई 'पुष्पा' भनेर बोलाइयो- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि स्वस्तिमालाई 'पुष्पा' भनेर बोलाइयो

'पहिला करिअर सुरु गर्दा नाच्नुपर्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने मात्र हुन्थ्यो । तर , अहिले स-साना भावनात्मक कुरामा दर्शकलाई कनेक्ट गराउन सकियो भने कत्ति मज्जा हुन्छ जस्तो लाग्छ । त्यही नै कलाकारको उपलब्धि हो ।'
रीना मोक्तान

काठमाडौँ — 'महिला चरित्र चित्रण बहुआयामिक किन देखिँदैन ? प्रमुख भूमिकामै देखिएकी अभिनेत्रीको अभिनय एउटै पर्दामा देखिएका अभिनेताको भन्दा फरक नदेखिनुको कारण के हो ?  स्वर परिवर्तन गरेर विपिन कार्की 'भस्मे डन' बने, सौगात मल्ल 'हाकु काले' । के महिला कलाकार अभिनयमा विविधता देखाउन नसक्ने हुन् त ?' 

स्वस्तिमा खड्कालाई लाग्छ, फरक भूमिकामा अभिनेत्रीलाई विश्वास नगर्दा फिल्म क्षेत्रको इतिहासमा महिला चरित्र चित्रणमा खासै विविधता नदेखिएको हो । 'हिरोइन आँखामा बिझाउने हुनुहुँदैन' भन्ने न्यारेटिभ्सभित्र हुर्किएको फिल्म क्षेत्रले महिलालाई फरक चरित्र चित्रणमा प्रयोग गर्न नचाहनु विडम्बना हो ।

'अभिनेत्री बोल्दा पनि चट्ट देखिनुपर्‍यो । सबै मिलेको, प्रोपर म्यानरिजम देखिनुपर्योर । कन्टेन्टमा आधारित फिल्ममा पनि एउटी अभिनेत्री प्रोपर नै हुनुपर्योत,' फिल्म क्षेत्रले नजरअन्दाज गरेको विषयमाथि स्वस्तिमाले तर्क राखिन्, 'फरक आनीबानी(म्यानरिजम) मा हामीलाई स्वीकारिँदैनन् । किन ? किनकि हामी हिरोइन हौं ।'

स्वस्तिमाले 'चिसो मान्छे'मा केही मिहीन हाउभाउलाई चरित्रमा समेट्ने प्रयास पनि गरिन् । निर्देशक वा निर्माण पक्षले नै त्यो प्रयासमाथि प्रश्न गर्लान् भन्ने डर उनको मनमा नभएको होइन । तर, राम्रो कुरा कसलाई मन पर्दैन र ? उनले कसैलाई भन्दै नभनी अँगालेका चरित्रका केही आनीबानीमाथि आखिर निर्देशकले नै लालमोहर लगाइदिए ।

त्यसको उदाहरण दिँदै गर्दा स्वस्तिमाको अनुहारमा छुट्टै चमक थियो । 'पात्रको चरित्र निर्माणका क्रममा सो पात्रले आँखा 'झिम्मिक्क झिम्मिक्क' गर्छ भन्ने मलाई लाग्यो । मैले कसैलाई केही नभनी सुटिङको सुरुआतदेखि नै त्यसलाई प्रयोग गर्न थालें,' उनले भनिन्, 'कोही व्यक्ति हिँड्दा खुट्टा खुम्च्याउँदै हिँड्छन्, कोही बोल्दै गर्दा आँखा झिम्मिक्क गर्लान् । फरक व्यक्तित्व झल्काउने त्यही बानी सौन्दर्य हुनसक्छ । तर, त्यो सौन्दर्य अभिनयमा देखाउन दिइँदैन । सुरुमा 'हुन्छ' भने पनि पछि दर्शकले स्विकार्दैनन् भन्दै निर्देशकहरु पन्छिएको मैले थुप्रै पटक अनुभव गरिसकेँ । त्यसैले 'चिसो मान्छे'मा पात्रले बोल्दा आँखा झिम्या उने बानी निर्देशक दीपेन्द्र के खनालबाट लुकाएँ ।'

अन्य निर्देशकले झैं दीपेन्द्र के खनालले पनि हुँदैन भनिदिन्छन् कि भन्ने डर थियो । 'याद गरेर नगर भन्नु नै भएछ भने पनि म गर्छु भन्ने सोचले त्यसलाई निरन्तरता दिएँ,' उनले चरित्र निर्माणको समय सम्झिँदै भनिन् ।

घरमा अभ्यास गर्ने क्रममा ऐनामा हेर्दै डायलग बोल्दै आँखा झिम्मिक्क गर्दा बनावटी नदेखिएकै कारण उनले त्यसलाई अँगाल्ने निधो गरेको बताइन् । चिसो मान्छे- त्रिभुवन विमानस्थलबाट श्रीमान्‌को शव बोकेर बाजुरा पुग्ने पात्रको कथामा बनेको फिल्म हो ।

विमानस्थलमा पहिलो दृश्यको छायांकन गर्दा डराउँदै-डराउँदै आँखा झिम्मिक्क–झिमिक्क गरेर सट दिइन् । निर्देशकले 'आँखा किन झिम्काएको ?' भनेर प्रश्न गर्लान् भन्ने उनको मनमा डर थियो । तर त्यहाँ नकारात्मक प्रतिक्रिया आएन । त्यसपछि अर्को दृश्य छायांकन गर्न टोली पुग्यो मलेखु । त्यहाँ छायांकन सकिएपछि भने कलाकारसँग छलफल गर्ने क्रममा निर्देशक दीपेन्द्रले फ्याट्ट भनिदिए, 'स्वस्तिमा तिमीले बेलाबेलामा आँखा झिमझिम गरिरहेको एकदम राम्रो भइरहेको छ । त्यसलाई निरन्तरता दिनु है ।' त्यसपछि भने आफूलाई निकै राहत महसुस भएको स्वस्तिमाले बताइन् ।

'सती त अहिले पनि त जाँदै त छौं' भन्ने संवाद बोल्नुपर्ने फिल्मको अर्को महत्त्वपूर्ण दृश्यमा पनि उनले यस्तै चलाखी गरेको सुनाइन् । उक्त दृश्यमा निर्देश दीपेन्द्र स्वस्तिमाको आँखाबाट आँसु नै झरोस् भन्ने चाहन्थे । तर उनले आँसुँ आउँदै नआएको बहाना गरेर केवल अवरुद्ध गलामा सट दिइन्।

'कहिलेकाहीँ कसैसँग चित्त दुख्दा आँसु आउँदैन तर, गला अवरुद्ध हुन्छ नि । मैले निर्देशकलाई आँसु आउँदै आएन भनेर टारें । अनि आँखाभरि आँसु राखेर स्वरमा काम गरें,' स्वस्तिमाले भनिन् ।

०००

'तपाईंलाई कस्तो चरित्रमा अभिनय गर्ने मन छ ?' भन्ने प्रश्न कसैले गरे स्वस्तिमाको एउटै जवाफ हुन्थ्यो- 'सूदुरपश्चिमेली'। यो उनकै दाबी हो । सुदूरको भाषा र रहनसनले आफूलाई पहिलेदेखि नै आकर्षित गरेको उनको अर्को दाबी हो । हुन त उनका पति निश्चल जुम्लाका हुन् । प्रदेशको हिसाबमा जुम्ला कर्णालीमा परे पनि त्यहाँ सुदूरका गुण भेटिन्छ । दुईपटक उनी पनि जुम्ला पुगेकी छिन् ।

'कहिलेकाहीँ सासूआमा सुदूरपश्चिमेली लवजमा बोल्ने । जुम्लातिरबाट कोही पाहुना आए उनीहरूका भाषा बुझ्न हम्मेहम्मे नै पर्थ्यो,' उनले भनिन्, 'त्यसैले पनि मलाई त्यो नौलोपनले आकर्षित गर्थ्यो ।'

नभन्दै एकदिन निर्देशक दीपेन्द्रले सुदूरपश्चिमको कथा बोकेको फिल्म अफर गर्दा स्वस्तिमाको खुसी र ऊर्जा दोब्बर भयो । छायांकनअघि ‍दीपेन्द्रले उनको चरित्रबारे ब्रिफिङ गरे । उनले बझाङ–बाजुरातिरका डकुमेन्ट्री हेर्न थालिन् । निर्माण टोलीले भाषाको कक्षा दिन शिक्षक नै राखे । सुदूरपश्चिमको बोलीमा पातलो 'स'को प्रयोग खासै हुँदैन भन्ने कुरालाई ध्यानमा राखेर कक्षामा उनले मोटो 'श'को प्रयोग गरेर संवाद बोल्ने प्रयास सुरु गरिन् । छोटो समयमै स्वस्तिमाले बाजुराको लवजमाथि पकड बनाएको देख्दा शिक्षक खुसी भए । भाषाको कक्षा एक हप्तासम्म चल्यो ।

त्यसैबीच निर्माण टिम 'लोकेसन हन्टिङ'का लागि बाजुरा जाने भयो । बाजुरालाई नजिकैबाट नियालेर चरित्र निर्माण गर्न चाहन्थिन् स्वस्तिमा । सुदूरका मानिसलाई काठमाडौंबाटै हेर्नु र त्यहीँ पुगेर नियाल्नुमा फरक हुन्छ भन्ने उनलाई लागेको थियो । त्यसैले निर्माण टोलीसँग उनी बाजुरा निस्किइन् ।

एक हप्ताको बसाईमा त्यहाँका मानिसहरुसँग घुलमिलबाट आफ्नो चरित्र निर्माणको यात्रालाई तय गरेको उनले बताइन् । चरित्र निर्माण प्रक्रियामा उक्त पात्र कस्तो देखिन्छ भन्ने कुरामा ध्यान दिइन् । स्वस्तिमालाई बाजुराकै महिलाहरूले लगाउने लुगा पहिरेर आफ्नो पात्रलाई सजीव बनाउन मन भयो । हुन त निर्देशक दीपेन्द्रले गरेको ब्रिफिङले उनको दिमागमा पात्रको एउटा खाका त तयार भइसकेकै थियो । त्यहाँ महिलाहरूसँग कपडा बटुलेर पहिरिइन् । जुन घरमा सुटिङ गर्ने फाइनल भएको थियो त्यहीँ उनले गाउँका महिलालाई जम्मा गरेर लुगा, चुरा लगाउन सुरु गरिन् । कपालमा लगाउने सानो क्लिपसम्म पनि उनीहरूसँगै मागिन् ।

चिसो मान्छेको एक दृश्यमा कलाकारहरू अर्पण थापा र स्वस्तिमा खड्का ।

चरित्रलाई सक्दो विश्वासिलो बनाउन त्यस्ता स-साना कुरामा ध्यानदिनुपर्छ भन्ने बुझेरै आफूले नाकमा लगाउने बुलाकी पनि त्यहीँ बनाउन लगाइन् । 'मलाई पात्रले क्यालिभर जुत्ता (आर्मी रङ) लगाउँछ भन्ने परेको थियो । बजारमा धुइँधुइँ जुत्ता खोजें, कतै मनले खाने भेटाउन सकिनँ । स्थानीयको सहयोगपछि एउटा घरमा खोजेको जस्तै दुई जोर जुत्ता भेटियो । एक जोडी जुत्ता खुट्टामा मिल्यो । त्यही जुत्ता लगाउने निधो गरें,' उनले भनिन्, 'त्यसमा एउटा झोला र कालो छाता थपें । त्यताका मानिस काठमाडौं आउँदा अन्जानवस नै मैले त्यो पनि नियालेकी रहेछु । त्यो परिवेशअनुसार सही पनि थियो । निर्देशकले कालो छाता र झोला चाहिन्छ र भनेर सोध्नु पनि भयो । मैले चाहिन्छ भनेरै जिद्दी गरें।'

फिल्ममा स्वस्तिमाले निभाएको चरित्रको कुनै नाम नै राखिएको छैन । कथामा त्यसलाई आवश्यक नै ठानिएको थिएन । तर, बाजुरामा पुग्दा उनैले आफ्नो चरित्रका लागि नाम भेटिन् । पहिरन, चुरा, क्लिप, बुलाकी अनि जुत्ता पहिरेपछि स्वस्तिमालाई आएका एकजना वृद्ध आमाले अनयासै भनिदिइन्- 'पुष्पा । मैले त पुष्पा आएझैं माने ।'

खासमा ती वृद्ध आमाको नातिनी पुष्पा सहर पसेपछि बाजुरा फर्केकै रहिनछिन् । स्वस्तिमालाई फिल्मको अन्तिम लुक्समा देखेकी ती आमाले मात्रै नभएर पूरै गाउँले आफूलाई 'पुष्पा' भन्दै बोलाउन थालेपछि उनले नामविहीन पात्रको न्वारन गरिदिइन्- 'पुष्पा' । त्यो नाम उनको आफ्नै लागि मात्रै हो ।

'कथाले नाम नमागे पनि आफ्नै लागि त केही नाम चाहियो नि । सबैले पुष्पा भनेर बोलाउनु भएपछि मैले मेरो चरित्रको नाम पुष्पा राखें,' बाजुरामा पुग्दाको क्षण सम्झँदै स्वस्तिमाले भनिन्, 'उहाँहरूले बोलेको कुरा सबै बुझें पनि सबैको जवाफ फर्काउन सक्दिन थिएँ । तर, त्यताकै लवज र भाषामा बोलिदिँदा सबैले यो त यहाँकै छरौटा हो भन्नुहुन्थ्यो ।'

बाजुराबाटै पहिरन तयार पारेर टिम काठमाडौंबाट छायांकन गर्न निस्कियो । फिल्मभरि स्वस्तिमा एउटै लुगामा देखिन्छिन् ।

स्वस्तिमाले चरित्र निर्माणका लागि गरेको मिहिनेतले आफू छक्कै परेको निर्देशक दीपेन्द्रले बताए । 'स्टार अभिनेत्री भएर पनि चरित्रका लागि यस्तो कुरालाई सहजै स्विकार्दा खुसी लाग्यो,' दीपेन्द्रले स्वास्तिमाको तारिफ गर्दै भने ।

स्वस्तिमा भने कलाकारले चरित्रका लागि गर्ने यस्तो मिहिनेत ठूलो कुरा नभएको तर्क गर्छिन् । तर उनको भोगाइमा भने धेरैपटक त्यही गर्न खोज्दा त्यसलाई आवश्यक नै ठानिएन । 'चरित्रको पहिरनलाई आत्मसात गर्दा धेरैले त्यस्तो लुगा पनि लगाउनुभयो है भने । तर त्यो हाम्रो महानता होइन । हामीले गर्नुपर्ने नै त्यही हो जुन धेरै अवसरमा गर्दैनौं वा पाइँदैन । त्यो प्रकियाबाट जान नै दिइँदैन,' उनले भनिन्, 'कलाकारको हिसाबले म यस्तै गर्न चाहन्छु ।'

करिअरको सुरुवाततिर नाच्नुपर्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने सोच्ने स्वस्तिमा चरित्र निर्माणको यो प्रक्रियामा आइपुग्न अहिलेसम्म गरेका फिल्मको अनुभवले सिकाएको बताउँछिन् । 'पहिला त एक दर्शकका हिसाबले मैले जे देखें अभिनयमा त्यही उतारें । अभिनय भनेको सेटमा गएर एक्सन-कटको बीचमा मात्र हुन्थ्यो होला भन्ठान्थें । त्यतिबेला मलाई मार्गनिर्देशन गर्ने व्यक्ति थिएनन्,' केही गम्भीर हुँदै उनले सुनाइन्, 'पछि गाइड गर्ने व्यक्तिहरूले मलाई प्रकियामा काम गर्न दिनुभयो । फरक-फरक फिल्ममा फरक किसिमले नै काम गरिदिनुपर्छ भन्ने लाग्छ । चपली हाइटमा मैले काम गर्दाको प्रोसेस र चिसो मान्छेमा गर्ने प्रोसेस एकदमै फरक हुन्छ ।'

स्वस्तिमाले अभिनयको औपचारिक सैद्धान्तिक ज्ञान लिएकी छैनन् । अनुभवहरूले नै आफूलाई अभिनय सिकाउँदै लगेको उनी बताउँछिन् । 'छक्का-पञ्जा, नाइँ नभन्नु ल जस्तो फिल्महरूमा मैले दिने समय र ऊर्जाभन्दा पनि पात्रमा फिट भइदिनुले महत्त्व राख्छ । त्यस्तो फिल्मको मेकरसँग म चरित्र निर्माणका लागि समय खर्चन्छु है भनेर आग्रह गर्दा उहाँहरूलाई सहज हुँदैन,' उनी परिपक्व सुनिइन्, 'उहाँहरूले त्यस्तो खोज्नु पनि हुँदैन । त्यसरी काम गर्ने शैली राम्रो पनि हो । सँगसँगै चिसो मान्छेजस्तो फिल्म गरिरहँदा चरित्रमा फिट भइदिनुभन्दा पनि धेरै समय र ऊर्जा दिएर प्रोसेसमा जानुपर्छ ।'

अहिले उनी मनोरञ्जनभन्दा आफ्नो अभिनयले र आफूले गरेको पात्रले दर्शकसँग जोडिदियोस् भन्नेमा केन्द्रित छिन् । 'पहिला करिअर सुरु गर्दा नाच्नुपर्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने मात्र हुन्थ्यो । तर , अहिले सानो इमोसनसँग दर्शकलाई कनेक्ट गराउन सकियो भने कत्ति मज्जा हुन्छ जस्तो लाग्छ । त्यही नै कलाकारको उपलब्धि हो,' स्वस्तिमा भन्छिन् । 'सेटमा पुग्दा म स्वस्तिमा खड्का भए पनि म त्यो होइन भन्ने कुरा अभिनयले बिर्साइदिनुपर्छ । मेरो उद्देश्य सँधै यस्तै हुनुपर्छ भन्ने लाग्छ ।'

प्रकाशित : जेष्ठ २१, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशमा उद्योगहरूको क्षमता उपयोग ४२.७ प्रतिशत, ५५ हजारलाई रोजगारी

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षमा गण्डकी प्रदेशका उद्योगहरूको क्षमता उपयोग ४२.७ प्रतिशत रहेको राष्ट्र बैंकको एक प्रादेशिक अध्ययन प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ती क्षेत्रका उद्योगहरूको क्षमता उपयोग ४.८ प्रतिशत विन्दुले बढीको प्रतिवेदनले औंल्याएको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १८.४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो । यस प्रदेशमा साना र मझौला उद्योगको वाहुल्यता रहेको छ । गण्डकी प्रदेशमा सञ्चालित साना र मझौला गरी १३ हजार १ सय ८४ उद्योगमा गरी ५५ हजार १ सय ८२ व्यक्तिले रोजगारी पाएको प्रतिवेदनमा उल्लेख छ ।

‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा रहेका उद्योगहरूको क्षमता उपयोग औसत ४२.७ प्रतिशत पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगहरूको क्षमता उपयोग ४.८ प्रतिशत विन्दुले बढेको हो ।’ जसअनुसार चकलेट उद्योगको क्षमता उपयोग सबैभन्दा धेरै ८१.२ प्रतिशत रहेको छ । यस्तै, बिस्कुटको उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग ७३.९ प्रतिशत, बियरको ६३.६ प्रतिशत, लिक्विड औषधिको ५७.६ प्रतिशत, क्यापसुलको ५४.१ प्रतिशत, इटाभट्टाको ५३.८ प्रतिशत र खाने तेल उद्योगको क्षमता उपयोग ५१.४ प्रतिशत रहेको छ । अन्य उद्योगहरूको औसत क्षमता उपयोग ५० प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ५० अर्ब ९२ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका छन् । २०७८ असार मसान्तको तुलनामा यस्तो कर्जा १७.५ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.१ प्रतिशतले वृद्धि भएको थियो । कुल कर्जामा औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा १४.५ प्रतिशत पुगेको छ ।

अधिकांश उद्योगहरूको उत्पादन क्षमता न्यून देखिएकाले त्यस्ता उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विद्युत, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनको लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७९ १५:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×