नागरिकतामा अंक मेटिँदा १३ वर्षपछि वृद्धभत्ता

८३ वर्षीय सिंहरामले पहिलोपटक बुझे वृद्धभत्ता
रमेशकुमार पौडेल

चितवन — सिंहराम चेपाङ मंगलबार औधी खुसी देखिन्थे । हातमा पहिलोपटक १२ हजार रुपैयाँ समाउन पाउँदा उनी गद्‍गद्‍ छन् । दुःखको कुरा यति हो कि, १२ हजार नगद लिन उनले १३ वर्षसम्म पर्खनुपर्‍यो ।दुःखभन्दा पनि यसबीचमा अनेक झन्झटले उनलाई पिरल्यो ।

नागरिकतामा अंक मेटिँदा १३ वर्षपछि वृद्धभत्ता

वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता बापत पाउने रकम उनले पहिलोपटक बुधबार पाएका हुन् ।नागरिकतामा भएको सामान्य त्रुटीका कारण उमेर पुगे पनि उनी भत्ताबाट १३ वर्षसम्म वञ्चित भए ।

चितवनको विकट पहाडी गाउँ लोथर कान्दाको खोँचमा उनको छाप्रो छ । सिंहराम र उनलाई चिन्नेहरू उनी वि. सं १९९५ सालमा जन्मेका हुन् भन्छन् । यस हिसाबले उनी ८३ वर्ष पुगिसकेका छन् ।

सिंहरामलाई नागरिकता बनाउनुपर्छ भन्ने आधारभूत ज्ञान नै थिएन पहिले। न त यसको उपयोगिताबारे नै जानकार थिए । वि सं २०४६ सालको जेठमा नागरिकता बनाउन गाउँमै टोली जाँदा भने उनको उमेर ५१ वर्ष पुगिसकेको रहेछ ।

उनका भाइ लालसिंहले पनि त्यही बेला नागरिकता बनाएका थिए । लालसिंह उनीभन्दा ११ वर्ष कान्छा थिए । त्यही बेला नागरिकता बनाएकी सिंहरामकी श्रीमती सुकमायाले पनि वृद्धाभत्ता बुझ्न थालेको वर्षौँ भइसक्यो । आफूभन्दा कम उमेरकी श्रीमतीले भत्ता बुझेको देखेपछि सिंहरामलाई पनि दाबी गर्न छिमेकीले सुझाव दिए । तैपनि उमेर नपुगेको भन्दै सिंहराम वर्षौँसम्म वञ्चित नै बनिरहे ।

सोधखोज गर्दा नागरिकतामा सिंहरामको उमेर भाइ लालसिंहको भन्दा ९ वर्ष कान्छो देखियो । नागरिकता लिँदा जन्ममिति लेख्ने खण्डमा त्यसबेला कति वर्ष भएको हो त्यो लेखिन्थ्यो । लालसिंह ४० वर्षका भएको भन्दै त्यही उमेर लेखियो । यथार्थमा सिंहराम नागरिकता बनाउँदा नै ५१ का भइसकेका थिए । तर लेख्दा ५१ लेखेको हो वा ३१ छुट्याउन नै गाह्रो भयो ।

नागरिकता लिएपछि उनले पट्याएर चारपत्र बनाएर झोलामा राखे । अगेनामाथि राखेको झोला धुँवाले मैलियो । धुवाँको मैलो नागरिकतामा पनि मिसियो । त्यसले ‘५१ हो कि ३१’ यकिन गर्न गाह्रो भयो । भत्ता दिने नाम टिपाउने तत्कालीन गाविसका कर्मचारीले त्यो ३१ हुनसक्ने अड्कल काटे । ठ्याक्कै कति हो लेखेर ल्याउने जिम्मा उनीहरूले सिङरामलाई नै दिएका थिए ।

तर कान्दाबाट सदरमुकाम भरतपुर आउजाउ गर्न निकै कठिन छ । झण्डै दुई दिनको कष्टकर पैदल यात्रा गरेर भरतपुरसम्म जाने जाँगर पनि चलेन उनलाई ।गाउँमा नयाँ मान्छे जो पुग्थ्यो, उसैसँग उनले यो समस्या राख्थे । कर्मचारी, नेता, सांसद्‍ जो गए पनि नागरिकता मिलाइदिन अनुरोध चाहिँ गर्न बिर्सिँदैनथे । समस्या सामान्य थियो । तर बुझिदिने र सच्याउने जाँगर अरुले पनि चलाएनन् । ०६५ सालमै भत्ता पाउने उमेर पुगेका सिंहराम भत्ताबाट वञ्चित हुनुमा खासमा उनको उमेर नभएर नागरिकताको सामान्य धर्सो मात्र कारक देखिन्थ्यो ।

गत चैत्रमा केही मिडियामा आएको यो खबरमा चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको पनि नजर पुगेछ । त्यसपछि उनले नागरिकता फाँटको पुरानो ढड्डा पल्टाउन लगाए । ०४६ सालमा टोलीले लोथर गएर नागरिकता बाँडेको मोटो ढड्डा भेटियो । जसमा सिंहराम प्रजा अर्थात् चेपाङको विवरण भेट्टाउन बेर लागेन । ढड्डामा भने विवरण ठीक नै देखियो ।

०४६ सालमा नागरिकता दिँदा उनको उमेर ५१ वर्ष नै उल्लेख रहेछ भन्ने उक्त ढड्डा हेरेपछि थाहा भयो । तत्कालीन प्रजिअ लामिछानले उमेर प्रष्ट उल्लेख भएको नागरिकता लिन सिंहरामलाई सहयोग गरे । ‘अन्तत: ०७७ सालको चैत्र २४ गते मंगलबारको दिन सिंहरामका लागि मंगल भएर आयो । नागरिकता निस्केको ३१ वर्षपछि त्यस दिन प्रतिलिपि निस्कियो । जसमा सिंहरामको उमेर जति हो त्यही नै उल्लेख थियो । अंकको अन्योल हटेसँगै सिंहरामले भत्ता पाउने पक्का भयो । तर भत्ता पाउने विवरणमा नाम चढाउन पनि निकै सास्ती भयो उनलाई ।

हालै सिंहरामले महिनाको चार हजारका दरले तीन महिनाको पहिलोपटक एकमुष्ट १२ हजार रुपैयाँ बुझेका छन् । जसको हकदार उनी १३ वर्ष पहिले नै थिए । ‘बेलामै भत्ता पाएको भए भैँसी नसके पनि बाख्रा किनेर त पाल्थेँ होलान नि । अहिले भत्ता पाइयो । बख्रा त के कुखुरा पनि पाल्न सक्ने उमेर छैन’ सिंहरामले सुनाए । छाप्रामा बस्दैआएका सिंहरामलाई कच्ची नै भए पनि एउटा सानो चिटिक्कको घर बनाउने रहर छ । उमेर गएपछि पाएको ‘सरकारी’ पैसामा थपथाप गरेर घर बनाउनु पर्ला,' सिंहरामले भने ।

प्रकाशित : कार्तिक १७, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?