कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाघे माउसुली

विशालप्रसाद न्यौपाने

काठमाडौँ — साँझपख सीएफएल बत्तीको अगाडी चक्कर लगाउन आउँदा निसाचर पुतली र किरा-फट्याङ्ग्राहरु खाइरहेको हुन्छ ।

बाघे माउसुली

यो माउसुली हेर्दा निकै आकर्षक र सुन्दर छ । माउसुली देख्नेबित्तिकै टाढै रहने धेरै छन् तर यो माउसुली अन्यभन्दा फरक छ ।

नेपालका हर्पिटोलोजिस्टहरूले यसको न्वारन गरेर बाघे माउसुली नाम राखिदिएका छन् । यसको बाहिरी छालाको आवरण बाघको जस्तै सुन्दर पाटा छन् । बाघे माउसुलीको वैज्ञानिक नाम युब्लिफेरिस माकुल्यारिस हो । यो युब्लिफेरिडे परिवार अन्तर्गत पर्दछ । यो एउटा सरीसृप प्रजाति हो ।

रेप्टाएल डाटाबेसका अनुसार विश्वमा करिब ११ हजार ५७० प्रजातिका सरिसृप पाइन्छ । तीमध्ये ९००० भन्दा बढी छेपारो प्रजातिभित्र पर्छन् । नेपालमा करिब ४० प्रजातिको छेपारो पाइन्छ।

बाघे माउसुलीको भाले २० देखि २८ सेन्टिमिटरसम्म लामो हुन्छ भने तौल ६० देखि ८० ग्रामसम्मको । कम वनस्पति भएको ठाउँ, बालुवा, माटो र चट्टानको दरारहरुमा बढी बस्न रुचाउने यो माउसुली अफगानिस्तान, इरान, पाकिस्तान, भारत, नेपाललगायतका देशहरूमा पाइन्छ । यो निशाचर प्राणी भएकाले रातको समयमा बढि सक्रिय हुन्छ ।

बाघे माउसुली । तस्बिर सौजन्य : सन्तोष भट्टराई ।

अरु माउसुली घरवरपर भित्तामा पाउने भएकाले तिनीहरूको पञ्जा भित्तामा टाँसिने खालको हुन्छ तर बाघे माउसुलीको चाहिँ त्यस्तो टाँसिने खालको पञ्जा हुँदैन । विशेषगरी रुखको हाँगा, बालुवामा बस्ने भएकाले त्यस्तो टाँसिने पञ्जाको आवश्यकता यसलाई पर्दैन । केही चीजमा पकड बनाउनु पर्यो भने आफ्नो नङ्ग्राको प्रयोग गर्छ ।

बाघे माउसुलीहरूको परेली पनि हुन्छ जसले उनीहरूको आँखाको नानिलाई बालुवा छिर्नबाट जोगाउँछ । यी जीव अवसरवादी शिकारीहरु हुन् । यिनीहरूको मुख्य आहारा माकुरा ,फट्याङ्ग्रा, बिच्छीलगायतका ढाड नभएका प्राणीहरु हुन् । यिनीहरूको शिकारी जीव चाहिँ सर्पलगायतका अन्य ठूलो सरिसृप हुन् । शिकारी जीवबाट बच्न राम्रो छलावरण पनि गर्छन् । यसको हेर्ने दृष्टिकोण र सुन्ने क्षमता ज्यादै राम्रो हुन्छ ।

नेपालमा यो माउसुलीलाई पहिलो पटक काम्दि कोरीडोर, बाँके जिल्ला, सुर्खेत र सुनवालबाट सन् २०१६मा प्राध्यापक करनबहादुर शाहसहितको हर्पेटोलोजिस्टको समूहले फेला पारेको थियो । त्यतिबेला यसलाई नेपालमा भेटिएको छेपारोको एघारौं प्रजातिको रुपमा रेकर्ड गरिएको थियो । । त्यसैगरी प्राकृति संरक्षण कोषले सन् २०१६ र २०१८मा गरेको चुरे सुर्वेक्षणमा हर्पिटोलोजिस्ट सन्तोष भट्टराईको टोलीले नवलपुर, परासी ,कपिलवस्तु, अर्घाखाँची, दाङ ,बाँके ,बर्दियाबाट पनि फेला पारेका थिए ।

यो संसारकै छेपारो प्रजातिको दोस्रो प्रख्यात घरपालुवा सरीसृप पनि रहेको छ । सानो आकार, बनावट, प्रजनन र सजिलै हेरचाह गर्न सकिने भएकाले यसलाई घरपालुवा सरीसृपमा राखिने गरेको छ । बाघे माउसुलीको विश्वबजारमा अधिक चोरीशिकारी हुन्छ । वातावरण पक्षलाई ध्यान नदिई बालुवा, गिट्टी निकासीले चुरे क्षेत्रको विनाश हुँदा यीलगायतका अन्य जीव जोखिममा परेका छन् ।

बाघे माउसुलीले स-साना किराफट्यांग्रा खाएर हाम्रो खाद्य चक्र सन्तुलित पार्दछ । जतिसुकै सुन्दर भएतापनि वन्यजन्तुहरूलाई बासस्थानबाट ल्याएर घरपालुवा जनावर बनाउनु पक्कै पनि राम्रो कुरा होइन बरु यो हामी मानिसहरूको दरिद्रता हो, कुरुपता हो। त्यसैले यिनीहरुलाई प्रकृतिसँगै रमाउन दिनु आजको आवश्यकता हो ।

प्रकाशित : आश्विन ३०, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?