कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उज्ज्वल दाइ, सरी फर लेट रेस्पोन्स !

ब्रबिम कुमार

काठमाडौँ — 'कता गायब ?' ठ्याक्कै २५६ दिन अघि ह्वाट्स्एपमा मेसेज आयो, उज्ज्वल थापाको । घरमा आमा र भाई कोरोना संक्रमणले थलिएर बसेका बेला म र श्रीमती हेरचाहमै व्यस्त थियौं । भलै हामी पनि लक्षणबिनाको संक्रमित थियौं ।

उज्ज्वल दाइ, सरी फर लेट रेस्पोन्स !

म प्राय: सर्म्पकहरुबाट टाढै बसेको थिएँ । त्यो मेसेजको रेस्पोन्सपछि गर्छुभन्दा आजसम्म गरिएको रहेनछ ।

त्यसको केही महिनाअघि 'इनफ इज इनफ' अभियान मार्फत ईः र पुकार बम आमरण अनसन बसेका थिए । उनको घरमा सो आन्दोलन, वैकल्पिक राजनीति, युवा नेतृत्वलगायतका विषयमा केही घण्टा गफिएका थियौं । छुटिने बेलामा उज्वल दाईले भनेका थिए, 'युवा नेतृत्वको बारेमा एउटा सोच छ, तिमीसँग सल्लाह गर्नुपर्छ ।' हुन्छ, छिटै भेटौं भन्दै हामी छुटिएका थियौं ।

त्यसको केही महिनासम्म भेटघाट भएन, अनि उनले लेखि पठाएका थिए, 'कता गायब ?'

नेपालमा गर्न खोजेका केही योजनाहरु फेल भएपछि म अफगानिस्तानतिर लागें, दोस्रोपटक कोरोना संक्रमण भएर आईसोलेसनमा छँदै समाचारमा उज्ज्वल दाईबारे खबर आयो । उनी सिकिस्त रहेछन् । सुगर रोगसँगै बाँचिरहेका उज्ज्वल दाइ तंग्रिउन भन्ने कामनाबाहेक गर्न सकिने केही थिएन । भर्खरै केही बेरअघि खबर आयो- अनेकौं सम्झानाहरु आलै छोडेर उज्ज्वल दाई भौतिक रुपमा 'गायब' भएछन् ।

झण्डै १० वर्षअघि नेता र नेतृत्वको बारेमा काठमान्डौंमा भएका छलफलमा झुस्स दारी पालेका एउटा प्राणी सिटको अन्तिम लहरमा बस्यो, दुई घण्टासम्म खासै केही नबोली बसेको उसँग पछि चिया खाँदा परिचय भयो । नामः उज्ज्वल थापा, कामः आईटी सेक्टर । त्यत्ति बेला उनले नेपालको लागि उद्यमशील नामक अभियान सामाजिक सञ्जालमा सुरु गरिसकेका रहेछन् । प्रायशः पछि बसेरै नेतृत्व गर्न रुचाउने स्वभावका कारण खासै चिनिने बनिसकेका थिएनन् ।

२०१२ को जुन महिनातिर युवा नेतृत्व सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना भयो । सम्मेलनभर त्यो झुस्से प्राणी प्राय मौन बसिरहे । त्यति बेलासम्म उनले काठमाडौं वृत्तमा परिचय बनाइसकेका थिए- उज्ज्वल थापा, नेपाल युनाईट्स ।

सम्मेलनको अन्तिम दिन नयाँ संविधान जारी नहुन्जेलसम्म प्रत्येक साँझ ५ बजे बानेश्वर संविधानसभाअघि नयाँ संविधानलाई स्वागत छ भन्ने अभियान गर्ने घोषणा भयो । पुकार बम सधैं ५ बजे ब्यानर, मादल र झ्यालीसहित पुग्थे । कहिलेकाहीँ झुस्स दारीवाला उज्वल दाइ आईपुग्थे । एक साँझ बानेश्वरको गल्लीमा पुकार बम, म र केही युवा साथीसँगै बस्दा उनी बोले, 'हामी जे गरिरहेको छौं, त्यो ठिकै छ तर यसपछि के त ?'

पहिलो संविधानसभा संविधान जारी नगरी अस्तायो । त्यसपछि त्यही अभियानका साथीहरुसँग उनले 'अब के त ?' भन्ने छलफल चलाए । अब, आफैं वैकल्पिक दल खोल्ने । विकल्प भन्ने होइन, विकल्प बन्ने निचोड निस्कियो । २०१३ तिर उज्ज्वल दाइकै घरमा पुकार बम, ईः र मैले उज्ज्वल दाइसँग दल र राजनीतिबारे लामै छलफल गर्‍यौं । नयाँ राजनीतिक दल खोल्नुअघि, देशव्यापी राजनीतिक संवाद गर्नुपर्छ, सकेसम्म प्रत्येक निर्वाचन क्षेत्रमा एउटा वृहत राजनीतिक संवाद गरौं अनि देशैभरिका नागरिकसँगको संवादको आधारमा नयाँ राजनीतिक दल, अभियान वा यस्तै के गर्ने निर्णय गरौं भन्ने मेरो मत रह्यो । यद्यपि‚ त्यति बेलासम्म उज्ज्वल दाइहरुले विवेकशील नेपाली दलको बिउ रोपिसकेका थिए । प्रतिउत्तरमा उनले भने- हामी अघि बढिसक्यौं‚ अब के त?

दोस्रो संविधानसभाको संघारमा विवेकशील नेपाली दलको स्थापना भयो । छिटै नयाँ दल खोल्ने निर्णयसँग मेरो फरक मत उज्ज्वल दाइलाई राखिरहेँ । तर उनले सधैं भनिरहे- तिमी हामी विकल्प नबने अरु को त ? त्यसपछि उज्ज्वल दाईको नयाँ परिचय बन्यो । उज्वल थापा, विवेकशील नेपाली दल ।

उनलाई दल खोल्न उक्साउने कति दल खोलेपछि परै बसे, कतिले आफ्नो पुरानो दल छोडेनन् र भनिरहे त्यो नयाँ दलले केही गरिखाँदैन । तर, उज्वल दाइ मानौं टैगोर को त्यो गीत थिए- एक्लो चलो रे । एक्लै अघि बढिरहे ।

दलको अध्यक्ष भए पनि उनी सामान्य कार्यकर्ता वा स्वयंसेवकभन्दा फरक थिएनन् । कलेजमा प्लस टु वा ब्याचलर पढिरहेको कुनै युवालाई पनि कुनै अभियान वा कार्यक्रमको नेतृत्व गर्न लगाउँथे । कति प्रश्नहरु उनलाई सोध्दा, पहिले उनी प्रतिप्रश्न गर्थे, 'तिमीलाई चाहिँ के लाग्छ ?'

विवेकशील दल खोलेर चुनाव लड्ने अभ्यास पछि कतिले उडाए, गिज्याए पनि उनलाई खास फरक पर्दैनथ्यो । कोही हुन्, नहुन्, मान्छे कति छन्, भोट कति आयो, यस्ता कुरासँग उनी निरपेक्ष रहन्थे ।

२०१५ तिरै तात्कालीन गृहमन्त्रीले संक्रमणकालमा महिला हिंसा (बलात्कार) सामान्य हो भनेपछि सिंहदरबारतिर ढाड फर्काएर 'सरकारलाई ढाड फर्काउने' (सो यो ब्याक टु दि गभरमेन्ट) सांकेतिक विरोध प्रदर्शन आयोजना गर्दा सुरुमा पुकार बम, उज्ज्वल दाई र ममात्रै जम्मा तीनजना जम्मा भयौं । तीनजना भन्या नि धेरै हो नि भनेर उनी ढाड फर्काएर बसिहाले ।

विशेषगरि सहरी युवाहरु वा अझै भनौं काठमान्डौं उपत्यकामा रहेका युवाहरुलाई सिनेमा हल, क्लब वा क्याफेभन्दा बाहिर ल्याएर सामाजिक, आर्थिक अनि राजनीतिक मुद्धाहरुमा सहभागी गराउन उनले खोलेको विवेकशील दल एउटा नयाँ प्लेटफार्म बन्यो । पब्जी, टिकटक र इन्स्टाग्राममा रमाईरहेको पुस्तालाई माईतीघर मण्डलासम्म उभ्याए । युवाका लागि काम गर्छौं भन्ने सामाजिक संस्थाहरु र ठूला भनिने दलका युवा भातृ संस्थाहरु अर्कमण्य भएका बेलामा केही गरौं भन्ने युवालाई मञ्च प्रदान गरे । नेता भनेको वाक्पटुता भएको, चिटिक्क मिलेको पहिरन लगाएको भन्ने भ्रम व्यापक रहेको समाजमा उनी सामान्य अनौपचारिक शैलीमै स्कुटरमा हिडिरहे । कहिले आफैं साडी लगाएर प्ले कार्ड बोकेर उभिए त कहिले सडकमै सुते ।

७२ को महाभूकम्पपश्चात उनले विवेकशील नेपाली दलको प्लेटर्फमबाट उद्दार, राहतको अभियानको नेतृत्व गरे । हामी फरक-फरक संस्थाबाट सकृय थियौं तर उनी सधैं प्रतिस्पर्धा नभई सहकार्यको मुडमा हुन्थे । र, भनिराख्थे- 'जो, जहाँबाट हुन्छ केही गरौं ।'

उज्ज्वल थापासँग लेखक ब्रमिम

२०१६ मा हार्वड विश्वविद्यालयमा अध्ययनरत नेपालीहरुको सकृयतामा नेपालमा भूकम्प र अनुभव तथा सिकाईहरुबारेमा छलफल भयो । उनी र म दुवै वक्ताको रुपमा सहभागी थियौं । कार्यक्रम सकिएपछि हार्वडको शौचालयमा भित्र फेरि भेट भयो । उनले जिस्काउँदै भने- 'ल हार्वडको शौचालयमा भेट भएको छ, सम्झानाको लागि सेल्फी खिचौं ।' फोटो खिचेपछि उनले नेपाल गएपछि युवा नेतृत्व जन्माउने कारखाना अर्थात् नेपाल लिडरसिप एकेडेमीको अवधारणा सुनाए र दलभन्दा भिन्न सो नयाँ संस्थाको नेतृत्व लिइदिन आग्रह पनि गरें । पछि त्यो अवधारणा खासै अघि बढेन ।

उज्ज्वल दाई सधैं नयाँ र फरक के गर्ने भनेर सोचिबस्थे, उनमा निजी स्वार्थ र महत्वकांक्षा थिएन । लोकमान कालमा डा. गोविन्द केसी अनसन बसेका थिए । अनसन सदाझैं केही सहमति गरेर राकियो तर उनका मागहरु पूरा गराउन डा. केसीलाई नै सडकमा ल्याउने प्रयत्न गरौं भन्ने सल्लाह भयो । डा. केसीसँगै हिडौं भन्ने कार्यक्रम गरियो । कार्यक्रम सञ्चालन मैले गरिरहेको थिएँ । जीवन क्षेत्री, उज्ज्वल दाइ र डा. केसीले बोल्ने योजना थियो । उज्ज्वल दाइले कार्यक्रम चलिरहँदा मेरो कानमा खुसुक्क भने- मेरो सट्टामा रन्जु दर्शनालाई बोल्न लगाउ । हजारौं संख्यामा नागरिक उपस्थित रहेको सो प्रदर्शनमा उनले रन्जु दर्शनालाई अघि सारे । सोही कार्यक्रमपछि रन्जुको पहिचान स्थापित हुँदै गयो र मेयरको चुनावसमेत लडिन् । सो कार्यक्रम सकिएपछि मैले दाइ किन नबोलेको भनेर सोधें । उनले आफूले बोल्न भनेर घरबाटै लेखेर ल्याएको भाषण देखाए र भने- 'तयारी त गर्नुपर्छ तर अरु नयाँ नेता नभई विवेकशील कसी दल बन्दैन नि !'

उज्ज्वल दाइको राजनीतिक घेरा सिमित थियो । नेपाली समाजका जटिल अर्थ राजनीतिक र संरचानात्मक मुद्दाहरुमा उनी भोकल थिएनन् । सन् २०११ मा नेपाली बिउ र किसानलाई आघात पुर्‍याउने मोनसान्टो नेपाल भित्राउने विरोध भइरहँदा उनीसँग छलफल हुँदासमेत उनी खासै बोलेनन् । मधेस आन्दोलनको सम्बोधनको माग गर्दै काठमाडौंमा भएका अभियान र प्रदर्शनमा उनलाई बोलाउँदा पनि उनको उपस्थिति हुन्थेन । केही विषयमा उनका सिमितता पक्कै थिए तर उनी इमान्दार थिए । 'यो विषयमा मैले बुझ्नै बाँकी छ- मलाई त्यत्ति थाहा छैन, म बुझ्छु है' भन्थे । यो विषयमा बुझ्ने कुनै लेख, रचना वा सामाग्री छ भने पठाउन भन्थे । ज्ञानको सिमितता सबैमा हुन्छ त्यसको बोध हुनु र त्यसलाई स्वीकार गर्नसक्ने नेतृत्व हामीमा कति छ त?

उज्ज्वल दाइले धेरै छिटो धेरै कुरा सुरु गरे र छिटै त्यागिदिए पनि । आफूले सुरु गरेको कम्पनी, आफूले सुरु गरेको अभियान र आफूले सुरु गरेको राजनीतिक दलबाट पनि उनी निरपेक्ष बसिदिए । 'दाई, तपाईं त बुद्ध नै पो बन्न लाग्नु भएछ' हाम्रो अन्तिम भेटमा मैले ठट्टा गर्दै भने, 'अन्तमा, सबै कुरा नै छोडेर जाने त हो नि होइन ?' उनी मुस्कुराए ।

विरामीको बिछ्यौनामा अचेत रहँदा नेपाल र विश्वभरिका नेपालीले उनीप्रति देखाएको सद्भावले पुष्टि गर्‍यो उनले धेरैको मन छोएका रहेछन् । उपचारका लागि छोटो समयमै उठेको ५० लाखले पनि उनीप्रतिको सद्भाव देखाउँछ । दुःख यसमा पनि रह्यो यो सबै उनले देख्न पाएनन् ।

अन्तमा, सबै कुरा छोडेर आज उज्ज्वल दाइ विदा भए । छोडेर जानेलाई पो ढुक्क छ दाई, यतै रहनेलाई कति दुःख ।

'कता गायब ?'

उज्ज्वल दाइको त्यो प्रश्नको उत्तर नदिएको अन्तिम मेसेजले आज टाउकोमा मज्जाले हिर्कायो ।

'उज्ज्वल दाइ, अहिले त दोस्रोपटक कोरोना संक्रमित भएर तपाईंलाई आईसोलेसनबाट श्रद्धाञ्जलीका दुई शब्द लेख्दै छु ।'

भेटेरै गर्ने भनेको कुरा बाँकी रहे, नयाँ योजना त्यसै रहे । म अवाक् भएको छु उज्ज्वल दाइ । अब यादबाहेक गर्ने भनेको प्रतिवद्धता नै त हो । नयाँ पुस्तालाई राजनीति र नेतृत्वमा ल्याउन गर्ने प्रतिवद्धता, दुनियाँले जे सूकै भनोस् तर समाजलाई सही दिशा दिन गर्ने प्रतिवद्धता । अहिले यिनै प्रतिवद्धता तपाईंलाई श्रदाञ्जली भयो ।

तपाईंको मेसेजको समयमै रिप्लाई नगरेकोमा साह्रै पछुतो छ ।

'उज्ज्वल दाइ, सरी फर लेट रेस्पोन्स !'

प्रकाशित : जेष्ठ १८, २०७८ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?