कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जनकपुरका युवा जसले मैथिली विकिपिडियाको सुरुवात गरे 

बुनु थारु

काठमाडौँ — जनवरी १५ मा विकिपिडियाले स्थापनाको २० वर्ष मनायो । सो अवसरमा विकिमिडिया फाउन्डेशनले विकिपिडियामा बढी खटिने सक्रिय स्वयंसेवकहरुलाई विशेष सम्मान प्रकट गर्‍यो । विकिपिडियामा विभिन्न लेख, रचना तथा सम्पादन गरेर योगदान दिने विभिन्न देशका १८ स्वयंसेवकमध्ये नेपालका २१ वर्षीय तुलसी भगत पनि पर्न सफल भए । ती योगदानकर्तामध्ये जनकपुरका भगत कान्छा स्वयंसेवक हुन् । 

जनकपुरका युवा जसले मैथिली विकिपिडियाको सुरुवात गरे 

नेपालमा सबैभन्दा बोलिने भाषामध्येमा दोस्रो नम्बरमा पर्छ मैथिली । भारतलगायत देशमा पनि यो भाषा बोलिन्छ । करिब ६ वर्षअगाडि भगतले विकिपिडियामा सामग्री खोज्दा मैथिली विकिपिडिया नभएको फेला पारे । उनलाई यो कसरी सुरु गर्न सकिन्छ होला भन्ने खुलदुली हुन थाल्यो । त्यतिबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । उनका टिममा रहेका विपलब आनन्द, विजय चौरासिया र पंकज देवले मैथिली विकिपिडिया ल्याउने सोच्न थाले ।

सन् २००८ मा कुनै समूहले मैथिली विकिपिडियाका लागि आवेदन दिए पनि कोही प्रयोगकर्ता आएका थिएनन् । फाउन्डेशनलाई त्यसलाई ‘होल्ड’मा राखेको थियो । भगतको टिमले त्यो आवेदनलाई सुरु गर्नका लागि फाउन्डेशनमा चिठी पठाए । ६ नोभेम्बर २०१४ मा मैथिली विकिपिडिया लन्च भयो ।

मैथिली विकिपिडियामा लगाव किन भन्ने प्रश्नमा भगत भन्छन्,‘मुख्य कुरा त मलाई मातृभाषाको मायाले डोर्‍याएको हो । अहिले खासमा धेरैले आफ्नो भाषा बोल्नै छोडिसके । बोल्नेले लेख्न बिर्सिसके । त्यसैले पनि यसबाट केही भए पनि आफ्नो भाषामा योगदान हुन्छ भनेर यसमा खटिएको हो ।’ उनले यो विकिपिडिया आउनुअघि इन्टरनेटमा मैथिली भाषामा सामग्री नै नपाइने हुनाले पनि यसले केही सहज बनाउने उद्देश्यले पनि विकिपिडिया सुरु गरेको बताउँछन् ।

खासमा मैथिली भाषाको आफ्नै लिपी ‘तिरहुता’ छ जुन लगभग लोप हुने अवस्थामा छ । भगत भन्छन्, ‘मैले आफैं पनि यो लिपी सिक्न मन छ तर यसको ज्ञाता नै कम रहेछन् । अवसर पाएको छैन ।’

...

विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोशको रुपमा चिनिन्छ । यसमा इन्टरनेटमा पहुँच भएका जोकोहीले पनि लेखहरु संशोधन, परिवर्तन र परिमार्जन गर्न सक्छन् । ३१७ भाषामा यसबाट विभिन्न विषयका लेखहरु पढ्न पाइन्छ । मैथिली विकिपिडियामा हाल ९ हजार ७०० दर्ता गरेका प्रयोगकर्ता रहेका छन् र १३ हजार ६१४ लेखहरु समावेश छन् भने २५ सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । मुख्य पृष्ठमा हालसम्म १२ हजार ९५५ जनाले अवलोकन गरिसकेका छन् ।

१५ वर्षको उमेरदेखि मैथिली विकिपिडियामा स्वंयसेवकका रुपमा खटिरहेका भगत यसप्रति एकदमै क्रेजी छन् । फुर्सद हुनेबित्तिकै ल्यापटप खोलिहाल्छन् र केही नयाँ सामाग्री तयार पार्न जुटिहाल्छन् । दिनमा १ देखि दुइटा लेखहरु तयार गर्न सक्ने भगत भन्छन् , ‘कुनै जानकारीमूलक लेख तयार पार्दा आफ्नो पनि ज्ञानको दायरा बढ्छ र अरुले पनि जान्ने मौका पाउँछन् ।’ उनले एउटा सानो लेखका लागि विभिन्न अध्ययन गनुपर्ने बताए । घण्टौँ लाग्छ र आधिकारिक समाचार स्रोत मात्र प्रयोग गर्नुपर्ने भगतको भनाइ छ ।

भगतले विकिमिडिया फाउन्डेशनका अरु प्रोजेक्टहरु जस्तै विकिमिडिया कमन्स्, मिडियाविकि, नेपाली विकिपिडियामा पनि स्वयंसेवकको रुपमा काम गर्छन् । हालसम्म उनले ८९ हजार बढी लेखहरु सम्पादन गरिसकेका छन् । उनले विकिपिडियाका बारेमा जानकारी दिन विभिन्न अभियान पनि सञ्चालन गर्ने गर्दछन् । उनी विकिमिडिया इन्डियाबाट ‘फिचर्ड विकिमेडियन अफ द मन्थ’ सम्मानसमेत पाएका छन् ।

उनको टिमले विकिपिडियाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने, लेख्न तथा सम्पादन गर्ने, फोटो राख्न सिकाउने ‘विकि अवेरनेस क्याम्पियन इन नेपाल’ कार्यक्रमहरु विभिन्न विद्यालयमा सञ्चालन गर्ने गरेको छ । भगतले विकिपिडियामा खटेर काम गरेकोमा आमदानी नपाए पनि विकिमिडिया फाउन्डेशनले कामको कदर गरिदिएकोमा खुसी लागेको छ उनलाई । भन्छन्, ‘मेरो प्यासनले मात्र यसमा खटिएको हो, भविष्यमा आफूले सकुन्जेल लागिरहने सोच छ ।’

जनकपुरको मोडल मल्टिपल कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययरत उनले ६ वर्षको अवधिमा आफूले धेरै क्षेत्रका ज्ञान बटुल्न सकेकोमा खुसी र उर्जा दुवै मिल्ने गरेको बताए । भविष्यमा उद्यमी बन्ने सोच पालेका उनले मैथिली विकिपिडियामा मैथिली संस्कृति तथा इतिहासका अझै बढी कन्टेन्टहरु बढाउने इच्छा रहेको बताउँछन् । उनले चाँडै मैथिली विकिसनरी (शब्दकोश) पनि सुरु गर्ने सोच रहेको जानकारी गराए ।

प्रकाशित : माघ १३, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?