कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टिप्पणी : गोयल भ्रमणका अनुत्तरित प्रश्नहरु

मोदीका विशेष दूतका रुपमा गोयल आएको उपप्रधानमन्त्रीको भनाइ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — ६ दिनअघि भएको छिमेकका एक गुप्तचरको गोप्य भ्रमणको तरंग काठमाडौंमा अझै सेलाएको छैन । भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयल बुधबार कात्तिक ५ गते बिहान सुटुक्क काठमाडौं आइपुगे । दिउसोसम्म उनको यो गुप्त भ्रमणको खबर छताछुल्ल भइसकेको थियो । 

टिप्पणी : गोयल भ्रमणका अनुत्तरित प्रश्नहरु

८ घण्टाका लागि आएका भनिएका गोयल बिहीबार बिहानमात्रै फर्किए । तर, उनले कसलाई भेटे, के मिसनमा आएका थिए भन्ने सूचना अझै गोप्य नै थियो । संचारमाध्यम र सामाजिक संजालमा उनको भ्रमणलाई लिएर व्यापक प्रश्न उठे । उनी फर्किएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर गोयलले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको सार्वजनिक गरे । त्यसले यो भ्रमणलाई झन् चर्चामा ल्यायो । भ्रमणको उद्देश्यदेखि प्रोटोकलसम्मका प्रश्न उठे । यो भ्रमणलाई लिएर सरकारको आलोचना बढ्न थालेपछि आइतबार कात्तिक ९ गते बेलुका उपप्रधानमन्त्री इश्वर पोखरेलले फेसबुकमा एउटा लामो स्टाटस लेखेर गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको दर्जा दिए, जुन कुरा यसअघि सरकारका कुनै पनि निकाय र अधिकारीले बताएका थिएनन् ।

उपप्रधानमन्त्री पोखरेलको यो भनाइपछि फेरि चर्चा सुरु भएको छ– के साँच्चिकै गोयल विशेष दूतका रुपमा आएका थिए ? यदि थिए भने यो कुरा भारत र नेपालका सरकारी संयन्त्रले किन पहिले बताएनन् ? किन भारतीय दूतावासले गोयल काठमाडौं आएको नै अस्वीकार गर्‍यो ? किन परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे अनभिज्ञता प्रकट गर्‍यो ? किन उनको भ्रमणको सूचना र भेटघाटका सूचना गोप्य राखिए ? किन विपक्षी दलका सांसदले उनको भ्रमण र प्रधानमन्त्रीसँगको गोप्य भेटमा ‘राष्ट्रिय सुरक्षामा थ्रेट’ महसुस गरे । किन परराष्ट्रमन्त्री भइसकेका सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री र गोयलको भेटलाई कुटनीतिक मर्यादाविपरित भनेर सार्वजनिक अभिव्यक्ति दिए ? यसका साथै सीमा र नक्साको विषयमा कुरा गर्न राजनीतिक वा कुटनीतिक तहमा नभएर प्रधानमन्त्रीले रअका प्रमुखसँग वार्ता गर्न किन पर्‍यो भनेर उठेका सवालको पनि जवाफ कुनै पक्षले दिएका छैनन् ।

अनि, यो भ्रमणबारे उठेका प्रश्नहरु उपप्रधानमन्त्री पोखरेलले भनेजस्तै प्रायोजित कुप्रचार नै हुन् त ? हुन् भने यसको प्रायोजन कसले गरिरहेको छ ?

नेपाल र भारतको सरकारी तहबाट भ्रमणलाई गोप्य राखिएपछि यो रहस्यमय शैलीको हुने भइ नै हाल्यो । त्यसमाथि भ्रमणबारे जसरी किस्ता–किस्तामा सूचनाहरु चुहाइएको छ त्यसले भ्रमणलाई थप रहस्यमयी बनाउने काम गरेको छ । आइतबार जसरी उपप्रधानमन्त्री पोखरेलले आलोचना र प्रश्नहरुलाई नै कुप्रचार भन्दै वास्तविकतामा उनी प्रधानमन्त्री मोदीको विशेष दूत भएको बताए यदि उनी त्यही हैसियतमा आएका हुन् र सीमा सम्बन्धि विषयमा मात्रै छलफल गरेका हुन् भने यसलाई गोप्य राख्नु नै राख्नु पर्ने थियो त ? सीमासम्बन्धि छलफलकै विषयलाई लिएर नेकपाभित्र एउटा पक्षले अकुटनीतिक देख्ने र अर्को पक्षले प्रायोजित कुप्रचार देख्ने भएको हो त ?

गोयल कात्तिक ५ गते काठमाडौमा उत्रिएका थिए । कान्तिपुर संवादाताले गोयल नेपालमा आएको पुष्टि गर्न खोज्दा परराष्ट्र मन्त्रालयले कुनै जानकारी नभएको बतायो । अर्कोतर्फ काठमाडौंस्थित भारतीय राजदुतावासका पदाधिकारीले त गोयल नेपालमै नआएको दावी गरेको थियो । जबकि, उपप्रधानमन्त्री पोखरेलले परराष्ट्रका प्रतिनिधिसहित भेट गरिएको बताएका छन् ।

गोयल कात्तिक ५ गते चार्टर्ड विमानबाट काठमाडौं आएका थिए । उनले सोही दिन बेलुकी बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । र, कात्तिक ६ गते बिहान नयाँ दिल्ली फर्किएका थिए ।

गोयल काठमाडौंमा रहुन्जेलसम्म उनी काठमाडौंमा छन् भन्ने आधिकारिक जानकारी नै नेपाल सरकारले दिएन । उनी दिल्ली फर्केलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले गोयललाई अघिल्लो दिन बेलुकी भेटेको कुरा सार्वजनिक गरे ।

त्यसलगत्तै कान्तिपुरसँग प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ओली र गोयलबीचमा दुई मुलुकबीच रहेका तमाम समस्याहरुलाई शान्तिपूर्ण रुपमा कुटनीतिक वार्ता तथा छलफल गरी समाधान गर्ने विषयमा कुराकानी भएको दावी गरेका थिए । गोयल मोदीको विशेष दूतका रुपमा आएको उनले बताएका थिएनन् ।

प्रधानमन्त्री ओलीले भेटवार्ताअघि नै सार्वजनिक रुपमा जानकारी दिनु पर्ने कुरा उनी फर्किएपछिमात्र बाहिर आउनुलाई धेरैले शंकाको नजरले हेरेका छन् ।

२०७२ सालमा नेपालको संविधान जारी हुनु तीन दिनअघि भारतीय प्रधानमन्त्री मोदीले नेपालमा विशेष दूतका रुपमा तत्कालीन विदेश सचिव तथा वर्तमान विदेश मन्त्री एस. जयशंकरलाई पठाएका थिए । त्यतिबेला र त्यसअघि पनि विदेश दूत पठाउँदा भारतीय पक्षले सूचना बाहिर ल्याउने गरेको छ । यसपटक गोयलको भ्रमणमा भारतीय पक्षले कुनै प्रतिक्रिया दिएको छैन । दूतावासले भ्रमणलाई अस्वीकारै गरेको थियो ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु ठीक कि बेठीक भन्ने बहसमा ३ दिनपछि मिसिएका उपप्रधानमन्त्री पोखरेलले सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्ने प्रयास गरेका छन् ।

पोखरेलले ‘प्रधानमन्त्रीसँग रअका प्रमुखको भेट : प्रायोजित कुप्रचार र वास्तविकता’ का बारेमा लेखेका छन् । उनको ६ बुँदे टिप्पणीको पहिलो बुँदामा भनिएको छ, ‘भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।’

उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएको दावी गरेका छन् । ‘काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो,’ पोखरेलले लेखेका छन् । तर गोयलको भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र भारतीय दुतावास दुवैले कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएको थिएन ।

पोखरेलले प्रधानमन्त्री ओलीले गोयलको टोलीसित केके विषयमा कुरा गरेको, ओलीसित रहेका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेको र टिपोट गरेको दावी गरेका छन् । उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।’ तर कात्तिक ५ गते राति परराष्ट्र मन्त्रालयबाट को–को प्रतिनिधि सामेल भएको र कसले टिपोट गरेको हालसम्म कुनै पनि जानकारी छैन । परराष्ट्र मन्त्रालयले गोयल भ्रमणबारे औपचारिकरुपमा कुनै प्रतिक्रिया वा सूचना सार्वजनिक गरेको छैन ।

उपप्रधानमन्त्री पोखरेलले भेटवार्तामा प्रधानमन्त्री ओलीले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको दावी गरेका छन् ।

‘त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालकातर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो,’ उनले लेखेका छन्, ‘त्यहाँ गोयल (हरू) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।’

पोखरेलले गोयलको भ्रमणमा भएको आलोचनालाई लिएर ओली नेतृत्वको सरकारलाई विरोध गर्नु भनेको अस्वस्थ्य मानसिकता बोकेर काम गरिरहनु रहेको बताएका छन् । उनले लेखेका छन्, ‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन्– ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ? उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।’

उनले थप लेखेका छन्, ‘प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्‍याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलतखालको बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् ।’

हालैको मन्त्रिपरिषद् हेरफेरमा रक्षा मन्त्रीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी सरुवा भएका (सरकारी पक्षको भनाइमा बढुवा गरिएका) क्याबिनेटका वरिष्ठतम सदस्य पोखरेलले सरकारे बचाउ गर्नु स्वभाविक हो । तर, सीमाका समस्या लगायतका गम्भीर विषयमा भएका कुराकानी, पोखरेलकै भनाइमा मोदीका विशेष दूतसँगको वार्ताबारे उपप्रधानमन्त्रीले सार्वजनिक गर्ने जानकारी यिनै र यस्तै हुन् त ? पार्टीभित्रको आन्तरिक विवादबारे बोलेजस्तो, आलोचनालाई कुप्रचार भनेर सरकार पन्छिने प्रकरण हो त यो ?

प्रकाशित : कार्तिक १०, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?