पहिरोका घाइते भन्छन्, ‘बस्ती सारिदेउ भन्दा बेवास्ता गरे, अहिले यस्तो भयो’

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिकाको वडा २ गोल्चे लिदिमा १३ घर पुरिए । ३८ जना सम्पर्कविहीन भएको गाउँपालिकाले सूची बनाएर सार्वजनिक गरिसकेको छ । घटनास्थलमा पाँचजनाको शव फेला परेको छ । 

पहिरोका घाइते भन्छन्, ‘बस्ती सारिदेउ भन्दा बेवास्ता गरे, अहिले यस्तो भयो’

यो बस्तीभरका स्थानीय शोकाकुल बनेर पहिरो हेर्दैछन् । पहिरोबाट बाँचेका पाँचजना गम्भीर घाइतेमध्ये चारजनाको चौतारास्थित अस्पताल र एक जनाको काठमाडौस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले पहिरोको जोखिममा रहेको थाहा हुँदाहुँदै सरकारले बेवास्ता गरेकाले यस्तो भएको आरोप लगाएका छन् । भूकम्पपछि विज्ञहरुले यो स्थानलाई पनि बस्ती स्थानान्तरण गर्नुपर्ने स्थानका रुपमा औंल्याएका थिए । यसै महिनामा पनि सानो पहिरो आएपछि निवेदन दिएको तर सरकारी निकायले वास्ता नगरेको उनीहरुको भनाई छ । चौतारा अस्पतालमा उपचार गराइरहेका घाइतेको भनाई :

श्रीमानले तानेर बचाए

जुनमाया तामाङ, ३४ वर्ष

ठ्याक्कै ७ बजेको थियो । घरको बुइगलमा कोदो सुकाउन राखेको थिए । पानी पर्लाजस्तो भएपछि कोदो झिक्न गएँ । अचानक ड्याम्म गरेको आवाज आयो । म साह्रै आत्तिएँ । के भएको हो भनेर सोच्नै सकिनँ । घर जोडले हल्लिन थालेपछि भूकम्प आएको सोचेर घरबाट बाहिर निस्कएर भाग्ने बाटो हेरें । माथिबाट पहिरो आएको देखेपछि के गरौं के गरौं भनेर अलमलमा परे । घरमा ठूला ढुंगा र पहिरोले पुरिसकेको रहेछ । म बेहोशजस्तै भएँ ।

घरकै ढुंगाले मेरो आधा शरीर थिचेर दुखेपछि होश आयो । अनि बेस्सरी चिच्याएछु । छेउमै आइपुग्नुभएको श्रीमानले मलाई बल लगाएर तान्नुभयो । बाहिर निकाल्नुभएछ, बल्ल होश आयो, म बाँचें । यहाँ पहिलेदेखि जोखिम थियो । हामीले निवदेन पनि दियौं तर सरकारले केही गरेन । धन्न भागेर बाँचे, नत्र कहाँ हुन्थ्ये कहाँ ?


बस्ती सारिदिनु भनेर निवेदन दियौं, वास्ता गरिएन

पासाङ दोङ, २१ वर्ष

त्यतिखेर घरमा खाना पकाएर खाने तैयारीमा थिए । बिहानको त्यस्तै ७ बजेको होला । गास नहाल्दै घर हल्लिन थाल्यो । काका, ठूलोबा, छोराछोरी, बाजे सबै आत्तिए । म पनि अन्योलमा परें । एकैपटक ग्यार्लम्म गरेर पहिरोले घरको पर्खाल ढालेपछि मेरो सातो गयो । म अरुलाई छिटो निस्कनुस् भन्दै ढोकातर्फ भागें । निस्कने बाटो देखेपछि पुरा शक्ति लगाएर दौडें । खुल्ला ठाउँमा आइपुग्दा हात र खुट्टामा गहिरो चोट लागेकाले दुखिरहेको थियो ।

भूकम्प आएपछि बस्तीहरुको अध्ययन हुँदा हाम्रो ठाउँलाई पहिरोको जोखिममा भएकाले सार्नुपर्ने बस्ती भनेर विज्ञले भनेका थिए । हामीले त्यसैबेला पनि सरकारी निकायलाई भनेका थियौं । यसै महिना साउनमै सानो पहिरो आएपछि वस्ती सारिदिनुस् भनेर भन्यौं । हामीले गएको साउन २३ मा जिल्ला विपद् व्यवस्थापन समिति र गाउँपालिकालाई निवेदन दिएका थियौं । केही गरिएन ।

(उपचारको क्रममा चौतारा अस्पतालमा कुराकानीमा आधारित ।)

प्रकाशित : श्रावण ३०, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?