२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

श्रीमानको शव साउदीमा छ, ल्याउने कसरी ?

रीना मोक्तान

काठमाडौँ — ६ वर्षीय छोराले 'बाबाको फोन आएन, भिडियो कल गर्नुभएन' भन्दा मिनु श्रेष्ठसँग जवाफ हुँदैन । छोरा दिपुले बाबाबारे सोधिरहँदा उनीसँग उत्तर छैन ।

श्रीमानको शव साउदीमा छ, ल्याउने कसरी ?

आँशु लुकाउन खोज्छिन् । दिपुलाई कोरोना भाइरसका कारणले बुवा बितेको कुरा बुझ्‍न अझै समय लाग्ला । उनी बाबासँगै नियमित भिडियो कुराकानी गर्थे । फोनमा धेरै कुराकानी गर्दा उनी झर्को पनि मान्थे । अहिले भने दिपुलाई न्यास्रो लागेको छ ।

शनिबार मीनुको घर पुग्दा उनी भनिरहेकी थिइन्, 'मलाई त उहाँ जीवित नै हुनुहुन्छजस्तो लाग्छ ।' मीनुका पति चैतमा बिदा मनाउन भनेर साउदीबाट फर्केका थिए । ७५ दिनको छुट्टी लिएर स्वेदश फर्किएका उनले परिवारसँग ६० दिनमात्रै बिताए । वैशाखमा उनी विदेश फर्किसक्दा नेपालमा कोरोनाको कहर सुरु हुँदै थियो । साउदी पुगेको केही दिनमै उनी अस्वस्थ भए । कम्मर दुख्‍ने रोगले च्याप्‍न थालेपछि उनलाई अन्य रोगहरुले पनि आक्रमण गर्न थाल्यो । उनी ओछ्यान पर्ने अवस्थामा पुगे । त्यसबेला नेपालमा लकडाउन भइसकेको थियो ।

'कम्मर दुखेको भन्नुहुन्थ्यो । जँचाउन जानु भनेँ । डाक्टरले औषधि दिएछ । हाम्रो भान्जा डाक्टरले चाहिँ त्यो औषधि नखानु भनेर रोकेको थियो । त्यो खानु नहुने औषधि 'रे' । त्यो औषधि खाएको एक हप्तामा थला पर्नुभयो,' मीनुले भावकु हुँदै भनिन्, 'उहाँ थला परेको सुन्नासाथ उपचार गरिदिनु भनेर उहाँ काम गर्ने कम्पनीको अपरेसन म्यानेजर सम्री खानलाई मेसेज पठाएँ। त्यतिबेला किड्नी फेल भएको थाहा भयो ।'

बिरामी पतिलाई नेपाल फर्काउन चाहन्थिन् मीनु । तर, समय उनको साथमा भइदिएन । लकडाउनका कारण सबै अन्तर्राष्ट्रिय उडान त्यही बेला बन्द भए । श्रीमानलाई साउदीकै 'एसएमसी' अस्पतालमा भर्ना गरियो । उनलाई आईसीयूमा राखेर उपचार थालियो ।

असार १३ गते उनले अस्पतालमै प्राण त्यागे । 'धेरैपछि त उहाँ बोल्नै नसक्ने हुनुभयो । पाइपबाट खाना दिएको रहेछ । डाक्टरलाई कत्ति फोन गरें । जहिल्यै बोल्न मिल्दैन भन्ने । छेउको भाइलाई अंग्रेजीमा सोध्न लगाउँदा जहिल्यै बेटर छ भन्ने । एकचोटी भिडियोमा देखाइदिनु भन्थें । भिडियोमा देख्न नपाउँदै उहाँ बित्‍नुभयो,' गहभरी आँशु झार्दै भनिन्, 'हर्टअट्याक भएको रहेछ सुरुमा ।'

०००

कोरोनाको कारण मृत्यु भएको रिपोर्ट त्यहाँको अस्पतालले पठाएको छ । उनको पार्थिव शरीर साउदीमै छ । मीनु अन्तिमपटक पतिको अनुहार हेर्न चाहन्छिन् । 'उहाँलाई उता प्लेन गएको बेला ल्याउने कुरा थियो । कोरोना टेस्ट गर्दा पोजिटिभ देखाएछ । खोइ डाक्टरबाट कोरोना सरेको भन्छन्,' मलिन स्वरमा सुनाइन्, 'उनीहरुले के गरि रिपोर्ट निकाले भगवान नै जानून् । उहाँलाई पठाइदिन्छ कि भन्ने आश छ ।'

कोरोनाबाट ज्यान गुमाएकारुको शव नेपाल ल्याउन मिल्दैन भन्ने मीनुलाई थाहा छ । तर, उनको मन मान्दैन । जीवित हुँदै नेपाल ल्याउन हर प्रयास गरेकी उनलाई अनुहार नै हेर्न भए पनि श्रीमानको शव यतै ल्याउने मन छ । उनको परिवार पनि यही चाहन्छन् । श्रीमानको शव ल्याउनका लागि उनले एक हप्तादेखि हार-गुहार गरिरहेकी छन् । 'मान्छे त देख्‍न पाइँन । यहाँ ल्याएर अनुहार हेर्न पाए हुन्थ्यो भन्ने आशा छ,' लामो सास फेर्दै उनले सुनाइन् ।

लकडाउनअघि मीनु द्वारिका होटलमा हाउस किपिङको काम गर्थिन् । फागुनदेखि उनी बिदामा छिन् । आफूले बचत गरेको केही पैसाले उनले यो तीन महिना खर्च टारिन । उनले मञ्जुरी दिएपछि मात्रै साउदीमा रहेको श्रीमानको शवको व्यवस्थापन हुन्छ । शव ल्याउन खर्च धेरै लाग्छ । यो सम्झँदा दुतावासमा गएर मन्जुरीनामा दिने हो कि भन्ने दोधारमा पनि छन् उनी । परिवारले मीनुलाई शव नेपालमै ल्याउन जोड दिइरहेका छन् । उपचार गराइरहेका बेला कुरा हुँदा उनका श्रीमानले पनि नेपाल आउने चाहना व्यक्त गरेका थिए । मृत्युपछि भए पनि पतिको ईच्छा पूरा गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ ।

'यिनीहरुले मलाई नेपाल पठाउँदैनन् होला । यीनिहरुले मलाई यी मार्छन् होला । मलाई जसरी भए पनि झिका भन्नुहुन्थ्यो,' मिनुले अस्पतालको लापरबाहीका कुरा जोडिन्, 'डाक्टरले वास्तै नगर्ने, नर्सको भरमा राख्दिने गरेपछि उहाँ हातगोडा दुखेर कति रुनुहुन्थ्यो ।' आँशु पुच्छ्दै भनिन्, 'छोराहरुलाई राम्ररी हेर्नु । म नेपाल आइपुग्दिनँ होला भनेर भन्नु पनि भएको थियो । उहाँलाई मनभित्र त्यस्तो अनुभव भयो होला । मैले त्यस्तो नचाहिँदो कुरा नगर्नु प्लेन चलेपछि आइहाल्नु हुन्छ भनेर भनेको थिएँ ।'

अन्तिम स‌ंस्कार गर्न संखुवासभा जानुपर्छ । लकडाउनले गर्दा मीनुलाई पीडामाथि पीडा थपिएको छ । 'लामो झन्झट गर्नुभन्दा अब काजकिरिया गर्नुपर्‍यो भन्ने लागेको छ । गाडी चलेको छैन । अब रिजर्भ गरेर संखुवासभा जाँदा कति खर्च लाग्छ । मलाई त त्यसकै पनि चिन्ता छ,' उनले निधारमा हात राख्दै भनिन् ।

मीनुलाई दुई छोराको चिन्ताले पनि निदाउन दिँदैन । जेठो छोरालाई बेलाबेला अष्ट्रेलियामा खर्च पठाउनु पर्छ । ६ वर्षीया दीपुलाई कसरी हुर्काउने त्यसको पीर छ । जागिर नै नभएपछि अन्योलमा छन् मीनु । 'जेठो छोरोलाई पढाइको पैसा दिनुपर्ने बेला भइसक्यो । बाउ हुँदा पो बाउले खर्च पठाउँथ्यो । म त के गरौं गरौं भइरहेको छ,' दीपुलाई काखमा च्याप्दै भनिन्, 'ठूलो त हुर्क्यो । यसलाई कसरी हुर्काउने हो !' छोराहरुको पीरले पनि उनी बिरामी हुँदै गएकी छन् । उनी आफैं पनि मधुमेहकी बिरामी हुन् ।

२०५३ सालमा भागी बिहे गरेकी मीनुले पतिसँग लामो समय कहिल्यै बिताउन पाइनन् । जेठो छोरा जन्मिएपछि श्रीमान कमाउनका लागि विदेश गए । अभाव उस्तै थियो । साउदीमा वर्षौं दुःख गरेर भक्तपुरको आदर्शमा घर बनाएका थिए । घर बनाउँदाको ऋणको चिन्ता पनि छ मीनुलाई ।

'मान्छेले हेर्दा कत्ति न घर छ जस्तो गर्छन् । आफ्नो समस्या आफैंसँग छ । छोरा पढ्न पठाएको र यो घरको गरेर २०/२५ लाख ऋण छ । अब कसरी तिर्ने हो ?' मीनुले आँसु खसालिन् ।

प्रकाशित : असार २१, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?