१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आत्मबल दरिलो बनाउँदै ज्येष्ठ नागरिक

रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बूढाबूढीलाई कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भन्ने त्रास चौतर्फी छ । त्यसैले ज्येष्ठ नागरिक रहेका घरपरिवारले सतर्कता अपनाएका छन् ।
गणेश राई

काठमाडौँ — साँझ–बिहान एकदुई किलोमिटर हिँड्ने उनी कोभिड–१९ संक्रमणको जोखिमले घरबाट टाढा गएका छैनन् । गण्डकी प्रदेशको म्यादी नाङ्गीमा जन्मिएका ९८ वर्षीय गेरु पुन (गर्बुजा) भन्छन्, ‘घर वरिपरि हिँड्ने, टीभीमा लोकदोहोरी हेर्ने, भजनकीर्तनका किताब पढ्ने गरेरै दुई महिना बित्यो ।’ उनी अहिले ललितपुरको ढोलाहिटीमा कान्छी बुहारी र नातिनीका साथ बस्दै आएका छन् ।

आत्मबल दरिलो बनाउँदै ज्येष्ठ नागरिक

पुन भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक हुन् । आँखाको तेज, कानको सुन्ने शक्ति र आत्मबल बलियो भएको उनको कथन छ । बुढ्यौली लाग्दै गरेपछि रक्तचाप, युरिक एसिड, सुगर, नसासम्बन्धी समस्या आउनु स्वाभाविक हो । तालिकाअनुसार औषधि सेवन गर्ने गरेको उनकी बुहारी प्रतिभा पुनले सुनाइन् । ‘लकडाउन भएपछि बीचमा बुबालाई रुघाखोकी लागेको थियो तर बेसार, ज्वानो पानी एक साता पिउनु भएपछि सबै ठीकठाक छ,’ उनले भनिन् ।

गेरु पुन

काठमाडौं असनकी ९२ हीराशोभा तुलाधरको दैनिकी आफ्नै छ । उनी नेपालभाषा (नेवारी) बोल्छिन् । नेपाली बुझ्छिन् । त्यसैले एफएम, टेलिभिजनमा नेपालभाषाका कार्यक्रम र समाचार सुन्ने गर्छिन् । नेवारी फिल्महरू हेर्छिन् । ‘जि बौध्द धर्मया मैत्री भावना पाठ नं याना’ (म बौद्ध धर्म मैत्री भावना पाठ पनि गर्छु) भिडियो कलमा उनले कान्तिपुरसित भनिन् । उनी छोरा, बुहारी, नाति, नातिनीका साथमा बस्छिन् । ‘श्रवण शक्ति, स्मरण शक्ति राम्रो र पढ्दा चस्मा प्रयोग गर्नुहुन्छ,’ कान्छो छोरा दीपक तुलाधर भन्छन्, ‘लकडाउन नहुँदा पनि उमेरले गर्दा आमा बाहिर निस्किनु हुन्नथ्यो, त्यतिबेला आफन्तजनहरूसँग भेटघाट भइरहन्थ्यो अहिले फोनमा मात्र बोल्नु हुन्छ ।’

बिरसी राई

ललितपुरको इमाडोलकी ८६ वर्षीया बिरसी राईको दैनिकी लकडाउनले खासै असर गरेको छैन । पुख्र्यौली घर खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँ हो । छोरी, ज्वाइँ, नाति, नातिनीका साथ बस्छिन् । वरिपरि कुटो लिएर मकै छर्ने, गोडमेल गर्नेदेखि आफ्नो लुगाफाटा आफैं धुने गर्छिन् । ‘लिबालिबा बाक्चाम्वाल पुम्ची ब्रुम्मे,’ (चुपचाप बस्दा घुँडा दुख्छ) उनले वाम्बुले राई भाषामा भनिन्, ‘कोरोना ब्लाम देम्मे, थाल्वाइ हाल्सि आहिम्सि’ (कोरोना आयो भन्छन् कहीं हिँड्न पाइएन) ।’ छोरी निर्मलाका अनुसार हरेक महिना अस्पताल पुगेर डाक्टरलाई भेट्ने र स्वास्थ्यबारे जानकारी लिने तालिका छ । ‘त्यसैले आमालाई अस्पताल जान नपाएकोले चित्त बुझेको छैन,’ उनले भनिन्, ‘श्वासप्रश्वास र अरू समस्या छन् । तर लकडाउनमा आमाको स्वास्थ्यमा गम्भीर समस्या आएको छैन ।’

निलाराज सन्जेल र मनमाया सन्जेल

उमेरले ८८ वर्ष टेकेका निलाराज सन्जेल ललितपुर चापागाउँका स्थानीय हुन् । उनी श्रीमती मनमाया सन्जेलका साथ नखिपोटमा बस्छन् । ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि भनेको त्यसै होइन,’ वयोवृद्ध सन्जेल भन्छन्, ‘तीन छोरा–बुहारी र ६ जना नातिनातिनी छन् । जेठो र बुहारीमात्रै स्वदेश अरू सबै विदेश छन् । धन्न बुढेसकालमा श्रीमतीसँगै बस्न पाएको छु ।’ उनी सुगर, प्रेसर, पिसाब, नसासम्बन्धी बिरामी छन् । लकडाउनअघि दैनिकजसो लौरोको भरमा दुई–चार किलोमिटर हिँड्ने गर्थे । अहिले टेलिभिजन हेर्ने र रेडियो सुन्नेमै दिन बितिरहेको उनको कथन छ ।

श्रीमती मनमाया उमेरले ६९ वर्षकी छन् । शारीरिक, मानसिक रूप स्वस्थ रहेका पतिको स्याहारसुसार गर्न सकेको उनको कथन छ । ‘२०२० जेठ ८ गते हामीले बिहे गरेका हौं, ५७ वर्ष भएछ,’ मनमायाले सम्झिइन्, ‘सँगै जिउने वाचा गरेजस्तै आजसम्म भगवान्को कृपाले बाँचिएको छ ।’ उनले समय कटाउन घरमा कुखुरा पालेको सुनाइन् ।

माइमती राई

इलामकी ८२ वर्षीया माइमती राई लकडाउनले गर्दा ललितपुरको नखिपोटमा छोरीको घरमै छिन् । उनी भक्तपुरको सल्लाघारीस्थित छोराको घरमा बस्छिन् । ‘अस्पताल धाउँदै गर्दा केही दिन छोरीकोमा बस्ने गरी आ’को लकडाउनले फिर्नै सकिनँ,’ उनले भनिन्, ‘हिँडडुल गर्न दिएको भए, इलामै गएर बस्नु मजा हुन्थ्यो ।’ घुँडा दुख्ने, प्रेसर जस्ता रोगको औषधि सेवन गरेको जनाइन् । त्यसैगरी दैनिकजसो छोरा–बुहारी, नाति–नातिनीसँग फोन संवाद गर्ने, युट्युब, टेलिभिजन हेरेर समय बिताउने गरेको उल्लेख गरिन् ।

खड्गबहादुर गुरुङ

संखुवासभाका ९१ वर्षीया खड्गबहादुर गुरुङ ललितपुर–१४ शिव चोकमा बस्छन् । ‘कस्तो कालले बितायो हौ यो कोरोना,’ लकडाउनअघि दैनिक दुई घण्टा हिँडडुल गर्दै आएको सुनाउँदै उनले भने, ‘घरमै खायो, बस्यो । हामी बुढापाकालाई लकडाउन त साह्रै नहुने रहेछ । हुँदै नभएपछि नख्खु खोला किनारतिर एक्लै हिँड्न थालेको छु ।’ कोरोना भाइरसबाट सुरुमा धेरै डर लागेको र अहिले आत्मबल दह्रो पारेर सतर्क रहेको उनले बताए । ‘आफ्नो त बेला जाँदैछ, छोराछोरीलाई समस्या आउला भनेर डर लाग्छ,’ उनको कथन छ ।

रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बूढाबूढीलाई कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भन्ने त्रास चौतर्फी छ । त्यसैले ज्येष्ठ नागरिक रहेका घरपरिवारले सतर्कता अपनाएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले देशभरि कुनै ज्येष्ठ नागरिक कोरोना भाइरसबाट संक्रमित नरहेको जनाएको छ । ‘अहिलेसम्म देशभरि कुनै ज्येष्ठ नागरिक कोरानाबाट संक्रमित छैनन्,’ महासंघका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले भने, ‘आश्रममा बस्ने ज्येष्ठ नागरिकले केही माग गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारसँग अनुरोध गरेर खाद्यान्न, सेनिटाइजर, मास्कजस्ता सामग्रीको व्यवस्था गरिदिएका छौं ।’ लकडाउनअघि नै ज्येष्ठ नागरिकलाई आवश्यक औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

उनका अनुसार मनाङ, रोल्पा र कालीकोटबाहेक ७४ जिल्लामा महासंघको सञ्जाल रहेको छ । देशभरिमा २७ लाख ५० हजार जति ज्येष्ठ नागरिक रहेको र तीमध्ये १४ लाखले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । उमेरले ७० वर्ष र सोभन्दा माथिकाले मात्र सामाजिक भत्ता पाउँदै आएका छन् । ‘कोरोनाबाट बच्न जारी भएको लकडाउनका बेला कम्तीमा ६० देखि ६९ वर्ष उमेरकाले पनि मासिक तीन हजार भत्ता उपलब्ध गराउनुपर्छ भनेर सरकारसँग माग गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो लकडाउनका बेला ज्येष्ठ नागरिकलाई घरपरिवारका सदस्यले हेरविचार गर्न अनुरोध छ । साठी वर्ष माथिकालाई बिर्सिने रोग लागेको हुन सक्छ । एकै ठाउँ बसेर चिन्ताग्रस्त हुन सक्छन् । कम्तीमा मन बहलाउन के के आवश्यक छ बुझ्न अनुरोध छ ।’

मध्यम वर्गभन्दा उच्च घरानाका ज्येष्ठ नागरिकलाई बढी समस्या देखिएको महासंघका अध्यक्ष श्रेष्ठले बताए । ती परिवारका छोरा, बुहारी विदेशमा रहेकाले हेरचाहको कमीले पनि समस्या आउने गरेको उनको कथन छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले लकडाउनका बेला जोखिम अवस्थाका र बेसहारा ज्येष्ठ नागरिकलाई सुरक्षा व्यवस्था गरिएको बताए । ‘सरकारले सकेसम्म ज्येष्ठ नागरिकलाई आश्रय र सुरक्षाको व्यवस्था गरेको छ । यदि कोही बेसहारा अवस्थामा भए स्थानीय निकायलाई खबर गर्न अनुरोध छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?