कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हुचिल हेर्न यस्तो पर्खाइ !

दिउँसो माउ देखिँदैन । बच्चा बेलाबेला गुँडबाहिर आएर नियाल्छ । त्यही मौकामा फोटोग्राफरले २/४ क्लिक हानिहाल्छन् ।
रमेशकुमार पौडेल

चितवन — सुकेको पुरानो रुख नजिक केही दिनयता फोटोग्राफरहरु निरन्तर झुम्मिन थालेका छन् । लगभग बीचबाट भाँच्चिएको रुखले मात्रै उनीहरुलाई तानेको होइन । रुखमा  बेलाबेला सानो बचेरो देखिन्छ, दुइटा आँखा चम्काउँदै । त्यसैलाई क्यामेरामा कैद गर्न उनीहरु बढी नै धैर्य गरेर रुखअगाडि उभिन्छन् ।

हुचिल हेर्न यस्तो पर्खाइ !

दुर्लभ पक्षी मलाहा हुचिल (ब्राउन फिस आउल) को बच्चा रुखमा छ भन्ने सुनेका चराप्रेमीहरु क्यामेरा बोकेर त्यहाँ पुगिहाल्छन् । ‘अहिले लकडाउन नभएको भए सौराहा आउने चराप्रेमी पर्यटकहरु यही अड्डा जमाएर बस्थे । उस्तै परे उनीहरुलाई लन्च प्याक पनि यही ल्याइदिनुपर्थ्यो,' सौराहामा पथप्रदर्शक (टुरिस्ट गाइड) बासु बिडारीले भने । बिडारी चराविद् पनि हुन् ।

राप्ती नदीको किनार बद्रहनी गाउँ छिर्ने गेटको आडैमा बाघमारा मध्यवर्ती सामुदायिक वनको सिमानाभित्र यो रुख रहेको छ ।

'आधा माथिको रुख भाँच्चिएको वर्षौं भयो । यो रुखको हामीलाई के वास्ता ? तर साता दिनयता दिनहुँ कोही न कोही आएर यसैको अगाडि बस्छन्,' रुखका आडैमा घर भएका बद्रहनीका सुवास तमाङले भने, 'फोटो पनि खिच्न थालेपछि त्यहाँ चराको बच्चा रहेछ भन्ने थाहा भयो ।’ रातमा एउटा अनौठो आवाज आउने गरेको उनीहरुले ख्याल गरेका थिए । त्यो आवाज त्यही बच्चाको माउको रहेछ ।

दिउँसो रुखमा माउ देखिँदैन । बच्चा बेलाबेला गुँडबाहिर आएर नियाल्छ । त्यही मौकामा फोटोग्राफरले दुई चार क्लिप लिइहाल्छन् । ‘यसको आमा राति नै फर्कन्छे । दिनभर आहारा खोज्दै खोला वा जंगल पस्छे । यसले खाने भनेको प्रायजसो मुसाहरु नै हो । माछा, गंगटा पनि टिप्छे,’ बिडारीले भने ।

लाटोकोसेरो संरक्षणमा सक्रिय राजु आचार्यका अनुसार खासमा यी सबै लाटोकोसेरो अर्थात् उल्लु नै हुन् । ‘सानोलाई लाटोकोसेरो भन्छौं । ठूलोलाई हुचिल,' उनले भने । नेपालमा यस्ता ठूला उल्लु अर्थात् हुचिल ७ प्रजातिका पाइन्छन् । पहिला २३ प्रजातिका उल्लु पाइने गरेकोमा २ प्रजाति अहिले देखिनै छाडेको उनले बताए । त्यसैले सानो वा ठूलो कुनै पनि प्रजातिको उल्लुको गुँड र बच्चा देख्दा चराप्रेमी निकै हर्षित हुने गरेका छन् ।

मलाहा हुचिल नेपालमा ठिकठिकै मात्रामा पाइने आचार्य बताउँछन् । ‘तराईदेखि समुद्र सतहबाट १५ सय मिटर उचाइको पहाडी क्षेत्रमा पाइन्छ । हुम्लामा समेत भेटिएको छ,' उनले भने, 'राम्रो अनुसन्धान भएको छैन तर नेपालभर एक हजारदेखि ३ हजारसम्म छन् भन्ने अनुमान छ ।’ उनका अनुसार मलाहा हुचिलले खोला आडमा सुक्खा र सुरक्षित ठाउँमा गुँड लगाउँछ ।

खोलामा माछा कम हुँदै गएका छन् । जंगलमा सुक्खा रुख हराउँदै गएका छन् । त्यसैले मलाहा हुचिललाई समस्या बढेको आचार्यले बताए । ‘सानाठूला सबै उल्लुले ४ महिनामा ३ हजारसम्म मुसा खाने गर्छन् । मुसा मारेर यिनीहरुले मान्छेका लागि ठूलो मद्दत गरेका छन् । तर उल्लुका लागि चाहिने बासस्थान र खोलानाला हाम्रा कारणले विनाश हुँदै छ,’ उनले भने ।

वनमा ठूला रुख खोजीखोजी काट्ने चलन छ । सामुदायिक वनहरुले सुखेका रुख हटाउने नीति लिने गरेका छन् । तर मलाहा हुचिलले यस्तै रुखमा गुँड बनाउने गर्छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले भने आफूहरुले सामुदायिक वनबाट ढलेका र सुकेका पुराना रुख पनि नहटाउने नीति लिएको बताउँछन् । ‘सबैखाले रुखको आ–आफ्नो महत्व छ । हाम्रो वनभित्र जानुभयो भने ढलेका पुराना रुख पनि त्यस्सै छाडेको प्रशस्तै देख्नुहुनेछ । कुनै काम नआउला भनेको यो पुरानो मक्किएको सिमलको धोद्रो रुखमा त यति महत्वपूर्ण चरोले गुँड लगाएर बच्चा हुर्काउँदै छ,' उनले भने, 'यसैले देखाउँछ, सबैखाले रुख महत्वपूर्ण छन् ।’

यो मध्यवर्ती वन चरा र वन्यजन्तु अवलोकनका लागि प्रख्यात छ ।

प्रकाशित : वैशाख २८, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?