डरैडरमा रिपोर्टिङ

रिपोर्टरको डायरी
मकर श्रेष्ठ

काठमाडौँ — २०७७ बैशाख १२ गते बिहान । छोरी ममताले म:म खाने भनेर धेरै दिनदेखि जिद्धी गरिरहेकी थिइन् । लकडाउनको रिपोर्टिङले भ्याएइको थिएन । बिहान उठ्यो रिपोर्टिङ । फर्केर आयो समाचार लेख्न बस्दा राति भइहाल्ने ।

डरैडरमा रिपोर्टिङ

घर बसे पनि छोराछोरीलाई समय दिन पाएकै छैन । छोरीले उनलाई मनपरेको अरु खानेकुरा त युट्युबमा हेरेर बनाउँथिन् । म:मचाहिँ बनाउन चाहिनन् ।

लकडाउनको ४१ औं दिन बैशाख २१ मा छोरीको इच्छा पूरा गर्ने तारा र मेरो सल्लाह भयो । जुन दिन नेपालगन्जमा १५ जनामा कोरोना पुष्टि भएको थियो । हामी म:म बनाउने तयारीमा जुट्यौ । ४४ महिने छोरा अर्नब मेरो मोबाइल खेलाइरहेका थिए । जुरुक्क उठेर 'मलाई ज्वरो आयो बाबा' भन्न थाले । डरले म थरथर काम्न पो थालें । बोलाएर निधारमा छामें, ज्वरो थिएन । उनी अलि थकित भएपछि मलाई ज्वरो आयो भन्थे । तर, ज्वरो आएको चाहिँ हुँदैनथ्यो ।

त्यो दिन डराउनुको कारण छ । बैशाख १५ गते कोरोना संक्रमित प्रदेश १ को विराटनगर, झापालगायतका स्थानबाट काठमाडौं आउनेको रिपोर्टिङ गर्न नागढुङ्गा जाँदा उनीहरुसंग घुलमिल भएको थियो । उतैबाट आएका भाईले ल्याएको बिस्कुट पनि खाएको थिएँ । सावधानी भने अपनाएको थिएँ ।

लकडाउनको १२ औं दिन चैत २२ देखि नियमितजसो घर बाहिर रिपोर्टिङमै छु । कुनै बेला बिहान, कहिले दिउसो । एकदिन बिहानदेखि मध्यरातसम्मै रिर्पोटिङ पर्‍यो । कतै बाहिर डुल्दा मेरो परिवारलाई पनि केही भइहाल्यो भने भन्ने डर मलाई मनभित्रै सधैजसो हुन्थ्यो । नहोस् पनि किन ? लकडाउनमा सबैजसो घरमा बसिरहँदा सुनसान सडकमा म भने रिपोर्टिङमा निस्केको थिएँ ।

रिपोर्टिङमा निस्कन्छु भन्दा श्रीमतीजीदेखि छोरासम्म खुसी थिएनन् । तर, उनीहरुको कुरा नसुनी म बाहिर गईरहें । यो क्रम अझै जारी छ ।

लकडाउनको बेला गरेको पहिलो रिपोर्टिङ हो– खाना खोज्दै पशुपतिमा भेला भएका मजदुर र माग्नेको कथा । त्यसमा खाना खोज्दै पशुपति आउने ५ सय जनाको पीडा थियो । कुराकानीका क्रममा त्यसदिन सडकमै सुत्नेसँग पनि छोइयो । उनीहरु जसले जहाँ खाना दिन्छन, त्यही दौडन्थें । म पनि उनीहरुसँग कहिले अघि कहिले पछि लागें । रिपोर्टिङ गरिरहँदासम्म त केही भएन ।

सुनसान सडकमा गौशला हुँदै कोटेश्वरतिर निस्केपछि मनमनै डर लाग्यो । यत्रो भीडमा बसेर रिपोर्टिङ गरें । यदि मलाई कोरोना सर्‍यो भने के होला ?

त्यो दिनको डर भनीसाध्य छैन । घर आएर नुहाएँ। लगाएको लुगा धोएँ । तर, मनको डर हटेन । यो रिपोर्टिङ गरेको १४ दिन कहिले पुग्ला भनेर दिन गन्ती गरेर बसें । डराउँछन् भनेर घरमा भनिनँ ।

आफ्नो डरको कुरा घरमा भन्दा झन् तारा र छोराछोरी पनि डराउँथे । छोरा त्यसै त बाटोमा धतुरोको फललाई त कोरोना भन्न थालेका थिए । पशुपतिमा धेरै मान्छेसँग आमनेसामुने भएर रिपार्टिङ गरेको बैशाख ५ मा १४ दिन पुगेपछि अलि डर कम भयो । आफू र आफ्नो परिवारमा कोरोनाको कुनै लक्षण पनि देखिएन । खुसी लाग्यो । तर, चैत २६ मा सिंहदरबारको अर्को रिपोर्टिङको डर चाहिँ छँदै थियो ।

लकडाउनमा चलायमान सिंहदरबारको रिपोर्टिङ गर्न कान्तिपुर सहकर्मी राजेश मिश्र, किरण पाण्डे र म गयौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सुरुमै छिर्‍यौं । मन्त्री हृदेयश त्रिपाठी कार्यकक्षमै थिए । उनीसँग मन्त्री भएपछि मैले पहिलोपटक भेट्दै थिएँ । उभिएरै कुरा गर्नु भएन, उनको कार्यकक्षको सोफामा बस्यौं । बस्नुअघि फोटोग्राफी विभाग प्रमुख किरण पाण्डेलाई सोधें–‘यसैमा बस्ने ?’ उनले ‘केही हुन्न बस न’भने । तर, मनचाहिँ भतभती पोल्न थाल्यो । यसअघि हरेक रिपोर्टिङ नबसी गरेको थिएँ ।

सिंहदरबार जाँदा पनि हातमा पन्जा र एन ९५ मास्क त लगाएको थिएँ । मन्त्रीलाई भेट्न आउने अनेकखाले मान्छे बसेको सोफामा बस्यौं । मन्त्रीको अगाडी कुरा गरेजस्तो गरे पनि मनमनै चाहिँ यहाँ कोको आए होला ? उसले पनि यही सोफामा छोए होला अब बर्बाद हुने भयो भन्ने डर लागिरह्यो । धेरैबेर बस्न पनि सकिनँ । राजेश दाईलाई त्यही छाडेर म र किरण पाण्डे चाहिँ अरु मन्त्रालयको रिपोटिङमा निस्क्यौं । अरु मन्त्रालयमा भने उभिएरै फोटो र भिडियो खिच्यौं । सिंहदरबार छिर्दा नेपाली सेनाले मोटरसाइकलमा क्लोरिन मिसाएको पानी छर्केर भाइरसमुक्त भएको भान भएको थियो । तर, मनचाहिँ बेचैन थियो ।

पशुपतिको रिपोर्टिङ गर्दा कम्तिमा अरुले छोएको सामान त समाएको थिइनँ । सिंहदरबारले मनै तरङगित बनाइदियो । सिंहदरबारको रिपोर्टिङ गरेको १४ दिन बैशाख ९ मा पुग्यो ।

कान्ति लोकपथको रिपोर्टिङमा पनि त्यस्तै डर लाग्यो । ललितपुरको श्री इँटा भट्टाका काम गर्ने र काठमाडौंका विभिन्न ठाउँबाट घर फर्केका बेखर्चीको रातको बसाईको रिपोर्टिङ सम्झदा अहिले पनि डर लाग्छ । काठमाडौंमा एक अर्कासँग नछोई दुरी कायम गरेर रिपोर्टिङ गरिरहेको थिएँ । यहाँ त एक सयको हाराहारीमा रहेका मजदुरको खानाको जोहो गर्दा, उनीहरुको खाना पकाएको र पानी पर्दा एकै ठाउँमा ओत लाग्नुपर्‍यो । उनीहरुलाई खानाको जोहो गरिदिन सँगै सामान उठाउनु पर्‍यो ।

काठमाडौमा मन्त्रीको कार्यकक्षको सोफामा बस्न डर लाग्ने मजस्तो काँतर भट्टेडाँडा पुगेपछि होटलको टेबलमा बसेर खाना खानु पर्ने बाध्यता आइपर्‍यो । मान्छेसँग आमनेसामुने परै जाओस्, टाँसिएरै बस्नु पर्‍यो । केको भौतिक दुरी कायम गर्नु ? त्यो रिपोर्टिङमा जाने किरण पाण्डे, प्रशान्त र मैले जे भोग्यौं, हामीले कसैलाई भनेको पनि छैन । किनभने त्यहाँ भीडभाडमा मान्छे भेटेको, सँगै बसेको कुरा गरेपछि घर होस् वा छिमेकमा असहज होला भन्ने डर छ । यो कुरा लेखिरहँदा पनि त्यसको डर बाँकी नै छ ।

बैशाख २१ गते छोरालाई ज्वरो आयो भनेपछि हतार–हतार किरण पाण्डेलाई फोन गरें । हामीले कान्ती लोकपथको रिपोर्टिङ गरेको १४ दिन त कट्यो नि है भनेर सोधे । अनि तपाईंको परिवारमा कोही बिरामी त परेको छैन नि भनेर पनि सोधें । किनभने मेरो फुच्चेले ज्वरो आयो भनेर तर्साइरहन्छ । किरण दाईले १४ दिन कटिसक्यो नि भने । अझै विश्वास लागेन । मोबाइलमा क्यालेन्डर हेरें । त्यता रिपोर्टिङ गरेको बैशाख १९ मै १४ दिन पुगिसकेको रहेछ । अनि ढुक्क भएँ ।

बिहान आठ बजे निस्केको त्यो दिन घर फर्कदा राति एक बजिसकेको थियो । पन्जा लगाएको थिएँ, बाटोमै च्यातिएको थियो । मास्क पनि पानीले भिजेर कामै नगर्ने भएको थियो । दिनभरी यात्रा गरेको थकान त छँदैथियो । सुरक्षाका लागि मध्यरातमा घर आए पनि नुहाएरै सुतें । लगाएको लुगा धोएँ । घर छिरेपछि मोटरसाइकलको ह्याण्डलमा स्यानिटाइजर पनि दल्थे तर डर नहराउने ।

बाहिर भीडभाडमा रिपोर्टिङ जाने अनि घरमा परिवारसँग घुलमेल हुने र एउटै कोठामा सँगै सुतेपछि केही होला कि भन्ने डरलाग्दोरहेछ । बाहिर रिपोर्टिङ जान थालेपछि छोरासँग छुट्टै सुत्ने प्रयास नगरेको पनि होइन तर छोराले बाबासँगै सुत्ने भनेपछि मेरो केही लागेन ।

म रिपोर्टिङमा जाँदा सहज मानोस् भनेर बैशाख ४ गते महावीर पुनको आविस्कार केन्द्रका रिपोर्टिङमा चाहिँ तारालाई पनि सँगै लगें । केन्द्रले बनाएको सामानको जानकारी लिन उनलाई पनि भित्रै लगें । इन्जिनियरले यताउता देखाउँदा आपसमा छोइएको उनले देखिछिन् । त्यहाँ केही भनिनन् । घर आएपछि मैले सोधें, ‘बाहिर नजानु भन्थ्यौं । कति सुरक्षित रिपोर्टिङ गरिराछु देख्यौं । कसैलाई छुँदैनौ । टाटैबाट कुरा गर्छौ । काहीं बस्दैनौ । सुरक्षित तरिकाले गरिराछुौं । देख्यौ नि ?’ तर, उनले मेरो रिपोर्टिङ असुक्षित पो ठानिछिन् । केन्द्रका कर्मचारीसँग जिउमा ठोक्किएको देखिछिन् । अनि उनले भनिन्, ‘कति सुरक्षित रैछ देखिहाल्यो नि !’अनि बिहान रिपोर्टिङ जान्छु भन्यो कि नगए नि हुन्थ्यो जस्तो गर्न थालिन् । नागढुङ्गामा विराटनगरबाट आएका यात्रुलाई रोकेको रिपोटिङ गर्न जाँदा त सुतेको बेला थाहै नदिई गएँ ।

लकडाउनको बेला रिपोर्टिङ गर्न जाँदा परिवारका सदस्यमात्रै होइन वरीपरीका छिमेकीसमेत डराउन थाले । लकडाउनको बेला घरमा आउजाउ गर्ने छिमेकी पनि आउन छाडे । छोरा चकचके वरपरी डुलिरहनु पर्ने । छिमेकीको घरमा जाँदा पनि अप्ठेरो महसुस गरेजस्तो गर्न थाल्यो ।

मसँग घरमै बसेर रिपोर्टिङ गर्ने कुनै बिषय नै थिएन । काम नगरी बस्दा आफूले केही नगरेजस्तो लाग्ने । अरुले जेसुकै भनुन् भनेर पनि रिपोर्टिङ जान्थें । फेरि अरुले नगरेको काम गर्नुपर्छ भन्ने पनि लाग्यो । किनभने सडकमा फोटो पत्रकारबाहेक अरु खासै बाहिर निस्कदैनथे । जति रिपोर्टिङ हुन्थ्यो, फोनबाट गर्थे अनि समाचार तयार पार्थे ।

अझै पनि नागढुङगाको भीडभाडमा रिपोर्टिङ गरेको १४ दिन कहिले पुग्ला भनेर कुरिराछु । उनीहरु चढेको बसभित्रै छिरेर फोटो र भिडियो खिचेको छु । उनीहरुलाई नाकामा रोकेपछि भित्तामा अडेस लागेर बसे । कोही भूईमै बसे । म पनि उभिएर थाकेपछि अडेस लाग्न उनीहरु उभिएकैतिर गएको छु । नागढुङगाको भीडभाडको रिपोर्टिङ गरेको १४ दिन बैशाख २९ मा पुग्छ । यो दिन कुरिराछु ।

एउटा रिपोर्टिङ गरेको १४ दिन जहिले पुग्छ, धन्न केही भएन भनेर खुशी हुन्छु । फेरि अर्को रिपोर्टिङको १४ दिनको चिन्ता हुन्छ । परिवार र आफूलाई हाच्छियू आउँदा होस् वा खोकी लाग्दा पनि डर लाग्छ ।

रिपोर्टिङबाट फर्केर आएपछि ताराले सोध्छिन्, ‘आज कहाँ केको रिपोर्टिङमा जानु भयो ?’कहिले जहाँ गएको त्यही भन्थें । अलि अप्ठ्यारो र असहज, भीडभाडको रिपोर्टिङ गएको दिन चाहिँ ढाट्थें । उनको आशय रिपोर्टिङ नै नजाओस् भन्ने त होइन । तर, बाहिर असुरक्षित छ घरबाटै काम गरिदेओस् भन्ने उनलाई छ ।

यति मात्रै कहाँ हो र ? पशुपतिको भीडभाड र नागढुङगाको रिपोर्टिङको समाचार छापिएपछि साथी जनकराज सापकोटाको प्रश्न थियो, 'तपाई र त्यो सानो बाबु बिरामी भयो भने कसले हेर्छ ?' भनेको कुरा झलभली सम्झिराछु । उनको आशय फिल्डमा नजाओस् भन्नेचाहिँ होइन । मप्रति सदासयता राखेर साथीहरुले प्रेमपूर्वक दिने सुझाव, श्रीमतीजीमा हुने डर र छिमेकीले हेर्ने दृष्टिकोणको कुरा त छँदैछ । छोराले घरीघरी 'ज्वरो आयो' भन्दै तर्साउँदा मेरो मन कस्तो हुन्छ ? त्यसको वर्णन गर्ने शब्द मसँग छैन ।

प्रकाशित : वैशाख २५, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?