नेपालको पहिलो कोरोना संक्रमित भन्छन्- 'नडराउनुस्, बिस्तारै निको भइन्छ'

कोरोना लाग्दैमा मरिँदैन, निको भइन्छ। यसका लागि आशावादी बन्नुपर्छ, नकारात्मक सोच्नुहुन्न।
बुनु थारु

काठमाडौँ — चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ९ पुगिसकेको छ। तीमध्ये पहिलो संक्रमित युवा भने निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका छन्।


चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। उनले कोभिडको लक्षण, अस्पतालको निगरानी र उपचार प्रक्रिया लगायतका अनुभव कान्तिपुरकी बुनु थारुलाई यसरी सुनाए :


म चीनको वुहानमा अध्ययनको क्रममा थिए । जनवरी ३-४ को बीचमा मलाई सामान्य लक्षण देखिन थालेको थियो। सुरुमा त खोकी लाग्यो। त्यसबेला मसँग तापक्रम नाप्ने थर्मोमिटर थिएन। ज्वरो आएको छ/छैन भनेर थाहा पाउनै सकिएन।


त्यसबेला वुहानमा शून्य डिग्रीको तापक्रम थियो। एसी भएको कोठा तातो थियो। सिरक ओढेर सुत्दा हल्का पसिना आउने हुन्थ्यो। त्यसैले ज्वरो नै हो कि होइन, खुट्याउन सकिएन। जाडो बिदाको सदुपयोग गर्न म नेपाल फर्कने तयारीमा थिएँ। यसका लागि एक महिनाअगाडि नै टिकट बुक गरेको थिएँ।


घर फर्कन ४-५ दिन बाँकी थियो। वुहानमा नयाँ भाइरस देखियो भन्ने खालका समाचार आउन थाले। त्यसलाई सुरुमा गम्भीर रुपमा लिएको थिइनँ। त्यतिबेला संक्रमितको संख्या ज्यादै कम थियो। फेरि वुहानमा मात्रै देखिएको थियो। मलाई ज्वरो आएको त्यति महसुस थिएन। अलिअलि खोकीचाहिँ थियो। कोरोनाकै संक्रमण होला भनेर म आफैंमा विश्वस्त हुन सकिरहेको थिइनँ। रुममै बसिरहेँ। बाहिर हिँड्यो भने झन् बिरामले सताउँछ भनेर निस्किइनँ। किनकि घर जाने समय पनि आउनै लागेको थियो।


जनवरी ९ मा बिहान साढे ७ बजेको फ्लाइट थियो। वुहानदेखि कुनमिङ, कुनमिङदेखि काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि म काठमाडौंको आफ्नो कोठामा गएँ। ३-४ दिन नै बसेँ। त्यसबेला औषधिको रुपमा कफसिरप र सन्चो प्रयोग गरें। ठीक नभएपछि जनवरी १३ मा १० बजेतिर टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल गएँ।


डाक्टरलाई देखाउँदा त्यतिबेला मेरो शरीरको तापक्रम ९९.६ थियो। डाक्टरले ट्राभल हिस्ट्री र ब्याकग्राउन्डबारे सोधे। उनीहरुलाई वुहानको अवस्थाबारे पक्कै थाहा थियो। त्यसपछि मलाई अस्पतालको निगरानीमा बस्न आग्रह गरियो।


म अस्पतालमा ४ दिन बसें। दुई दिनसम्म चाहिँ सुत्दाखेरि श्वासप्रश्वासमा समस्या देखिन्थ्यो। श्वास छिटोछिटो चलेकोजस्तो लाग्ने। अक्सिजन लेभल ९० भन्दा माथि हुनुपर्ने रहेछ। श्वासप्रश्वासमा समस्या हुँदा मलाई २ दिन ३० देखि ४० मिनेटसम्म अक्सिजन दिइयो। एन्टिबायोटिक कफ सिरफजस्ता औषधि खुवाइयो।


तेस्रो दिन नै निको भइसकेको थिएँ। ममा पहिलेका लक्षण देखिन छाडिसकेका थिए। काठमाडौंको तापक्रम र शरीरको प्रतिरक्षा प्रणालीले काम गर्‍यो होला। तेस्रो दिनदेखि खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन छाड्यो। थप लक्षण देखिन सक्छ कि भनेर चौथो दिन पनि निगरानीमा राखियो। लक्षण नदेखिएपछि जनवरी १७ को बिहान १० बजेतिर म अस्पतालबाट डिस्चार्ज भएँ। र, सरासर आफ्नै रुममा फर्किएँ।


डिस्चार्जपछि पोजिटिभ रिपोर्ट

त्यतिबेला कोभिड-१९ को परीक्षण सुविधा नेपालमा उपलब्ध रहेनछ। डाक्टरका अनुसार मेरो लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। यसैले म शंकाको घेरामा भने थिएँ। अस्पतालमा भर्ना हुँदा स्याम्पलहरु लिइएको थियो। मेरो स्याम्पल ३ दिनपछि हङकङको ल्याबमा पठाइयो। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनवरी २४ मा मेरो कोरोना परीक्षणको रिपार्ट पोजिटिभ आएको जानकारी दियो। यो खबर मैले पनि मिडियाबाट नै सुरुमा थाहा पाएको हुँ।

सुरुमा त विश्वास लागेन। जानाजान पोजिटिभ भनेको जस्तो पनि लाग्यो। तर, लक्षण भने मिल्दोजुल्दौ नै थियो। किनकि, रुघाखोकी लाग्दा हाम्रो शरीर त्यति कमजोर हुँदैन । कोरोनाले भने कमजोर बनाउने रहेछ। श्वासप्रश्वास छिटोछिटो हुन्थ्यो। पोजिटिभ रिपोर्ट आएको सुन्दा परिवारमा खासै डराउनुभएन किनकि म ठीक भइकसकेको थिएँ।

रिपोर्ट आएपछि रुममै बस्नु भनेर डाक्टरहरुले भने। निको भएपछि मैले साथी र एक-दुई जना आफन्तलाई मात्र भेटेको थिएँ। अस्पतालमा (जनवरी २६ तिर) मेरो पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। फेरि अर्कोपटक पनि परीक्षण भयो। जनवरी ३१ को रिपोर्टमा पनि नेगेटिभ नै आयो। त्यसपछि मात्र बल्ल मलाई घर जान सक्नुहुन्छ भनेर डाक्टरहरुले भने।


कोरोना संक्रमित भइसकेको म चाँडे रिकभर भएँ। र, निको भएर घर फर्किएँ।


कोरोना लाग्दैमा मरिँदैन

अहिले म घरमै सामान्य दिनचर्या बिताइरहेको छु। युनिभर्सिटीको अनलाइन मिटिङ भइराखेको हुन्छ। पेपर वर्कहरु छन्, त्यसमै व्यस्त छु। प्रोजेक्ट वर्क पनि गरिराख्नुपर्ने हुन्छ।


अहिले कोभिड-१९ बारे सामाजिक सञ्जालमार्फत धेरै भ्रामक सूचना/समाचार प्रवाह भइराखेका छन् । यही कारण पनि धेरै मानिसमा 'कोरोना फोबिया' भएको देख्छु। संक्रमण भइहाले अलि बूढापाकालाई केही गाह्रो होला तर हामीजस्ता युवालाई सामान्य लक्षण नै हुन्छ। मलाई चौबीसै घन्टा ज्वरो आएन। तापक्रम थपघट हुन्छ। तर, एकदमै उच्च पनि हुँदैन। मेरो ९९ देखि १०२.४ सम्म उच्च ज्वरो थियो।


यदि कसैलाई संक्रमण भइहाले नडराउनु, बिस्तारै निको हुन्छ। जसमा प्रतिरक्षा प्रणाली कमजोर छ वा कुनै रोग छ, त्यस्ता व्यक्तिलाई अलि गाह्रो हुने हो। तर कोरोना लाग्दैमा मरिँदैन, निको भइन्छ। यसका लागि आशावादी बन्नुपर्छ, नकारात्मक सोच्नुहुन्न। प्रकाशित : चैत्र २२, २०७६ १७:५५

प्रतिक्रिया
पठाउनुहोस्

सरकारलाई कांग्रेसको प्रश्‍न : अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्‍ने ?

मधुसुधन भट्टराई

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।

शनिबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?’ शीर्षकमा विज्ञप्ति जारी गर्दै सरकारलाई परीक्षणको व्यापकता बढाउन आग्रह गरेका हुन् । अहिलेसम्म विदेशबाट फर्किएकामा मात्रै कोरोना संक्रमण देखिएकोमा शनिबार नेपालमै रहेकी कैलालीकी महिलामा देखिएपछि कांग्रेसले यसलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको ब्यापकता बढाउन अनुरोध गरेको हो ।

‘यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए । तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले सतर्कता नपुर्‍याएका कारण महिला संक्रमित बनेको आरोप शर्माको छ । समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए यस्तो अवस्था नआउने शर्माको भनाइ छ । उनले यसअघि संक्रमण देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएकाहरुको परिक्षण तत्काल गर्न सरकारलाई सुझाएका छन् ।

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्ने र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिन पनि सरकारलाई आग्रह गरेका छन् । अब सरकारले सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर सतर्कता, परिक्षण र उपचार बढाउने काम युद्धस्तरमा गर्नु पर्ने शर्माले उल्लेख गरेका छन् ।

‘अब रत्तिभर हेलचेर्क्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित : चैत्र २२, २०७६ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×