कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सूधपाको सुध

केदार शर्मा

‘हाँस्दा हाँस्तै खरायाको माथिल्लो ओठ च्यातियो दुख्न लाग्यो जसै ओठ खरायो अनि आत्तियो’

सूधपाको सुध

आफ्नो सुरमा चर्दै गरेका भेडालाई तर्साएर, उनीहरू आत्तिएको देखेर हाँस्दाहाँस्दै खरायाको ओठ च्यात्तिएको कथा खुच्चिङ मान्दै सुन्दा म बालखै थिएँ । हाम्रा बा शिक्षक भएकाले होला, हामीलाई कथा, कविता आदि सुनाउँदा त्यो कसले लेखेको भनेर पनि भनिदिनुहुन्थ्यो । यो ‘लोभी झिँगो’ लेख्ने कवि भनेर सानैदेखि ‘चिनेका’ पारसमणि प्रधानको परिचयका अरू केही आयाम औपचारिक रूपमा नेपाली साहित्यको विद्यार्थी भएपछि खुले ।

‘श्री पण्डित धरणीधर शर्मा कोइराला’ को ‘नैवेद्य’ भने मैले अलि पछि, आफैं पढ्न सक्ने भएपछि पढेको हुँ । त्यसमा संग्रहीत दुइटा कविता जाग जाग र साहित्य–सुधा अहिले पनि याद छन् । सम्झँदा रमाइलो लाग्छ, ‘जाग जाग’ सजिलो लाग्थ्यो, त्यसमा नबुझिने कुरा केही थिएनन् । तर मलाई ‘साहित्य–सुधा’ ले दिने चुनौती मन पर्थ्यो ।

‘मह झैं छ मिठो बह पार्छ पिठो

तह लाउँछ यो मनलाई छिटो

पढि भाइ सबै अब काव्य मिठो

मन माझी गरौं निज बुद्धि ढिटो’


बुझ्दा (वा बुझेजस्तो लाग्दा) आफूलाई भएको हुर्किएको अनुभूति अझै सम्झिन्छु । हाम्रातिर अलि अटेरी पाराका केटाकेटीलाई ‘ढिटो/ढिटी’ भन्ने चलन थियो । त्यसैले यस कवितामा प्रयोग भएको शब्द ‘ढिटो’ (‘मन माझी गरौं निज बुद्धि ढिटो’) मलाई ‘एकदमै अनुपयुक्त’ लागेको पनि सम्झन्छु र खिस्स हाँस्छु । पछि बुझेको कुरा हो, धरणीधर कोइरालाले जीवनभर जातीय जागृति र स्वाधीनताका लागि मान्छेलाई जगाउने र अड्याउने काममा सबभन्दा बढी ध्यान दिए ।

हाम्रो स्कुल (इलामको करफोक विद्यामन्दिर) मा २००९ साल मंसिरमा भएको कवि सम्मेलन अहिलेसम्म पनि हाम्रो ठाउँकै लागि गौरवको विषय बनेको छ । ‘त्यसबेला काठमाडौंबाट लेखनाथ, देवकोटा, सम आएका थिए । ‘हाम्रातिरका पुराना मान्छे अझै सम्झिन्छन् । काठमाडौंका त्यत्रा साहित्यकारहरू इलामको करफोक भनेरै आउने कुरा थिएन । वास्तवमा त्यो कवि सम्मेलन करफोकमा हुनुका पछाडि दार्जिलिङको हात थियो । सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) लगायतका प्रभावशाली भाषा–साहित्य साधकहरूले दार्जिलिङमा बोलाएका मूर्धन्य कविहरू विद्यालय संस्थापकमध्येका महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोला, त्यस बेलाका प्रधानाध्यापक कमलबहादुर पराजुली आदिका कारण करफोकसम्म आएका थिए । त्यही कार्यक्रमले करफोकको प्रतिष्ठा बढाएकाले पनि हुन सक्छ, त्यसै वर्ष फागुनदेखि इन्द्रबहादुर राई करफोकमा प्रधानाध्यापक भएर आए र करिब दुई वर्ष सेवा गरेका थिए ।

स्कुलको हाजिरीजवाफ प्रतियोगिताका लागि सामान्य ज्ञान बढाउने क्रममा मैले पहिलो पटक ‘सूधपा’ भन्ने शब्द पढेको हुँ । तर आफूलाई कवितामा रस बसेको हुनाले सूधपामध्येका पहिला, अर्थात् सूर्यविक्रम ज्ञवाली भने त्यसबेला मेरा लागि ‘अकवि’ थिए । पछि काठमाडौं आएपछि ती ‘अकवि’ का अरू आयाम पनि खुल्दै गए र उनीप्रति आदरभाव बढ्दै गयो । एक–दुई पटक मैले गौशाला रत्नपार्क कुद्ने मिनीबसमा सूर्यविक्रम ज्ञवालीको दर्शन (अँ, दर्शन) पाएको सम्झिन्छु ।

परिपक्व गठबन्धन

सूर्यविक्रम ज्ञवाली बनारसमा जन्मेका हुन् । उनले बनारस र कलकत्तामा पढेका थिए । करिब २५ वर्षको उमेरमा उनी बनारसबाट दार्जिलिङ गए, जहाँ नेपालबाट दार्जिलिङ छिरेका आफूभन्दा अलि जेठा धरणीधर कोइराला र कालेबुङका समवयी पारसमणि प्रधानसित उनको भेट भयो । धरणीधरको पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले उनी राजनीतिक अधिकार र जातीय चेतनाका मुख्य सचेतक थिए ।

पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेसले भारतीय नेपालीभाषी क्षेत्रमा मात्र होइन, नेपालमा पनि पाठ्यपुस्तक आपूर्ति गर्थ्यो । सूर्यविक्रमको साहित्यिक चाख र दक्षता जीवनी, समालोचना, भूमिका लेखन आदिमा थियो । उनीहरू तीनैजना आफ्नो शैक्षिक योग्यता बढाउन र सामाजिक रूपमा प्रभाव बढाउन कहिल्यै पछि परेनन् । उनीहरूले कैयौं काम मिलेर गरे भने आ–आफ्नै किसिमले रचनात्मक काम पनि गरिरहे । लेख्ने, लेख्नेहरूलाई प्रेरणा दिने, कृतिहरू प्रकाशित गरिदिने र आ–आफ्नो पद, ज्ञान र प्रभावको प्रयोग गरेर नेपाली भाषालाई शैक्षिक र प्रशासनिक क्षेत्रमा स्थापित गर्ने क्रममा उनीहरूले धेरै काम गरे । सूधपा जन्मिँदा भने सू, ध र पा को उमेर क्रमशः ५१, ५७ र ५१ वर्ष थियो । त्यसअघि पनि उनीहरूलाई संयुक्त रूपमा ‘सूधपा’ भनिने गरेको हुन सक्छ तर २००६ साल साउनको भारती पत्रिकामा उनीहरूको छोटकरी नाम (सूधपा) भएको प्रहेलिका (अड्को) छापिनुअघि यो संयुक्त नाम कतै छापिएको पाइएको छैन ।

हाँस्तछन् सकललाई हँसाई

को हुनन् ? चिन र लेख मलाई

हेर खोज अनि नाउँ बताऊ

सू–ध–पा–इना भनी नलजाऊ !


सूधपा तीनजनाको भेटघाट भएर अलिअलि तालमेल मिलेपछि कुनै साहित्यिक आन्दोलन सुरु गर्न राखिएको नाम थिएन । नेपाली भाषालाई कलकत्ता विश्वविद्यालयमा समेत स्थापित गरिसकेपछि, नेपाली जातीय कविका रूपमा दार्जिलिङमा भानुभक्तको सालिक स्थापना गरिसकेपछि ज्ञवाली, कोइराला र प्रधान नेपालबाहिर मात्र होइन, नेपालभित्र पनि प्रभावशाली भइसकेका थिए ।

नेपालीत्वको कथा

भाषा–साहित्यका प्रेमीहरूका लागि सूधपा अनन्य भाषासेवक हुन्, जसले भारतमा नेपाली भाषाको प्रचारप्रसार र प्रतिष्ठा अभिवृद्धिका लागि अतुलनीय काम गरे । तर अनुसन्धाताहरू त्यति भनेर चित्त बुझाउँदैनन् । उनीहरू भारतमा नेपाली जातीय चेतनाको विकास नेपालमा भन्दा पहिले भएको मान्छन् र त्यसमा त्यसबेला भाषा साहित्यका अभियानीका रूपमा सक्रिय व्यक्तिहरूको हात रहेको मान्छन्, जसमा सूधपा स्वतः पर्छन् । इतिहासकार डा. प्रत्यूष वन्त भन्छन्, ‘नेपालीहरूको जातीय पहिचान नेपालभन्दा बाहिर, विशेषगरी बनारसमा सुरुमा र पछि १९७०–८० को दशकमा चाहिँ विशेष जोडतोडसहित दार्जिलिङमा हुन थालेको हो । १९९५–२००० तिर सूर्यविक्रम ज्ञवालीले सम्पादन गरेको ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित भएपछि र त्यो नेपालमा उपलब्ध भएपछि मात्र भानुभक्तबारे नेपालीले बढी जानकारी पाउन थालेका हुन् ।’ २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एउटा लेखमा रोड्रिक चाल्मर्सले ‘नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो’ भनेका छन् । उनको लेखको दाबीअनुसार प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बनेको हो ।

जुनबेला सूधपा भाषिक, साहित्यिक र सामाजिक गतिविधिमा संलग्न थिए, त्यसबेला भारतका विभिन्न भागमा नेपालीभाषीहरूको संख्या बढ्दै थियो । धर्मकर्म र पढाइलेखाइका लागि गएकाहरू बनारसमा थिए । उन्नाइसौं शताब्दीको अन्त्यतिरदेखि नै ब्रिटिस इन्डियन आर्मीमा गोर्खालीहरूको भर्ती बढ्न थालेको थियो । सुगौलीको सन्धिपछि दार्जिलिङमा हुने निर्माणकार्य र त्यसपछिको चियाखेतीले लोभ्याएर सीमाना काटेका नेपालीहरू उतैको बसाइ रोज्न थालेका थिए । धानको भात खाने अवसर खोज्दै हिँडेका नेपालीहरू असम (अहिलेको मेघालयसमेत) सम्म पुगेर गाई पाल्न र दूधको व्यापार गर्न थालेका थिए । अवकाशप्राप्त गोर्खा सैनिकहरूमध्ये पनि निकैले उतै बसोबास गर्न थालेका थिए । भारत भूमिमा स्थायी नेपाली समाजले जरो गाड्दै थियो । दक्षिण एसियाका भाषा र संस्कृतिमा विद्यावारिधि गरेका चाल्मर्स लेख्छन्, ‘भारतमा बसोबास गर्ने अरू जातिका तुलनामा आफूहरू धेरै पछाडि रहेको चेतना सचेत नेपालीहरूमा तीव्र रूपमा जाग्यो । लगभग साझा समस्याहरू सामना गर्दागर्दै एउटा समान अस्तित्वले विस्तारै स्पष्ट रूप लिन थाल्यो ।’

सूधपाले त्यही अस्तित्वलाई भाषिक र सांस्कृतिक आत्मविश्वास दिए । ‘नेपाली’ भने पनि वा राजनीतिक कारणले ‘गोर्खाली’ भने पनि त्यो अस्तित्वको खोजी र पहिचानका कारण अहिले भारतमा बस्ने दसौं लाख नेपालीभाषीको समाजले उनीहरूलाई आफ्नो अभिभावक मानेको हो । जातीय र भाषिक चेतनाका यी नायकहरू हाम्रा लागि पनि सधैं वन्दनीय छन् । तीनै जनाको निधन ८७ वर्षको उमेरमा भयो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?