परिस्थितिले कानुन पढेका फुलारा अमेरिकी अदालतमा अब्बल वकिलका रुपमा चिनिएका छन् ।
काठमाडौं — विद्यालय तहसम्म उनलाई आफू पछि कानुन विषय पढछु भन्ने पटक्कै थिएन । स्कुलका अब्बल विद्यार्थीले सामान्यत : डाक्टर, इन्जिनियर हुने सपना बुन्थे त्यसताका । एक देखि १० कक्षासम्मका क्लास टपर वासुदेव फुलाराको सोचाई त्यसभन्दा भिन्न थिएन । जीवन आफूले सोचे अनुसार मात्र नचल्दोरहेछ । एसएलसी सक्दा नसक्दै फुलाराको पारिवारमा दूर्घट्ना निम्तियो ।
उनले त्यही बेला आमालाई आकस्मिक रुपमा गुमाउनुपऱ्यो । ६ दाजुभाइ र २ दिदीबहिनीको ठूलो परिवार हुर्कदै गर्दा आमा पद्मादेवीको अवसानसगै फुलारा परिवारमा दुखका दिन सुरु भए । डोटीको चुडी, हाल आदर्श नगरपालिकास्थित शारदा हाइस्कुलबाट एसएलसी उतीर्ण भएपनि जिल्ला छाड्न नसक्ने अवस्था आइलाग्यो वासुदेवलाई ।
पैसाको अभावमा काठमाडौं आउन नसकेपछि जिल्लामै बस्न बाध्य भए उनी । त्यहा अध्ययनका लागि उनले सोचेको विषय थिएनन् । मानवीकी र कानुन २ संकायको मात्र पठनपाठन हुन्थ्यो । उनले कानुन रोजे । अरुको घरमा घरेलु कामदारको रुपमा काम गर्दै संघर्ष थाल्ने निधो गरे र आइएल भर्ना भए २०४९ सालमा ।
सायद उनलाई पनि कानुनी क्षेत्रबाटै देश विदेशमै अब्बल ठहरिनु थियो, र त परिस्थितिले पनि त्यस्तै गरी बाध्दै थियो । अरुको घरमा भाँडा माज्दै पढ्दै गरेका तिनै युवा पछि काठमाडौमा एलएलम टपर हुदै हाल अमेरिकाभर प्रसिद्ध वकिलको परिचयमा छन् । त्यहाँ खासगरी अध्यागमन सम्बन्धी मुद्दामा उनी दखल राख्छन् र अमेरिकाका विभिन्न राज्यमा आइपर्ने अध्यागमन समस्या बोकेका सयौं नेपालीको मुद्दामा उनी बहस गर्छन् । नेपाली मात्र नभै बंगाली, भारतीय, पाकिस्तानी र अफ्रिकनका मुद्दाका फाइलको केस्राकेस्रा केलाउदै अदालतमा पुग्छन् । ‘अमेरिकामा अध्यागमन जोडिएका मुद्धाहरु दिनप्रतिदिन बढिरहेका छन् । मैले हेरेका मुद्दा मध्ये अधिक यिनै पर्छन्, केही साताका लागि नेपाल आएका फुलाराले भने ।
न्यूर्योक शहरको मुटुमा रहेको टाइम्स स्क्वायर संसारकै प्रसिद्ध र महंगो क्षेत्र मानिन्छ । त्यहाँका गगनचुम्बी भवनमध्ये चर्चित छ, प्यारामाउण्ट विल्डिङ्ग । त्यसैको १८ औं तलामा ‘फुलारा ल अफिस’ सञ्चालन गरेका छन् । त्यहीबाट उनी अध्यागमन, वाणिज्य, सम्पत्ति, फौजदारीलगायतका मुद्दा बोकेर अमेरिकाका विभिन्न अदालत धाउछन् । पक्षका मुद्दा बोकेर ३० वटा राज्य उनी पुगिसकेका छन् । टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, वाल्टीमोर, जर्जिया, लुजियानालगायत राज्य पुगेर त्यहाँका अदालतमा बहस गर्छन् । ‘जस्तै कष्ट पर्दा पनि मैले अध्ययन गर्न छाडिन, पढ्नका लागि मैले नेपालमा के–के दुख गरिन’, उनी सम्झिन्छन्–‘आज म जे छु, त्यही संघर्षको परिणाम हो ।’
जन्मस्थान डोटी र पछि काठमाडौंमा भोगेको दुख उनलाई अहिले जस्तो लाग्छ । आफनै अफिस प्यारामाउन्ट विल्डिङ्गको टुप्पोमा रहेका कलात्मक ४ वटा घडीका सुइहरु जसरी नै उनको जीवनमा दुख–सुखका चक्रहरु घुमिरहेका छन् । ‘कानुन नै पढ्ने भन्ने मेरो मनमा थिएन । आज मलाई लाग्छ । परिस्थितिले मलाई जे पढायो, त्यो ठिक थियो’, फुलारा भन्छन् ।
सामान्य ब्राम्हण परिवारका उनको घरमा खान लाउन पुग्ने जग्गा जमिन थियो । त्यसबाहेक ठूलो परिवारलाई पाल्न पिता हरिदत्त केही समय भारतमा पनि पुगेका थिए । छोरा–छोरीलाई पढाउनुपर्छ भन्ने उनको मनमा हरदम थियो । फुलारा पढाईमा भने सानैदेखि तेज थिए । अंग्रेजी भाषा विद्यालय तहमै हुदा राम्रो । स्कुलमा छदा अंग्रेजीका अब्बल शिक्षक थिए हरिलाल शर्मा । चिटिक्क आइरन लगाएको लुगामा सजिने शर्मा आफ्नो कक्षामा सबैलाई अंग्रेजी बोल्न अनिवार्य गर्थे । त्यतिमात्र होइन, अमेरिकाका विभिन्न चर्चित व्यक्ति, उदाहरण, सुनेका कुरालाई बडो फुर्तिले विद्यार्थीलाई सुनाउथे । क्लासका टपर फुलारालाई अंग्रेजी विषय अब असजिलो बन्ने कुरा त भएन । बरु शिक्षकले गरेको बर्णनले महाशक्ति राष्ट्र अमेरिका कस्तो होला, त्यहाँका स्कुल, कलेज कस्ता होलान् ? कस्तो पढाई होला ? त्यहाँका मान्छेको जीवन कस्तो होला भन्ने कुराले चाहिं मनमा राम्रै गढ्यो ।
दिपायलमा अरुको घरमा भाँडा माज्दै आइएल पास गरेपछि स्नातक पढ्न उनी काठमाडौ मै आउनुपर्ने भयो । तर, कसको खर्चमा आउने र पढ्ने समस्या उही थियो । तर उनले जसरी हुन्छ कानुनको उच्च शिक्षालाई अघि बढाउनै पर्ने थियो । किनकि आइएल पढ्दै उनले संविधान, कानुनका सिद्धान्तका प्रारम्भिक भेउ पाइसकेका थिए । कानुनी शिक्षा कसरी व्यक्ति, परिवार, समाज र राजनीतिमा जोडिन्छ भन्ने पनि बुझेका थिए । त्यसैले हानिएर राजधानी काठमाडौं आए । टेक्ने र समाउने कही केही नभएको डोटीको फुलारा ठिटोलाई भन्ने वित्तिकै राजधानीमा जागिर कसले दिने । फेरी भाँडा माज्ने काम खोजे । केही समय दिपायलमा जस्तै घरेलु कामदार बन्दै स्नातक अध्ययन थाले । केही महिनापछि भने उनले नेपाल परिवार नियोजन संघमा पियनको काम पाए । त्यहा रात्रीको ड्युटी हुन्थ्यो । ‘कैयौं रात मैले सुत्न पाइन । दिउसो पढ्न जानुपर्ने । राती ड्युटी गर्नुपर्ने’, उनी ती कठिन दिन सम्झन्छन्–‘परिस्थितिले मान्छेलाई जसरी पनि बाँच्न सिकाउँदोरहेछ ।’
अमेरिकी उडान मात्र होइन उनले जीवनमै पहिलोपल्ट प्लेन चढेका थिए । अमेरिकाको भौतिक पूर्वाधार, सामाजिक जनजीवन, आधारभुत तहमै नागरिकले पाएका सुविधा देखेर त फुलारा छक्कै परे । ‘स्कुल पढ्दा सरले वर्णन त्यसै गरेको होइन रहेछ भन्ने ठाने’ उनी सम्झन्छन् ।
दु:खमै उनलाई राम्रो अंक लिएर स्नातक सके ।
अब कानुनमा स्नातकोत्तर (एलएलएम) पढ्नुपर्ने भयो । नेपाल ल क्याम्पसमा एलएलएम सुरुवात भर्खरै भएको थियो । निकै समय र पैसा खर्चिनुपर्ने थियो उक्त डिग्री लिनका लागि । संघको पियनको जागिर भ्याएर पढ्न नसक्ने निधो उनले गरे । के गर्ने त ? चिनेका ल फर्ममा गएर व्यवसाय थाल्दा समय पनि नपुग्ने, नयाँ वकिललाई मुद्दा लिएर फेरी को आउने ? केही दिन त उनले कसरत गरे । सम्भव नभएपछि उनले जन्मस्थानमा रहेको आफ्नो भागको जग्गाजमिने बेचेर पढ्ने निधो गरे ।
‘त्यतिबेला मैले जग्गा बेचे । अढाइ लाख जति हाता परेको थियो । मैले महंगा महंगा किताब किने । कलेजको फि तिरे । र, पढें’, फुलारा ती दिन सम्झन्छन् । एलएलएमका तेस्रो ब्याजी उनी अघिल्ला दुई ब्याजले राखेका रेकर्ड तोडेर ६७ प्रतिशत ल्याई सर्वोत्कृष्ट बनेका थिए । त्यसपछि भने उनले केही गैरसरकारी संस्थाका रिसर्चका काम, विभिन्न कलेजमा अध्यापनका काम पाए ।
एलएलएम अध्ययनकै क्रममा उनलाई एउटा राम्रो अवसर जुट्यो, जसले स्कुलमा देखेको सपना पूरा गर्यो । त्यही अवसरले आज राम्रो वकिलको छवी बनाउन निर्णायक भूमिका खेल्यो । एलएलम पढ्दा पढ्दै उत्कृष्ट ४ जना विद्यार्थीलाई अमेरिकाको विश्वविद्यालयमा ‘स्टुडेन्ट एक्सचेञ्ज’को कार्यक्रम थियो । एलएलएमको पहिलो वर्षको उत्कृष्ट नम्बरका आधारमा एक नम्बरमै फुलारा छानिए । त्यसपछि टिकाराम भट्टराई, शम्भुप्रसाद खनाल र गीता पौडेल पनि छानिए । उनीहरुको टोली सेन्ट लुइजस्थित वासिङ्गटन युनिभर्सिटीमा पुगे । त्यहाँको ‘ल एण्ड सोसियल पोलिसी प्रोगाम’ अन्तर्गत रहेर अध्ययन थाले । सन् २००१ को सेप्टेम्बरको बेला थियो त्यो । ‘न्योर्योकको ट्रेड टावरमा आक्रमण हुदा हामी अमेरिकामै थियौं । म युनिभर्सिटीमै थिए । बाँकी साथीहरु चाहिं आक्रमणकै बेला न्युर्योकमा थिए’, फुलारा पहिलो अमेरिका भ्रमणमा भएको त्रासदी सम्झिन्छन्–‘पछि साथीहरुसँग सम्पर्क भयो । सबै सकुशल हुदा पनि मनमा त्रास भने बढेको थियो ।’
अमेरिकी उडान मात्र होइन उनले जीवनमै पहिलोपल्ट प्लेन चढेका थिए । अमेरिकाको भौतिक पूर्वाधार, सामाजिक जनजीवन, आधारभुत तहमै नागरिकले पाएका सुविधा देखेर त फुलारा छक्कै परे । ‘स्कुल पढ्दा सरले वर्णन त्यसै गरेको होइन रहेछ भन्ने ठाने’ उनी सम्झन्छन् ।
उक्त युनिभर्सिटीमा प्राध्यापक गौतम यादमाको निगरानीमा २१ दिन उनले अध्ययन गरे । त्यहाँ हुने पढाई भिन्न थियो । प्राध्यापकले ‘लेक्चर’ मात्र दिंदैनथे, विद्यार्थीलाई अन्तक्र्रिया, वादविवाद गराउथे । नेपालमा जस्तो वर्ष दिनमा जाँच होइन, बीच–बीचमा जाँच लिई अपडेट गराउथे । त्यही बस्दा उनले त्यहाँको बार एशोसिएसनले पैसा तिर्न नसक्ने मुद्दाका पक्षलाई निशुल्क बहस गरेको पनि देखे । लिगल एडका लागि त्यहाँको संघीय सरकारले आर्थिक सहयोग जुटाइदिने रहेछ । त्यहाँ वकिलले लाइसेन्स नविकरण गर्नका लागि पनि निश्चित समय निशुल्क बहस (प्रोवोनो) गर्न अनिवार्य रहेछ । ती सबै बुझी अमेरिका फेरी आउने निधोसहित फुलाराको टोली नेपाल फर्किएको थियो ।
एलएलम टप गरेपछि केही समय वकालत गरे । विभिन्न अनुसन्धानात्मक काम र वाणिज्य कानुनको अध्यापन समेत गरे । फुलारा भने थप अध्ययनका लागि अमेरिकै हानिन चाहान्थे । ‘मलाई त्यहाँको अध्ययन पद्धति, कानुन व्यवसाय र अदालती निर्णय प्रक्रियाले मन–मनै तानेको थियो । त्यही भएर हरेक दिन छात्रवृत्ति पाइन्छ कि भनेर विभिन्न युनिभर्सिटी खोजिरहन्थे’, उनी सुनाउछन् ।
सन् २००६ को सुरुतिर उनी न्यूर्योक पुगे र त्यहाँको एसिभा विश्वविद्यालय अन्तर्गत एलएलमका लागि भर्ना भए । उनले त्यतिबेला १९ हजार डलर छात्रवृत्ति पाए । केही समय काम गर्दै उनी डिग्री पूरा गरे । सन् २०११ मा भने वकालत गर्ने आधारका रुपमा लाइसेन्स निकाले । र, अदालती यात्रा सुरुवात गरे । न्युर्योकस्थित अदालतमा पहिलोपल्ट बहसमा उत्रिदा उनी सुरुमा हच्किएका थिए । एक जना नेपालीको अध्यागमन विवादकै मुद्दा थियो । ‘जजको अघि परेपछि मैले नढाटी यो मेरो पहिलो बहस हो, केही भए गाइड गरिदिनुहोला भने । जजले तिमी सुरु गर भने’, पहिलो बहस नै सफल भएको स्मरण गरे–‘केही घण्टामै जजले मिस्टर फुलारा, कंग्रयाचुलेसन भने । मेरो मुद्दाका पक्षले जित्यो । म धेरै खुशी भएँ ।’ त्यसयता उनले सयौं मुद्दामा बहस गरेका छन् । निरन्तर कानुनव्यवसायले उनलाई सुरु तहको अदालतमा न्यायाधीश बन्ने ढोका पनि खुलेको छ । ‘हामीलाई जज हुने अवसर पनि छ’, फुलारा निर्धक्क सुनाउछन् ।
के सिक्ने त त्यहाँको अदालतबाट ? नेपाल र अमेरिका दुवैतिरको अदालतमा बहस अनुभव बोकेका फुलारा भन्छन्–‘नेपालमा धेरै ढिलो र महंगो न्याय छ । त्यो सच्चिनुपर्छ ।’
वकिलले पक्षसँग जति नी पैसा लिने, कर्मचारीले पैसा विना फाइल नहेर्ने, मुद्दा हारजितमा पैसाको लेनदेन हुने र न्यायका लागि दशकौं कुर्नुपर्ने जस्ता समस्या नेपालको अदालतमा पाइने उनी सुनाउछन् । ‘अमेरिकामा मुद्दाका कुनै पनि पक्षले अतिरिक्त पैसा तिर्नु पर्दैन । पैसा खाएर निर्णय हुन्छ भन्ने त धारणा नै हुन्न’, उनी भन्छन् ।
[email protected]
