२३ अप्रिल २०२५ को रात डेभिडले आफ्नी प्रेमिका सेलेस्टे रिभास हर्नान्डेजलाई लिन कार पठाएको र आइपुगेपछि चक्कु हानेर हत्या गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
What you should know
लस एन्जलस — अमेरिकी गायक डेभिड बर्कको हलिउडस्थित घरको ग्यारेजमा फेला परेका रगतका दागहरूको डीएनए परीक्षण गर्दा ती १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजसँग मिलेको डीएनए विशेषज्ञले बिहीबार अदालतमा बयान दिएका छन् । डेभिडमाथि ती किशोरीको चक्कु हानेर हत्या गरेको अभियोग लगाइएको छ ।
अभियोजकहरूका अनुसार डेभिडले ती किशोरीको हत्या गरी शवलाई टुक्राटुक्रा पारेर ग्यारेजमा लुकाएका थिए । डेभिडले यौन सम्बन्ध राखेपछि ती किशोरीले गायकसँगको उक्त घटना सार्वजनिक गरिदिने र गायकको सांगीतिक करियर नै सिध्याइदिने धम्की दिएपछि उनको हत्या गरिएको आरोप छ ।
प्रहरी अधिकारीले घटनास्थल ग्यारेजमा भएको रबरको म्याट, रोइङ मेसिन र टेस्ला चार्जरबाट नमुना संकलन गरेका थिए । लस एन्जलस प्रहरीकी अपराधविज्ञ सामन्था तोशले अदालतमा ती नमुनाहरू सेलेस्टेको डीएनएसँग मेल खाएको बयान दिएकी थिइन् ।
अदालतमा चलिरहेको प्रारम्भिक सुनुवाइको तेस्रो दिन यो बयान आएको हो, जहाँ न्यायाधीशले डेभिडमाथि हत्या, बाल यौन शोषण र शव अंगभंग गरेको मुद्दामा सुनुवाइ अघि बढाउने/नबढाउने निर्णय गर्नेछन् । गायकले भने आफू निर्दोष रहेको दाबी गर्दै अदालतमा बचाउ गर्ने प्रयास गरिरहेका छन् ।
अपराधविज्ञ तोशका अनुसार फेला परेका केही नमुनाहरू सर्वसाधारण अन्य कोही व्यक्तिभन्दा सेलेस्टेकै हुनसक्ने सम्भावना अधिक गुणा बढी रहेको छ ।
अभियोजकहरूले यसअघि नै ग्यारेजमा उनको डीएनए भेटिएको अदालतलाई जानकारी गराएका भए पनि यो प्रमाण पहिलोपटक सार्वजनिक रूपमा प्रस्तुत गरिएको हो ।
डीएनए प्रमाण र परीक्षणमाथि नै प्रश्न
ग्यारेजमा भेटिएको एउटा फोहोर फाल्ने प्लास्टिकको झोला र त्यसमा रहेका भिजेको कपडा (वाइप्स) मा पनि परीक्षण गरिएको थियो । तोशका अनुसार झोलामा चार जनाको डीएनएको मिश्रण भेटिएको थियो, जसमा कम्तीमा दुई जना पुरुष थिए र तीमध्ये एक डेभिडको डीएनएसँग मिल्दो थियो । किशोरीको डीएनए भने भिजेको कपडामा भेटिएपनि झोलामा थिएन । त्यस्तै, अनुसन्धानका क्रममा उक्त कपडामा डेभिडको डीएनए भने फेला परेको देखिएन ।
अर्का प्रहरी अपराधविज्ञले ग्यारेजमा भेटिएका धेरैजसो रगतका दागहरू नांगो आँखाले नदेखिने र रसायन छर्किंदा नीलो रंगमा बलेपछि मात्र पत्ता लागेको बताए । अदालतमा प्रदर्शन गरिएको तस्बिरमा रबरको म्याट चम्किलो नीलो रङमा बलेको देखिएको थियो ।
‘के ती नमुनाहरू रगतबाट नआएको हुनसक्ने सम्भावना छ ?’ डेभिडकी वकिल ब्लेयर बर्कले अपराधविज्ञ तोजलाई डीएनएका नमूनाबारे कठघरामा सोधेकी थिइन् । प्रतिवादी पक्षका वकिलको प्रश्नको जवाफ दिंदै तोशले ‘ती डीएनएका नमुनाहरू रगतकै हुन् भनेर पूर्ण रूपमा दाबी गर्न नसकिने र ती कसैको स्पर्श (टच डीएनए) बाट पनि सरेको हुनसक्ने’ स्वीकार गरिन् ।
‘म पूर्ण निश्चितताका साथ ती रगतकै हुन् भन्न सक्दिनँ,’ तोशको जवाफ थियो । वकिल बर्कको थप प्रश्नमा तोशले डीएनए कसरी उक्त ठाउँमा पुग्यो र त्यो कति समयदेखि त्यहाँ थियो भन्ने कुरा यकिन गर्न नसकिने बताइन् ।
प्रहरी अनुसन्धानको प्रक्रियामाथि पनि प्रश्न
गायक डेभिडका वकिलहरूले रिभास हर्नान्डेजको हत्या कसरी भयो र उनको अंगभंग गरिएको शव ५ महिनापछि कसरी गायकको टेस्ला कारमा भेटियो भन्नेबारे आफ्ना तर्कहरू स्पष्ट रूपमा राखिसकेका छैनन् । तर, उनीहरूले गायकको घर र कारमा भेटिएका अन्य सामानहरूको थप डीएनए परीक्षण किन गरिएन भनेर सरकारी साक्षीहरूलाई प्रश्न गर्दै आफ्नो पक्षको प्रतिरक्षा गर्न खोजिरहेका छन् ।
गायकको ग्यारेजमा भेटिएका दुईवटा साना काठ काट्ने मेसिन ‘चेन–स’ तर्फ वकिल बर्कले ध्यानाकर्षण गराएकी थिइन्, जहाँ अभियोजकहरूका अनुसार डेभिडले शवलाई टुक्रा पारेका थिए । अर्की अपराधविज्ञ लरेन वालेसले प्रारम्भिक रसायनिक परीक्षणमा ती मेसिनका ब्लेडमा रगत नभेटिएकाले कसैले समातेको हुनसक्ने हृयान्डलमा डीएनए परीक्षण नगरिएको बताइन् ।
‘यदि कुनै सामानमा अर्कै व्यक्तिको डीएनए छ भने त्यो तत्कालै देखिँदैन, होइन र ?’ वकिल बर्कले प्रश्न गरेकी थिइन् । जवाफमा वालेसले उक्त कुराको स्वीकार गर्दै ब्लेडमा रगत नभेटिएको दोहोर्याउँदै भनिन्, ‘हो, स्पर्श गरिएको डीएनए (टच डीएनए) देखिँदैन ।’
अभियुक्त डेभिडको शान्त उपस्थिति
इन्डी–पप गायक डेभिडका ठूलो संख्यामा फलोअर्स छन् । उनका गीत र भिडियोहरूमा प्रायः ‘इतामी’ नामक काल्पनिक पात्रमार्फत आध्यारो र हिंस्रक दृश्यहरू प्रस्तुत गरिन्छ ।
सन् २०२२ मा आएको उनको चर्चित गीत ‘रोमान्टिक होमिसाइड’ स्पोटिफाइमा एक अर्बभन्दा बढी पटक सुनिएका गीतहरूमध्ये एक हो । उनको पहिलो एल्बम ‘विथर्ड’ किशोरीको हत्या भएको भनिएको मितिको दुई दिनपछि सार्वजनिक भएको थियो ।
बिहीबार अदालतमा सुन्तला रङको कैदीको पोशाक र चश्मा लगाएर उपस्थित भएका डेभिड शान्तपूर्वक साक्षीहरूको बयान सुनिरहेका थिए । सुनुवाइका क्रममा उनले कुनै भाव व्यक्त गरेनन् तर ब्रेकको समयमा आफ्ना वकिलहरूसँग मुस्कुराउँदै कुराकानी गरिरहेका देखिन्थे ।
अदालतको अघिल्लो पंक्तिमा बसेका मृतक किशोरीका आमाबुबाले भने यी प्राविधिक बयानहरू सुनिरहँदा कुनै प्रत्यक्ष प्रतिक्रिया दिएनन् ।
१३ वर्षको उमेरदेखि थियो सम्बन्ध
अभियोजकहरूका अनुसार डेभिड बर्क १८ वर्षका छँदा १३ वर्षीया रिभास हर्नान्डेजसँग यौन सम्बन्ध सुरु गरेका थिए । अदालतमा पेस गरिएको कागजातअनुसार ती किशोरी डेभिडका अन्य महिलाहरूसँगको सम्बन्धलाई लिएर ईर्ष्यालु बनेकी थिइन् । हत्या हुनुभन्दा अघिल्लो रात गायक तथा प्रेमी डेभिडको सांगीतिक करियर बर्बाद पारिदिने धम्की दिएकी थिइन् ।
२३ अप्रिल २०२५ को रात डेभिडले उनलाई लिन कार पठाएको र आफ्नो घरमा आइपुगेपछि चक्कु हानेर हत्या गरेको अभियोजकहरूको दाबी छ । हत्यापछि उनले शवलाई हप्तौ वा महिनौंसम्म टेस्ला कारको अघिल्लो भागमा राखेको र घटनाको साढे चार महिनापछि कार तानेर लग्ने क्रममा शव फेला परेको थियो ।
