पहिलो निर्देशनमा नै रणदीप हुड्डालाई नेशनल अवार्ड

अभिनेत्रीतर्फको अवार्ड भने ‘आर्टिकल ३७०’ बाट यामी गौतमले जितिन् ।

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

Randeep Hooda wins National Award for his first directorial debut

काठमाडौँ — भारतको प्रतिष्ठित नेशनल फिल्म पुरस्कार रणदीप हुड्डाले जितेका छन् । तर यो पुरस्कार उनले अभिनेताका लागि नभई नवनिर्देशकबाट पाएका हुन् ।

सन् २००१ मा नै फिल्म ‘मनसून वेडिंग’ मार्फत् अभिनयमा छिरेका हुड्डाले सन् २०२० मा अमेरिकी फिल्म ‘एक्सट्रयाक्सन’ र २०२२ मा टेलिभिजन सिरिज ‘क्याट’ खेलिसकेका छन् ।

तर यसपटक भारतका हिन्दुत्वका विचारक मानिने विनायक दामोदर सावरकरको जीवनीमा आधारित भई बनाइएको बायोपिक ‘स्वतन्त्र वीर सावरकर’ ले रणदीपलाई पहिलोपटक नेशनल अवार्ड दिलाएको हो ।

यस फिल्ममा उनले सावरकरको शीर्ष भूमिकामा त अभिनय गरेकै छन्, त्यसबाहेक फिल्मको पटकथा पनि उनी आफैंले तयार पारेका हुन् र निर्माण पनि रणदीपकै हो । पहिलोपटक यसै फिल्मबाट निर्देशनमा पनि हात हालेका रणदीपले पहिलोपटक नै नेशनल अवार्ड पनि जिते ।

‘यो सम्मान हामी सबैको हो । यो पुरस्कारले युवा पुस्तालाई वीर सावरकरको विरासत बुझ्नका लागि थप प्रेरित गर्छ भन्ने मलाई विश्वास छ,’ नेशनल अवार्ड जितेपछि रणदीपले भने, ‘एक अभिनेता, सह–लेखक र पहिलोपटक निर्देशकको रूपमा मैले यस फिल्ममा आफ्नो सर्वस्व लगाएको छु । किनभने वीर सावरकरको जीवनीलाई पूर्ण ईमान्दारीका साथ दर्शकमाझ ल्याउने जिम्मा मेरै काँधमा थियो भन्ने मलाई लाग्यो ।’

७२ औं नेशनल अवार्डमा ‘आर्टिकल ३७०’ ले सन् २०२४ मा प्रदर्शनमा आएका भारतीय फिल्मबाट उत्कृष्ट फिचर फिल्मको पुरस्कार जितेको छ । त्यसैगरी, उत्कृष्ट हिन्दी फिल्म भने राजकुमार राव अभिनित फिल्म ‘श्रीकान्त’ बन्यो ।

त्यसैगरी, ममूटी र कार्तिक आर्यनले क्रमशः फिल्म ‘ब्रम्हायुगम’ र ‘चन्दू च्याम्पियन’ का लागि संयुक्तरूपमा उत्कृष्ट अभिनेताको नेशनल अवार्ड पाए । ममूटीले योसहित चौथोपटक नेशनल अवार्ड जितेका हुन् ।

Randeep Hooda wins National Award for his first directorial debut

अभिनेत्रीतर्फको अवार्ड भने ‘आर्टिकल ३७०’ बाट यामी गौतमले जितिन् । पुरस्कार पाएपछि उत्साहित हुँदै यामीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, ‘यात्राका दौरान एउटा यस्तो पनि बेला आउने रहेछ, जसले जिन्दगीमा कहिल्यै हार किन मान्नु हुँदैन भन्ने महसुस गराउँछ । आज मेरा लागि पनि यस्तै क्षण आयो । यो पुरस्कार मैले जिन्दगीभर सम्हालेर राख्ने सम्मान पनि हो ।’

यामीले थप लेख्दै भनेकी छन्, ‘पछिल्लो १४ वर्ष मैले ईमान्दारीका साथ आफ्नो काम गरें, अभिनयलाई आफ्नै एउटा पहिचान दिने कोशिसमा लागिरहें । यो सम्मान आशा, धैर्य, संघर्ष र फिल्मप्रतिको अटूट प्रेमले भरिएको यात्राको ठूलो उपलब्धि महसुस भएको छ ।’

साथै, उत्कृष्ट निर्देशकमा पनि ‘आर्टिकल ३७०’ बाटै आदित्य सुवास जम्भाले र पटकथा लेखकमा ‘पुष्पा २’ का सुकुमार उत्कृष्ट ठहरिँदै पुरस्कृत भए । सन्जय मिश्राले फिल्म ‘भक्षक’ बाट सह–अभिनेताको अवार्ड जित्दा ‘कल्की २८९८ एडी’ ले पूर्ण मनोरन्जनात्मक फिल्मको अवार्ड जितेको छ । त्यस्तै, साइलेन्ट फिल्म ‘टच्ड एज वाटर’ ले उत्कृष्ट एनिमेशनको नेशनल पुरस्कार पाउँदा सुमित्रा रायको फिल्म ‘भंगार’ नन–फिचर फिल्ममा उत्कृष्ट बनेको छ । 

भारतको सूचना तथा प्रसारण मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित 'नेसनल मिडिया सेन्टर' बाट विजेताहरूको घोषणा गरेको हो । विजेताहरूलाई राष्ट्रपतिद्वारा नयाँ दिल्लीकै विज्ञान भवनमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने छ ।

कान्तिपुर

Link copied successfully