मण्डलामा १८ महिने आवासीय नाट्य प्रशिक्षण सुरु

अभिनयदेखि सिर्जनात्मक लेखनसम्मका अभ्यासमूलक सेमेस्टरमा सहभागी युवाहरू समाजप्रति जिम्मेवार रंगकर्मी बन्ने लक्ष्यसहित सहभागी भएका छन्।

श्रावण २, २०८३

कान्तिपुर संवाददाता

18-month residential drama training begins in Mandalay

काठमाडौँ — मण्डला थिएटर-नेपालले मण्डला ड्रामा स्कुल(एमडीएस)को तेस्रो ब्याचका विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

१८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुवात गर्दै काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नयाँ ब्याचको स्वागत गरिएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित 'रङ्गा'  परियोजना अन्तर्गत यो प्रशिक्षण सञ्चालन हुन लागेको हो । नेपालभरबाट आवेदन दिएका युवाहरूमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पार गरी यस ब्याचका लागि १५ जना सहभागी चुनिएका छन् ।

ड्रामा स्कुलका एकेडेमिक निर्देशक सोमनाथ खनालका अनुसार नयाँ ब्याचका लागि तयार गरिएको पाठ्यक्रम पूर्ण रूपमा अभ्यासमा आधारित र समुदायसँग जोडिएको छ ।

‘कुल तीन सेमेस्टरमा बाँडिएको यस पाठ्यक्रमभित्र अभिनय, शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक तथा सामुदायिक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च, अन्तरविषयक कला अभ्यास तथा स्वतन्त्र नाटक निर्माण प्रक्रियालाई समेटिएको छ ।

१८ महिनाको यस आवासीय कार्यक्रमले विद्यार्थीहरूलाई स्वतन्त्र, सामाजिक रूपमा सचेत र समुदायसँग सहकार्य गर्न सक्ने रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ,’खनाललले भने । 

स्वागत कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले रंगमञ्चलाई संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरिन् । उनले विद्यार्थीहरूलाई जिज्ञासु, साहसी र समाजप्रति जिम्मेवार कलाकार बन्न प्रेरितसमेत गरिन् ।

स्वागत कार्यक्रमसँगै विभिन्न सातै प्रदेशबाट छानिएका १५ जनाको औपचारिक पढाइ पनि सुरु भएको छ ।

कान्तिपुर

Link copied successfully