काठमाडौंमा बिहीबार आयोजित समारोहमा शर्मिला थापाको लगानीमा बन्न लागेको ‘आशा’ फिल्मको औपचारिक घोषणा गरिएको हो ।
काठमाडौँ — नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार आयोजित समारोहमा शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो ।
फिल्मको लेखन तथा निर्देशन राजीव गुरुङले गर्नेछन् । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।
फिल्म ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको मुख्य अभिनय रहनेछ ।
निर्मात्री शर्मिला थापाले फिल्मले एउटा परिवारको कथा प्रस्तुत गर्ने बताइन् । अहिलेको व्यस्त जीवनशैलीमा परिवारसँग बिताउने समय घट्दै गएको र परिवारको कुनै सदस्यको अभावले उसको महत्त्व झन् बढी महसुस हुने यथार्थलाई फिल्ममा समेटिएको उनले जनाइन् ।
