रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘तिमी अर्कैको भइसक्यौ’बाट परियारले उक्त अवार्ड हात पारेका हुन् ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियायले हात पारेका छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘तिमी अर्कैको भइसक्यौ’बाट परियारले उक्त अवार्ड हात पारेका हुन् ।
परियारसँगै उत्कृष्ट आधुनिक गायक विधामा 'सुन्छौ मलाई कसम' बाट प्रवीण बेडवाल, 'हरेक रात' बाट राजेश पायल राई, 'आमा के गरेर तिरौं'बाट स्वरूपराज आचार्य र 'झरीले कतै' बाट सुमनकुमार श्रेष्ठ मनोनयनमा परेका थिए ।
परियारको व्यावसायिक सांगीतिक यात्रा २०५९/६० सालबाट सुरु भएको हो । त्यतिबेला उनले रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । सन् २००५ मा पहिलो व्यावसायिक डेब्यु एल्बम ‘मोक्ष’ मार्फत संगीत क्षेत्रमा उनी देखापरे । सोही एल्बमको लोक-आधुनिक फ्युजन गीत ‘फेवातालमा साइँली’ बाट नेपाली संगीत क्षेत्रमा परिचित बने । त्यसपछि उनका ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’, ‘धेरैचोटि मरेँ म त’, ‘कहाँ थियौ तिमी’, ‘क्या दामी भो’, ‘आँसुको अर्थ’, र ‘धोकेबाज हौ तिमी’ जस्ता थुप्रै गीत हिट भए । थुप्रै चलचित्रमा पार्श्व गायनसमेत गरिरहेका उनी दर्शकश्रोतामाझ लोकप्रिय छन् ।
