पुल्चोकस्थित द प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा अन्य विधामा १६ जनालाई अवार्ड प्रदान गरियो ।
काठमाडौँ — आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड–२०८२ को लाइफ टाइम एचिभमेन्ट अवार्ड कलाकार नीर शाहलाई प्रदान गरिएको छ । पुल्चोकस्थित द प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा शाहलाई एक लाख राशिसहित अवार्डबाट सम्मानित गरियो । रेडियो कान्तिपुरले यससँगै १६ विधामा उत्कृष्ट गायक, गायिकालाई अवार्ड प्रदान गरेको छ ।
लाइफ टाइम एचिभमेन्ट अवार्डपछि शाहको सम्मानमा उनकै गीत गायक शिव परियार र गायिका सलिना विवेकले गाए । ७३ वर्ष टेकिसकेका शाहले थुप्रै सिर्जनात्मक काम गरेका छन् । उनी सफल अभिनेता, रंगकर्मी, निर्देशक, निर्माता, गीतकार र कविसमेत हुन् । शाहले मुख्य अभिनय गरेको पछिल्लो फिल्म ‘परान’ (२०८२) बाट उनले राष्ट्रिय चलचित्र पुरस्कारबाट समेत उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए ।
२०२४ सालमा हिरासिंह खत्रीद्वारा निर्देशित चलचित्र ‘परिवर्तन’बाट अभिनय यात्रा गरेका शाहले ‘कुसुमे रुमाल’, ‘प्रेमपिण्ड’, ‘नाता रगतको’, ‘बलिदान’, ‘ढुकढुकी’, ‘यो मायाको सागर’, ‘बादलपारि’, ‘अर्जुन’, ‘सिउँदोको सिन्दूर’, ‘जीवनसाथी’, ‘गौंथली’, ‘बक्सिस र बाचा बन्धन’, ‘मुनामदन’, ‘सानो संसार’, ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्कापञ्जा ३’ लगायत थुप्रै फिल्ममा सशक्त अभिनय गरेका छन् ।
शाह अहिले उनको पछिल्लो निर्देशकीय फिल्म ‘कमला मिस’को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । शाहले जीवनमा ‘सेतो बाघ’, ‘वसन्ती’, ‘राजमती’, ‘वासुदेव’, ‘मसान’, ‘पच्चीस वसन्त’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । शाहले फिल्म निर्देशनमा जहिल्यै चलिआएका धारभन्दा फरक कोणबाट कथावाचन गरे । उनका ‘पर्खी बसें आउला भनी’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ लगायत थुप्रै गीत लोकप्रिय छन् । नेपाल टेलिभिजनको स्थापनाको श्रेय पनि शाहलाई जान्छ ।
यसैगरी उत्कृष्ट गीतकारको अवार्ड नारायणकुमार आचार्यले हात पारे । आचार्यले ‘सुन्छौ मलाई कसम’ गीतबाट उक्त अवार्ड प्राप्त गरे । उत्कृष्ट गीतकारको विधामा आचार्यसँगै ‘झरीले कतै’ गीतका लागि राजुबाबु श्रेष्ठ, ‘न ज्युन सके न मर्न’ का लागि प्रतिमा गुरुङ, ‘अन्तिम रात’ का लागि मनोज भण्डारी र ‘लाखौं लाख पटक’ गीतका लागि पुष्कर पन्त मनोनयनमा परेका थिए ।
उत्कृष्ट संगीतकारको अवार्ड न्ह्यु बज्राचार्यले उचाले । उनले गीत ‘कस्तो नशा’ बाट उक्त अवार्ड प्राप्त गरेका थिए । उत्कृष्ट संगीतकार विधातर्फ बज्राचार्यसँगै ‘झरीले कतै’ बाट राजनराज शिवाकोटी, ‘बुझ्ने मान्छे’ बाट गैरे सुरेश, ‘मायाका गीत’ बाट रेश्मा पुन र ‘साथ कहिले सम्म’ बाट कवीन्द्र तामाङ प्रतिस्पर्धामा थिए ।
बज्राचार्यको सांगीतिक यात्रा २०४० को दशकबाट सुरु भएको हो । उनले प्रकाश श्रेष्ठको स्वरमा रहेको गीत ‘कति कति मनका कुराबाट’ संगीत यात्रा औपचारिक रूपमा थालनी गरेका थिए । उनको संगीतबद्ध गीत ‘सायद तिम्रो बाटोमा’, ‘ओराली लागेको हरिणको चाल भो’ र ‘हाँस्ने रहर जिन्दगीले’ अहिले पनि उत्तिकै लोकप्रिय छन् । बज्राचार्यले संगीत गरेको ‘सयथरी बाजा एउटै ताल’ उनको संगीत जीवनको विशेष काम हो । उनी ‘नेपाल आइडल’ रियालिटी शोको निर्णायकका रूपममा पनि सक्रिय थिए ।
उत्कृष्ट पार्श्व गायिकाको अवार्ड झुमा लिम्बूले हात पारिन् । फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीतबाट लिम्बूले उक्त अवार्ड प्राप्त गरिन् । लिम्बूसँगै पार्श्व गायनतर्फ उत्कृष्ट गायिकाको विधामा ‘धागोले बाटेको’ बाट रचना रिमाल, ‘कुन हावाले’ बाट सलिना विक, ‘युमा हजुरी’ बाट सुनिता थेगिम र ‘नत्र भने जिन्दगी’ बाट समीक्षा अधिकारी मनोनयनमा परेका थिए ।
झुमा रैथाने संगीतको खोजी, अनुसन्धान र प्रवर्द्धनमा परिचित छिन् । नेपाली सुगम र आधुनिक गायनबाट आफ्नो यात्रा सुरु गरे पनि उनी पछिल्लो समय रैथाने संगीतको उत्खनन र संरक्षणमा सक्रिय छिन् । पूर्वी नेपालको किरात संस्कृति र मुन्धुमी दर्शनलाई आधार मानेर उनले तयार पारेको ‘साउन्ड्स अफ मुन्धुम’ जस्ता एल्बमले हाक्पारे, पालाम र ख्याली जस्ता रैथाने गायन शैलीलाई जीवन्त बनाएका छन् ।
उत्कृष्ट पार्श्व गायकको अवार्ड भने जोन चाम्लिङ राईले हात पारे । उनले फिल्म ‘जेरी अन टप’ को गीत ‘माया गर्नु ल’ गीतबाट उक्त अवार्ड प्राप्त गरे । जोनसँगै उत्कृष्ट पार्श्व गायकको सूचीमा ‘चाहिँदैन महर’ का लागि शरद हुमागाईं, ‘तिम्रो मलाई हुनि मन छ’ का लागि साइराज खाती, ‘धेरै भयो’ का लागि केतन क्षेत्री र ‘कागजका खाता’ का लागि पुष्पन प्रधान छानिएका थिए ।
यससँगै जोन द एक्स्ट्रिम एनर्जेटिक पर्फमेन्स अवार्ड पनि उचाल्न सफल भए । धरानका जोनले स्कुले जीवनदेखि नै संगीतमा रुचि राख्थे । उनी सामाजिक सञ्जालमा आफ्ना ‘र’ गायन भिडियो राख्थे । त्यसैबाट उनी श्रोतामाझ चिनिएका हुन् । उनको औपचारिक सांगीतिक यात्रा भने सन् २०२० मा सार्वजनिक भएको पहिलो आधिकारिक डेब्यु गीत ‘प्रश्न’ बाट सुरु भएको हो । जोनले आफ्नो ब्यान्ड ‘जोन एन्ड द लोकल्स’ मार्फत लोकप्रिय गीत बजारमा ल्याएका छन् । जोनको ‘को छ र’, ‘पर्खि रहेछु’, ‘निहित’ र ‘हवा जस्तै’ जस्ता गीत चर्चित छन् ।
‘साधना’, ‘फर्कन्न होला’, ‘के गरूँ’, ‘भन न मात्र’, ‘भाग्यमानी मोह’ र पछिल्लो समय चर्चामा रहेको ‘माया गर्नु ल’ जस्ता गीतले उनलाई थप लोकप्रिय बनाए ।
उत्कृष्ट आधुनिक गायकको अवार्ड भने शिव परियारले उचाले । उनले ‘तिमी अर्कैको भइदियौ’ बाट अवार्ड हात पारेका हुन् । शिवसँगै उत्कृष्ट आधुनिक गायकको विधामा ‘सुन्छौं मलाई कसम’ बाट प्रवीण बेडवाल, ‘हरेक रात’ बाट राजेश पायल राई, ‘आमा के गरेर तिरौं’ बाट स्वरूपराज आचार्य र ‘झरीले कतै’ बाट सुमनकुमार श्रेष्ठ मनोनयनमा परेका थिए ।
गायक परियारको व्यावसायिक सांगीतिक यात्रा २०५९/६० बाट सुरु भएको थियो । त्यतिबेला उनले रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । शिवले सन् २००५ मा पहिलो व्यावसायिक डेब्यु एल्बम ‘मोक्ष’ मार्फत संगीत क्षेत्रमा औपचारिक डेब्यु गरे । सोही एल्बमको लोक–आधुनिक फ्युजन गीत ‘फेवातालमा साइँली’ बाट नेपाली संगीत क्षेत्रमा उनी परिचित भए । त्यसपछि उनका ‘पिलायो साथीले’, ‘धेरैचोटि मरें म त’, ‘कहाँ थियौ तिमी’, ‘क्या दामी भो’, ‘आँसुको अर्थ’, र ‘धोकेबाज हौ तिमी’ जस्ता थुप्रै गीत हिट भए । थुप्रै चलचित्रमा पार्श्व गायनसमेत गरिरहेका शिव दर्शक–श्रोताहरूको मनमा गुन्जिरहने स्वर हुन् ।
उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेश्मा पुनले हात पारिन् । ‘मायाका गीत’ बाट पुनले उक्त अवार्ड हात पारेकी हुन् । पुनसँगै आधुनिक संगीत विधामा उत्कृष्ट गायिकातर्फ ‘कस्तो नशा’ बाट सज्जा चौलागाईं, ‘आमा’ बाट रचना रिमाल, ‘जुनी पनि’ बाट बानिका प्रधान र ‘हल्का हल्का’ बाट स्मिता प्रधानबीच प्रतिस्पर्धा भएको थियो ।
गायिका पुनले गायन करिअर अभर गीतहरूबाट सुरु गरिन् । रेश्माको संगीत करिअरमा आर्टमान्डुको गीत ‘चन्द्रमा’, ‘बादलुपारिको देशैमा’, ‘बेहुली सङ’ (बारु), ‘शिरको फूल’ र श्री चाम्लिङ राईसँगको सहकार्यमा आएको ‘ज्यानै सिलिम भो’ गीतहरू लोकप्रिय छन् । त्यसैगरी चलचित्र ‘कबड्डी ४’ मा समावेश उनको गायन रहेको ‘केसरी’ निकै लोकप्रिय रह्यो । पुन आधुनिक तथा पार्श्व गायन स्थापित नाम भइसकेकी छन् ।
उत्कृष्ट लोक गायकको अवार्ड भने अर्जुन सापकोटाले हात पारे । उनले ‘झलिको’ बाट उक्त अवार्ड हात पारेका हुन् । सापकोटासँगै लोक गायकतर्फ ‘छैन र माया’ का लागि प्रकाश दूतराज, ‘यानिमाया’ का लागि वसन्त थापा, ‘सानी नखाया’ का लागि राजु परियार र ‘शिरमा शिरबन्दी’ का लागि सुवास खत्रीबीच प्रतिस्पर्धा भएको थियो ।
स्याङ्जामा जन्मिएर नवलपरासीमा हुर्किएका सापकोटा आफ्ना काका तथा चर्चित लोकगायक यज्ञ सापकोटाको सांगीतिक माहोलबाट प्रेरित थिए । उनले सन् २०१३ मा मात्र १४ वर्षको उमेरमा पहिलो गीत ‘रातिलाई साथी जून छ’ रेकर्ड गराएर संगीतमा डेब्यु गरेका थिए । गायक र संगीतकारका रूपमा उनको व्यावसायिक उचाइ भने सन् २०१९ मा सार्वजनिक भएको लोकगीत देवी घर्ती मगरको सहकार्यमा तयार भएको ‘वनकी चरी’ बाट भएको थियो ।
त्यसयता उनले नेपाली लोक बजारमा ‘बस्छौ अलक्कै’, ‘झलिको’, ‘पछ्यौरी लिस्यो’, ‘दुई दुना चार’, ‘दुःख साटौंला सुख साटौंला’ र ‘मौरी रसैमा’ जस्ता लोकप्रिय गीत दिइसकेका छन् । अर्जुन हाल नेपाली लोकसंगीतका व्यस्त र सर्वाधिक रुचाइएका युवा गायकमध्ये एक हुन् । उनका प्रायः गीत ‘मिलियन क्लब’ मा पर्न सफल छन् ।
उत्कृष्ट लोकगायिकाको अवार्ड देवी घर्ती मगरले हात पारिन् । ‘यानिमाया’ बाट उनले उक्त अवार्ड हात पारेकी हुन् । उनीसँगै लोक संगीत विधाको उत्कृष्ट गायिकातर्फ ‘पोखरा पृथ्वी चोक’ बाट शान्तारानी परियार, ‘झ्याप्पै’ बाट ज्योति मगर, ‘मनाङ कोटैमा’ बाट शान्तिश्री परियार र ‘लाइटै बालेर हेर मायाले’ बाट टीका पुन मनोनयनमा समेटिएका थिए ।
बागलुङमा जन्मिएकी देवी घर्ती मगरलाई सानैदेखि त्यहाँको सुमधुर लोक–संस्कृति र रोइला/सालेजोको माहोलले गायनतर्फ आकर्षित गर्यो । उनी २०६० को दशकको सुरुवाती चरणमा काठमाडौं आएकी थिइन् । सुरुमा दोहोरी साँझहरूमा उनले लोक गीत गाइन् । उनको पहिलो डेब्यु गीत ‘बर्खा लागेछ’ (अमर विरही गुरुङसँगको सहकार्य) थियो । तर उनलाई लोक बजारमा स्थापित गराउने गीत भने २०६३ तिर सार्वजनिक भएको ‘ओरालीमा बत्ती बलेको’ (रामजी खाँणसँगको सहकार्य) बन्यो ।
त्यसपछि उनले नेपाली लोकसंगीत क्षेत्रलाई थुप्रै चर्चित गीत सुम्पिइन् । उनका चर्चित गीतको सूचीमा ‘उदास छु म’, ‘झ्यालमा पर्दा छ’, ‘रातो पछ्यौरी’, ‘लुकीटुकी माया नलाऊ’, ‘तिमी मेरो हुन पाएनौ’, ‘के भनूँ र ओइली गएको फूललाई’, ‘वनकी चरी’ लगायत पर्छन् । आजकाल उनी नयाँ र पुराना दुवै पुस्ताका कलाकारका लागि सहकार्यको पहिलो रोजाइमा समेत पर्छिन् ।
उत्कृष्ट पप गायिकाको अवार्ड भने रचना दाहालले हात पारिन् । उनले गीत ‘आज्ञा’बाट उक्त अवार्ड जितेकी हुन् । नेपाली पप क्षेत्रकी अब्बल गायकी भएकी रचना झापाकी हुन् । सानै उमेरदेखि काठमाडौंलाई कर्मथलो बनाएर संगीत साधनामा सक्रिय रचनाले सन् २०१९ मा सार्वजनिक गीत ‘भुमरी’बाट औपचारिक सांगीतिक यात्राको सुरुवात गरेकी थिइन् । अब्बल लेखन र गाउने फरक शैलीका कारण उनी लोकप्रिय छिन् । उनको ‘दागबत्ती’, ‘हे भगवान्’, ‘सोच’, ‘सपनाको राजा’, ‘असम्भव’ लगायत गीतहरूले समाजका कतिपय अनुत्तरित प्रश्न र मानव मनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्छन् ।
उत्कृष्ट पप गायकको अवार्ड सुशान्त केसीले प्राप्त गरे । उनले ‘जि छन्त मातिना’बाट उक्त अवार्ड हात पारे । नेपाली पप र आर एन्ड बी संगीत क्षेत्रका लोकप्रिय गायक, गीतकार तथा संगीतकार सुशान्त केसी काठमाडौंमै जन्मिए । सानैदेखि गिटार बजाउने र आफ्नै धुन कोर्न सौखिन सुशान्तले सन् २०१६ मा ‘आमा’ बाट औपचारिक सांगीतिक यात्राको सुरुवात गरे । उनलाई नेपाली संगीत बजारमा चर्चाको शिखरमा पुर्याउने गीत भने ‘सारंगी’ थियो । उनका ‘बार्दली’, ‘सारंगी’, ‘रिसाउने भए’, ‘झ्यालबाट, मायामा’, ‘आमा’, ‘साथी’, ‘बेहोस’, ‘सताएर’, ‘गुलाबी’, ‘मुस्कुराएर’ र ‘मौसम’ जस्ता गीत लोकप्रिय छन् ।
उत्कृष्ट ब्यान्डको अवार्ड अभया एन्ड द स्टिम इन्जिन्सले उचालेको छ । गीत ‘हे साइँला’ बाट यो ब्यान्डले अवार्ड हात पारेको हो । यो गीतको स्वर तथा कम्पोज अभया सुब्बाको छ ।
नेपाली रक र वैकल्पिक संगीत क्षेत्रकी ‘रक स्टार’ सुब्बा बाल्यकालदेखि नै घरको सांगीतिक माहोलमा हुर्किइन् । दार्जिलिङमा जन्मिएर पछि काठमाडौंलाई कर्मथलो बनाएकी उनले प्रारम्भमा ‘रेड इभ्स’ र ‘पारिजात’ जस्ता ब्यान्डमा आबद्ध भएर संगीतको व्यावसायिक जग बसालिन् ।
सन् २००३ मा आफ्नै नेतृत्वमा ‘अभया एन्ड द स्टिम इन्जिन्स’ नामक रक ब्यान्ड स्थापना गरिन् । अभयाका ‘लैजाऊ मलाई’, ‘हावाहुरी’, ‘सधैंभरि’, ‘बाँसको घर’ लगायत थुप्रै गीत चर्चित छन् । उनी गीतमार्फत मात्र होइन, आफ्नै जीवनमा पनि महिला स्वतन्त्रता र अधिकारका विषयमा बोलिरहेकी हुन्छिन् ।
आरएन्डबी हिप अप विधातर्फ उजन शाक्यले अवार्ड उचाले । यस विधामा ‘पाहुना’का लागि सुशान्त केसी, ‘बम्बइवाली’ का लागि एसटी म्यान, ‘रातो रानी’ का लागि जेनी योन्जन र ‘फसाइदेऊ’ का लागि भेक प्रतिस्पर्धामा थिए । उजनले पिपुल्स चोइस अवार्ड पनि हात पारे । मनोनयनमा उजनसँगै ‘झलिको’ का लागि अर्जुन सापकोटा, ‘काफ्ले’ गीतका लागि झुमा लिम्बू, ‘को छ र’ का लागि जोन चाम्लिङ राई र ‘जि छनता मतिना’का लागि सुशान्त केसी थिए ।
उत्कृष्ट नवगायक अवार्ड भने दिलेश्वर परियारले पाए । उनले गीत ‘मुटु जलेपछि’ का उक्त अवार्ड पाएका थिए । विभिन्न सांगीतिक प्रस्तुति तथा स्ट्न्डअप कमेडीसँगै कार्यक्रम सम्पन्न भएको थियो ।
