रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘झलिको’बाट सापकोटाले उक्त अवार्ड हात पारे ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ मा उत्कृष्ट लोकगायकको अवार्ड अर्जुन सापकोटाले प्राप्त गरेका छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘झलिको’बाट सापकोटाले उक्त अवार्ड हात पारे ।
सापकोटासँगै लोक गायकतर्फ 'छैन र माया'का लागि प्रकाश दुतराज, 'यानीमाया'का लागि वसन्त थापा, 'सानी नभए'का लागि राजु परियार र 'शिरमा शिरबन्दी' का लागि सुवास खत्रीबीच प्रतिस्पर्धा भएको थियो ।
स्याङ्जामा जन्मिएर नवलपरासीमा हुर्किएका सापकोटा आफ्ना काका तथा चर्चित लोकगायक यज्ञ सापकोटाको सांगीतिक माहोलबाट प्रेरित थिए । सन् २०१३ मा १४ वर्षको उमेरमा पहिलो गीत ‘रातिलाई साथी जून छ’ रेकर्ड गराएर सांगीतिक दुनियाँमा प्रवेश गरे ।
गायक र संगीतकारका रूपमा उनको व्यावसायिक उचाइ भने सन् २०१९ मा सार्वजनिक भएको लोकगीत देवी घर्ती मगरको सहकार्यमा तयार भएको ‘वनकी चरी’बाट भएको थियो । त्यसयता उनले नेपाली लोक बजारमा ‘बस्छौ अलक्कै’, ‘झलिको’, ‘पछ्यौरी लिस्यो’, ‘दुई दुना चार’, ‘दु:ख साटौंला सुख साटौंला’ र ‘मौरी रसैमा’ जस्ता लोकप्रिय गीत दिइसकेका छन् ।
सापकोटा हाल नेपाली लोक संगीतका व्यस्त र सर्वाधिक रुचाइएका युवा गायकमध्ये एक हुन् । उनका प्रायः गीत ‘मिलियन क्लब’मा पर्न सफल छन् । उनी हाल रियालिटी शो 'द भोइस किड्स'का निर्णायकसमेत रहेका छन् ।
