कान्सको स्टलसम्बन्धी विवाद अख्तियारमा, मन्त्रालयले काट्यो बोर्डलाई पत्र

विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा चलचित्र विकास बोर्डले खरिद गरेको स्टलमाथि हेल्लो सरकार हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

Cannes stall dispute reaches the Commission, ministry sends letter to the Board

What you should know

काठमाडौँ — कान्सको स्टल विवादमाथि आवश्यक कारबाही अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र पठाएको छ । विश्वप्रतिष्ठित फिल्म महोत्सव कान्समा चलचित्र विकास बोर्डले खरिद गरेको स्टलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेसँगै मन्त्रालयले उजुरीका सम्बन्धमा आवश्यक कारबाही गर्न पत्र पठाएको हो ।  

'हामीलाई प्राप्त पत्रको विषयमा के भएको हो भनेर बोर्डलाई सोधेका हौं । त्यो विषयमा उहाँको जवाफ आएपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ,'मन्त्रालयका प्रवक्ता उदयबहादुर राना मगरले कान्तिपुरलाई भने । 

यसअघि कान्सको यही विषयमाथि हेल्लो सरकारमा उजुरी परेको थियो । विश्वप्रतिष्ठित फिल्म महोत्सव कान्समा 'चलचित्र विकास बोर्डको सहभागिता, स्टल खरिद तथा सञ्चालन प्रक्रियामा देखिएको अनियमिततासम्बन्धी अध्ययन तथा छानबिन आवश्यक' शीर्षकमा  जेठ १९ मा उजुरी परेको हो । उजुरीकर्ताको विवरण भने खुलाइएको थिएन । अख्तियारमै उजुरी परेपछि भने कान्सको विवादमाथि मन्त्रालयको ध्यान तानेको देखिन्छ । 

खासमा यो वर्ष चलचित्र विकास बोर्ड र पर्यटन बोर्डको सहकार्यमा कान्समा स्टल (बुथ) खरिद गरिएको थियो । नेपाली फिल्म क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली फिल्म र फिल्मकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ स्टल खरिद गरिए पनि कान्स पुगेको फिल्मकै पोस्टर यहाँ नसमेटिएपछि सामाजिक सञ्जालमा फिल्मकर्मीले प्रश्न उठाएका थिए । 

कान्सको महत्त्वपूर्ण विधामा पहिलो पटक छनोट भई अवार्डसमेत जितेको ‘एलिफेन्ट्स इन्द द फग’कै पोस्टर स्टलमा नसमेटिएपछि थुप्रै फिल्मकर्मीले बोर्डले खरिद गरेको स्टलको खर्चमाथि प्रश्न उठाए । स्टलमा प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’को पोस्टर मात्रै सर्वत्र देखिन्थ्यो । विवाद चर्कँदा चलचित्र विकास बोर्डले आफूहरुले कान्स स्टल जान चाहने इच्छुकका फिल्मकर्मीमाझ पोस्टर, ट्रेलर, प्रचार सामग्री उपलब्ध गर्न विज्ञप्ति जारी गरे पनि अन्तिमसम्म 'एलिफेन्ट्स इन द फग'बाट केही प्राप्त नभएकाले उपलब्ध सामग्रीकै आधारमा स्टल व्यवस्थापन गरिएको विज्ञप्तीमार्फत जनाएको थियो । 

सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम घडीमा बोर्डका प्रतिनिधि कान्स पुग्न नसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

त्यसैले स्टलको व्यवस्थापन स्थानीय व्यवस्थापक र साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनले सम्हाल्यो । बोर्डले पर्यट्न बोर्डसँग मिलेर संयुक्त रुपमा स्टल खरिद गरिए पनि स्टलमा बोर्डकै नाम भने सानो अक्षरमा लेखिएको थियो । शाही प्रोडक्सनबाट निर्मित पोस्टरले स्टल भरिएको थियो । जसमा विकास बोर्ड अध्यक्ष दिनेश डिसी अभिनित फिल्म 'एक्लो'को ठूलो पोस्टर राखिएको थियो ।

कान्तिपुर

Link copied successfully