झन्डै तीन वर्ष लामो प्रेम सम्बन्धलाई यी दुई प्रेमिल जोडीले न्युयोर्क सहरको केन्द्रमा रहेको ऐतिहासिक म्याडिसन स्क्वायर गार्डेन (एमएसजी) मा एक भव्य समारोहका बीच विवाहमा परिणत गरेका हुन् ।
काठमाडौँ — विश्वप्रसिद्ध पप स्टार टेलर स्विफ्ट र एनएफएल स्टार ट्राभिस केल्सीबीच हुने भनिएको बहुप्रतिक्षित विवाह अन्ततः सम्पन्न भएको छ । झन्डै तीन वर्ष लामो प्रेम सम्बन्धलाई यी दुई प्रेमिल जोडीले न्युयोर्क सहरको केन्द्रमा रहेको ऐतिहासिक म्याडिसन स्क्वायर गार्डेन (एमएसजी) मा एक भव्य समारोहका बीच विवाहमा परिणत गरेका हुन् । ४ जुलाईमा भएको यस विवाहलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘अमेरिकाको शाही विवाह’ को संज्ञा दिएका छन् ।
वैवाहिक समारोह स्थल न्युयोर्कको मिडटाउन म्यानहट्टनस्थित एमएसजीलाई निकै तामझामका साथ सिंगारिएको थियो । शुक्रबार बेलुकी करिब ७ः२० बजे एमएसजी बाहिरका विशाल डिजिटल स्क्रिनहरूमार्फत् ‘भर्खरै विवाह सम्पन्न भयो’ भन्ने सन्देश दिइएको थियो । उक्त सन्देशपछि वैवाहिक समारोह स्थल बाहिर उपस्थित स्विफ्ट र केल्सीका फ्यानहरूले खुशीले हुटिंग गरेका थिए ।
स्विफ्ट–केल्सी विवाहमा उपस्थित हुन पप गायक एड सिरन, सुपरमोडेल गिगी हदीद, अभिनेत्री तथा लेखिका लिना डनहम, हलिउड स्टारहरू हृयु ग्रान्ट, ब्राड्ली कुपर, इथान हक, संगीतकार ज्याक एन्टोनोफका साथै एनएफएल स्टारहरू कुपर कप र जुजु स्मिथ–शुस्टर जस्ता प्रसिद्ध सेलेब्रिटी आएका थिए ।
टेलर स्विफ्टकी मेन्टर एवं प्रतिष्ठित गायिका स्टिभी निक्सले विवाह उत्सवमा विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन् । विवाहमा परम्परागत शैलीमा दुलही वा दुलाहाका साथीहरू (लोकन्ती) राखिएका थिएनन् । त्यसको सट्टामा स्विफ्टका भाइ अस्टिनले ‘म्यान अफ अनर’ र केल्सीका दाजु एनएफएल भेट्रान जेसन केल्सीले ‘बेस्ट म्यान’ को भूमिका निर्वाह गरेका थिए ।
चर्चित हलिउड अभिनेता एडम स्यान्डलरले विवाहलाई औपचारिकता दिएका थिए । एमएसजी सुरक्षा स्रोतका अनुसार समारोहमा झन्डै एक हजार विशिष्ट पाहुनाहरू सहभागी थिए । गोपनीयता कायम राख्न विवाहस्थल भित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । विवाहको सम्मानमा न्युयोर्कको प्रतिष्ठित एम्पायर स्टेट बिल्डिङलाई हल्का नीलो रङमा चम्काइएको थियो ।
पोडकास्टको ‘फ्रेन्डसिप ब्रेसलेट’ देखि विवाहको मण्डपसम्म
टेलर र ट्राभिसको प्रेमकथा कुनै फिल्मको कथाभन्दा कम छैन । यो जोडीको सुरुवाती भेट ८ जुलाई २०२३ मा भएको थियो, जब ट्राभिस केल्सी स्विफ्टको ‘एराज टुर’ हेर्न एरोजेड स्टेडियम पुगेका थिए । त्यतिबेला उनले टेलरलाई आफ्नै फोन नम्बर अंकित ‘फ्रेन्डसिप ब्रेसलेट’ दिन चाहेका थिए, तर स्विफ्टले कन्सर्टको समयमा कसैसँग कुरा नगर्ने भनेकाले तत्काल भेट हुन सकेन ।
केल्सीले उक्त क्षणको अनुभव आफ्नो पोडकास्ट ‘न्यू हाइट्स’ मा बताएपछि भिडियो भाइरल भएको थियो । पोडकास्टमा केल्सीले स्वीफ्टलाई भेट्न नपाएकोमा दुःख व्यक्त गरेका थिए । पछि टेलरकी आमा एन्ड्रिया स्विफ्टले उक्त भिडियो हेरेपछि छोरीलाई केल्सीसँग भेटाउने वातावरण मिलाएकी थिइन् । पछि टाइम म्यागजिनसँगको एक अन्तर्वार्तामा पनि स्विफ्टले उक्त पोडकास्ट सार्वजनिक भए लगत्तै आफूहरूले गुपचुप भेट्न थालेको बताएकी थिइन् ।
सेप्टेम्बर २०२३ मा स्विफ्ट पहिलोपटक केल्सीको खेल हेर्न स्टेडियम पुगेकी थिइन् र खेल सकिएपछि उनी केल्सीको कारमा बाहिरिएकी थिइन् । ११ फेब्रुअरी २०२४ मा केल्सीको फुटबल क्लब कन्सास सिटी चिफ्सले सुपर बोल जितेपछि मैदानमै उनीहरूले आफ्नो प्रेमलाई सार्वजनिक गरेका थिए ।
संगीतमा प्रेमको प्रतिबिम्ब
सम्बन्ध प्रगाढ हुँदै गएपछि गायिका स्विफ्टले आफ्ना गीतहरूमा केल्सीप्रतिको प्रेम व्यक्त गर्न थालिन् । सन् २०२४ को एल्बम ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’ को ‘सो हाइ स्कूल’ मा उनले फुटबलका प्रसंगहरू राखेकी छन् । सन् २०२५ मा ट्राभिसकै पोडकास्टमा आफ्नो नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ घोषणा गरेकी थिइन् । लगत्तै उनीहरूले आफ्नो इन्गेजमेन्टको खबर पनि सार्वजनिक गरे । सो एल्बमका गीतहरू जस्तै ‘द फेट अफ ओपेलिया’, ‘उड’ र ‘विश लिस्ट’ मा केल्सीको पोडकास्टको नामदेखि लिएर उनीहरूको सुखद भविष्यका सपनाहरू स्पष्ट रूपमा बुनिएका छन् ।
अन्ततः, पोडकास्टको एउटा भाइरल क्लिप र एउटा फ्रेन्डसिप ब्रेसलेटबाट सुरु भएको यो प्रेमकथा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा आएर एक ऐतिहासिक र भव्य विवाहमा परिणत भएको छ ।
