बालबालिकामा करुणा भर्ने नाटक ‘स्यालसिंह’

निर्देशक तीर्थ विश्वकर्माद्वारा निर्देशित ‘स्यालसिंह’ नाटक थापागाउँ थिएटरमा असार ५ देखि बालबालिकालाई लक्षित गर्दै मञ्चन भइरहेको छ ।

असार १८, २०८३

समर्पण श्री

'Syal Singh', a play that instills compassion in children

What you should know

काठमाडौँ — थापागाउँस्थित एक थिएटरमा नाटक ‘स्यालसिंह’ हेर्ने क्रममा मेरो सिट नजिकै पाँच वर्षका बालक रुँदै आफ्नो आमालाई पक्रिरहेका थिए ।

नाटक सकिएर बाहिर निस्किँदसम्म उनको केहीबेरको रुवाइ हाँसोमा परिणत भइसकेका थियो । नजिक पुगेर बालकको आमालाई सोधें– नाटक हेर्ने बेला तपाईको बाबु किन रोएको ?’

आमाले छोरातर्फ हेर्दै भनिन्, ‘स्याललाई सिंहका दाजुभाइले कुटेका थिए नि । आफ्नै साथीलाई तिनीहरूले किन कुटे भनेर चित्त दुख्यो रे ।’ बालमस्तिष्कमा कुनै नाटकले करुणा भाव रोप्छ भने यसलाई प्रंशसनीय मान्नुपर्छ । 

बालबालिकालक्षित नाटक थिएटरहरूमा सायदै मञ्चन भइरहेको बेला थापागाउँमा रहेको एक थिएटर भने अपवादमा छ । केही महिनाअघिमात्र ‘खरायो र कछुवा’ नाटक लिएर याे टिमले पूर्वका विभिन्न भूगोल यात्रा गरेको थियाे। यसपटक पनि एकले बालबालिका लक्षित नाटक ‘स्यालसिंह’ असार ५ गतेदेखि मञ्चन गरिरहेको छ ।

यो नाटकले जंगली जनावरका कथामार्फत् मानिसका सम्बन्धका कथा भन्छ । प्रकृति, जंगली सभ्यता र मानिसलाई बोध गराउने गरी पहिचाको कथा भन्छ । पूर्वबाट युवावयका निर्देशक तीर्थ विश्वकर्मा ‘स्यालसिंह’को कथा कोसेली बोकेर काठमाडौं आएका थिए । उसो त उनी पूर्वमा स्कुले बालबालिकालाई बेलाबखत नाटक प्रशिक्षण पनि दिइरहेका हुन्छन् ।

'Syal Singh', a play that instills compassion in children

नाटक हेरिरहँदा मलाई स्कुले जीवनमा प्रारम्भिक दिनमा पढेको अमेरिकी कवि, लेखक शेल सिल्भरस्टाइनले सन् १९६४ मा लेखेको कथा ‘द गिभिङ ट्रि’को सम्झना आयो । कथामा रूख र बालकको मितेरी यति प्रगाढ थियो कि मभित्र हरेक रूख बिरुवाप्रति थप करुणा जाग्न थाल्यो । उनीहरू पनि मान्छेजस्तै दयालु हुन्छन् भन्ने बोध हुन थाल्यो । जब बालक हुर्केर प्रौढ हुँदै गयो, रूख आफूले दिँदादिँदै रित्तिँदै गयो । त्यसको छाप मेरो मनमा गहिरो पर्‍याे । यो नाटकले पनि बालमस्तिष्कमा त्यतिकै प्रभाव पार्ने सामर्थ्य राख्छ ।

दन्त्यकथामा आधारित नाटकको आधारकथा ‍‘स्यालसिंह’ कक्षा ८को पाठ्यक्रममा समावेश छ । कथालाई मिहिन ढंगबाट बुनिएको यो नाटकले बालबालिकालाई थप कोमल बनाउन सिकाउँछ । जनावरप्रति थप प्रेम गर्न सिकाउँछ । घरमा पालिएका घरपालुवा जनावर यदि अभिभावकले बेचिदिए भने त्यसको असर कत्ति दिनसम्म बालबालिकामा गहिरोसँग पर्छ । बालबालिकाका लागि त जनावर साथीसमान हुन्छन् । ठूलाहरूले बोध गरुन्, नगरुन् बालबालिकाहरूले ती घरपालुवा जनावरको अस्तित्व बोध गरेका हुन्छन् ।

नाटक स्यालसिंह पनि एउटा अस्तित्वको कथा हो । वनमा बासँग सुरक्षित रहेको स्याल एकदिन एक्लो पर्छ । हात्तीको आक्रमणबाट जोगिन उसका बा लगायत साथीहरू भाग्ने क्रममा छिन्नभिन्न हुन्छन् । एक्लो स्याललाई भोकाएको सिंहले भेटाउँछ । सानो र मायालु देखेर उसले घर लिएर जान्छ र सन्तानको रुपमा हुर्काउँछ ।

सिंहले  हुर्काएको स्यालको पहिचान ठूलो भएपछि के हुन्छ होला ? सरल कथाबाट गहिरो दर्शन भनिएको यो कथालाई निर्देशक तीर्थले कुशललतापूर्वक सेटमा उतारेका छन् । उनले जनावर अवतारमा मान्छेको फ्युजन गराएका छन् । चाहेँ सिंह होस् वा स्याल, वा त खरायो जरायो- जनावरभित्र मानवीय अनुभूति जोडिदिएका छन् । त्यसकारण जंगलको सेटिङ भए पनि दर्शकहरूले यो कथालाई आफ्नो गाउँ र समाजसँग जोड्न सक्छन् । कथाका पात्रहरूमा देखिने बालसुलभ गुणले दर्शकलाई थप मुग्ध बनाउँछ ।  नाटकमा प्रप्स सुन्दर ढंगले प्रयोग भएका छन् । जनावरको मास्कधारी कलाकारहरूले मानिस र पशुकै फ्युजन चरित्र विश्वसनीय ढंगले निर्वाह गर्न प्रयास गरेका छन् ।

'Syal Singh', a play that instills compassion in children

एक थिएटरको पछिल्लो ब्याचका विद्यार्थीहरू नाटकका कलाकार हुन् । कलाकारहरू निखारिने ठाउँ नभएका हैनन् । कतिपय ठाउँमा कलाकारहरूको संवाद शैली र हिँडाइको चाल स्वभाविक लाग्दैनन् । यद्यपि पहिलो नाटकमा उनीहरुको सक्रियता र उपस्थिति नै महत्वपूर्ण हो ।

नाटकको प्रमुख पात्र स्यालसिंहको चरित्र स्वभाविक देखिन्छ । स्यालको हाउभाउ र प्राकृतिक चाललाई कलाकार सविन थामीले विश्वसनीय ढंगले प्रस्तुत गरेका छन् । जब स्यालमा सिंहको व्यवहार देखिन थाल्छ, ऊभित्रको अन्तरविरोधलाई सविनले सुन्दर शैलीमा पस्केका छन् ।

नाटकलाई संगीतले थप शृंगारेको छ । कथाको ग्राफसँगै गीतले पनि कथावाचन गरेको छ ।

नाटकको लक्षित दर्शक बालबालिका भएकाले केही ठाउँमा पनि निर्देशक थप संवेदनशील देखिनुपर्छ । जस्तो कि केही सिन दर्शक झस्किने गरी सिर्जना गरिएको छ । यसले कलिला उमेरका दर्शकलाई असर पार्न सक्छ ।

हलभित्र पनि दर्शकले जंगल महसुस गर्न सक्छन् भने सेट निर्माण र लाइटिङको काम विश्वसनीय भइरहेको छ मान्न सकिन्छ । यो नाटकमा बालबालिका मात्र हैन, उनीहरूसँगै बसेर अभिभावकले बोध गर्ने कुरा धेरै छन् । बालबालिका जुन वातावरणमा हुर्केका छन्, त्यसले उनीहरूको हुर्काइ र सोचाइमा कति प्रभाव पार्छ भन्ने कुरा  नाटकले गहिरोसँग भनेको छ । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully