अवार्डका विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, रचनाकार, संगीत निर्देशक, लोकदोहोरी, पार्श्व गायन, पप, सांगीतिक समूह, हिपहप/आर एन्ड बी र आधुनिक विधा छन् ।
What you should know
काठमाडौँ — 'एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२' को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ ।
कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
यसपटक कार्यक्रममा मुख्य प्रायोजकको रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । रेडियो कान्तिपुरले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा यो अवार्ड कार्यक्रम गर्न लागेको हो।
कार्यक्रम सांगीतिक महोत्सवको रूपमा रहने जनाइएको छ । यसपटक कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन् । कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली संगीत उद्योगको साझा थलो भएको उल्लेख गरे । उनले यसलाई समग्र नेपाली संगीतकै उत्थान गर्ने इभेन्टको रूपमा लिन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
कान्तिपुर मिडिया ग्रुपकी कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठका अनुसार यस वर्ष कुल १४ सांगीतिक विधामा अवार्ड दिइनेछ । अवार्डका विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, रचनाकार, संगीत निर्देशक, लोकदोहोरी, पार्श्व गायन, पप, सांगीतिक समूह, हिपहप/आर एन्ड बी र आधुनिक विधा छन् ।
विसं २०८२ वैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीतहरूमध्येबाट उत्कृष्ट ५ को मनोनयन गरिएको हो । यसका लागि तीन सदस्यीय जुरी गठन गरिएको थियो ।
संगीतमा लामो समय योगदान दिने एक विशिष्ट व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्रदान गरिनेछ । श्रोताहरूले ई-सेवामार्फत भोट गरेर छनोट गर्ने 'पिपुल्स च्वाइस अवार्ड' को विधा पनि यसमा समावेश छ । यस वर्ष 'एक्स्ट्रिम एनर्जेटिक पफर्मर अफ द इयर' अवार्ड पनि विशेष आकर्षणको रूपमा रहनेछ ।
यस सांगीतिक महोत्सवमा देशका चर्चित कलाकारहरूले आफ्ना प्रस्तुतिहरू दिनेछन् । कार्यक्रममा दीपक बज्राचार्य, उजके, जोन एण्ड द लोकल्स, समृद्धि राई र मन्त्र ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउने स्रष्टाको सम्मानमा शिव परियार, यमन श्रेष्ठ र सलिना बीकेले विशेष प्रस्तुति दिनेछन् । प्रभात लामा र कर्मा सिंह लामाले प्रहसनमार्फत मनोरञ्जन गराउनेछन् । युवापुस्तामा लोकप्रिय र्यापर सजेश श्रेष्ठको पनि विशेष प्रस्तुति रहनेछ ।
