केनेडी सेन्टरको प्रतिष्ठित पुरस्कार ‘मार्क ट्वेन प्राइज’ विजेता बिल माहेरले आइतबार साँझ आयोजित एक कार्यक्रममा ट्रम्पको नक्कल गर्दै प्रस्तुत भएका म्याट फ्रेन्डसँग लामो प्रहसन गरेका थिए । जून कार्यक्रम नेटफ्लिक्समा २१ जुलाईमा प्रसारण हुनेछ ।
काठमाडौँ — आइतबार साँझ केनेडी सेन्टरको प्रतिष्ठित पुरस्कार ‘मार्क ट्वेन प्राइज’ ग्रहण गर्ने क्रममा हास्यकलाकार बिल माहेरले दक्षिणपन्थी र वामपन्थी दुवै पक्षलाई आक्रोशित बनाउन सक्ने आफ्नो क्षमता रहेको बताएका छन् । आफूमाथि व्यंग्य गरिएको भन्दै गुनासो गर्नेहरू (खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्प) प्रति लक्ष्यित गर्दै उनले भने, ‘यदि त्यसो हो भने तपाई पनि हाँस्यास्पद हुन छोड्नुस् ।’
माहेरले समारोहमा अनुपस्थित केनेडी सेन्टरकै अध्यक्ष डोनाल्ड ट्रम्पले आफूमाथि गर्ने गरेका हमलाहरूको चर्चा गरे । ‘अहिलेका राष्ट्रपति जब ममाथि आक्रमण गर्ने मुडमा हुन्छन्, तब मलाई ‘पागल वामपन्थी’ भन्न थाल्छन् । तर म त्यस्तो होइन,’ पुरस्कार स्वीकार गर्दै माहेरले थपे, ‘जब म प्रहसन गर्छु, त्यसले दर्शकलाई हसाउँछ । यदि तपाईं आफूमाथि व्यंग्य नगरियोस् भन्ने चाहनुहुन्छ भने तपाई दुनियाँका लागि हास्यको पात्र हुन छोड्नुस् । तपाईहरूको व्यवहार नै त्यस्तै हास्यास्पद छ भने मेरो प्रहसन आफैं प्रभावकारी हुन्छन् । त्यो सुनेर जब मानिसहरू हाँस्छन्, अनि लगत्तै तपाईं मलाई पक्राउ पनि गर्नुहुन्छ ।’ उनले हाँसो स्वतःस्फूर्त निस्कने अकाट्य सत्य भएको जिकिर गर्दै यसलाई दबाउन खोज्न नहुने बताए ।
यस वर्षको सुरुमा जब ‘द एटलान्टिक’ ले माहेरले ‘मार्क ट्वेन प्राइज’ पाउने समाचार पहिलो पटक सार्वजनिक गर्यो, तब हृवाइट हाउसले सुरुवातमा यसलाई इन्कार गर्यो । तर करिब एक सातापछि उनी नै पुरस्कार विजेता भएको घोषणा गरियो । यस कार्यक्रमलाई २१ जुलाईमा नेटफ्लिक्सले प्रसारण गर्नेछ ।
उक्त समारोहमा राष्ट्रपति ट्रम्प अनुपस्थित भएपछि त्यसको फाइदा उठाउँदै अर्का हास्यकलाकार म्याट फ्रेन्ड ट्रम्पकै क्यारिकेचर गर्दै स्टेजमा उक्लिए । ट्रम्पको हाउभाउ र आवाजको नक्कल गर्दै म्याटले माहेरलाई ईंगित गर्दै व्यंग्य कसे, ‘यो पुरस्कार त खासमा मैले पाउनुपर्ने हो । म तिमिले भन्दा धेरै गुणा बढि जग हसाउँन सक्छु ।’ लगत्तै माहेरले पनि जवाफ फर्काए, ‘त्यसो भए लैजाऊ तिमि नै । त्यसैपनि तिम्रा लागि म यो पुरस्कार गुमाउन तयार छु ।’
माहेरलाई हास्यव्यंग्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने र राजनीतिको कुनै एक पक्षलाई मात्र खुसी पार्न नखोज्ने व्यक्तित्वको रूपमा सम्मान गरिएको थियो । समारोहमा उनका पुराना भिडियो क्लिपहरू देखाइएको थियो, जसमा एबीसी नेटवर्कमा चल्ने उनको ‘पोलिटिकली इन्करेक्ट’ कार्यक्रम पनि समावेश थियो । उक्त कार्यक्रम सेप्टेम्बर ११ को आतंकवादी हमलापछि उनले गरेको एउटा टिप्पणीका कारण बन्द गरिएको थियो ।
यसका साथै उनका स्ट्यान्ड–अप कमेडी र पोडकास्टका क्लिपहरू पनि देखाइएका थिए । समारोहभरि एरियना हफिङ्टन, स्टिफन ए. स्मिथ, जे लेनो र वुडी हृयारेल्सन जस्ता सेलेब्रिटीले उनको प्रशंसा गरे ।
हिृवटनी कमिङ्सले पनि उक्त साँझ ट्रम्पमाथि निकै तिखो व्यंग्य प्रहार गरेकी थिइन् । ‘मैले सुनेको थिएँ कि ट्रम्प आज राती यहाँ आउन सक्थे, तर उनी आउन सकेनन् । सायद उनी ‘सेक्स ट्राफिक’ (मानव बेचबिखनको दोहोरो अर्थ लाग्ने शब्द) मा फसे ।’ दर्शकदीर्घामा बसेका ट्रम्प प्रशासनका केही अधिकारीहरू भने उक्त व्यंग्यले झस्किएका थिए ।
कार्यक्रममा ट्रम्पको रूपमा प्रस्तुत भएका म्याट फ्रेन्ड र बिल माहेरबीच गत वर्ष माहेरले हृवाइट हाउसमा ट्रम्पसँग गरेको भेटघाटलाई लिएर लामो प्रहसन गरिएको थियो । ‘बिल, तिमीले आफ्नो वाचा तोड्यौ । तिमी मेरै हृवाइट हाउसमा आएर मेरै मासु खाएर मविरुद्ध किन खनिन्छौं ?’ म्याटले ट्रम्प बनेर उनकै क्यारिकेचर गर्दै माहेरलाई सोधेपछि दर्शकदीर्घामा हाँसोको फोहोरा छुटेको थियो । ‘होइन, होइन । मैले यहाँलाई रोक्नैपर्छ,’ माहेरले जवाफमा ठट्यौली कसे, ‘तिमी यो कुरा बारम्बार भनिरहन्छौ, तर त्यहाँ कुनै लेनदेन सम्झौता भएको थिएन ।’
माहेरले वामपन्थीलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् । उनले हालैका दिनहरूमा मार्क ट्वेनको प्रसिद्ध उपन्यास ‘हकलबेरी फिन’ लाई प्रतिबन्ध लगाउने वामपन्थी प्रयासहरूको पनि आलोचना गरे । उक्त पुस्तकमा जातिवादी भाषा प्रयोग गरिएको भन्दै प्रतिबन्ध लगाउन खोजिएको छ, जबकि त्यो भाषा ‘जातिवादकै खिल्ली उडाउनका लागि’ प्रयोग गरिएको थियो ।
‘यदि तपाईं लामो समयसम्म टिकिरहनुहुन्छ र केही महत्त्वपूर्ण कुरा सिर्जना गर्नुहुन्छ भने, कुनै न कुनै मोडमा सबैले तपाईंलाई घृणा गर्न थाल्छन् र त्यही बेला तपाईंले सही काम गरिरहनुभएको थाहा पाउनु हुन्छ,’ उनले भने ।
माहेरले आफ्ना शुभचिन्तक दर्शकहरूको प्रशंसा गर्दै भने, ‘दर्शकलाई के कुराले खुसी बनाउँछ भनेर म सोच्दिनँ, तर उनीहरू सत्यलाई सधैं स्वीकार गर्न तयार हुन्छन् । उनीहरू मबाट सस्तो लोकप्रियता वा चाप्लुसीको माग गर्दैनन् । वास्तवमा, उनीहरू मबाट त्यस्तो नहोस् भन्ने चाहन्छन् ।’
