टेलर स्विफ्ट–ट्राभिस केल्सी विवाह खर्च २ करोड डलर !

स्वीफ्ट–केल्सीको विवाह महंगो देखिएपनि यो औसत विवाहको खर्च भन्दा निकै कम र उनिहरुको कुल सम्पत्तिको आधारमा १ प्रतिशत भन्दा पनि कम हो ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

Taylor Swift-Travis Kelsey wedding cost $20 million!

काठमाडौँ — पप गायिका टेलर स्विफ्ट र ट्राभिस केल्सी ४ जुलाईमा विवाह गर्न लागेको बताइएको छ । नेशनल फुटबल लीग (एनएफएल) स्टार ट्राभिस र १४ पटककी ग्रामी अवार्ड विजेता पप स्टार टेलरले अमेरिकी स्वतन्त्रता दिवसको सप्ताहान्तमा न्युयोर्क सहरको म्याडिसन स्क्वायर गार्डन (एमएसजी) मा विवाह गर्ने बताइएको छ । न्युयोर्क सहरमा हुने उनीहरूको वैवाहिक समारोह निकै खर्चिलो हुने अपेक्षा गरिएको छ ।

‘यो सेलेब्रिटी जोडीले विवाह गर्न लागेको विश्वकै सबैभन्दा प्रतिष्ठित स्थानमध्येको एमएसजीे एरेना (रंगशाला) को भाडा दर मात्रै झण्डै २५ लाख डलर छ,’ विभिन्न भव्य वैवाहिक समारोह आयोजना गर्दै आएका सोनल शाहले ‘न्युयोर्क पोस्ट’ लाई भने, ‘त्यसैले पनि यस्तो भव्य विवाहको कुल खर्च २ करोड डलरसम्म लाग्न सक्ने अनुमान गर्न सकिन्छ ।’

शाहका अनुसार, उनिहरूले सप्ताहन्तको रातका लागि उक्त भेन्यू बुक गरिरहँदा उक्त समयमा त्यहाँ हुन लागेका कुनै पनि कन्सर्ट वा खेलकुद प्रतियोगिता रद्द गर्दा हुने घाटा (अपर्चुनिटी कस्ट) बापतको रकम पनि तिर्नुपर्ने हुन्छ । ‘उत्पादन, सुरक्षा, क्याटरिङ (खानपान), मनोरञ्जन र सजावट सबैको व्यवस्था गरिसकेपछि म्याडिसन स्क्वायर गार्डनको विवाह वास्तवमै १ करोडदेखि २ करोड डलरभन्दा बढीको हुन जान्छ,’ उनले भनिन् ।

हुन त स्विफ्टको टोलीले विवाहअघि मिडियामा आएका तमाम अड्कलबाजी र हल्लाहरूमाथि कुनै टिप्पणी गरेका छैनन् । ‘द न्युयोर्क टाइम्स’ले तीन फरक फरक स्रोतहरूलाई उद्धृत गर्दै वैवाहिक समारोहका लागि मिडटाउन म्यानहट्टनमा रहेको उक्त एरेना वरपरका सडकहरू जुलाई २ देखि जुलाई ४ को मध्यान्हसम्म सार्वजनिक आवतजावतमा रोक लगाइएको समाचार सम्प्रेषण गरेको थियो । अर्को सञ्चारमाध्यम ‘यूएसए टुडे’ ले पनि म्याडिसन स्क्वायर गार्डेन नजिकैका सहरका सडकहरू बन्द गर्नका लागि अनुमति पत्र (परमिट) दर्ता गरिएको कुरा पुष्टि गरेको छ ।

Taylor Swift-Travis Kelsey wedding cost $20 million!

त्यसो त फोर्ब्स म्यागाजिनका अनुसार २ अर्ब डलरको कुल सम्पत्ति भएकी ‘लभ स्टोरी’ गायिका स्वीफ्टका लागि २ करोड डलर खासै ठूलो रकम नहुन पनि सक्छ । त्यसमाथि, ट्राभिसको कुल सम्पत्ति पनि ७ करोड डलर रहेको बताईन्छ । तर यो औसत विवाहको बजेट भन्दा निकै खर्चिलो भने हो ।

‘द नट रियल वेडिङ्स स्टडी २०२६’ का अनुसार, २०२५ मा औसत विवाह र भोजको खर्च करिब ३४ हजार डलर थियो, जसमा प्रति अतिथि औसत खर्च २ सय ९२ डलर मात्रै थियो । विवाह दर्तासम्बन्धि वेबसाइट ‘जोला’ ले ‘फिडेलिटी’ सँगको सहकार्यमा प्रकाशित गरेको अर्को प्रतिवेदनले २०२५ मा एक सामान्य अमेरिकी विवाहको लागि ३६ हजार डलरको हाराहारीमा खर्च लाग्ने तथ्यांक देखाएको छ ।

Taylor Swift-Travis Kelsey wedding cost $20 million!

त्यसो त खर्चको यो दायरा अमेरिकाका राज्य अनुसार फरक भने थियो । न्युयोर्कको विवाह खर्च औसतमा ६५ हजार डलर भन्दा माथि थियो । ‘सन् २०२५ मा करिब २० लाख अमेरिकी जोडीहरूले विवाह गरे, जसले विवाहसँग सम्बन्धित कार्यक्रमका लागि कुल एक खर्ब डलरभन्दा बढी खर्चेको देखिन्छ,’ ‘द नट’ को एक अध्ययनले उल्लेख गरेको छ ।

स्विफ्टको मामलामा, २ करोड डलरको विवाह खर्च उनको मात्रै कुल सम्पत्तिको मात्र १ प्रतिशत हो । स्वीफ्ट–केल्सीको विवाहको खर्च रकम हेर्दा महंगो देखिएपनि उनिहरुको कमाईको आधारमा भने यो औसत विवाहको खर्च भन्दा निकै कम हो । अधिकांश जोडीहरू विवाहमा आफ्नो कुल सम्पत्तिको ५ देखि १० प्रतिशतभन्दा बढी खर्च गर्न नखोजेको देखिन्छ, भलै उक्त समारोह उनिहरूको जीवनकै सबैभन्दा महत्वपूर्ण नै किन नहोस् ।

कान्तिपुर

Link copied successfully