फिल्मी उडानमा आकाश-सजनको जुगलबन्दी

‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्मी क्षेत्रमा बलियो पदार्पण गरेका आकाश बराल र सजन काफ्लेको विश्वास छ- इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् ।

असार १५, २०८३

समर्पण श्री

Akash-Sajan's juggling act in the film Udan

What you should know

काठमाडौँ — फिल्म ‘बेहुली फ्रम मेघौली’ (०८१) मार्फत नयाँ छिमलका दुई निर्देशकको एकसाथ उदय भयो– आकाश बराल र सजन काफ्ले ।

‘ट्रेन्ड सेटर’ निर्देशक मानिने निश्चल बस्नेतले फिल्ममा यी नयाँ अनुहारलाई निर्देशन सुम्पिएर भरोसा मात्रै होइन, सहकार्य पनि गरे । 

‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्म क्षेत्रमा बलियो पदार्पण गरेका ३३ वर्षका आकाश र सजनले आफूहरूलाई प्रमाणित गरेका थिए कि उनीहरू लामो दौडका धावक हुन् । 

३० वर्षको उमेर टेकेकी युवतीलाई घर, छिमेक र समाजले विवाहका लागि दिने तरन्तार दबाब कति भारी पर्न जान्छ ? महिलाहरूको गहिरो सुस्केरालाई हास्यरसको लेपन लगाएर उनीहरूले पितृसत्तात्मक समाजलाई व्यंग्यवाण छेडे ।

‘बेहुली फ्रम मेघौली’को सफल ‘ल्यान्डिङ’बाट चर्चा कमाएका यी फिल्म पाइलट अब फिल्म ‘जिरो डिग्री’मार्फत् नयाँ कथामा उडान भर्दै छन् । एक महिनाअघि रिलिज भएको टिजरमा घोडामा चढेर दुईतर्फी पंखाको हावा खाइरहेको पुण्यप्रसाद चौंलागाईं देखेर सायद दर्शकहरूको हाँसो रोकिएन । फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक गरेर बजार परीक्षण गरिरहेका आकाश र सजन प्रतिक्रियाबाट थप हौसिए । 

घोडामाथि बसेर पुण्यको भेषमा गजधम्म देखिएका अभिनेता विजय बरालको हास्य चरित्रले दर्शकहरूमा थप कौतूहल थपिदियो । कसैले त युट्युबको कमेन्टभित्र ठट्यौली प्रतिक्रिया लेख्न भ्याइसकेका थिए, ‘खायो खायो, यो फिल्मले देश खायो ।’

फिल्मले देश खाला नखाला, तर आकाश र सजन भने बुद्धनगरस्थित एक क्याफेमा बुधबार कफी पिउँदै भनिरहेका थिए, ‘दर्शकको मनचाहिँ कटक्क खानुपर्‍यो !’

आगामी तिहारमा हलमा दर्शक ओइराउन  उनीहरू लागि परिरहेका छन् । सुटिङ सकेर सम्पादनमा कस्सिएका युगल निर्देशकले नयाँ जानकारी पनि दिए, ‘एडिटिङ सकियो । अब थप काम गर्नुछ ।’

‘बेहुली फ्रम मेघौली’मा प्रोड्युसरको भार सबै निश्चल र स्वस्तिमा खड्काले खेपे । आकाश र सजनलाई सिर्जनशील मात्रै भइरहन छुट थियो । ‘तर जिरो डिग्रीमा त हामी नै प्रोड्युसर, दुवै भारी एकै टाउकोमा बोक्न गाह्रो हुँदो रहेछ,’ थपिएको चिन्ताको डिग्रीबारे आकाशले सुनाए । तैपनि जिम्मेवारीलाई आपसमा बाँडेर सुन्दर काम निकाल्न लागिपरेका उनीहरूलाई एक अर्काको टेको छ । 

‘बेहुली फर्म मेघौली’ हुँदै ‘जिरो डिग्री’सम्म आइपुग्दा जमेको उनीहरूको सहकार्यको मूल कहाँबाट फुट्यो त ?

आकाश र सजन १२ वर्षअघिका समयतर्फ फर्कन्छन् । ‘२०१४ मा हाम्रो भेट काठमाडौंको एक एनिमेसन इन्स्टिच्युटमा भएको थियो । दुवैलाई फिल्ममा रुचि थियो, तर मेकिङको चार वर्षे कोर्स झन्झटिलो हुने । म जुन सोचले त्यहाँ पुगेँ सजन पनि त्यही सोचले पुगेका रहेछन्,’ आकाशले सुनाए ।

आकाशले कुरा सकाउन नपाउँदै सजनले थपे, ‘खासमा हामीलाई चाँडै फिल्म बनाउनु थियो नि, हैन ?’ तर फिल्म सोचेजस्तो चाँडै त कहाँ बन्दो रहेछ र ! एक दशकको लामो बाटो त उनीहरूले हिँड्नैपर्‍यो ।

सजन बुटवलमा जन्मे, हुर्के । स्कुल पढ्दै गर्दा उनी लघुकथा लेख्थे । र, पन्नामा लेखेका ती कथालाई पर्दामा कल्पिन्थे ।देखादेख भएर पनि कुराकानी भने निकै समयसम्म भएन उनीहरूको । विस्तारै सँगै बसेर चियाको स्वादमा गफिँदै गर्दा पो थाहा भयो, ‘हामीमा फिल्मको स्वाद पनि मिल्दो रहेछ ।’ त्यतिबेला नेपाली फिल्मले ‘लुट’पछि अनुहार फेरेको थियो । र सँगै आएका ‘कबड्डी’ जस्ता फिल्महरूले पनि आशा जगाएका थिए । सजन भन्छन्, ‘त्यही उत्साहका साथ आकाश र मैले कुरा गर्‍यौं– हामी पनि सर्ट फिल्म किन नबनाउने त ?’ फिल्मको स्वाद मिले पनि आकाश र सजन फरक पृष्ठभूमिबाट त्यहाँ पुगेका थिए ।

सजन बुटवलमा जन्मे, हुर्के । स्कुल पढ्दै गर्दा उनी लघुकथा लेख्थे । र, पन्नामा लेखेका ती कथालाई पर्दामा कल्पिन्थे ।

नवलपरासीमा जन्मेका आकाशको बाल्यकाल पाल्पास्थित मामाघरमा बित्यो । मामाघरमा हजुरबा कथाका खानी थिए । हजुरबाले सुनाएका अनुभव र कथा आकाश आफ्ना साथीभाइलाई जस्ताको तस्तै सुनाउने प्रयास गर्थे । त्यति मात्र होइन, आमा कार्यालयबाट आउँदा आमासँगै भित्रिने कान्तिपुर कोसेली, कोपिला र मुना पत्रिकाले आकाशभित्र अंकुराइरहेको कथाकारलाई मलजल गर्‍यो । ‘त्यहाँका कथाहरूले मलाई भिजुअल स्टोरीटेलिङतर्फ आकर्षित गरे । त्यसमाथि म फिल्म पनि भागीभागी हलमा गएर हेर्थेँ,’ आकाश सुनाउँछन् । 

१० कक्षासम्म पुग्दा त आकाशले आफ्नो सपना तय गरिसकेका थिए । मनमनै भन्थे, ‘म पनि एक दिन फिल्म बनाउँछु ।’

फिल्म ‘ह्यारी पोर्टर’ हेरेपछि उनलाई पनि नयाँ संसार बनाउने धोको बस्यो । ‘त्यतिबेला त लाग्थ्यो । फिल्म निर्देशकले बनाउँछन् होला । तर अन्तर्वार्ताहरूमा निर्देशक पनि स्क्रिप्ट स्क्रिप्ट मात्र भन्छन् । त्यसपछि थाहा भयो फिल्म बनाउन त पहिला लेख्नुपर्दो रहेछ,’ आकाश सुनाउँछन् ।

कलेज पढ्न काठमाडौं आएपछि उनले गुगलमा विदेशी फिल्मका पटकथा डाउनलोड गरेर धमाधम पढ्न थाले । पटकथा लेख्न सिकाउने पुस्तक पढ्न थाले ।

Akash-Sajan's juggling act in the film Udan

तिनताका उनलाई निश्चल बस्नेतसँग भेट्ने खुब रहर थियो, पटकपटक इमेल पनि पठाए । ‘२०७२ सालको भूकम्पपछि एउटा वर्कसपमा उहाँलाई भेट्ने मौका मिल्यो,’ आकाश सुनाउँछन् । 

त्यतिबेला आकाशले एउटा पटकथा तयार गरिसकेका थिए । उनले निश्चललाई सुनाए पनि । कलिलो केटाको हातमा फिचर फिल्मको पटकथा देखेर निश्चल प्रभावित भए । उनले भने, ‘म तिमीलाई अर्को फिल्म लेखाउनेछु ।’

नभन्दै केही वर्षको अन्तरालमा निश्चलले आकाशलाई ‘दिमाग खराब’ लेखाए । त्यतिबेला आकाशले हातमा बोकेको पटकथा एक निर्माताले किने । तर त्यो पटकथाले यतिका वर्षसम्म फिल्ममा अवतरण हुन पाएन । त्यो क्षण पटकथा बेचेपछि आकाशलाई बलियो भर भयो, ‘यसरी पनि बाँच्न सकिँदो रहेछ ।’

फिल्मको नयाँ सर्कल चाहिरहेको बेला सजन आकाशसँग ठोकिएका थिए । ‘मेरो पनि कुनै सर्कल थिएन । आकाशसँग नजिक भएपछि राम्रो साथी पाएँ । त्यसपछि हामीले एकसाथ फिल्म मेकिङको सपना देख्न थाल्यौं,’ सजनले भने ।

सजन २०१६ मा फिल्म निर्देशन पढ्न भारत गए । डेढ वर्ष बसेर फर्किएपछि उनले सुवास कोइराला निर्देशित ‘गरुड पुराण’मा असिस्टेन्ट डाइरेक्टरकाका रूपमा काम गरे । त्यसपछि विक्रम सापकोटा निर्देशित ‘हल्कारा’मा जोडिए ।

Akash-Sajan's juggling act in the film Udan

आकाशलाई लेखकका रुपमा चिनाउने फिल्म हो, २०८० सालमा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ।आकाश भने फिल्म लेखनमा नयाँनयाँ कथा उत्खनन गरिरहेका थिए । सजनले उनलाई साथ दिइरहेका थिए । आख्यानमा पनि गहिरो रुचि भएका आकाशले २०१९ मा उपन्यास ‘स्पर्श’ प्रकाशित गरे । आकाशले सुरुमा गुरुङ फिल्महरू लेखे– कुटुम्बेरी साइनो र खै ओ मिथेवा । ‘हल्कारा’मा सहलेखन, गरे । ‘लाखे’, ‘एक्टर’, ‘फेरि रेशम फिलिली’ र ‘चपली हाइट ३’ लगायत उनले लेखेका रिलिज भएका फिल्म हुन् । फिल्म ‘बिहे पास’ आकाश र सजन दुई भाइ मिलेर लेखे । यसबीच थुप्रै घोस्ट राइटिङ पनि उनीहरूले मिलेर गरे ।

‘लेखेका फिल्म पर्दामा आउँदा चित्तै नबुझ्ने । लेखकले सिर्जना गरेको संसार आफैंले बनाउँदा चाहेको भन्न सकिन्छ कि भन्ने लागिरह्यो,’ आकाश र सजन भन्छन् ।

आकाशलाई लेखकका रुपमा चिनाउने फिल्म हो, २०८० सालमा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ।

बेहुली फर्म मेघौलीको आइडिया भने कोरोनाकालको उतार्धतिर अंकुराएको थियो । यो कथामा सजनका अनुभूतिहरू छन् । कोभिड–१९को कारण देशमा रोग र त्रासको महामारी फैलिएको थियो । ठप्प भएको फिल्म क्षेत्र पनि कहिलेबाट चलायमान हुन्छ, अनिश्चित थियो । सजनले केही वर्ष घरै गएर बस्ने योजना बनाए । घर गएपछि भने सजनलाई बिहेको दबाब आउन थाल्यो । सजनले एकदिन आकाशलाई फोन गर्दै भने, ‘अब यहाँ बस्न नसकिने भइयो, काठमाडौं फर्किनुपर्‍यो ।’

त्यही रात आफूहरले छलफल गरेको आकाश सुनाउँछन् । 'यदि केटालाई त बिहेको यति प्रेसर छ भने केटीलाई झन् कति होला ? त्यही 'थट' बाट बेहुली फर्म मेघौलीको आइडियामा जन्मियो,’ आकाश भन्छन् ।

कोभिडपछि फिल्ममा मुख्य पात्रका लागि उनीहरूको स्वस्तिमासँग कुरा भयो । स्वस्तिमालाई कथा यति मन पर्‍यो कि उनले निर्माणमै लगानी गर्ने प्रस्ताव राखिन् । ‘त्यसपछि निश्चल र स्वस्तिमा जोडिनुभयो । हाम्रो प्रोजेक्ट राम्रो भयो,’ सजनले भने ।

नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक प्राय: सहकार्य लामो समय टिक्दैनन् । ‘त्यो छुट्टिने कारण पैसा र क्रेडिट रहेछ । हामीलाई ती दुवैको लोभ छैन,’ सजनलाई हेर्दै आकाश भन्छन् । ‘जिरो डिग्री’पछि उनीहरूले फिल्म ‘श्रीनवास’निर्देशन गर्नेछन् । यो फिल्ममा भने  हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । 

आकाश र सजन दुवै एकअर्काका सामर्थ्य र कमजोरीसँग परिचित छन् । ‘हामी दुईको व्यक्तित्व फरक छ । म अलि स्ट्रक्चरमा बस्न खोज्छु । सजन भने निकै इन्स्टिंक्टिभ छ । उसका थट खुला र नयाँ हुन्छन्, ’ आकाश भन्छन्, ‘निर्देशनमा हाम्रो भूमिका बाँडिएको हुन्छ । सजन भिजुअल, ब्लकिङ र कम्पोजिसनमा निकै प्रिसाइज छ, म भने कलाकारहरूको पर्फर्मेन्स र इमोसनमा बढी केन्द्रित हुन्छु ।’

सजन पनि थप्छन्, ‘कहिलेकाहीँ हामीबीच क्रिएटिभ झगडा हुन्छ, तर त्यो सिनेमालाई राम्रो बनाउनकै लागि हुन्छ । हाम्रो एउटा बुझाइ के छ भने, लेखन नै सिनेमाको जग हो ।’

Akash-Sajan's juggling act in the film Udan

‘जिरो डिग्री’भने निर्देशक राजन भुसालको आइडियाबाट जन्मेको कथा हो । गाउँमा कसैको मृत्यु हुँदा विदेशबाट छोरो नआउन्जेल लाशलाई 'डिप फ्रिज' मा राखिएको घटना सुनेपछि उनीहरू रन्थनिए । ‘खानेकुरा खाने फ्रिजमा लास राख्दाको इमेज कस्तो होला ? यही आइडियाबाट कथा जन्मियो,’ सजन भन्छन् ।

फिल्म निर्माण जोखिमको कर्म हो । फिल्मले मनग्गे व्यापार गर्‍यो भने त हो, यदि चलेन भने ?

जवाफमा आकाश भन्छन्, ‘फाइनान्सियल्ली हामी १० वर्ष पछाडि पर्न सक्छौं । तर अनुभवले १० वर्ष अगाडि ।’

उनीहरूलाई विश्वास छ कि इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् । ‘हामीले हाम्रो इमानदारी फिल्ममा देखाएका छौं । त्यसकारण त्यसको प्रतिफल पनि सकारात्मक नै हुन्छ, ’ आफ्नो रायमा आकाशको आसय जोड्दै सजन सुनाउँछन् । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully