‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्मी क्षेत्रमा बलियो पदार्पण गरेका आकाश बराल र सजन काफ्लेको विश्वास छ- इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् ।
What you should know
काठमाडौँ — फिल्म ‘बेहुली फ्रम मेघौली’ (०८१) मार्फत नयाँ छिमलका दुई निर्देशकको एकसाथ उदय भयो– आकाश बराल र सजन काफ्ले ।
‘ट्रेन्ड सेटर’ निर्देशक मानिने निश्चल बस्नेतले फिल्ममा यी नयाँ अनुहारलाई निर्देशन सुम्पिएर भरोसा मात्रै होइन, सहकार्य पनि गरे ।
‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्म क्षेत्रमा बलियो पदार्पण गरेका ३३ वर्षका आकाश र सजनले आफूहरूलाई प्रमाणित गरेका थिए कि उनीहरू लामो दौडका धावक हुन् ।
३० वर्षको उमेर टेकेकी युवतीलाई घर, छिमेक र समाजले विवाहका लागि दिने तरन्तार दबाब कति भारी पर्न जान्छ ? महिलाहरूको गहिरो सुस्केरालाई हास्यरसको लेपन लगाएर उनीहरूले पितृसत्तात्मक समाजलाई व्यंग्यवाण छेडे ।
‘बेहुली फ्रम मेघौली’को सफल ‘ल्यान्डिङ’बाट चर्चा कमाएका यी फिल्म पाइलट अब फिल्म ‘जिरो डिग्री’मार्फत् नयाँ कथामा उडान भर्दै छन् । एक महिनाअघि रिलिज भएको टिजरमा घोडामा चढेर दुईतर्फी पंखाको हावा खाइरहेको पुण्यप्रसाद चौंलागाईं देखेर सायद दर्शकहरूको हाँसो रोकिएन । फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक गरेर बजार परीक्षण गरिरहेका आकाश र सजन प्रतिक्रियाबाट थप हौसिए ।
घोडामाथि बसेर पुण्यको भेषमा गजधम्म देखिएका अभिनेता विजय बरालको हास्य चरित्रले दर्शकहरूमा थप कौतूहल थपिदियो । कसैले त युट्युबको कमेन्टभित्र ठट्यौली प्रतिक्रिया लेख्न भ्याइसकेका थिए, ‘खायो खायो, यो फिल्मले देश खायो ।’
फिल्मले देश खाला नखाला, तर आकाश र सजन भने बुद्धनगरस्थित एक क्याफेमा बुधबार कफी पिउँदै भनिरहेका थिए, ‘दर्शकको मनचाहिँ कटक्क खानुपर्यो !’
आगामी तिहारमा हलमा दर्शक ओइराउन उनीहरू लागि परिरहेका छन् । सुटिङ सकेर सम्पादनमा कस्सिएका युगल निर्देशकले नयाँ जानकारी पनि दिए, ‘एडिटिङ सकियो । अब थप काम गर्नुछ ।’
‘बेहुली फ्रम मेघौली’मा प्रोड्युसरको भार सबै निश्चल र स्वस्तिमा खड्काले खेपे । आकाश र सजनलाई सिर्जनशील मात्रै भइरहन छुट थियो । ‘तर जिरो डिग्रीमा त हामी नै प्रोड्युसर, दुवै भारी एकै टाउकोमा बोक्न गाह्रो हुँदो रहेछ,’ थपिएको चिन्ताको डिग्रीबारे आकाशले सुनाए । तैपनि जिम्मेवारीलाई आपसमा बाँडेर सुन्दर काम निकाल्न लागिपरेका उनीहरूलाई एक अर्काको टेको छ ।
‘बेहुली फर्म मेघौली’ हुँदै ‘जिरो डिग्री’सम्म आइपुग्दा जमेको उनीहरूको सहकार्यको मूल कहाँबाट फुट्यो त ?
आकाश र सजन १२ वर्षअघिका समयतर्फ फर्कन्छन् । ‘२०१४ मा हाम्रो भेट काठमाडौंको एक एनिमेसन इन्स्टिच्युटमा भएको थियो । दुवैलाई फिल्ममा रुचि थियो, तर मेकिङको चार वर्षे कोर्स झन्झटिलो हुने । म जुन सोचले त्यहाँ पुगेँ सजन पनि त्यही सोचले पुगेका रहेछन्,’ आकाशले सुनाए ।
आकाशले कुरा सकाउन नपाउँदै सजनले थपे, ‘खासमा हामीलाई चाँडै फिल्म बनाउनु थियो नि, हैन ?’ तर फिल्म सोचेजस्तो चाँडै त कहाँ बन्दो रहेछ र ! एक दशकको लामो बाटो त उनीहरूले हिँड्नैपर्यो ।
सजन बुटवलमा जन्मे, हुर्के । स्कुल पढ्दै गर्दा उनी लघुकथा लेख्थे । र, पन्नामा लेखेका ती कथालाई पर्दामा कल्पिन्थे ।देखादेख भएर पनि कुराकानी भने निकै समयसम्म भएन उनीहरूको । विस्तारै सँगै बसेर चियाको स्वादमा गफिँदै गर्दा पो थाहा भयो, ‘हामीमा फिल्मको स्वाद पनि मिल्दो रहेछ ।’ त्यतिबेला नेपाली फिल्मले ‘लुट’पछि अनुहार फेरेको थियो । र सँगै आएका ‘कबड्डी’ जस्ता फिल्महरूले पनि आशा जगाएका थिए । सजन भन्छन्, ‘त्यही उत्साहका साथ आकाश र मैले कुरा गर्यौं– हामी पनि सर्ट फिल्म किन नबनाउने त ?’ फिल्मको स्वाद मिले पनि आकाश र सजन फरक पृष्ठभूमिबाट त्यहाँ पुगेका थिए ।
सजन बुटवलमा जन्मे, हुर्के । स्कुल पढ्दै गर्दा उनी लघुकथा लेख्थे । र, पन्नामा लेखेका ती कथालाई पर्दामा कल्पिन्थे ।
नवलपरासीमा जन्मेका आकाशको बाल्यकाल पाल्पास्थित मामाघरमा बित्यो । मामाघरमा हजुरबा कथाका खानी थिए । हजुरबाले सुनाएका अनुभव र कथा आकाश आफ्ना साथीभाइलाई जस्ताको तस्तै सुनाउने प्रयास गर्थे । त्यति मात्र होइन, आमा कार्यालयबाट आउँदा आमासँगै भित्रिने कान्तिपुर कोसेली, कोपिला र मुना पत्रिकाले आकाशभित्र अंकुराइरहेको कथाकारलाई मलजल गर्यो । ‘त्यहाँका कथाहरूले मलाई भिजुअल स्टोरीटेलिङतर्फ आकर्षित गरे । त्यसमाथि म फिल्म पनि भागीभागी हलमा गएर हेर्थेँ,’ आकाश सुनाउँछन् ।
१० कक्षासम्म पुग्दा त आकाशले आफ्नो सपना तय गरिसकेका थिए । मनमनै भन्थे, ‘म पनि एक दिन फिल्म बनाउँछु ।’
फिल्म ‘ह्यारी पोर्टर’ हेरेपछि उनलाई पनि नयाँ संसार बनाउने धोको बस्यो । ‘त्यतिबेला त लाग्थ्यो । फिल्म निर्देशकले बनाउँछन् होला । तर अन्तर्वार्ताहरूमा निर्देशक पनि स्क्रिप्ट स्क्रिप्ट मात्र भन्छन् । त्यसपछि थाहा भयो फिल्म बनाउन त पहिला लेख्नुपर्दो रहेछ,’ आकाश सुनाउँछन् ।
कलेज पढ्न काठमाडौं आएपछि उनले गुगलमा विदेशी फिल्मका पटकथा डाउनलोड गरेर धमाधम पढ्न थाले । पटकथा लेख्न सिकाउने पुस्तक पढ्न थाले ।
तिनताका उनलाई निश्चल बस्नेतसँग भेट्ने खुब रहर थियो, पटकपटक इमेल पनि पठाए । ‘२०७२ सालको भूकम्पपछि एउटा वर्कसपमा उहाँलाई भेट्ने मौका मिल्यो,’ आकाश सुनाउँछन् ।
त्यतिबेला आकाशले एउटा पटकथा तयार गरिसकेका थिए । उनले निश्चललाई सुनाए पनि । कलिलो केटाको हातमा फिचर फिल्मको पटकथा देखेर निश्चल प्रभावित भए । उनले भने, ‘म तिमीलाई अर्को फिल्म लेखाउनेछु ।’
नभन्दै केही वर्षको अन्तरालमा निश्चलले आकाशलाई ‘दिमाग खराब’ लेखाए । त्यतिबेला आकाशले हातमा बोकेको पटकथा एक निर्माताले किने । तर त्यो पटकथाले यतिका वर्षसम्म फिल्ममा अवतरण हुन पाएन । त्यो क्षण पटकथा बेचेपछि आकाशलाई बलियो भर भयो, ‘यसरी पनि बाँच्न सकिँदो रहेछ ।’
फिल्मको नयाँ सर्कल चाहिरहेको बेला सजन आकाशसँग ठोकिएका थिए । ‘मेरो पनि कुनै सर्कल थिएन । आकाशसँग नजिक भएपछि राम्रो साथी पाएँ । त्यसपछि हामीले एकसाथ फिल्म मेकिङको सपना देख्न थाल्यौं,’ सजनले भने ।
सजन २०१६ मा फिल्म निर्देशन पढ्न भारत गए । डेढ वर्ष बसेर फर्किएपछि उनले सुवास कोइराला निर्देशित ‘गरुड पुराण’मा असिस्टेन्ट डाइरेक्टरकाका रूपमा काम गरे । त्यसपछि विक्रम सापकोटा निर्देशित ‘हल्कारा’मा जोडिए ।
आकाशलाई लेखकका रुपमा चिनाउने फिल्म हो, २०८० सालमा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ।आकाश भने फिल्म लेखनमा नयाँनयाँ कथा उत्खनन गरिरहेका थिए । सजनले उनलाई साथ दिइरहेका थिए । आख्यानमा पनि गहिरो रुचि भएका आकाशले २०१९ मा उपन्यास ‘स्पर्श’ प्रकाशित गरे । आकाशले सुरुमा गुरुङ फिल्महरू लेखे– कुटुम्बेरी साइनो र खै ओ मिथेवा । ‘हल्कारा’मा सहलेखन, गरे । ‘लाखे’, ‘एक्टर’, ‘फेरि रेशम फिलिली’ र ‘चपली हाइट ३’ लगायत उनले लेखेका रिलिज भएका फिल्म हुन् । फिल्म ‘बिहे पास’ आकाश र सजन दुई भाइ मिलेर लेखे । यसबीच थुप्रै घोस्ट राइटिङ पनि उनीहरूले मिलेर गरे ।
‘लेखेका फिल्म पर्दामा आउँदा चित्तै नबुझ्ने । लेखकले सिर्जना गरेको संसार आफैंले बनाउँदा चाहेको भन्न सकिन्छ कि भन्ने लागिरह्यो,’ आकाश र सजन भन्छन् ।
आकाशलाई लेखकका रुपमा चिनाउने फिल्म हो, २०८० सालमा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ।
बेहुली फर्म मेघौलीको आइडिया भने कोरोनाकालको उतार्धतिर अंकुराएको थियो । यो कथामा सजनका अनुभूतिहरू छन् । कोभिड–१९को कारण देशमा रोग र त्रासको महामारी फैलिएको थियो । ठप्प भएको फिल्म क्षेत्र पनि कहिलेबाट चलायमान हुन्छ, अनिश्चित थियो । सजनले केही वर्ष घरै गएर बस्ने योजना बनाए । घर गएपछि भने सजनलाई बिहेको दबाब आउन थाल्यो । सजनले एकदिन आकाशलाई फोन गर्दै भने, ‘अब यहाँ बस्न नसकिने भइयो, काठमाडौं फर्किनुपर्यो ।’
त्यही रात आफूहरले छलफल गरेको आकाश सुनाउँछन् । 'यदि केटालाई त बिहेको यति प्रेसर छ भने केटीलाई झन् कति होला ? त्यही 'थट' बाट बेहुली फर्म मेघौलीको आइडियामा जन्मियो,’ आकाश भन्छन् ।
कोभिडपछि फिल्ममा मुख्य पात्रका लागि उनीहरूको स्वस्तिमासँग कुरा भयो । स्वस्तिमालाई कथा यति मन पर्यो कि उनले निर्माणमै लगानी गर्ने प्रस्ताव राखिन् । ‘त्यसपछि निश्चल र स्वस्तिमा जोडिनुभयो । हाम्रो प्रोजेक्ट राम्रो भयो,’ सजनले भने ।
नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक प्राय: सहकार्य लामो समय टिक्दैनन् । ‘त्यो छुट्टिने कारण पैसा र क्रेडिट रहेछ । हामीलाई ती दुवैको लोभ छैन,’ सजनलाई हेर्दै आकाश भन्छन् । ‘जिरो डिग्री’पछि उनीहरूले फिल्म ‘श्रीनवास’निर्देशन गर्नेछन् । यो फिल्ममा भने हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् ।
आकाश र सजन दुवै एकअर्काका सामर्थ्य र कमजोरीसँग परिचित छन् । ‘हामी दुईको व्यक्तित्व फरक छ । म अलि स्ट्रक्चरमा बस्न खोज्छु । सजन भने निकै इन्स्टिंक्टिभ छ । उसका थट खुला र नयाँ हुन्छन्, ’ आकाश भन्छन्, ‘निर्देशनमा हाम्रो भूमिका बाँडिएको हुन्छ । सजन भिजुअल, ब्लकिङ र कम्पोजिसनमा निकै प्रिसाइज छ, म भने कलाकारहरूको पर्फर्मेन्स र इमोसनमा बढी केन्द्रित हुन्छु ।’
सजन पनि थप्छन्, ‘कहिलेकाहीँ हामीबीच क्रिएटिभ झगडा हुन्छ, तर त्यो सिनेमालाई राम्रो बनाउनकै लागि हुन्छ । हाम्रो एउटा बुझाइ के छ भने, लेखन नै सिनेमाको जग हो ।’
‘जिरो डिग्री’भने निर्देशक राजन भुसालको आइडियाबाट जन्मेको कथा हो । गाउँमा कसैको मृत्यु हुँदा विदेशबाट छोरो नआउन्जेल लाशलाई 'डिप फ्रिज' मा राखिएको घटना सुनेपछि उनीहरू रन्थनिए । ‘खानेकुरा खाने फ्रिजमा लास राख्दाको इमेज कस्तो होला ? यही आइडियाबाट कथा जन्मियो,’ सजन भन्छन् ।
फिल्म निर्माण जोखिमको कर्म हो । फिल्मले मनग्गे व्यापार गर्यो भने त हो, यदि चलेन भने ?
जवाफमा आकाश भन्छन्, ‘फाइनान्सियल्ली हामी १० वर्ष पछाडि पर्न सक्छौं । तर अनुभवले १० वर्ष अगाडि ।’
उनीहरूलाई विश्वास छ कि इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् । ‘हामीले हाम्रो इमानदारी फिल्ममा देखाएका छौं । त्यसकारण त्यसको प्रतिफल पनि सकारात्मक नै हुन्छ, ’ आफ्नो रायमा आकाशको आसय जोड्दै सजन सुनाउँछन् ।
