‘सभामुख’ र ‘मर्यादा पालक’को भूमिका भएको कुल ४ मिनेट ५३ सेकेन्ड लामो खण्डमा मात्रै ११ पटक संवाद छोप्न ‘बिप साउन्ड’ राखिएको छ ।
What you should know
काठमाडौँ — टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को पछिल्लो शृंखलामा ‘सेन्सरसिपको विवाद’ देखिएको छ । रास्वपा सांसदहरू राजुनाथ पाण्डे, जगदीश खरेल र रुकेश रञ्जित अतिथि रहेको उक्त एपिसोडमा प्रसारण गरिएका कतिपय संवादमा ‘बिप’ लगाइएपछि यो विषयले सामाजिक सञ्जाल गर्माएको छ ।
गत शुक्रबार ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त शृंखलाको ३१ मिनेट २२ सेकेन्डमा कलाकारद्वय सरोज भण्डारी र सुजन जिम्बा स्टेजमा प्रवेश गर्छन् । भण्डारीले ‘सभामुख’ र जिम्बाले ‘मर्यादा पालक’ को भूमिका निर्वाह गरेका थिए । कुल ४ मिनेट ५३ सेकेन्ड लामो उनीहरूको खण्डमा मात्रै ११ पटक संवाद छोप्न ‘बिप साउन्ड’ राखिएको छ ।
वरिष्ठ हास्यव्यंग्य कलाकार तथा सोही कार्यक्रमका निर्णायक मनोज गजुरेलका अनुसार उक्त प्रस्तुतिमा प्रयोग गरिएको ‘सभामुख’ भन्ने शब्दमाथि मुख्य रूपमा तारन्तार ‘बिप’ लगाएर सेन्सर गरिएको हो । कान्तिपुरसँगको कुराकानीमा गजुरेलले आश्चर्य व्यक्त गर्दै भने, ‘हामीले त्यहाँ टुट् नै लगाउनुपर्ने तहको कुनै पनि अमर्यादित, अश्लील वा गैरकानुनी शब्द बोलेका थिएनौं । टेलिभिजनको पर्दामा प्रस्तुत हुने सामग्रीको आफ्नै मर्यादा हुन्छ र हामी त्यसमा सचेत छौं । तर, अचम्मलाग्दो गरी जहाँ–जहाँ सभामुख भनिएको छ, त्यहाँ–त्यहाँ टुट् आवाज राखिएको छ ।’
कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालले सिर्जनामाथि हस्तक्षेप भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामीले हरेक साताको निरन्तरको अभ्यास, गहन लेखन र कलाकारहरूको कठोर मिहिनेतबाट तयार गरेको सामग्रीमा कसैले यति सजिलै कैंची चलाइदिँदा निकै चित्त दुख्दो रहेछ । के नेपालमा चलचित्रजस्तै टेलिभिजन कार्यक्रम पनि मान्छेलाई रुवाउने मात्रै बनाउँदा पो ठीक हुने हो कि ?’
कार्यक्रमको ट्रेलर रिलिज भएपछि प्रेस काउन्सिल नेपालमा उजुरी परेको र त्यसैका आधारमा सचेत गराइएको प्राइम टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत सोम धितालले बताए । ‘सामाजिक सञ्जालमा ट्रेलर बाहिरिएपछि हाम्रो टीभीको लोगो देखेर प्रेस काउन्सिलले हामीलाई मौखिक रूपमा सचेत गराएको थियो । आधिकारिक रूपमै पत्र आउला वा थप झमेला होला भन्ने डरले मैले निर्देशक विक्कीजी र श्रद्धा प्रसाईंलाई कल गरें । उहाँहरूकै सल्लाहबमोजिम विवादबाट बच्न ती शब्दमा टुट् राखेर प्रसारण गरिएको हो,’ उनले भने ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले संघीय संसद् सचिवालयका एक अधिकृतबाट उजुरी परेपछि प्राइम टीभीलाई सचेत मात्र गराइएको बताए । भुसालका अनुसार ट्रेलरमा प्राइम टीभीको लोगो देखिएको र भोलि कुनै कानुनी जटिलता वा संसद्को मानहानिसम्बन्धी थप समस्या नआओस् भनेर काउन्सिलले पूर्वसावधानी स्वरूप सचेत गराएको थियो । कार्यक्रममा गरिएको अभिनय र क्यारिकेचरमा प्रयोग गरिएका शब्दहरूप्रति गम्भीर आपत्ति जनाउँदै अधिवक्ता खगेन्द्र चापागाईंले गत शुक्रबार काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।
काउन्सिलले टेलिभिजनलाई सचेत गराएको भए पनि कुनै पनि सामग्रीमा ‘प्रि सेन्सर’ नगरेको भुसालले दाबी गरे । ‘हामीले कुनै सामग्री काट्नु वा हटाउनु भनेर निर्देशन दिएका छैनौं, केवल उजुरीका विषयमा जानकारी गराएका हौं,’ भुसालले कान्तिपुरसँग भने, ‘टेलिभिजन वा निर्माण पक्षले केही भाग म्युट गर्ने वा लोगो सच्याउने जुन कार्य गरे, त्यो उहाँहरू आफैं सजग भएर वा सम्भावित झमेलाबाट बच्न गर्नुभएको हो, त्यसमा प्रेस काउन्सिलको प्रत्यक्ष संलग्नता वा दबाब छैन ।’
यद्यपि, काउन्सिलले कन्टेन्टमा ‘बिप’ प्रयोग गर्न कुनै निर्देशन नदिएको बताए पनि कार्यक्रमका निर्देशक विक्कीलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको प्राइम टेलिभिजन स्रोतको दाबी छ । तर, मुख्य अधिकृत भुसाल भने काउन्सिलले टेलिभिजनलाई सचेत गराउनुबाहेक कसैलाई पनि बोलाएर सोधपुछ नगरेको जिकिर गर्छन् ।
यो घटनापछि कला र सिर्जनामाथि राज्यस्तरबाटै अदृश्य रूपमा ‘कैंची’ चलाइएको भन्दै कलाकार, अधिकारकर्मी तथा आमदर्शकले असन्तुष्टि जनाइरहेका छन् । कलाकार गजुरेल यसलाई लोकतन्त्रको सुन्दर पक्ष मान्न तयार छैनन् । ‘हामी वाक् स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लामो लडाइँ लडेर यहाँसम्म आएका हौं । यस्तो अवस्थामा कला र सिर्जनाहरूलाई नियन्त्रण गर्न खोज्नु राम्रो संकेत होइन,’ गजुरेलले भने ।
