यो महोत्सव असार २६ सम्म आयोजना हुनेछ ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिकाको आयोजनामा आजदेखि 'काठमाडौं फिल्म फेस्टिभल (केएफफ) अन्तर्गतको 'टोलटोलमा फिल्म महोत्सव' सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले प्राप्त गरेको यूनेस्कोको ‘फिल्म नगर’ मान्यताअन्तर्गत सञ्चालित 'काठमाडौं फिल्म फेस्टिभल'अन्तर्गत कला र सँस्कृतिसँग मानिसलाई जोड्ने उदेश्यले सुरु भएको हो । यो कार्यक्रम खुल्ला मञ्चबाट सुरु भएर असार २६ मा समापन हुनेछ ।
स्थानीय आयोजक इकोज इन्द द भ्यालीसँगको सहकार्यमा आयोजना हुने खुला मञ्चको पहिलो कार्यक्रममा कुटुम्बको प्रस्तुतिसहित फिल्म देखाइने महोत्सवकी क्युरेटर आयुषा श्रेष्ठले जनाइन् । उनका अनुसार हरेक हप्ताको शनिबार र आइतबार काठमाडौंका ८ टोल (बजार) मा यो कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रमलाई सहरभित्रका ८ वटा स्थानीय आयोजकले आयोजना गर्नेछन् । फिल्म प्रदर्शन भने ८ टोल दरबार स्क्वायर र खुला स्थानहरूमा गरिने महोत्सवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यक्रम खुलामञ्च हुँदै असन, बागबजार, सुन्धारा परिसर, मैतीदेवी मन्दिर खुला चौर, लगनटोल, बालाजु बाइपास क्षेत्र र यट्खा बहादल भाष्कर कीर्ति महाविहारमा आयोजना गरिने छ ।
आयोजकले अहिलेसम्म पहिलो र दोस्रो कार्यक्रम तालिका सार्वजनिक गरेको छ । बिस्तारै अन्य टोलमा हुने कार्यक्रमको तालिका पनि सार्वजनिक गर्ने आयुसाले जनाइन् । टोलटोलमा फिल्म महोत्सवलाई चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र यूनेस्कोले सहकार्य गर्नेछ ।
हलमा प्रदर्शन नभएका लघु फिल्मलाई समुदायस्तरमा पुर्याउने ध्येय राखेर महोत्सव सुरु गरिएको आयुषाले जनाइन् । 'समुदायलाई जोड्ने उदेश्यले नै यो महोत्सव सुरु गरेका हौं । हलमा गएर हेर्न नपाइने फिल्मलाई हामी समुदायस्तरमा पुर्याउँदैछौं । खासमा फिल्म समुदायमा पुग्ने हो, उहाँहरू फिल्मकहाँ आउने होइन,' आयुषाले भनिन्, 'फिल्म जुन सहर र समुदायको हो त्यहीँ पुर्याएर प्रदर्शन गर्दैछौं ।'
