विदेशी फिल्मकर्मीको ‘भ्यू फाइन्डर’ बाट देखिएको नेपाली समाज

अष्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकनको ‘सपनाको आवाज’ले विदेशिनु पर्ने नेपालीको बाध्यता, ‘यस्तै रैछ’ ले प्रेमिकाको होस फर्काउन प्रेमीले गरेको संघर्ष र 'फ्यामिली म्यान' ले परिवारको मुख्य सदस्य हराउँदाको पीडा र फर्केर आउँदाको पारिवारिक असामञ्जस्यतालाई दर्शाएको छ ।

असार ५, २०८३

रीना मोक्तान

Nepali society seen through the 'viewfinder' of foreign filmmakers

What you should know

काठमाडौँ — भूकम्पका कारण दुई युवा युवती एकअर्कासँग नजिकिन्छन् । दुईबीच प्रेम पलाउँछ, तर उनीहरुको सम्बन्धले गन्तव्य भेट्याउँदैन । यी दुई मध्यम वर्गका - खान परिश्रम गर्नैपर्ने !

विकास टुटल चलाउँछन् । सोनाम कन्सल्टेन्सीमा काम गर्छिन् । उनी डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने तयारीमा छिन् । विकाससँग होइन, अर्कै पुरुषसँग जसलाई उनले पति स्वीकारि सकिन् । पति सोनामप्रति प्रेम होइन, दया देखाउँछ । तर, आफ्नो परिस्थिति र गरिबीबाट उठ्न सोनामले अष्ट्रेलियाको सपना रोजेकी हुन् ।

उता विकासलाई पनि कमाउनै पर्ने बाध्यता छ । सोनामलाई प्रेम त गर्छन्, तर दुई सँगै हुन पाउँदैनन् । किन ? 

२८ मिनेट लामो फिल्म ‘सपनाको आवाज’ले जवाफमा देखाउँछ,  यी दुईका जीवनका बाध्यता अनि जटिल सम्बन्ध ! एकअर्काबाट टाढिए पनि बिर्सनै नसकिने सम्झनामा बाँधिएका हुन्छन् सोनाम र विकास । सोनामले विदेशको सपना रोज्छिन्, विकासले भने सपना (लुसिड ड्रिम) मै सोनामलाई भेट्ने अथक प्रयास गरिरहन्छन् । 

'सपनाको आवाज' जब नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा प्रिमियर भयो - पहिलो पटक निर्देशकको नामले चकित बनायो । नेपाली समाजको यो गहिरो यथार्थ झल्काउने फिल्मलाई विदेशी आँखाले कसरी यति विस्तृतमा देखाउन सक्छ? तर, नेपाली समाज, यहाँको सँस्कृति र कलासँग गाँसिएका कलनी ग्याकनले बनाएको यो एउटै फिल्ममा नेपालसँगको उनको झुकाव, विषयवस्तुप्रतिको निकटता अनि नेपाली कथा भन्ने हुटहुटी भेटिन्छ । अष्ट्रेलियन फिल्मकर्मी कलनी कथा वाचनका हिसाबले खाँटी नेपाली हुन् । 

जटिल सम्बन्ध, त्यसले दिने पीडा र व्यथामार्फत कलनीले नेपाली समाजलाई आफ्ना फिल्महरूमा देखाउँदै आएका छन् । 'सपनाको आवाज'मा विदेशिनु पर्ने नेपालीको बाध्यतालाई सुन्दर प्रेम कथामार्फत भनिएको छ । जस्तै यो फिल्ममा सोनाम र विकास एकअर्कालाई असाध्यै चाहन्छन् । एकअर्कालाई सम्झिरहन्छन्, तर परिस्थितिले दुवैलाई छुट्टिन बाध्य पारेको छ । फिल्मले यी दुईको प्रेम देखाउन खासै लामो दृश्य खर्चँदैन । तर, वियोगको पीडामा उभिएर विदेशिनु पर्ने बाध्यताले छुन्छ ।

सोनामले सानो कोठाबाट ठूलो शहरको सपना देख्छिन् । त्यसैले प्रेम त्यागेर अष्ट्रेलिया रोज्छिन् । टुटल चलाएरै परिवार सम्हाल्दै आएका विकासले भने देशभित्रैको श्रम रोज्छन् । 'सपनाको आवाज'मार्फत कलनीले नेपालीको विदेशिने बाध्यता र त्यससँग गर्नुपर्ने सम्झौताका भाव केलाएका छन् । 

विदेशी आँखाले हेर्दैमा यहाँ सोनाम र विकासको संसार सुन्दर, चिटिक्कको देखिएको छैन । बरु साघुरो छ, उनीहरुको अवस्थाजतिकै । एउटा कोठा, एउटै पलङ । त्यही पलङमा आमा र बहिनीसँग निदाएर सोनामले अष्ट्रेलियाको सपना देखेकी हुन् ।

उता आमा र भाइको जिम्मेवारी सम्हाल्नै पर्ने बाध्यतामा रहेका विकास पनि साघुरो कोठामा बस्छन् । उनीहरुको संसार चिटिक्कको कतै देखिन्न । मध्यम वर्ग देखाउन कलनी कतै चुकेका छैनन् । यो फिल्ममा चिठ्ठी र चटपटेको संयोगले दुईबीचको प्रेम देखाइएको छ । तर, भुकम्पको समयमै टुटल चलाउन थालिसकेको विषय भने यथार्थपरक देखिन्न । भुकम्पको एक वर्षपछिको अवस्था देखाए पनि विकास र सोनाम टुटलमै भेटेका हुन्छन् । त्यतिबेला टुटल प्रयोगमा आइसकेको थियो र ? केही तथ्यपरकतामा भने कलनी कच्चा देखिन्छन् । तर, दुई पात्रको बाध्यता, प्रेम र सपनामार्फत यो फिल्मले नेपाली समाजको मध्यम वर्गीय पीडा समेट्छ । गीत, संगीत कलनीका फिल्ममा छुट्दैनन् । 'सपनाको आवाज'मा विदेश जानुअघि सोनाम गाउँछिन;

म कहाँ आजभोलि भन्दैछु, नचाहेरै पनि उडान लिन सिक्दैछु

जति हेर्‍यो बाहिर, मौसमको बदली सहेकै छु 

नचाहेर पनि त भाव बुझ्न खोज्दैछु…

सुशान्त केसीको गीत 'यस्तै रैछ'भन्दा अघि सार्वजनिक भएको यही शीर्षकको लघु फिल्ममा, गीत र कथाको सुन्दर संयोजन भेटिन्छ । ‘यस्तै रैछ’लाई पनि कलनीले निर्देशन गरेका हुन् । केसीको गीतभन्दाअघि सार्वजनिक भएको लघु फिल्म 'यस्तै रैछ' खासमा प्रिक्वेल हो - 'यस्तै रैछ' गीतको ।

सुशान्तको गीत आउनुअघि फिल्मको कथा आउँछ । १२ मिनेट ३१ सेकेण्डको यो फिल्ममा पनि दुई पात्र केन्द्रमा छन् ।  पुरुष पात्र हरेक दिन युवतीको घर पुग्छन् । आमाले ढोका खोलिँदिँदै महिला पात्र (थिन्ले ल्हामो) भएको ठाउँमा पुर्‍याउँदै बिग्रिएको बिजुली बनाउन लगाउँछन् । पुरुष पात्र बिजुलीको प्लग छेउ अर्को प्लग बनाएको अभिनय गर्छन् । जे होस्, यो पात्र सँधै उक्त युवतीको घर पुग्ने अनि त्यसरी नै केही मर्मत संभार गरेको अभिनय दोहोर्‍याइरहन्छ । 

महिला पात्रको कोठामा पनि एउटै कुरा दोहोरिन्छ । उनी एकाग्र भएर बसिरहेकी हुन्छिन्, पुरुष पात्रको आगमनले एकाग्रता भंग हुन्छ । अनि पुरुष पात्रले लगाएको सांगेतिक ब्यान्ड ‘बिटल्स’ अंकित टिसर्टको प्रसंग निकाल्दै सोध्छिन् -तिमीलाई बिटल्स मन पर्छ हो ? त्यसपछि दुईबीच उक्त ब्यान्ड र संगीतमाथि गफ हुन्छ । महिला पात्र बिटल्सको गीत गुनगुनाउँछिन् ।

यसरी पुरुष पात्र हरेक दिन पहिरन बदल्दै उसैगरी महिलाको घर पुग्छन् । मर्मत गरेको अभिनय र संगीतमाथिको संवाद उसै गरी दोहोरिन्छ । तर, महिला पात्रले कहिल्यै उक्त पुरुष पात्रलाई ठम्याउँदिनन् । उनी खासमा कसैलाई चिन्दिनन् । आफ्नो प्रेमिकाको होस फर्काउन एक पुरुषले गरेको यस्तै मिहिन कार्यमार्फत फिल्ममा प्रेम देखाइन्छ ।

फिल्मको त्यही कथापछिको निरन्तरता हो सुशान्तको ‘यस्तै रैछ’बोलको गीत । एउटै सम्झना दोहोर्‍याउँदै आफ्नी प्रेमिकाको होस फर्काउन यहाँ प्रेमीले के-के मात्रै गर्दैन ? ती कार्यहरुमा उक्त प्रेमीको प्रेम पोखिएको छ । गीतको भिडियोको सुरुवातमै त यी दुईलाई केन्द्रमा राख्दै समय बिते पनि दुईबीचको प्रेम यथावत रहेको देखाइएको छ । यो गीतले कथालाई जसै वर्तमानमा फर्काउँछ, तब फ्रेम फराकिलो बन्दै जान्छ । उनीहरुको प्रेमले फरक आकारलाई स्वीकारेजस्तो ।

पुरुष पात्रको नजरबाट भनिएको यो गीतको भिडियो र फिल्म दुबैमा गायक सुशान्तले अभिनय गरेका छन् । उनको चरित्रले पूराना यादहरु सम्झाउँदै प्रेमिकालाई वर्तमान समयमा फर्काउने हर प्रयास गरेको देखिन्छ । त्यसैले यो पात्र गीतको भिडियोमा गाउँछन्;

फर्केर हेरन, छुट्टिँदा 

फर्केर हेरन 

फेरि 

बिर्सेर यो मन 

चल्नै छाड्यो यो मनको ढुकढुकी 

भक्कान्निएर एक्लै रुँदा नि

कोही आएन

यस्तै रैछ यो जीन्दगानी 

तामाङ भाषाको 'फ्यामिली म्यान'मा जस्तो ‘यस्तै रैछ’मा भने उति उम्दा दृश्य छैनन् । ‘यस्तै रैछ’को कथा र दृश्यमा नयाँपन देखिन्न । तर, 'फ्यामिली म्यान'मा भने सुन्दर दृश्य समेटिएका छन् । यो फिल्ममा पनि  गीतको मुख्य भूमिका देखिन्छ । कथा भन्नलाई कलनी मुख्य तत्त्वका रुपमा गीतलाई प्रयोग गर्छन् । तामाङ परिवारको यो कथा सुनाउन कलनी रसुवाको गत्लाङ पुग्छन् । अनि हराएको एकजना 'म्यान'ले दुई महिलामाथि पारेको प्रभाव देखाउन 'फ्यामिली म्यान' बनाउँछन् । यो फिल्म एउटा यस्तो परिवारको कथा हो, जो लेकको तुवाँलोमा हराएको एक पात्रको पर्खाइमा हुन्छ ।

परिवारको सदस्यमा आमा र छोरीमात्रै बाँकी रहन्छन् । बुवा हराएको वर्षौं भयो । आमाछोरी आफ्नो दैनिकीमा यति अभ्यस्त भइसके कि उनीहरुले हराएका आफन्त पर्खन छोडेको पनि भयो वर्षौं । तर, संयोग कस्तो ! त्यहीँ तुवाँलो छिचाेल्दै एकदिन हराएको पात्र घर फर्कन्छ । उनको आगमनसँगै आमाछोरीको दैनिकी भत्कन थाल्छ । उक्त पात्रले घर सम्झेको छ, बाटो सम्झेको छ । पहिरिने पहिरन सम्झेको छ । तर उसको हुलिया हेर्दा लाग्छ - उसले सम्झनुपर्ने सबै भुलेको छ । छोरीलाई गर्नुपर्ने प्रेम –पत्नी प्रेम बिर्सेको छ । उसलाई याद छ त केवल एउटै गीत । 

यो फिल्ममा हराइजानेहरुले पार्ने प्रभाव देखाइएको छ । आमा र छोरी बाटो भुलेर हराउनेहरूलाई पर्खिरहेका हुन्छन् । त्यही गीत र लयहरूमा उनलाई खोजिरहेका हुन्छन् । तर, हराइजानेहरूले पारेको त्यो रिक्तता मेटेर मेटिँदैन । त्यसले पारेको घाउ र चोट नियाल्ने ऐना हो- 'फ्यामिली म्यान' । यो ऐनाबाट चिहाउन सकिन्छ, पर्खनेहरूको पीडा ।

यी तिनवटै फिल्म गत साता काठमाडाै‌ैस्थित अष्ट्रेलियन दूतावासद्वारा आयोजित एक कार्यक्रममा देखाइएको थियो । नेपालमै बसेर फिल्म बनाइरहेका अस्ट्रेलियन नागरिक कलनीको बन्न लागेको नयाँ फिल्मले पनि काठमाडाैं र अष्ट्रेलियाको सम्बन्धकाे कथा भन्ने बताइएको छ ।

नेपालसँग कलनको सम्बन्ध  

Nepali society seen through the 'viewfinder' of foreign filmmakers

नेपालसँग कलनीको सम्बन्ध भूकम्पले जोडिदिएको रहेछ । सन् २०१५ मा उनी भारत घुम्न निस्केका थिए । तर, गोरखपुर आइपुग्दा यात्राको थकान बढी भयो । आरामका लागि कतै होटल पनि पाएनन् । रेल स्टेसनतिर गएर निदाउने सोचे । त्यतिबेलै एउटा गाडीमा उभिएको बालक चिच्याउँदै थियो, 'काठमाडौं, काठमाडौं'। उनी निन्द्रा पूरा गर्ने लोभले गाडी चढे । आँखा खोल्दा, काठमाडौं । काठमाडौं आइपुग्दा महाभूकम्पपछिको दोस्रो परकम्प गयो । उनलाई लाग्यो, 'सायद म यहाँ आउनुको केही कारण छुुु' । त्यसअघि भूकम्पबारे केही थाहा नपाएका उनले 'भूकम्प' भन्ने डकुमेन्ट्री बनाए । डकुमेन्ट्रीमा भूकम्पलाई बालबालिकाको नजरबाट प्रस्तुत गरिएको थियो ।

त्यसपछि सन् २०१८ मा बसाइसराइबारे डकुमेन्ट्री 'जर्नी टु द सेन्ट्र अफ दि हर्ट' बनाए । नेपालीहरुको ठूलो संख्या विदेसिँदै गर्दा नेपालमा बसाइसराइ गरी आउने विदेशी पात्रहरुलाई पछ्याइएको उक्त डकुमेन्ट्रीले त्यो वर्ष अन्तर्राष्ट्रियतर्फ किम्फमा अवार्ड नै जित्यो । यसबीच उनले नेपाली फिल्महरुमा पनि काम गरे । अष्ट्रेलियाका कलनी अहिले नेपालमै बस्न रुचाउँछन् । नेपालसँग उनको गहिरो सम्बन्ध त छैन । तर उनका फिल्म र डकुमेन्ट्री नेपालबाटै सुरु भयो । 'नेपालमा बसेर फिल्म बनाउने खासमा नसाजस्तै भइसक्यो, '२७ वर्षीय कलनीले हाँस्दै सुनाए, 'विदेशमा फिल्म बनाउनु भन्दा नेपालमा बनाउँदाको अनुभव नै अर्कै हुन्छ ।' 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully