मिस्टिकललाई लुजियानास्थित आफ्नै घरमा सन् २०२२ मा एक महिलालाई बलात्कार गरेको अभियोगमा दोषी पाइएपछि जेल सजाय सुनाइएको हो ।
लुजियाना — ग्रामी अवार्डमा धेरैपटक मनोनीत भइसकेका र्यापर मिस्टिकललाई लुजियानास्थित आफ्नै घरमा सन् २०२२ मा एक महिलालाई बलात्कार गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको छ ।
माइकल लरेन्स टेलर उर्फ मिस्टिकलले गत मार्चमा ‘थर्ड–डिग्री रेप’ को आरोपलाई स्वीकार गरेका थिए । जसले गर्दा उनलाई अधिकतम सजायभन्दा ५ वर्ष कम अर्थात् २० वर्षसम्मको सजाय सुनाइएको छ । उनले दोष स्वीकार गर्नुअघि मिस्टिकललाई ‘फर्स्ट–डिग्री रेप’ को आरोप थियो, जसमा स्वतः आजीवन कारावासको सजाय हुने थियो ।
मंगलबारको सुनुवाइ हुनु केही दिन अघि मात्र उनले ‘आफूले यसको परिणामबारे पूर्ण रूपमा विचार गर्ने पर्याप्त अवसर नपाएको’ भन्दै दोष स्वीकार्ने निर्णय फिर्ता लिन न्यायाधीशसँग माग गरेका थिए । सजाय सुनाइनुअघि अदालतमा बोल्दै पीडित महिलाले मिस्टिकललाई अधिकतम सजाय दिन न्यायाधिशलाई माग गरेकी थिइन् । र्यापरले आफूलाई मुक्का हानेको, घाँटी थिचेको, कपाल तानेको र जबरजस्ती बलात्कार गरेको ती महिलाले आरोप लगाएकी थिइन् ।
स्थानीय टेलिभिजन च्यानलका अनुसार, जवाफमा मिस्टिकलले ‘यदि आफुले त्यसो गरेको भए अधिकतम सजाय पाउन योग्य रहेको’ बताएका थिए । यस विषयमा र्यापरका वकिलले तत्काल कुनै प्रतिक्रिया दिएनन् । सन् २०२२ मा पक्राउ परेपछि मिस्टिकललाई एसेन्सन पेरिस जेलमा थुनामा राखिएको छ ।
यसअघि सन् २००३ मा पनि उनले यौन दुर्व्यवहारको मुद्दामा आफ्नो दोष स्वीकार गरेका थिए र उनलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो । सोही वर्ष उनी दुईवटा विधामा ग्रामी अवार्डका लागि मनोनीत भएका थिए ।
