नेपाललाई कति सगरमाथा र बुद्धले मात्र चिनाउने, अब सिनेमाले पनि चिनाऔं : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल भन्छन् : देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने ?

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Nepal used to be known only through Mount Everest and Buddha, now let's also introduce it through cinema: Minister Poudel

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले  अविनाशविक्रम शाहको लघु चलचित्र 'लोरी'ले कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको बताएका हुन् । 

मन्त्री पौडेलले नेपाललाई चिनाउन सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला र सिर्जनाका माध्यमबाट पनि विश्वमा चिनिनुपर्नेमा जोड दिए ।

‘नेपाली सिनेमाले एकदमै ठूलो फड्को मारिरहेको छ । अविनाशजी त्यसको पछिल्लो श्रृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ ।... ‘लोरी’ले कान्समा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गर्‍यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ । त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो । देश चिनियो भने हामी पनि चिनिन्छौँ । देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने ?,’ मन्त्री पौडेलले भने । 

कलाकारहरूको योगदानलाई आफूले उच्च सम्मान गर्ने भन्दै उनले नेपाली सिनेमाको यो यात्रामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully