भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ४ कलाकार सम्मानित 

गायिका मीरा राणा, संगीतकार सीके रसाइली, दीपक थापा र पवन मैनालीलाई प्रतिष्ठानले सम्मान गरेको हो ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

4 artists honored by Bhaktaraj Acharya Music Foundation

What you should know

काठमाडौँ — भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा प्रदान गरिने सम्मानले चार कलाकार सम्मानित भएका छन् । गायिका मीरा राणा, संगीतकार सीके रसाइली, दीपक थापा र पवन मैनालीलाई प्रतिष्ठानले सम्मान गरेको हो । 

आइतबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा ‘भक्तराज राष्ट्रिय संगीत सम्मान २०८२’बाट गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई सम्मान गरिएको हो । दुईलाई सम्मानमा नगद १ लाख १ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो ।

‘यो सम्मान मेरो होइन । यो सम्मान तपाईंहरूको हो,’ दर्शकदीर्घातर्फ हेर्दै राणाले भनिन्,’ मसँग कुनै धन छैन । हामीले संगीत सुरू गर्दा यसमा धन थिएन । त्यतिबेला रेडियो नेपालबाट गीत गाउन सुरू गर्दा पारिश्रमिक १० रुपैयाँ पाएको थिएँ । मेरा लागि दर्शकको माया नै करोडको सम्मान हो ।'

4 artists honored by Bhaktaraj Acharya Music Foundation

सम्मान थापिसकेपछि राणाले आफू क्यान्सरपीडित भएको पनि जानकारी दिइन् । ‘म क्यान्सर पीडित हुँ । भर्खरै बेलायत पुगेर उपचार गरेर फर्किएँ,’ उनले भनिन् । भजनशिरोमणि भक्तराज आचार्यको कलामा दर्शक रुवाउन सक्ने क्षमता भएको पनि उनले जनाइन् । ‘गायनमा कला हुन्छ । कसैको आवाजले अरूलाई रुवाइदिन सक्छ । त्यो कला भक्तराजमा थियो,’ उनले थपिन् ।

गायिका राणासँगै ‘भक्तराज राष्ट्रिय संगीत सम्मान २०८२’बाट सीके रसाइलीले उपहारमा नगद १ लाख १ रुपैयाँको सम्मान थापे । ‘स्वर कहिल्यै गुम्दैन । शब्द कहिल्यै मेट्दैन, संगीत कहिल्यै मर्दैन,’ सम्मान थापेसँगै रसाइलीले भने । 

त्यस्तै,कार्यक्रममा ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान २०८२’ बाट भने दीपक थापा र पवन मैनाली सम्मानित भए । उनीहरुलाई जनही नगद ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो । मृगौला रोगबाट प्रताडित थापाले भक्तराजसँग आफूले थुप्रै संगीत गरेको संस्मरण सुनाए । ‘भक्तराज दाइसँग धेरै काम गरें । रेडियो नेपालमा पनि सँगै बजायौं । हामी सँगै बसेर रक्सी पनि पियौं,’ उनले यसोभन्दा कार्यक्रममा उपस्थित दर्शक गलल हाँसे । आफूहरूले सँगै बिताएको त्यो पल साँच्चै सुन्दर रहेको संस्मरण उपस्थित दर्शकबीच उनले साझा गरे । कार्यक्रममा भक्तराजसँगै सम्मानित कलाकारका गीतमाथि सांगीतिक कार्यक्रम पनि आयोजना भयो । 

कार्यक्रम भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा सम्पन्न भएको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले आफूहरूले गर्दै आएको काम र यो सम्मानको स्वरूप एउटै भएकाले सम्मानमा जोडिएको बताए । ‘हामी विदेशमा नेपालीले कमाएको पैसालाई नेपालमा रहेका उनीहरूका आफन्तकहाँ ल्याइपुर्‍याएर उनीहरूलाई जोड्ने काम गर्छौं । संगीतले पनि त्यही गर्छ । संगीतले सबैलाई जोड्ने हुँदा हामी यो सम्मान कार्यक्रममा सहकार्य गर्दै आएका हौं,’ टन्डनले भने ।

4 artists honored by Bhaktaraj Acharya Music Foundation

भजनशिरोमणिका रूपमा प्रख्यात भक्तराजले सक्रिय रूपमा २५ वर्ष संगीत क्षेत्रमा बिताइरहँदा ४ सय भन्दा बढी गीत, बालगीत र भजनमा स्वर दिए । एउटा दुर्घटनापश्चात जिब्रो काट्नुपरेको ३५ वर्षपछि २०८० मा भक्तराजले आफ्नो शरीर त्यागे । उनै भक्तराजको नाममा उनी जीवित हुँदैदेखि यो प्रतिष्ठानले सम्मान आयोजना गर्दै आएको हो । छोराहरू सत्यराज र स्वरूपराज आचार्य मिलेर यो सम्मानलाई निरन्तरता दिँदै आइरहेका छन् । आमा सुशीलाकै ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ पनि सुरू गरिएको हो । 

कान्तिपुर

Link copied successfully