एकैदिन सय करोड क्लबमा ‘पेड्डी’, कस्तो पायो समीक्षा ? 

द हिन्दुमा संगीतादेवि डुन्डुले ‘पेड्डी’ लाई ‘१८९ मिनेट लामो एक भद्रगोल र कमजोर लेखन भएको फिल्म’ भनी आलोचना गरेकी छन् ।

जेष्ठ २२, २०८३

एजेन्सी

'Peddy' enters the 100 crore club in a single day, what kind of reviews did it get?

नयाँ दिल्ली — बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको तेलुगु फिल्म ‘पेड्डी’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । रामचरण अभिनित यस फिल्मले पहिलो दिन विश्वभरबाट कम्तिमा १ सय १२ करोड भारुको व्यापार गरेको छ । घरेलु बक्सअफिसमा मात्र यस फिल्मले ८२ करोडमाथिको व्यापार गरेको छ । तेलुगु राज्यहरूबाट मात्रै ४७ करोड भारु कमाई गर्दै ‘पेड्डी’ १ सय करोड क्लबमा प्रवेश गर्ने ११ औं तेलुगु फिल्म बनेको छ । बुच्ची बाबु सानाको निर्देशन रहेको ‘पेड्डी’ ले सुरुवाती आक्रामक व्यापार गरिरहेको भएपनि मिश्रित समीक्षा पाएको छ । 

यो सन् १९९० ताक आन्ध्र प्रदेशको पहाडी क्षेत्र विजयनगरका मजदुरहरुको संघर्षको कथा बोकेको स्पोर्ट्स जनराको फिल्म हो । बस्तीमा ३० वर्षदेखि रेल नरोकिकाले त्यहाँका आदिवासी मजदुरहरु कामका लागि सधैं टाढासम्म पैदल धाउनुपर्ने बाध्यता छ । पेड्डी (राम चरण) सुरुवातदेखि नै विद्रोही स्वभावको छ, जो सुरुमा स्थानीय क्रिकेटर हुँदै पछि कुस्ती खेलाडी बन्छ । उसले हिंसालाई भन्दा आफ्नो शारीरिक र खेल कौशलतालाई प्रतिरोधको माध्यम बनाउँछ । 

'Peddy' enters the 100 crore club in a single day, what kind of reviews did it get?

नवभारत टाइम्समा रेखा खान ‘पेड्डी’ लाई साढे दुई स्टार (पाँचमा) रेटिंग दिंदै राम चरणको करिअरकै सबैभन्दा दमदार प्रस्तुती भएपनि त्यसले मजबुत कथा र पटकथा भने नपाएको लेखेकी छन् । 

भारतीय सञ्चारमाध्यम ईन्डिया टूडेमा समीक्षक टी मारुती आचार्यले ‘पेड्डी’ लाई पाँचमा तीन स्टार दिंदै ‘तर्कलाई भावनाले जितेको एक व्यवसायिक फिल्म’ भनेका छन् । ‘निर्देशकले दर्शकलाई दिमागभन्दा बढी मनको कुरा सुन्न बाध्य पार्छन् र यसमा उनी सफल पनि छन्,’ आचार्य आफ्नो समीक्षामा लेख्छन्, ‘फिल्ममा लजिक भन्दा बढी इमोसनलाई प्राथमिकता दिइएको छ ।’ 

यसका लागि एआर रहमानको संगीतको पनि उत्तिकै योगदान रहेको उल्लेख गर्दै उनी लेखनमा तार्किक कमजोरी रहेकोमा बारम्बार जोड दिन्छन् । त्यसो त एक साधारण ज्यालादारी मजदुरदेखि समाजको पहिचानका लागि लड्ने कुस्तीवाजसम्मको चरित्रमा पेड्डीको शारीरिक र मानसिक रुपान्तरणलाई भने उनले तारिफ गरेका छन् । सँगसँगै राजनीतिक पृष्ठभूमि भएकी युवतीको भूमिकामा रहेको जाहन्वी कपुरको पात्रमा ठूलो संभावना हुँदाहुँदै पनि केवल आकर्षण र ग्ल्यामरमा मात्रै सीमित गरिएको भन्दै समीक्षक आचार्यले प्रश्न उठाएका छन् । 

'Peddy' enters the 100 crore club in a single day, what kind of reviews did it get?

त्यसैगरी, द हिन्दुमा संगीतादेवि डुन्डुले ‘पेड्डी’ लाई ‘१८९ मिनेट लामो एक भद्रगोल र कमजोर लेखन भएको फिल्म’ भनी आलोचना गरेकी छन् । त्यसो त उनले फिल्ममा रामचरणको अभिनय र रहमानको संगीतको भने मुक्तकण्ठले प्रशंसा गर्दै ‘एक पटक हेर्न लायक’ फिल्मका रुपमा ‘पेड्डी’ लाई राखेकी छन् ।

संगीतादेविले क्रिकेट खेल्ने एक गाउँले युवकदेखि कुस्तीबाज बन्दासम्मको दौरान राम चरणको शारीरिक र भावनातमक रुपान्तरण तारिफयोग्य रहेको उल्लेख गरेकी छन् । त्यसैगरी, रहमानको पार्श्व संगीतले कमजोर दृश्यलाई पनि जीवन्त र हेर्नलायक बनाई दिएको तथा फिल्मको सिनेमाटोग्राफी पनि वास्तविकताको नजिक रहेको लेखेकी छन् । 

तर उनले पनि ‘पेड्डी’ को कमजोरी पटकथालाई नै मान्छिन् । ‘फिल्मको मुख्य समस्या यसको लेखन हो । गाउँलेहरुको पीडा र सामाजिक असमानतालाई जसरी उठाइएको छ, त्यसले दर्शकलाई भावनात्मक रूपमा छुँदैन । निर्देशक बुच्ची बाबुका यसअघिका फिल्म ‘उप्पेना’ वा ‘रंगस्थलम’ मा जस्तो ‘पेड्डी’ मा राजनीतिक गहिराई भेटिदैन ।’ 

उनले पनि जान्हवीको चरित्रले फिल्मको गतिलाई बिगारेको टिप्पणी गर्दै उनको चरित्रलाई विनाकारण ‘भल्गर’ बनाइएको आरोप लगाएकी छन् । त्यसैगरी फिल्ममा रामचरण र शिव राजकुमार बाहेक अन्य कलाकारको भूमिका झारा टार्ने खालको मात्रै रहेको र भीएफएक्स र लिप–सिंक पनि धेरै ठाउँमा बिग्रिएको उल्लेख गरेकी छन् ।

डेक्कन हेराल्डमा समीक्षक प्रनती एएसले यस फिल्मलाई ‘सम्भावना बोकेको तर फितलो’ भनी टिप्पणी गरेका छन् । उनले पनि जान्हवी अभिनित पात्र ‘अचियम्मा’ दर्शक रिझाउनकै लागि र अश्लीलता प्रदर्शनका लागि मात्र राखिएको एउटा ‘प्रोपर्टी’ भन्दै तर्क गर्छन् । त्यस विपरित फिल्मको मुख्य पात्र पेड्डीलाई महिलाको इज्जत जोगाउने नाममा अत्यधिक पुरुष अहंकार देखाउने पात्रका रूपमा चित्रण गरिएको भन्दै फिल्मको लैंगीक द्वेषलाई उजागर गरेका छन् । 

उनले निर्देशकलाई दमन, प्रहरी क्रुरता र प्रणालीगत उत्पीडनजस्ता गम्भीर विषय उठाएर सतही प्रस्तुती दिएको आरोप लगाए । निचोडमा उनी भन्छन्, ‘फिल्मको पहिलो भागभन्दा दोस्रो भाग तुलनात्मक रूपमा केही राम्रो छ । तर, पटकथाको कमजोरी र फिल्मको अन्तिम दृश्य प्रभावकारी हुन नसक्दा फिल्मले आफ्नो पूर्ण संभावनालाई पर्दामा उतार्न सकेको छैन ।’ 

तर ‘पेड्डी’ मा राखिएको कुस्ती प्रशिक्षक गोरनाइडु (शिव राजकुमार) र कुस्तीवाज पेड्डीबीचको गुरु–चेला सम्बन्ध र तालिमका दृश्यले हलिउड फिल्म ‘द कराँते किड’ र ‘ड्र्यागन बल’ जस्ता फिल्मलाई स्मरण गराउने भन्दै तारिफ गरेका छन् । साथै, उनले आदिवासी बस्तीको सेट निर्माण नाटकीय र बनावटी देखिएपनि फिल्मका केही दृश्यहरु भिजुअल्ली निकै राम्रो रहेको लेखेका छन् । प्रनतीले भने ‘पेड्डी’ मा रहमानको संगीतलाई खासै रुचाएका छैनन् । उनले यसलाई रहमानको करिअरकै सबैभन्दा कमजोर संगीत हुन सक्ने उल्लेख गरेका छन् ।

दर्शकले पनि सामाजिक सञ्जालमा ‘पेड्डी’ का बारेमा मत विभाजित देखिन्छ । एक्समा ‘वेन्की रिभ्यूज’ ह्यान्डलमा एक लेख्छन्, ‘पहिलो हाफ सामान्य लागेपनि मध्यान्तरतर्फ लैजाने प्लट र सिक्वेन्स फिल्मको सबैभन्दा बलियो र उत्कृष्ट पक्ष हो ।’ आदि रेड्डी नामका अर्का एकजना रामचरणको अभिनय नै फिल्मको सबैभन्दा मुख्य आकर्षण बताउँदै उनको करिअरकै उत्कृष्ट फिल्म भनेका छन् । 

तर स्वाती चौधरी भने फिल्ममा लेखन कमजोर रहेको टिप्पणी गर्दै जबरजस्ती लादिएका भावनात्मक दृश्य र पुरानो शैलीको पटकथाका कारण आफुलाई ‘पेड्डी’ पूर्णतः ‘डिजास्टर फिल्म’ लागेको लेखेकी छन् । अर्का एक एक्स प्रयोगकर्ता बोसपालेम पनि यस फिल्मलाई औसतभन्दा पनि कम स्तरको भनी टिप्पणी गर्छन् ।

एजेन्सी

Link copied successfully