त्रिवेणी राई निर्देशित यो फिल्ममा महिलाका फरक स्वरूप र कथा समेटिएका छन् ।
What you should know
काठमाडौँ — कथा भन्नलाई केही ठूलो घटना घट्नै पर्दैन । चरित्रले ठूल्ठूलो संघर्ष पनि गरिरहनु पर्दैन । हिरोले न गुन्डालाई मुक्का हान्नुपर्छ, न हिरोइनले रोइकराइ ! मिहिन विषयमाथि पनि सुन्दर कथा भन्न सकिन्छ भन्ने उदाहरण हो - फिल्म सेप अफ मोमो (छोराजस्तै) । यो फिल्मले मसिनो कथा र भावमार्फत पितृसत्तामाथि प्रश्न गर्छ । त्रिवेणी राई निर्देशित नेपाली भाषाको यो फिल्मले विष्णु(गौमाया गुरुङ) र उनको परिवारमार्फत पितृसत्ताको संरचनालाई गहिरोसँग हिर्काउँछ । अनि यसको लाभांश उठाइरहेकालाई लज्जित बनाउँछ ।
आउनुस् फिल्मको सबैभन्दा शक्तिशाली दृश्यको कुरा गरौँ । पहिला- फिल्मको छोटो कथा- दिल्लीमा बसेर काम गर्दै आइरहेकी विष्णु आफ्नो घर सिक्किम फर्किन्छिन् । घरमा आमा, हजुरआमा छन् । त्यसमाथि थपिन्छिन्, बहिनी जुनु(श्यामा श्री शेर्पा) । भर्खरै हिमचिम बढ्दै गरेको ज्ञान(राहुल नवाच मुखिया) एक दिन परिवारसँगै बसेर मोमो खान आइपुग्छन् । त्यहाँ विष्णुले मोमोको आकार सद्धे बनाउनै नसक्ने विषयमाथि ठट्टा चलिरहन्छ । मोमोको कुरा पनि पछि गरौँ, अब दृश्यमै फर्कौँ ।
मोमो खाइसकेपछि सबै जना आ-आफ्ना बाटो लाग्छन् । डाइनिङ टेबलमा भाँडाहरु यत्रतत्र छरिएका छन् । मोमो खान बाँकी रहनेहरूमा विष्णु र ज्ञान मात्रै । त्यति नै बेला, विष्णुको फोन आउँछ । उनी कानमा फोन टँसाउँदै जुरुक्क उठ्छन्, बेसिनतिर लम्कन्छन् । क्यामेराले विष्णुभन्दा अगाडि खाली प्लेट देखाउँछ । जसमा ज्ञानले छोडेको एउटा मोमो र अचार बाँकी हुन्छ । अनि क्यामेराले फेरि त्यही जुठो प्लेटसँगै बेसिनमा हात धुँदै गरेको ज्ञानलाई एउटै फ्रेममा देखाउँछ । पृष्ठभूमिमा विष्णु भन्छिन्, 'ज्ञान' । तर, विष्णुले आफ्ना वाक्य पूरा गर्न सक्दिनन् । दर्शक आफैँले विष्णुको मनोविज्ञान बुझ्नुपर्छ । खासमा यो दृश्यमा विष्णुले ज्ञानलाई आफ्नो भाँडा आफैँ माझ्न भन्न खोजिरहेकी हुन्छिन् । तर, भान्साको जिम्मा त महिलाहरूकै त हो भन्ने ज्ञान पाएका ज्ञानहरूलाई त्यसको के हेक्का ? उनीहरू त पितृसत्ताले दिएको लाभांशमा उभिएर, मुख चुठिरहन्छन् । सँगै मिलेर सिक्किममा व्यवसाय गर्ने तयारी गरेका ज्ञान र विष्णुसँगको यो दृश्यले हाम्रो समाजमा रहेको पितृसत्तात्मक संरचनामाथि प्रश्न गर्छ । पितृसत्ताले पुरुषलाई भन्छ, 'तिमी हात मात्रै धुनु, प्लेट त विष्णुहरूले धुइहाल्छ नि ।' अर्थात् यो संरचनाले महिलाहरूलाई कसरी घरभित्रै खुम्च्याउन, दबाउन खोज्छ भन्ने कुरालाई- मधुरो सुनिने विष्णुको एक शब्दमार्फत नै प्रस्तुत गरिदिएको छ । ज्ञानले उनको आवाज नै सुन्दैनन् । ज्ञान त घरभन्दा बाहिरको कामै व्यस्त, फोनले त्यही संकेत गर्छ ।
संरचनाकै कुरा गर्दा यहाँ पितृसत्ताले महिलामाथि गरेको दमन मात्रै देखाउँदैन । यहाँ कसरी महिलाहरूकै मस्तिष्कमा पनि यसले जरा गाडेर बसेको छ भन्ने मिहिन प्रसंगहरु छन् । जसै विष्णुको घरछेउ एक हुल पुरुष टेन्ट गाडेर रमाइलो गर्न आइपुग्छन् । विष्णुकी आमा असुरक्षित अनुभव गर्न थाल्छिन् । त्यसैले घरमा धेरै मान्छे भएको भान गराउन सबै तल्लाका बत्ती बाल्न थाल्छिन् । त्यो भन्दा रोचक त, गुरुआमा(पशुपति राई)का नामले चिनिने आमाले कोही पुरुष भएको भान दिलाउन गरिएको कार्यहरू रोचक लाग्छन् । उनी घरको आँगनमा पुरुषको लुगा सुकाउँछिन् । त्यो हुलबाट कोही पानी माग्न टुप्लुक्क आइहाले चर्को स्वरमा उनी भन्छन्, 'विष्णु उसलाई बुवा भित्र सुतिरहनु भएको छ भन त ।' यो संवादमै पनि महिलाहरूको सुरक्षा पुरुषले मात्रै गर्न सक्छ भन्ने विषय कसरी समाजमा संरक्षित छ भन्ने देखाउँछ ।
ज्ञानसँगको केही दृश्यमै पनि यो झल्किन्छ । नचिनेको नम्बरबाट आफूलाई सताइरहने 'फेक कल'बारे गुरुआमाले एक जमघटबीच सुनाइदिन्छन्, त्यो पनि ज्ञान उपस्थित भएको समयमा । तब, उक्त व्यक्तिलाई थर्काउन ज्ञानकै सहारा लिइन्छ । ज्ञानले पनि बढो शानसहित फोनमा उक्त व्यक्ति भकुरिदिन्छन् । गुरुआमाले ढुक्कको लामो श्वास फेर्छिन्, अनि ज्ञानको उपस्थितिमा आफूलाई सुरक्षित महसुस गर्छिन् ।
पितृसत्ता कसरी महिला मगजमै घुलेर बसेको छ ? भन्ने देखाउन यहाँ न ठूल्ठूला संवाद प्रयोग गरिएका छन्, न यहाँ ज्ञानले 'फेक कल' गर्नेहरूलाई हिरोलेझैँ लखेटीलखेटी मार्छन् । सामान्य दैनिकीमा हुने यस्तै दृश्य फिल्ममा देखाइन्छ, जसले दर्शकलाई पात्रसँग जोडेर राख्छ । फिल्मभरि पुरुषहरूलाई अधिकांश समय समाजले स्थापना गरिदिएको त्यही 'मसिहा'कै रूपमा चित्रित गरिएको छ । जो महिलालाई संरक्षण र सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान पाएर हुर्केका छन् ।
विष्णुको दृष्टिकोणबाट कथा भनिए पनि 'सेप अफ मोमो'मा सबै चरित्रलाई उत्तिकै न्याय दिइएको छ । अथवा भनौं, सबै चरित्रको लेखन उतिकै चुस्त छ, मूल कथामा सुन्दर ढंगले बुनिएको छ । जुनु हरेक पटक 'प्रवेशको घरमा यस्तो, उस्तो' भन्दै पतिको बखान गर्छिन् । विवाहित भइसकेकी कोही महिला, किन आफ्नो पतिको घरलाई आफ्नो भन्न सक्दिनन् ? सम्पत्तिमाथि कसको पकड हुन्छ ? शक्तिमा को हुन्छन् अनि शक्तिहीनहरुको अवस्था कस्तो हुन्छ ? वैवाहिक महिलाको परनिर्भर अवस्था यहाँ जुनुमार्फत देखाइएको छ ।
बुढेसकालमा परदेशी छोरालाई पर्खिरहेको आमा होस् या, पितृसत्तात्मक समाजसँग मिलेर बस्न चाहने गुरुआमा, यो फिल्मले समाजमा रहेका महिलाका फरक-फरक स्वरूप सुन्दर शैलीमा पस्कन्छ । गुरुआमा आफूले गर्न नसकेको समाजविरुद्धको विद्रोह विष्णुले गरुन् भन्ने चाहन्छिन् । तर, आफू भने पितृसत्ताको नियममा अभ्यस्त भइसकिन् । ‘झेल्नुपर्छ, सहनुपर्छ,’ भन्ने नियममा ।
कौसीमा दौडिरहने महिला पात्र होस् या नेपाल फर्केकी साइँली आन्टी(जानकी कडायत), महिलाहरूको शक्ति, जोखिमपनदेखि उनीहरूलाई खराब चित्रित गर्नसमेत पनि परेकी छैनन्, निर्देशक त्रिवेणी । यी पात्रहरूलाई हेर्दा लाग्छ, यी महिला हाम्रै आमा, दिदीबहिनी र आन्टीहरू हुन् । नेपालबाट आएकी साइँलीलाई कथामा नकारात्मक देखाइँदा अलिकति चित्त त दुख्छ । फेरि आफ्नो सन्तानका लागि एक महिलाले लिएको निर्णयले त्यो कम गराइदिन्छ ।
अब मोमोका कुरा ! यो फिल्ममा मोमोको बिम्ब निकै मिठो छ । आखिर मोमो त मोमो हो, मिठो नहुने कुरै भएन ! फेरि मोमोको आकारै सुन्दर । विष्णुको परिवारमा उनीबाहेक सबैले मोमोको सुन्दर आकार बनाउन जानेका छन् । तर, विष्णुले बनाउने मोमो सधैँ - 'सेप न ढेपको'(बांगोटिंगो) । मोमोको आकार नमिल्दा जुनु दिदीलाई चिढ्याउँछिन् । आफूले बनाएको मोमोमाथि मजाक हुँदा विष्णु एउटै जवाफ दिन्छिन्, 'सेप नमिलेर के त, मोमो त मोमो हो ।' विष्णुको यो जवाफले समाजको ढाँचामा नचल्नेहरूलाई हेरिने फरक नजरमाथि प्रहार गर्छ ।
महिलाका लागि तोकिएको नियम र बन्धनमा नबस्ने विष्णुलाई गुरुआमाको समाजले स्वीकार्दैन । बरु भनिदिन्छ- छोराजस्तै । यहाँ बिग्रिएको मोमोको प्रतिबिम्ब हुन्, विष्णु । उनी समाजको आकार र प्रकारमा अटाउँदिनन् । विष्णुलाई सहनुपर्छ र झेल्नुपर्छ भन्ने लाग्दैन, उनी आँखैअगाडि भएको बठ्याइँमाथि प्रश्न गर्न सक्छिन्, झर्किन सक्छिन् । सबैभन्दा मुख्य, निर्णय लिन सक्छिन् । समाजले तोकिदिएको नियमभित्र नअटाउने यही विष्णुको आफ्नै नियम छ, 'सेप नमिलेर के भो ?' यही मान्यतामा उभिएर उनी हरेक पटक पितृसत्ताले तोकिएको नियम र बन्धनहरू तोड्छिन् । उक्त नियम र ढाँचामा नचल्दा, समाजले उनलाई छोराको संज्ञा दिन्छ ।
जुनुले 'छोरा' पाउन गरेको पूजापाठ होस् या, सुन्दै गरेको 'पोडकास्ट' यो फिल्मले पितृसत्ताले पुरुष र महिलाबीच कस्तो भिन्नता कायम गरिदिन्छ ? मोमोभित्रको किमाजसरी मिहिन तरिकाले केलाउँछ ।
छोरीलाई छोरीकै रूपमा स्वीकार्न पनि एक पटक सबैले त्रिवेणीको यो फिल्म हेर्नै पर्छ ।
