अमेरिकामा अहिले ‘ब्याकरूम्स’ र ‘अब्सेसन’ बक्सअफिसमा सर्वाधिक व्यापार गर्नेको सूचीमा पहिलो र दोस्रो नम्बरमा छन् । १० लाख डलरसम्ममा बनाइएको ‘अब्सेसन’ले दुई सातामा १५ करोड कमाएको छ भने १ कराेड बजेटको ‘ब्याकरूम्स’ ले ३ दिन नहुँदै १२ कराेड डलर उठाइसकेकाे छ ।
What you should know
लस एन्जलस — स–सना भिडियो कन्टेन्ट बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गर्दै आएका फिल्मले नै यतिबेला अमेरिकाको बक्सअफिसमा रेकर्डतोड व्यापार गरेका छन् । कम बजेटका ती फिल्मले यतिबेला विश्व सिनेमाको बजारको परिभाषालाई नै बदलिदिएको मात्रै छैन, फिल्म निर्माणको भविष्यलाई पनि परिवर्तन गर्ने अनुमान लगाइएको छ ।
अमेरिकामा अहिले दुई जेन–जी पुस्ताका निर्देशकका फिल्म ‘ब्याकरूम्स’ र ‘अब्सेसन’ क्रमशः बक्सअफिसमा सर्वाधिक व्यापार गर्नेको सूचीमा पहिलो र दोस्रो नम्बरमा छन् । जबकी ‘ब्याकरूम्स’ का निर्देशक किम पार्सन्स मात्र २० वर्षका भए भने ‘अब्सेसन’ का निर्देशक करी बार्कर २६ वर्षका । दुवैले यूट्युबमा कन्टेन्ट हाल्दै जाने क्रममा फिचर फिल्म निर्माणको कला सिकेका थिए । १५ मेदेखि थिएटरमा लागेको हरर जनराको ‘अब्सेसन’ लाई मात्र साढे ७ लाखदेखि १० लाख डलरसम्ममा बनाइएको थियो, जून फिल्मले दुई सातामा नै १५ करोड कमाई गरिसकेको छ । कम बजेटको उक्त फिल्मलाई प्रोडक्सन कम्पनी ब्लूमहाउसले केवल अनलाइन मार्केटिंग मात्रै गरेको थियो ।
त्यस्तै, ‘अब्सेसन’ प्रदर्शनको दुई सातापछि अर्थात २९ मेदेखि अमेरिकी थिएटरमा आएको ‘ब्याकरूम्स’ लाई १ करोड डलर खर्चेर बनाइएको थियो । यसमा मार्क डुप्लास, रेनेट रेन्स्वी जस्ता चल्तीका कलाकार छन् । साइकोलोजिकल हरर जनराको यस फिल्मले उत्तरी अमेरिकामा पहिलो सप्ताहन्तको तीन दिनमा नै निर्माण लागतको आठ गुणा बढी (आठ करोड डलर) को कमाई गर्दै बक्सअफिसमा पहिलो स्थानमा छ । अधिकांश जेन–जी पुस्ताका दर्शकले हेरिरहेको यस फिल्मले विश्वव्यापीरूपमा भने १२ करोड डलरको व्यापार गरिसकेको छ । यसको वितरक कम्पनी स्टुडियो ए२४ ले सुरुवातमा फिल्मलाई थिएटरमा रिलिज गराउनै संघर्ष गर्नुपरेको थियो । कम बजेटको फिल्म, २० वर्षका युट्यबरको निर्देशन रहेको ‘ब्याकरूम्स’ लाई प्रदर्शक (हलवाला) ले पनि पत्याएका थिएनन्, तर नपत्याउने खोलाले यतिबेला बक्सअफिसमा दर्शकको बाढी नै ल्याईदिएको छ ।
‘ब्याकरूम्स’ ले बक्सअफिसमा पहिलो स्थान कब्जा जमाएपछि दोस्रोमा धकेलिएको ‘अब्सेसन’ पछि स्टार वार्सको ‘द म्यानडालोरियन एन्ड ग्रोगु’ छ । साढे १६ करोड बजेटको यस फिल्मले अघिल्लो साता नै रिलिज भएको ‘अब्सेसन’ लाई समेत जित्न सकेन । थिएटरमा उर्लिरहेका युवा पुस्ताका दर्शक भने जेन–जी निर्देशकका फिल्म हेर्न मात्रै आकर्षित भइरहेका छन् । यतिबेला हलमा देखिएका दर्शक पूर्णत नयाँ भएको र उनिहरु समान्यतया फिल्म हेर्न हलसम्म आउने गरेको नपाइएको हलवालाको भनाई छ । यसलाई हलिउडले निकै ध्यानपूर्वक हेरिरहेको र धेरै फिल्म निर्माण स्टुडियोहरूले यी दुई फिल्मको निर्माण मोडेललाई पच्छ्याउन सक्ने अनुमान गरिएको छ ।एक्जिट पोलहरूका अनुसार, ‘ब्याकरूम्स’ हेर्न हल आउने दर्शकहरुमा ८६ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् । जसमा २५ वर्ष भन्दा कम उमेरका आधा भन्दा बढि छन् भने २१ भन्दा कमका ४४ प्रतिशत रहेको बताइएको छ ।
धेरैजसो फिल्महरूका लागि ‘ओपनिङ विकेन्ड’ नै सबैभन्दा बढी कमाउने समय हुन्छ, त्यसपछि टिकट बिक्री घट्दै जान्छ । तर ‘ब्याकरूम्स’ र ‘अब्सेसन’ दुवै फिल्मका व्यापार भने बढ्दै गइरहेको छ । ‘अब्सेसन’ को वितरक कम्पनी फोकस फिचर्सले क्रिसमसको ‘फेष्टिभ मुड’ मा बाहेक दोस्रो र तेस्रो विकेन्डमा फिल्मको व्यापार झन् बढ्ने सन् १९८२ यताको यो नै पहिलो फिल्म भएको दाबी गरेको छ । फिल्मको थिएट्रिकल व्यापारमा आएको आकस्मिक चमकको अर्थ के हो ? यसको मतलब टिकटक र युट्युबमा झुन्डिने अहिलेका युवाहरू खासगरी जेन–जी पुस्ता टिकट किनेर थिएटरमै फिल्म हेर्न तयार छन्, यदि उनीहरूले यूट्युबमा देखे चिनेका सर्जकले नै फिल्म बनाए भने । यसको मतलब हलिउड स्टुडियोहरूले ‘अब्सेसन’ र ‘ब्याकरूम्स’ को सफलतालाई पछ्याउँदै अनलाइन भिडियो साइटहरूमा अरू त्यस्तै फिल्ममेकरको खोजी थाल्नेछन् । यसले फिल्म स्टुडियोहरूल फ्रेन्चाइज र सिक्वेलमा भन्दा मौलिक कथाबस्तुका फिल्ममा लगानी बढाउन सक्ने पनि सम्भावना देखाएको छ ।
‘यी दुई फिल्मको व्यवसायले एउटा आशाको किरण बालिदिएका छन्,’ ‘ब्याकरूम्स’ मा वैज्ञानिकको भूमिकामा रहेका डुप्लासले सामाजिक सन्जालमा एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘हामीसँग सर्जकले आफ्ना विचार र कुराहरू विकास गर्न, त्यसलाई अनलाइनमा राखेर आफ्ना दर्शक वृत्त निर्माण गर्न यसले उदाहरणीय काम गरेको छ । उनले अब पैसा भएकाहरूले यस्ता कन्टेन्टमा लगानी गर्न ध्यान दिनुपर्ने पनि बताए ।
३० जनबरीमा प्रदर्शनमा आएको यूट्युबर मार्क फिसब्याकको सेल्फ–फाइनान्स्ड फिल्म ‘आइरन लङ्ग’ ले पनि बक्सअफिसमा उल्लेख्य मात्रामा टिकट बेचेर कम बजेटका फिल्मको पनि व्यापारिक सम्भावनालाई जगाइदिएको थियो ।
