२३औँ किम्फ सम्पन्न: 'द ओल्डेस्ट मुन्रो ब्यागर' र 'द इलिसियन फिल्ड' उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय पर्वत चलचित्र महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन भएका थिए । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई नगद पुरस्कार प्रदान गरियो।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

23rd Kimf Awards: 'The Oldest Munro Bagger' and 'The Elysian Fields' Best

काठमाडौँ — काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आइतबार सम्पन्न भएको छ । 

महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिएका थिए । 

महोत्सवममा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार 'द ओल्डेस्ट मुन्रो ब्यागर' ले प्राप्त गरेको  छ । पुरस्कारबापत फिल्मले १ हजार ५ सय अमेरिकी डलर नगद जित्यो। यस्तै, 'द एन्टी एक्सपेडिसन' उत्कृष्ट लघु वृत्तचित्र घोषित हुँदै १ हजार अमेरिकी डलर नगद पुरस्कारको विजेता बन्यो ।

फिक्सनतर्फ 'हा लिङ्खा ब्नेङ' उत्कृष्ट फिचर फिक्सन घोषित हुँदै १ हजार ५ सय अमेरिकी डलर जित्न सफल भयो । 'अली' उत्कृष्ट लघु फिक्सन घोषित हुँदै १ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्‍यो ।

भारतकी चलचित्र कार्यक्रम संयोजक दीप्ती डी कुन्हाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी र इटालीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच सहभागी थिए । नेपाल पानोरमा खण्डअन्तर्गत 'माई मम इज अ बडीबिल्डर' उत्कृष्ट वृत्तचित्र घोषित भयो भने 'साँझका रङ्गहरू'उत्कृष्ट फिक्सन पुरस्कारबाट सम्मानित भयो । यी दुवै चलचित्रले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

नेपाल पानोरमा खण्डको मूल्याङ्कन फ्रान्सेली सांस्कृतिक संस्था एलायन्स फ्रान्सेज काठमाडौंकी सांस्कृतिक तथा सञ्चार संयोजक लुसी दे बारोस, नेपाली चलचित्रकर्मी नवीन चौहान तथा चलचित्र पत्रकार एवं समालोचक रीना मोक्तान सम्मिलित टोलीले गरेको थियो ।

१ लाख रुपैयाँ राशिको चर्चित 'अडियन्स च्वाइस' जापानी निर्देशक साकामोटो जुन्जीको चलचित्र 'क्लाइम्बिङ फर लाइफ' ले प्राप्त गर्‍यो । यो चलचित्र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईको जीवनमा आधारित छ ।

किम्फको यो संस्करण त्रिवेणी राई निर्देशित 'शेप अफ मोमो' को नेपाल प्रिमियरसँगै उद्घाटन गरिएको थियो । 

कान्तिपुर

Link copied successfully