यो फिल्मको मुख्य समस्या नै ‘समस्या’ नहुनु हो । प्रमुख पात्रले सामना गर्ने द्वन्द्व कमजोर छ । फिल्ममा प्रमुख पात्र जति धेरै समस्यामा जकडिंदै जान्छन् र त्यसबाट पार पाउन के कस्ता सामना गर्छन्, त्यसमै दर्शकको ध्यान अडिन्छ । तर, ‘मितज्यू’मा मुख्य पात्रले समस्याको खासै सामना गर्न पर्दैन, परेपनि क्षणभरमै हल भइहाल्छ ।
What you should know
काठमाडौँ — फिल्म ‘मितज्यू’मा एउटा दृश्य छ । जहाँ जयराम (सौगात मल्ल) को भेट मितिनी उजेली (तेरिया मगर) सँग हुन्छ । त्यो पनि घरको आगनमै । यी दुईको भेट हुँदा क्यामेराले दुईबीच ठिंग उभिएको बुख्याचा देखाउँछ । बुख्याचा यहाँ जयरामको पाखण्डिपनको प्रतिनिधित्त्व हो । भित्र एउटा बाहिर अर्को –अर्थात अनुहारमा मुकण्डो लगाएको मान्छे !
भित्री मनदेखि उजेलीलाई मितिनी मान्दैनन्, जयराम । पहिल्यैदेखि उजेलीमाथि गिद्दे नजर लगाएको जयराम मित आत्मरात (दयाहाङ राई)सँगको सम्बन्धले मात्रै उजेलीलाई मितिनी मान्छ । भित्रको वास्तविक अनुहार लुकाएर मितको स्वरुप धारण गरेको जयरामको त्यही नक्कली पहिचानको व्यंग्य हो, उनीहरुबीच उभिएको बुख्याचा ।
हलमा प्रदर्शनरत फिल्म ‘मितज्यू’ यस्तै बिम्बहरुले भरिएको छ । गाडीमा टाँसिने सवारी साहित्य होस् या जीपमा टाँसिएको विभिन्न दलका झण्डा । फिल्ममा बिम्बद्वारा नै कथा भनिएको छ । तर, बिम्बको प्रयोगले मात्रै फिल्म बेजोड बन्ने हाेइन । ती बिम्बको अर्थ र फिल्मकाे कथाबीच तादात्म्य मिल्यो भने दर्शकबीच सही संचार हुँदा कथावस्तु र पात्रहरुमा उनिहरुले आफूलाई समानूभूत गर्ने थिए । या सहानुभूत गर्ने थिए । तर, कमजोर कथा वाचन र प्रस्तुतिकरणले ‘मितज्यू’ को दृश्य कथासँग दर्शक उतिसारो बाँधिदैनन् ।
सुरुवातमा फिल्मको कथाका कुरा । अनिल बुढामगर निर्देशित 'मितज्यू' पुरुष दृष्टिकोणबाट भनिएको आत्मरामको कथा हो । आत्मरामले ऋण काढेर जीप किनेका छन् । जेलबाड, सुलीचौर र घोराहीको रुटमा कुदाउन । तर, जीपको ऋण उकास्न नपाउँदै आत्मरामलाई बैंकको फोन तारन्तार आउन थाल्छ । जीप कुदाएरै ऋण तिर्ने आत्मरामको सपनामा बाधा पुर्याउन आइपुग्छन्, जयराम र फट्टे (शिशिर वाङ्देल) । एउटै रुटमा जीप चलाउने भएर होला, यी तीनबीच अनौठो प्रतिस्पर्धा चलिरहन्छ । जयराम र आत्मरामबीच त सँधै झगडा मात्रै हुन्छ । यी दुईबीचको त्यही झैझगडा कम गर्न जलजला यातायात समितिका अध्यक्ष बिराजमान विष्ट (सुवर्ण थापा) ले मित लगाइदिने जुक्ती निकाल्छन् । स-साना कुरामा निहुँ खोजेर लड्दै हिँड्ने यी दुईको साँढे जुधाई मितेरी साइनोपछि के साम्य होला ? बुझ्न ‘मितज्यू’ नै हेर्नुपर्ने हुन्छ।
यो फिल्मको प्रमुख समस्या नै ‘समस्या’ नहुनु हो । अर्थात फिल्ममा प्रमुख पात्रले सामना गर्ने द्वन्द्व कमजोर छ । फिल्ममा प्रमुख पात्र जति धेरै समस्यामा जकडिंदै जान्छन् र त्यसबाट पार पाउन के कस्ता सामना गर्छन्, त्यसमै दर्शकको ध्यान अडिन्छ । तर, ‘मितज्यू’मा भने आत्मरामले समस्याको खासै सामना गर्नै पर्दैन । आत्मरामको अगाडि केहीबेर समस्या त आइपुग्छ, तर त्यसको हल क्षणभरमै भइहाल्छ ।
उदाहरणका लागि, बैंकले जीपको ऋण निखन्न गर्ने किचकिच । हरेक पटक समस्याका केही न केही समाधान भेटिन्छन्, त्यो पनि सजिलै । बैंकले जीपै हडप्न लाग्दा पनि जयरामले केही गर्नै पर्दैन । बिराजमानको सहयोगले उनी त्यो समस्याबाट पार भइरहन्छन् । खासमा फिल्मको प्रमुख पात्रले त जीवनका यस्ता ठूल्ठूला समस्या समाधानका लागि संघर्ष गर्नुपरिरहे पो ‘अब के होला’ भन्दै दर्शक कथामा बाँधिन्थे त । तर, मुख्य चरित्रले सबै समस्याको समाधान सहजै प्राप्त गर्दै जाँदा ‘मितज्यू’ले दर्शकको ध्यान तान्ने त्यो बलियो पक्ष नै गुमाएको छ ।
यो फिल्ममा केही चरित्रलाई निकै तन्काइएको छ । जस्तै, जलजला यातायात समितिको अध्यक्ष बिराजमान । उनी अधिकांश दृश्यमा बिराजमान भइहाल्छन् । जयराम र आत्मरामलाई मित बनाउने निहुँ त सुहाउँदो नै देखिन्छ । तर, त्यसबाहेक हरेक बहानामा जयराम र आत्मरामबीचका दृश्यमा उनी टुप्लुक्क देखा पर्छन् । जबकी ती दृश्यमा यो चरित्रको आवश्यकता खासै देखिदैन । आवश्यक नै नभएका ठाउँहरुमा बिराजमानलाई महत्त्व दिइएको छ । आत्मरामलाई कुनै समस्या पर्यो – बिराजमान टुप्लुक्क आइपुग्छ । यो चरित्रको ठाउँमा फट्टेलाई महत्त्व दिइएको भए, कथामा उत्पन्न समस्या अझ मज्जाले बुझ्न सकिन्थ्यो । जस्तै, फिल्ममा फट्टेलाई जयराम र आत्मरामको सम्बन्धमा समस्या ल्याइदिने चरित्रका रुपमा उभ्याइएको छ । तर, यो चरित्र यी दुईको दुष्मनीबाट के फाइदा लिन चाहन्छ ? यो पात्रको पृष्ठभूमी र उद्देश्यतर्फ फिल्मले समय खर्चन उचीत ठानेकाे छैन । तर, यो चरित्रको पृष्ठभूमी नखोतलिँदा उनको उपस्थिति पनि कमजोर लाग्दै जान्छ ।
उजेली बनेकी तेरिया मगरको चरित्र चित्रणमा पनि उस्तै समस्या भेटिन्छ । फिल्मभरी अधिकांश समय यो चरित्र पतिसँग रोइकराइ गरिरहन्छिन् । उनलाई रक्सीको मातमा मस्त डुबेको देखाइन्छ । हरेक पटक घर फर्कँदा रक्सीमा चुर्लुम्म डुबेर फर्कन्छिन् । तर, आत्मरामलाई त्यसको खासै परवाह छैन । उजेलीले आत्मरामबाट ओच्छ्यानमै सुख भोग पाएकी छैनन् । पतिसँग उनका थुप्रै गुनासा छन्, जुन आँखामा आँशु बनेर छचल्किन्छ । तर, लामो समय यो पात्रलाई झगडालु, जँड्याहा देखाइरहँदा उजेलीले यस्तो गर्नुका कारणबारे भने फिल्मले खासै बोल्दैन । अन्ततिर कारण खुलाउने प्रयास हुन्छ, तर त्यतिञ्जेलसम्म यो चरित्रबाट दर्शक टाढा पुगिसकेका हुन्छन् ।
तर, भन्नैपर्छ– फिल्ममा तेरियाले सुन्दर अभिनय गरेकी छन् । रोल्पाको लवज, अनि चरित्रको हाउभाउ पक्रेर उनी उजेली बनेकी छन् । संवादमै पनि त्यो परिपक्वता समातेकी छन् । अभिनयमा अब्बल कलाकारहरुमाझ तेरियाले पनि अब्बल अभिनय पस्केकी छन् । उजेलीका भोगाई होस् या गुनासा, अनुहारमै त्यसलाई प्रस्तुत गर्छिन् ।
जे होस्, ‘मितज्यू’मार्फत नेपाली फिल्म क्षेत्रले संभावना बोकेको कलाकार प्राप्त गरेको छ । छोटो भूमिकामै पनि पवित्रा खड्काले आफूलाई बेजोड प्रस्तुत गर्छिन् । उनले वाचन गर्ने कविता होस् या भावभंगी, युद्धले दिएको चोट र घाउहरुको प्रतिबिम्ब हुन्, सरस्वती परियार (पवित्रा) । यो फिल्मबाट सौगात मल्लले भने फेरि आफ्नो अभिनयको जादु पस्केका छन् ।
