बजेटले हल व्यवसायी उत्साहित 

यसअघि बजेटमा निरन्तर दोहोरिँदै आएको काभ्रेको साँगामा निर्माणाधीन चलचित्र छायांकन स्टुडियो र दोलखा फिल्म सिटीलाई भने यो बजेटले समेटेको देखिन्न ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Budget excites hall businessmen

What you should know

काठमाडौँ — सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने व्यवस्था गरेको छ । संघीय संसद्‌मा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दा 'लगानी प्रोत्साहन र संरक्षण'को क्षेत्रमा यो कर छुटको व्यवस्था गरिएको जनाएका हुन् ।  

'महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरुको १० वर्षसम्म पूर्ण रुपले आयकर छुट दिने व्यवस्था मिलाएको छु,' बजेट भाषणमा मन्त्री वाग्लेले भने । 

बजेटले हल स्थापना गर्नेलाई आयकर छुटको व्यवस्था गर्दा समग्र फिल्म क्षेत्रमा उत्साह थपिएको छ । हलहरुको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन यो व्यवस्थाले हल व्यवसायीलाई प्रोत्साहन गर्नुका अलाव हलै नपुगेको ठाउँमा विस्तार गर्ने उत्साह मिलेको बताउँछन् । 'नेपालका कति नगरपालिकाहरुमा अझै फिल्म हल नै छैन । ती ठाउँहरुमा हल खोल्दा, केही उत्साह मिल्छ कि भन्ने आसा यो सरकारले जगाइदिएको छ,' अध्यक्ष महर्जनले भने ।

महर्जनका अनुसार अहिले नेपालका हल संख्या १ सय ७० पुगेको छ । नरेन्द्रले फिल्म क्षेत्रमा प्रवेश गर्दा त्यतिबेला ४ सय ५० हल थिए । तर, समयसँगै हल संख्या घट्दै आयो । कोभिडकालमै पनि १८ हल बन्द भएका थिए । तर, सरकारले नयाँ हल खोल्ने व्यवसायीलाई ल्याएको यो कर छुटको सहुलियतले हलको संख्या बढ्नेमा उनी आशावादी देखिन्छन् । 'अब यो बजेटका कारण कतिपय नगरपालिकामा हल बन्यो भने यसले प्रोत्साहन गर्ला भन्ने आशा गरेको छु,' अध्यक्ष महर्जनले भने । 

'पशुपति प्रसाद' निर्देशक दीपेन्द्र के खनाल आफूहरुले लामो समयदेखि उठाउँदै आएको हल व्यवसायीको विषय बजेटमा समेटिँदा उत्साहित देखिन्छन् । यसले हल नबनेको ठाउँमा हल खोल्न प्रोत्साहन मिलेको र समग्र फिल्म क्षेत्रकै आयतन फराकिलो बनाइदिएको खनालको भनाइ छ ।

'बजेटमा आउनुभन्दा अगाडिदेखि नै हामी फिल्मकर्मीले माग गर्दै आएको विषय हो-हल बढाउनु पर्‍यो भन्ने । हल बढे न व्यवसाय बढ्छ । हामीकहाँ यस्ता थुप्रै ठाउँ छन् जहाँ अझै फिल्म हल पुगेका छैनन् । यसले चलचित्र क्षेत्रको आयतन फराकिलो बढाउने देखिन्छ,' निर्देशक खनालले भने, 'झट्ट हेर्दा बजेट हलवालाको पक्षमा देखिन्छ । तर, यसले समग्रमा नेपाली फिल्म क्षेत्रकै दायरा फराकिलो बनाइदिएको छ ।' खनाल अब आफूले बनाउने फिल्मलाई धेरैभन्दा धेरै दर्शकबीच देखाउन पाउनेमा आशावादी छन् । 'हामीले धेरै हलमा फिल्म देखाउन पाउँदा त पैसा पनि धेरै बटुल्न पाउने हो । हलको संख्या बढाउनु नै हाम्रो आवश्यकता हो,' खनाल भन्छन् ।

हल बढ्दा, फिल्मको व्यवसाय बढ्ने अनि त्यसको प्रभाव फिल्मकर्मीको सिर्जनामा पर्ने हुँदा सरकारले हल खोल्नलाई दिएको कर छुटको व्यवस्था स्वागतयोग्य भएको खनालको तर्क छ । 

निर्देशक मनोज पण्डित बजेटले हल व्यवसायी मात्रै नभई समग्र फिल्म क्षेत्रलाई नै प्रोत्साहन मिलेको बताउँछन् । चलचित्र सेन्सर बोर्डका सदस्य रहेका पण्डित हल बढ्दा सिर्जनात्मक क्षेत्रलाई पनि योगदान पुग्ने बताउँछन् । 'नेपालमा अब धेरै हल बन्ने संभावना देखियो । हल बनाउन व्यापारी उत्साहित हुने देखियो । हल व्यवसायीलाई उत्साहित बनाएको यो बजेटले फिल्मको सिर्जनात्मकतामा पनि योगदान दिने देखियो,' पण्डितले भने ।

बजेटले लगानी गर्नेहरुलाई उत्साहित बनाउँदा यसले फिल्म क्षेत्रलाई उद्योगको अवधारणातर्फ अगाडि बढाएको पनि पण्डितको धारणा छ । 'फिल्म भनेको संस्कृति मात्रै होइन, सिर्जनात्मक व्यापार पनि हो । त्यसले गर्दा त्यसमा लगानी गर्नेलाई प्रोत्साहन दिनु त ठूलो योगदान नै हो,' उनले भने । 

निर्देशक नवीन सुब्बा यसअघि फिल्मकर्मीको समूहले बजेटमा समावेश गर्नुपर्ने भन्दै बुझाएको १३ बुँदे करार पत्रको विषयको एउटै बुँदालाई मात्रै नयाँ सरकारको बजेटले समेटेको बताउँछन् । 'हामीले यो क्षेत्रको समग्र विकासको लागि आवश्यक भौतिक संरचना निर्माण, दक्ष जनशक्ति निर्माण र बालबालिका, महिला, आदिवासी, दलित, मधेसी, पिछडिएको समुदाय र क्षेत्र विशेष संरचना निर्माणको लागि पञ्चवर्षीय नेपाली चलचित्र परिमार्जन (रिफर्म) परियोजनाका लागि बजेट छुट्याउने माग राखेका थियौं । तर त्यसमध्यको एउटा विषय मात्रै अहिले समेटिएको छ,' निर्देशक सुब्बाले भने ।

निर्देशक सुब्बा आफूहरुले फिल्मका ठूला कार्यक्रम गर्नका लागि सरकारले फिल्म ग्राम (त्यस्तो निश्चित ठाउँ, जहाँ कला प्रदर्शन गर्न सकियोस्) योजना अगाडि बढाउनुपर्ने माग गरे पनि बजेटमा त्यो नसमेटिएकोमा गुनासो गर्छन् । 'बुसान फिल्म सेन्टर भनेजस्तै हामीकहाँ पनि ग्राम हुनुपर्‍यो भन्ने योजना हामीले सरकारसामु पेस गरेका थियौं । तर, केही पनि समेटिएन,' निर्देशक सुब्बाले भने, 'बालाजुमा रहेको चलचित्र विकास कम्पनीको जग्गालाई सरकारले आफ्नो स्वामित्वमा लिएर फिल्म ग्रामको योजना अगाडि बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।' 

यसअघि बजेटमा निरन्तर दोहोरिँदै आएको काभ्रेको साँगामा निर्माणाधीन चलचित्र छायांकन स्टुडियो र दोलखा फिल्म सिटीलाई भने यो बजेटले समेटेको देखिन्न । सुब्बा फिल्मकर्मीका लागि इन्डोर स्टुडियोको आवश्यकता देख्छन् । 'इन्डोर स्टुडियो आवश्यक नै हो । त्यसको काम निरन्तर नै भइरहेको होला,' सुब्बाले भने । 

कान्तिपुर

Link copied successfully