राजनीतिक आबद्धता देखिएको भन्दै ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ बाट बाहिरिँदै कलाकार

कार्यक्रमको आयोजक ‘फ्रीडम २५०’ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको आबद्धता पाइएपछि कार्यक्रम राष्ट्रका लागि निष्पक्ष नभई राजनीतिक पक्षधरता देखिएको भन्दै योङ एमसी, मोरिस डे, द कमोडोर्स र मार्टिना म्याकब्राइड जस्ता चर्चित कलाकारहरूले आफूहरू सहभागी नहुने जनाएका छन् ।

जेष्ठ १५, २०८३

एजेन्सी

Artist pulls out of 'The Great American State Fair' over apparent political affiliation

न्युयोर्क — संयुक्त राज्य अमेरिका स्थापनाको २ सय ५० औं वर्षगाँठका अवसरमा आयोजना गर्न लागिएको ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ मा प्रस्तुती दिने भनिएका कतिपय गायक/गायिकाले आफ्नो नाम सूचीबाट झिकेका छन् । 

आगामी २५ जूनदेखि १० जुलाईसम्म लगातार १६ दिन वासिङ्टनस्थित नेसनल मलमा मनाउन लागिएको राष्ट्रिय दिवसका लागि प्रस्तुती दिने कलाकारको पहिलो सूची विहिबार सार्वजनिक गरिएको थियो । तर उक्त कार्यक्रमको आयोजक ‘फ्रीडम २५०’ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको आबद्धता पाइएपछि उक्त कार्यक्रम सुरु हुनु एक महिना अघिदेखि नै विवादमा मुछिएको छ । प्रस्तुती दिने कलाकारहरूले कार्यक्रम राष्ट्रका लागि निष्पक्ष नभई राजनीतिक पक्षधरता देखिएको भन्दै आफ्नो सहभागीता नजनाउने सार्वजनिक घोषणा गरेका हुन् । जसमा योङ एमसी, मोरिस डे, द कमोडोर्स र मार्टिना म्याकब्राइड जस्ता चर्चित कलाकारहरूले आफूहरू उक्त कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेका छन् । 

Artist pulls out of 'The Great American State Fair' over apparent political affiliation

ग्रामी अवार्ड विजेता ‘बुस्ट अ मुभ’ का चर्चित र्‍यापर योङ एमसीले २६ जूनमा आफ्नो प्रस्तुती दिने सूचीमा उल्लेख छ भने ‘जंगल लभ’ र ‘द बर्ड’ जस्ता कालजयी गीतका सर्जक मोरिस डेले त्यसको भोलीपल्ट प्रस्तुती दिने तय थियो । त्यसैगरी, ‘ब्रीक हाउस’, ‘इजी’, ‘थ्री टाइम्स अ लेडी’ जस्ता हिट नम्बर दिईसकेको लिजेन्डरी ब्यान्ड ‘द कमोडोर्स’ ले पनि २७ जून तथा ‘इन्डिपेन्डेन्स डे’ गायिका ग्रामी मनोनीत मार्टिना म्याकब्राइडले उद्घाटन सत्रमा नै प्रस्तुती दिने बताइएको थियो । पहिलो सूचीमा नौ जना कलाकार तथा ब्यान्डको नाम सार्वजनिक गरिएकामा चार जनाले त्यसको भोलीपल्टै आफ्नो सहभागीता नहुने जनाइसकेका छन् ।  

‘यसअघि मलाई यो एउटा अमेरिकाका विभिन्न राज्यहरूको कला र संस्कृति झल्काउने ठूलो स्टेट फेयर हो भनिएको थियो,’ कन्ट्री सिंगर म्याकब्राइडले आफ्नो सहभागीता नहुनुको कारण खुलाउँदै सामाजिक सन्जालमार्फत भनेकी छन्, ‘तर यसको भित्री उद्देश्य राजनीतिक रहेको थाहा पाएपछि मैले मेरा फ्यानहरूलाई भ्रममा राख्न चाहिनँ र आजसम्मको मेरो तटस्थता र सांगीतिक मूल्य मान्यता जोगाउन नाम फिर्ता लिएकी हुँ ।’

Artist pulls out of 'The Great American State Fair' over apparent political affiliation

उक्त कार्यक्रममा सहभागी प्रस्तुतकर्ताको नाम सार्वजनिक भएपछि सामाजिक सन्जालमा यसले ठूलो बहस खडा गरिदिएको थियो । खासगरी यसको आयोजक संस्था ‘फ्रीडम २५०’ राष्ट्रपति ट्रम्पद्वारा निर्देशित रहेको र यसका सीईओ किथ क्राच ट्रम्प प्रशासनकै पूवै उच्च अधिकारी हुन् । यसअघि यही संस्थाले मेमहिनामा नै आयोजना गरेको ‘रिडेडिकेट २५०’ नामक धार्मिक कार्यक्रममा जेडी भान्स, मार्को रुबियो र माइक जोन्सन जस्ता कट्टर कन्जर्भेटिभ राजनीतिक नेताहरु सहभागी थिए । उक्त कार्यक्रममा ट्रम्पले भिडियो सम्बोधन गरेका थिए । यतिबेला ‘फ्रीडम २५०’ लाई ट्रम्पले अमेरिकाको २५० औं स्थापना दिवस मनाउने आवरणमा आफ्नो राजनीतिक एजेन्डा स्थापित गर्न खोजेको भन्दै चर्को आलोचना भईरहेको हो । 

र्‍यापर योङ एमसीले पनि मिडियासँग कुरा गर्दै आफुलाई कार्यक्रम गैर राजनीतिक उत्सव भन्दै झुक्याईएको टिप्पणी गरेका छन् । ‘हामीलाई कुनै राजनीतिक संलग्नताको बारेमा बताइएको थिएन । यो सरासर हामीलाई भ्रममा राखेर गरिएको सम्झौता हो’ उनले भने । त्यसैगरी, ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ का लागि आफ्नो नाम बिना अनुमति सूचीमा राखिएको भन्दै पप ब्यान्ड ‘मिली भ्यानिली’ की सदस्य जोडी रोक्कोलेसमेत आश्चर्य प्रकट गरेकी छन् । त्यसो त सोही ब्यान्डका फ्याब मोर्भानले भने प्रस्तुति दिने बताएका छन् । 

ट्रम्प राष्ट्रपति भएर आएदेखि नै अमेरिकाको राजनीतिले कलाकार समेत ध्रुवीकरणमा परिरहेका छन् । पछिल्लो राजनीतिक विभाजनको शिकार भएर कुनै एक पक्षको समर्थन गर्दा करिअरमा नै नकारात्मक असर पर्न सक्ने जोखिमले चर्चित कलाकारहरु यस्ता पक्षधरतापूर्ण कार्यक्रमबाट धमाधम हात झिकेका हुन् । 

म्याकब्राइडलगायतका कलाकारहरूले ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ बाट आफ्नो नाम झिकेपछि शेरिल क्रो र जेसन इजबेल जस्ता प्रतिष्ठित अमेरिकी संगीतकर्मीले उनीहरूको निर्णयको स्वागत गरेका छन् । तर अझै पनि भ्यानिला आइस, फ्लो रिडा र ब्रेट माइकल्स जस्ता कलाकार भने सूचीमा नै छन् । भ्यानिला आइसले त खुलेआम आफु ट्रम्प समर्थक भएको भन्दै २५० औं स्थापना दिवसमा सहभागी हुने बताएका छन् । 

उक्त शोमा सन् १९८० को दशकका चर्चित पप जोडी ‘मिलि भानिलि’ को ब्यान्डले पनि प्रस्तुती दिने बताइएको छ । यसअघि उनीहरूका मुख्य गायकहरू रब पिलाटस र फ्याब मोर्भानले ‘लिप–सिङ्किङ’ गरेको (गीतमा केवल ओठ मात्र चलाएको) खुलासा भएपछि यो ब्यान्ड विवादित बनेको थियो । मिलि भानिलिले सन् १९९० मा नव कलाकारको ग्रामी अवार्ड जितेका थिए, तर यो काण्ड बाहिरिएपछि उक्त पुरस्कार खारेज गरिएको थियो । 

पिलाटसको सन् १९९८ मा निधन भइसकेको छ, भने मोर्भानले एकल गायन यात्रा अगाडि बढाउँदै ‘यु नो इट्स ट्रुः द रियल स्टोरी अफ मिलि भानिलि’ नामक संस्मरण प्रकाशित गरेका छन् । मोर्भानले हालै ‘द गार्डियन’ पत्रिकासँग कुरा गर्दै ‘मिलि भानिलि’ नामको स्वामित्व आफूसँग रहेको बताएका थिए । उनले बिहीबार जारी गरेको एक वक्तव्यमा आफू ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ मा प्रस्तुति दिने बताएका छन् । मोर्भानले भनेका छन्, ‘म यहाँ दर्शकलाई मनोरञ्जन दिन र एकजुट बनाउन आएको हुँ, विभाजित बनाउन होइन । आउनुहोस्, जीवन र सङ्गीतको उत्सव मनाऔं र पुराना यादहरूमा हराऔं । प्रतिष्ठित कलाकारहरूसँगै अमेरिकाको २५० औं वार्षिकोत्सव मनाउने यस ऐतिहासिक अवसरको हिस्सा बन्न पाउँदा म सम्मानित महसुस गरिरहेको छु ।’

यस विषयमा प्रतिक्रियाका लागि बिहीबार गरिएको अनुरोधमा ‘फ्रीडम २५०’ का प्रवक्ताले तुरुन्तै कुनै जवाफ दिएनन् । गत वर्षको अन्त्यतिर ट्रम्पद्वारा सुरु गरिएको ‘फ्रीडम २५०’ ले आफूलाई ‘राष्ट्रको २५० औं स्थापना दिवसको नेतृत्व गर्ने एक राष्ट्रिय, गैर–राजनीतिक संगठन’ को रूपमा व्याख्या गर्ने गरेको छ । ट्रम्प र उनका समर्थकहरूको संगीत क्षेत्रसँग लामो समयदेखि विवादित सम्बन्ध रहँदै आएको छ । सेलिन डियोन, एल्टन जोन र गन्स एन रोजेजलगायत धेरै कलाकारहरूले ट्रम्पका राजनीतिक र्‍यालीहरूमा आफ्ना गीतहरू बजाउन रोक लगाउँदै आपत्ति जनाइसकेका छन् ।

एजेन्सी

Link copied successfully