‘शेप अफ मोमो’ को प्रिमियरसँगै सुरू भयो किम्फ

त्रिवेनी राईको ‘शेप अफ मोमो’ नेपाल प्रिमियरसँगै संस्कृति मन्त्री पौडेलले उद्घाटन गरेका महोत्सवमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन हुँदैछन् ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Kimf begins with the premiere of 'Shape of Momo'

What you should know

काठमाडौँ — काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण बुधबारदेखि ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा सुरू भएको छ ।

निर्देशक त्रिवेनी राईको अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डेब्यु फिचर चलचित्र ‘शेप अफ मोमो’ को नेपाल प्रिमियरसँगै ५ दिने महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले महोत्सवको शुभारम्भ गर्दै चलचित्रका माध्यमबाट गरिने कथावाचन र मौलिक कथाहरूको उत्सव मनाउनु नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको बताए ।

उद्घाटन समारोहमा निर्देशक राईले ‘शेप अफ मोमो’ जस्तो नितान्त व्यक्तिगत कथालाई पर्दामा उतार्न लागेको अनुभव सुनाउँदै किम्फ जस्ता मञ्चहरू नयाँ चलचित्रकर्मीहरूका लागि महत्त्वपूर्ण प्रस्थानबिन्दु बन्ने उल्लेख गरिन् । त्यस्तै, चलचित्र ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाशविक्रम शाहले किम्फबाटै आफ्नो यात्रा सुरु भएको स्मरण गर्दै चलचित्रमा दृश्य पछाडिको वास्तविक अर्थ पहिल्याउनुको महत्त्वमाथि बताए ।

जेठ १७ गतेसम्म चल्ने यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिक्सन, डकुमेन्ट्री, सर्ट फिल्म र एड्भेन्चर विधाका चलचित्रहरू प्रदर्शन गरिँदै छन् ।

महोत्सवकी निर्देशक रम्यता लिम्बुले यस वर्षका चलचित्रहरूले मानव, संस्कृति र द्रुत रूपमा परिवर्तन भइरहेको संसारका विविध पाटाहरूलाई समेटेको जानकारी दिइन् । यसपटक नेपाली रैथाने र उदीयमान चलचित्रकर्मीहरूका सिर्जनालाई प्रोत्साहन गर्न ‘नेपाल पानारोमा’ खण्ड समावेश गरिएको छ ।

महोत्सवको औपचारिक सुरुआत हुनुअघि ‘काठमाडौँ डक ल्याब’ को दोस्रो संस्करणअन्तर्गत ९ वटा दक्षिण एसियाली वृत्तचित्र परियोजनाहरूको लाइभ पिचिङ सेसन समेत सञ्चालन गरिएको थियो, जसलाई दक्षिण एसियाली दिग्गज चलचित्रकर्मीहरूले मेन्टरसिप प्रदान गरेका थिए ।

यस वर्ष नेपाल र स्विजरल्यान्डको द्विपक्षीय सम्बन्धको ७० वर्ष पुगेको अवसरमा स्विस साझेदारी र नेपाली सिनेमाको भविष्यबारे ‘अल्पाइन एलायन्सेज’ विशेष संवाद कार्यक्रम आयोजना गरिनेछ ।

साथै, नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला जुन्को ताबेईको जीवनीमा आधारित जापानी निर्देशक साकामोटो जुन्जीको चलचित्र ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन समेत गरिनेछ ।

कान्तिपुर

Link copied successfully