युरोपियन युनियनको सहयोगमा सञ्चालन हुने १८ महिने प्रशिक्षणमा सातै प्रदेशबाट १४ जना समावेशी युवाहरू छनोट गरिने मण्डलाले जनाएको छ।
What you should know
काठमाडौँ — मण्डला थिएटर नेपालले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम ‘मण्डला ड्रामा स्कुल (एमडीएस) – तेस्रो ब्याच’का लागि देशभरबाट आवेदन खुला गरेको छ ।
नेपालभरिका युवा नाटककर्मी, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ता तयार गर्ने लक्ष्यका साथ यो प्रशिक्षण सुरु गर्न लागिएको हो ।
युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको ‘रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एन्ड आर्ट्स (रङ्ग)’ परियोजनाअन्तर्गत यो कार्यक्रम अगाडि बढाइएको मण्डलाले जनाएको छ । सीमान्तकृत समुदायका युवालाई सिर्जनात्मक अभिव्यक्ति, संवाद र सांस्कृतिक अभ्यासमार्फत सामाजिक रूपान्तरणमा सक्रिय बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको रङ्ग परियोजनाका प्रोजेक्ट म्यानेजर गोविन्द पराजुलीले जानकारी दिए ।
मण्डला ड्रामा स्कुलको तेस्रो ब्याचले विशेषगरी व्यावहारिक नाटक निर्माण प्रक्रिया, समावेशी कथा प्रस्तुति, समुदायसँगको सहकार्य तथा सामाजिक सरोकारयुक्त रंगमञ्चमा केन्द्रित प्रशिक्षण प्रदान गर्नेछ । १८ महिना लामो यस अवधिमा सहभागीहरूले अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रंगमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी गहन अभ्यास गर्नेछन् ।
कार्यक्रमलाई समावेशी र पहुँचयुक्त बनाउन नेपालका सातै प्रदेशबाट प्रत्येक प्रदेशबाट २ जनाका दरले जम्मा १४ जना सहभागी छनोट गरिने मण्डलाले जनाएको छ । यस प्रक्रियामा महिला, एलजीबीटीक्यूआईए प्लस समुदाय, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका युवाहरूलाई विशेष प्राथमिकता दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रशिक्षण सम्पन्न भएपछि सहभागीहरूले आ–आफ्नो प्रदेशका स्थानीय मुद्दाहरूमा आधारित मौलिक नाटक निर्माण गर्नेछन् । ती नाटकहरूलाई आगामी 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२८' तथा सम्बन्धित प्रादेशिक महोत्सवहरूमा मञ्चन गरिने योजना रहेको छ ।
