उच्च अदालतले क्षतिपूर्ती रकमसहित गायिकालाई ५५ लाख युरो भुक्तान गर्न पनि कर अधिकृतलाई आदेश दिएको छ ।
म्याड्रिड — कोलम्बियाली गायिका शाकिरामाथि स्पेनको कर अधिकृतले लगाएको कर छलीको मुद्दामा स्पेनको म्याड्रिडस्थित उच्च अदालतले गायिकाको पक्षमा फैसला गरेको छ । उच्च अदालतले क्षतिपूर्ती रकमसहित गायिकालाई ५५ लाख युरो (झन्डै ४८ लाख पाउन्ड) भुक्तान गर्न पनि कर अधिकृतलाई आदेश दिएको छ । कर कार्यालयका अधिकृतले भने आफुहरु पुनरावेदनका लागि सर्वोच्च अदालत जाने र अन्तिम फैसला नभएसम्म गायिकालाई कुनै पनि रकम भुक्तानी नगर्ने बताएका छन् ।
सोमबार जारी गरेको विज्ञप्तिमा अदालतले २०११ को कर मुद्दामा शाकिराको अपिललाई स्वीकार गरेको जनाएको छ । पाँच वर्षअघि म्याड्रिडको कर अधिकृतले २०११ मा शाकिराले स्पेनमा आवश्यक कर छली गरेको दाबी गर्दै जरिवाना लगाएपछि उनले अदालतमा अपील गरेकी थिइन् । कोलम्बियाली गायिका फुटबल खेलाडी जेरार्ड पिकेसँग सम्बन्धमा रहेपछि सन् २०११ मा स्पेनको म्याड्रिडमा बस्ने गर्थिन् । तर शाकिराले स्पेनमा १८३ दिनभन्दा बढी बसोबास गरेको प्रमाणित गर्न कर अधिकारीले नसकेको अदालतले बताएको छ । छ महिनाभन्दा कम समय बसेको अवस्थामा स्पेनमा व्यक्तिगत आय कर तिर्न बाध्यकारी हुनु नपर्ने नियम छ । अदालतले गायिका उक्त वर्ष स्पेनमा १६३ दिन मात्रै बसेकीले उनलाई व्यक्तिगत आय कर तिर्न बाध्य पार्न नसकिने उल्लेख गरेको छ ।
साथै, अदालतले कर कार्यालयलाई शाकिरालाई लगाएको जरिवाना, ब्याज र मुद्दा खर्चसमेत फिर्ता गर्न आदेश दिएको छ । यद्यपि यो फैसला सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने छ । यो केवल २०११ को मुद्दासँग मात्र सम्बन्धित छ । जबकी शाकिराले २०१२ देखि २०१४ सम्मको कर मुद्दामा भने नोभेम्बर २०२३ मा अभियोजनकर्तासँग सम्झौता गरेकी थिइन् । उनले साढे १४ लाख युरो कर नतिरेको आरोप स्वीकार गर्दै ५० प्रतिशत जरिवाना अर्थात् ७.३ लाख युरोभन्दा बढी रकम तिरेकी थिइन् । थप ४ लाख ३८ हजार युरो जरिवाना तिरेर तिन वर्षको जेल सजायबाट बचेकी थिइन् ।
फैसलापछि शाकिराका वकिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतले २०११ मा कुनै ठगी नभएको कुरा स्वीकार गरेको छ ।’ शाकिराले भने वक्तव्य जारी गर्दै पछिल्लो आठ वर्षभन्दा बढी समयदेखि आफुले अत्यधिक सार्वजनिक अपमान भोगेको र यसले आफ्नो सार्वजनिक प्रतिष्ठामा आँच आउनुका साथै व्यक्तिगतरूपमा निद्रा नलाग्ने समस्याका कारण स्वास्थ्यस्थिती बिग्रँदै गएको र पारिवारिक वातावरण पनि खल्बलिएको बताएकी छन् । ‘अन्ततः अदालतले न्याय स्थापित गरेको छ,’ शाकिराले भनेकी छन् । यस फैसलापछि स्पेनको कर कार्यालय र सेलिब्रिटीहरूबीचको कर विवादलाई पुनः चर्चामा ल्याईदिएको छ ।
नोभेम्बर २०१७ मा शकिराको ‘प्याराडाइज पेपर्स’ मा नाम आएपछि उनी विवादमा तानिएकी थिइन् । सोही वर्ष स्पेनी अधिकारीहरूले शकिराले तिरेको कर सम्बन्धमा अनुसन्धानको घोषणा गरेका थिए । अभियोजकहरूले उनले २०१२ र २०१४ को बीचमा स्पेनमा कर नतिरेको आरोप लगाएका थिए । जुलाई २०२१ मा एक स्पेनी न्यायाधीशले गायिकालाई कर छलीको आरोपमा मुद्दा चलाउन ‘पर्याप्त आपराधीक प्रमाण’ रहेको बताएका थिए ।
