सेनाको र्‍याप सङ : हामी केटा रेन्जर 

गीतमा सेनाको तालिम र युद्धकौशलका दृश्य पनि देखाइएको छ । साथै भिडियोमा ड्रोन सटहरूसमेत समावेश गरिएको छ ।

जेष्ठ ३, २०८३

कान्तिपुर संवाददाता

Army Rap Song: We Are Boy Rangers

काठमाडौँ — नेपाली सेनाले र्‍याप सङ 'रेन्जर' सार्वजनिक गरेको छ । नेपाली आर्मी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत अमलदार प्रताप मगरले गाएका हुन् । सेनाको इन्फर्मेसन अपरेसन डिभिजनको सहयोगमा उक्त गीत निकालिएको हो ।म्युजिक भिडियोको सहनिर्देशन सिद्धार्थ मोक्तान र निर्देशन वासुदेव धिमालले गरेका हुन् । 

गीतमा सेनाको तालिम र युद्धकौशलका दृश्य पनि देखाइएको छ । साथै भिडियोमा ड्रोन सटहरूसमेत समावेश गरिएको छ । 

यो भिडियोले २ लाख ५५ हजारभन्दा बढी भ्युज पाएको छ । सेनाले उक्त भिडियो आफ्नो फेसबुक पेजमार्फत पनि सार्वजनिक गरेको छ । फेसुबक रिलमा भने यस भिडियोले १९ लाख भ्युज पाएको छ ।

भिडियोबारे भने मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले गीतको प्रशंसा गरेका छन् भने कतिपयले आलोचनात्मक टिप्पणी पनि गरेका छन् । युट्युबमा अमित चन्द मण्डल नामबाट कमेन्ट गरिएको छ, 'जीवनमा सबै कुरा बिर्सिन सकिएला, तर नेपाली सेना बन्न नसकेको दुःख कहिल्यै बिर्सिन सक्दिनँ । देशको सेवा गर्ने सपना थियो ।'

त्यस्तै केहीले गीतको शब्द र भिडियो सम्पादनको समेत प्रशंसा गरेका छन् । दिपेन्द्र गहतराज लेख्छन्, 'हुन त मेरो उमेर सकिसक्यो फेरि पनि नेपाल आमालाई अप्ठ्यारो  परेको बेला र नेपाल आर्मीले बोलायो भने सदैव तयार ।'  त्यस्तै नेपाल प्रहरी र नेपाली सेनाले नयाँ पुस्ताको भावना बुझेको कुशल निरौलाको टिप्पणी छ ।

त्यस्तै दीपक श्रेष्ठ लेख्छन्, 'जेन-जी को सरकार भएपछि राष्ट्रसेवामा जेन-जीको आकर्षण हुनुपर्छ भन्ने सन्देश नेपाली सेनाको यो संगीत उपलब्धिमूलक सावित हुनेछ !'

त्यस्तै भुवन१३९४० नामबाट गीतबारे आलोचनात्मक टिप्पणी गरिएको छ, 'कहाँको जाग लम्क चम्क नौजवान हो जस्ता सुनौँ सुनौँ लाग्ने गीत ? अनि यो... र्‍याप ।'

कान्तिपुर

Link copied successfully