वितरक कम्पनी वार्नर ब्रोज क्लकवर्कले १६ अक्टोबरदेखि उत्तर अमेरिकाबाट पनि सार्वजनिक प्रदर्शनी थाल्दैछ । फिल्मलाइ ‘डाइरेक्टर्स कट’ मा पुनःप्रदर्शन गर्न लागिएको कम्पनीले जनाएको छ ।
What you should know
काठमाडौँ — धार्मिक विवाद र यौनजन्य दृश्यका कारण प्रदर्शनमा राेक लगाइएकाे फिल्म ‘द डेभिल्स’ लाई कान्स फिल्म फेष्टिभलले ५५ वर्षपछि रेड कार्पेट बिच्छ्याएको छ । केन रसेल निर्देशित यस फिल्मलाई कान्सको ‘क्लासिक’ फिल्मको सेक्सनअन्तर्गत प्रीमियर गर्न लागिएको हो ।
धार्मिक विवाद र यौनजन्य दृश्यका कारण प्रदर्शनमा राेक लगाइएकाे फिल्म ‘द डेभिल्स’ लाई कान्स फिल्म फेष्टिभलले ५५ वर्षपछि रेड कार्पेट बिच्छ्याएको छ । केन रसेल निर्देशित यस फिल्मलाई कान्सको ‘क्लासिक’ फिल्मको सेक्सनअन्तर्गत प्रीमियर गर्न लागिएको हो । ७९ औं संस्करणको कान्स मंगलबारदेखि २३ मेसम्म फ्रान्सको कान्स सहरमा चल्नेछ ।
अमेरिकाको फिल्म वितरण कम्पनी वार्नर ब्रोज क्लकवर्कले ‘द डेभिल्स’ लाई फोर–के प्रविधिमा नवीकरण गरेर देखाउन लागेको हो । यही कम्पनीले केनको फिल्मलाई १६ अक्टोबरदेखि ग्लोबल रिलिज अन्तर्गत उत्तर अमेरिकाबाट पनि प्रदर्शनी थाल्दैछ । सन् १९७१ मा प्रदर्शनका क्रममा नै सेन्सरको निकै झमेला ब्योहोरेको यस फिल्म ‘डाइरेक्टर्स कट’ मा पुनःप्रदर्शन गर्न लागेको वितरण कम्पनीले जनाएको छ ।
१९५२ को गैर आख्यान ‘द डेभिल्स अफ लुडन’ माथि मन्चन गरिएको नाटक ‘द डेभिल्स’ मा नै आधारित हरर जनराको यस फिल्मबाट केन रसेलले ३३ औं भेनिस फिल्म फेष्टिभल तथा न्युयोर्कको नेशनल बोर्ड अफ रिभ्यूमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए ।
फ्रान्सको लुडनमा सम्पत्ति हत्याएपछि बोक्सीविद्याको आरोप लागेका १७ औं शताब्दीका रोमन क्याथोलिक पादरी अर्बेन ग्रान्डियरलाई उनकै सहयोगी (नन) सिस्टर जीन डेस एन्जेसले यौन पिपासुको आरोप लगाएपछि पादरीको ऐतिहासिक नाटकीय पतनलाई फिल्मले कथानक बनाएको छ । ‘द डेभिल्स’ लाई सर्वकालीन सर्वाधिक विवादस्पद फिल्मकारूपमा चिनिन्छ, जसलाई फिनल्यान्डले ३० वर्षसम्म प्रदर्शनमा रोक लगाएको थियो ।
फिल्म इतिहासकार टिम लुकास ‘द डेभिल्स’ को उदाहरण पेश गर्दै सरकार जब चर्चसँग नजिकको सम्बन्ध राख्छ तब सबैभन्दा अनैतिक हुने गरेको र त्यसमा फिल्मकर्मी, दार्शनिक वा प्रगतिशीलहरूलाई बलिको बोका बनाइने इतिहास रहेको टिप्पणी गर्छन् । त्यसैगरी, फिल्म विज्ञ थोमस एट्किन्स ‘द डेभिल्स’ मा धर्म र राजनीतिक प्रभाव सम्बन्धी स्पष्ट विषयवस्तुहरू भएपनि फिल्म ‘यौन र यौन विकृति’ मा बढी केन्द्रित रहेको तर्क गर्छन् । सिस्टर जीनको चरित्रका बारेमा टिप्पणी गर्दै उनी फिल्ममा रहेका ‘कामुक काल्पनिक दृश्यहरू’ चरित्रको विकृत चेतनाको उपजका रूपमा अर्थ्याउँछन् ।
तर अधिकांश समीक्षकले ‘द डेभिल्स’ लाई ‘अश्लील’ भएको भन्दै नकारात्मक आलोचना पनि गरेका छन् । भ्याटिकनले त यस फिल्मको सार्वजनिक निन्दा गर्दै भेनिस फिल्म फेष्टिभलमा यसको प्रदर्शन रोक्न समेत आग्रह गरेको थियो । सिकागो सन–टाइम्समा समीक्षक रोजर एबर्टले यस फिल्मको रेटिंग शून्य दिएका थिए भने द न्युयोर्करका पाउलिन कायलले निर्देशक रसेललाई ‘हिस्टेरिया’ को रोगी भएको तर उपचार गर्नुको साटो यसलाई बजारीकरण गरेको आरोप लगाएकी छन् । ‘समीक्षकहरु फिल्म हेरेर पागल भएपनि दर्शक भने उत्तेजित देखिन्थे’ उनले भनेकी थिइन् ।
लस एन्जल्स टाइम्समा चार्ल्स च्याम्पलिनले त यस फिल्मलाई ‘मानवता विरोधी’ भनी लेखेका थिए । टाइमआउट म्यागाजिनले २०१५ मा निकालेको फिल्म इतिहासका सर्वाधिक विवादित ५० फिल्मको सूचीमा ‘द डेभिल्स’ लाई पनि ४७ औं स्थानमा राखेको थियो ।
