७९ औं संस्करणको कान्सका लागि विश्वभरबाट २ हजार ५ सय ४१ फिल्म दर्ता भएका थिए । यसमा नेपालबाट अविनाशविक्रम शाहको निर्देशन रहेको फिल्म ‘इलाफेन्ट्स इन द फग’ (तिनीहरू) ले पनि प्रतिस्पर्धा गर्दैछ । ‘अन सर्टेन रिगार्ड’ टाइटलका लागि शाहको फिल्मले अन्य १७ फिल्मसँग प्रतिस्पर्धा गर्दैछ ।
What you should know
काठमाडौँ — फ्रेन्च फिल्म ‘द इलेक्ट्रिक किस’ को प्रदर्शनीसँगै सुरू हुने फिल्म प्रदर्शनीको म्याराथनमा पाल्म डी’ओर अवार्डका लागि तीन महादेशका २२ फिल्मको मुख्य प्रतिस्पर्धा रहनेछ । जसमा पाँच महिला निर्देशकका फिल्म पनि अटाएका छन् ।
विश्व सिनेमा संसारमा प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलको १२ दिने महोत्सव मंगलबारदेखि फ्रान्सको कान्स सहरमा सुरू हुँदैछ । फ्रेन्च फिल्म ‘द इलेक्ट्रिक किस’ को प्रदर्शनीसँगै सुरू हुने फिल्म प्रदर्शनीको म्याराथनमा पाल्म डी’ओर अवार्डका लागि तीन महादेशका २२ फिल्मको मुख्य प्रतिस्पर्धा रहनेछ । जसमा पाँच महिला निर्देशकका फिल्म पनि अटाएका छन् ।
७९ औं संस्करणको कान्सका लागि विश्वभरबाट २ हजार ५ सय ४१ फिल्म दर्ता भएका थिए । यसमा नेपालबाट अविनाशविक्रम शाहको निर्देशन रहेको फिल्म ‘इलाफेन्ट्स इन द फग’ (तिनीहरू) ले पनि प्रतिष्पर्धा गर्दैछ । ‘अन सर्टेन रिगार्ड’ टाइटलका लागि शाहको फिल्मले अन्य १७ फिल्मसँग प्रतिस्पर्धा गर्दैछ । यस क्याटेगोरीका फिल्महरू फेस्टिभलका मुख्य प्रतिस्पर्धी फिल्महरूको प्रदर्शनीकै समयमा समानान्तररूपमा देखाइनेछ ।
ओस्कर अवार्डको प्रतिबिम्बका रूपमा समेत हेरिँदै आएको कान्स फेस्टिभलमा गतवर्ष नर्वेको फिल्म ‘सेन्टिमेन्टल भ्यालु’, पोर्चुगलको पोलिटिकल थ्रीलर फिल्म ‘द सेक्रेट एजेन्ट’ वा इरानी पोलिटिकल थ्रीलर फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ ले ओस्करमा समेत बलियो उपस्थिति जनाएका थिए । कान्सबाट वर्ल्ड प्रीमियर गरेको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ ले फेस्टिभलको मुख्य उपाधि पाल्म डी’ओर मात्र जितेन, ओस्करमा समेत विदेशी भाषी फिल्म र पटकथाका लागि मनोनयमा परेको थियो । गतवर्षको कान्समा सर्वाधिक चार अवार्ड जितेको ‘द सेक्रेट एजेन्ट’ ओस्करमा पनि उत्कृष्ट फिल्मसहित चार विधामा मनोनयन परेको थियो । त्यस्तै, कान्समा ‘ग्रान्ड प्रिक्स’ जितेको ‘सेन्टिमेन्टल भ्यालु’ ओस्करमा नौ विधामा मनोनयनमा पर्दै गतवर्षको उत्कृष्ट इन्टरनेसनल फिचर फिल्मको उपाधि जितेको थियो ।
पछिल्ला वर्ष ‘पारासाइट’ र ‘एनोरा’ जस्ता फिल्मले कान्सहुँदै ओस्करसम्मको सुखद बाटो तय गरिसकेका छन् । यसवर्ष पनि कान्समार्फत वर्ल्ड प्रीमियर हुँदै गरेका यी १० फिल्मले ओस्करसम्म प्रशंसा बटुल्ने अनुमान गरिएको छ ।
होप
ना हङ–जिन आफ्ना केही कोरियाली सहकर्मी फिल्ममेकर जस्तो विश्वप्रसिद्ध निर्देशक भइसकेका त होइनन्, तर पनि उनी यस वर्ष साइन्स फिक्सन थ्रीलर फिल्म ‘होप’ मार्फत विश्व सिनेमा जगतमा जबरजस्त ‘इन्ट्री’ मार्दैछन् । १७ मेमा वर्ल्ड प्रिमियर हुँदै गरेको यस फिल्मका बारेमा कान्सकै कला निर्देशक थिएरी फ्रेमाक्सले ‘विद्यमान फिल्मका जनरामा बदलाव ल्याउन सक्ने’ भनी टिप्पणी गरेका छन् ।
झन्डै तीन वर्ष लगाएर खिचिएको ‘होप’ ले अत्यन्त सुरक्षित र सैन्य क्षेत्र नजिकैको दुर्गम गाउँ होप हार्बरमा एउटा बाघ देखा परेको शंका लागेपछि स्थानीय प्रहरी प्रमुख बुम–सियोकलाई खबर गरिन्छ । गाउँले ठूलो त्रासबाट गुज्रिरहेका बेला घटनाले कालान्तरमा थप डरलाग्दा रहस्योद्घाटन गर्दै लग्छ र गाउँलेले अज्ञात शक्तिको सामना गर्न बाध्य हुन्छन् । यस फिल्ममा कोरियाली र हलिउड कलाकारको अभिनय रहेको छ ।
पेपर टाइगर
सुरुवातमा कान्सको प्रतिस्पर्धी खण्डमा नरहे पनि पछि पाल्म डी’ओरकै मुख्य प्रतिस्पर्धामा समावेश जेम्स ग्रे निर्देशित फिल्म ‘पेपर टाइगर’ यतिबेला चर्चाको केन्द्रमा छ । पाल्म डी’ओरका लागि छैटौं पटक भिडिरहेका ग्रेले यसअघि ‘आर्मगेडन टाइम’ र ‘द इमिग्रेन्ट’ जस्ता सफल फिल्म बनाइसकेका छन् । ‘पेपर टाइगर’ ले अमेरिकी सपनाको पछि लागेका दुई दाजुभाइहरू कसरी रूसी माफियाको ग्याङमा मिसिन पुग्छन् भन्ने कथा भन्छ ।
फजोर्ड
यो फिल्म केही कारणले चर्चित छ भने त्यो यसका निर्देशक, निर्माता तथा लेखक क्रिष्टियन मुन्गिउका कारण छ । यसअघि २००७ को कान्समा ‘फोर मन्थस्, थ्री विक्स एन्ड टू डेज’ का लागि पाल्म डी’ओर तथा २०१२ मा ‘वियोन्ड द हिल्स’ का लागि पटकथा र २०१६ मा ‘ग्राजुएसन’ का लागि उत्कृष्ट निर्देशकको कान्स जितिसकेका उनी २०२२ को ‘आरएमएन’ पछि पाँचौ पटक ‘फजोर्ड’ का लागि पाल्म डी’ओरका लागि भिड्दैछन् ।
फिल्म रोमानियन बुबा र नर्वेजियन आमासहितको जोर्घिउ परिवार आमाको जन्मथलो (नर्वेको एउटा दुर्गम गाउँ) मा बसाई सर्छ । त्यहाँ छिमेकी हालबर्ग परिवारसँग निकटता बढ्छ । तर जब जोर्घिउ परिवारका सदस्यहरूलाई हालबर्ग परिवारले आफ्ना बच्चाहरूसँग खराब व्यवहार गरेको आरोप लागेपछि घटनाक्रमले नयाँ मोड लिंदै जान्छ र, उनीहरू गाउँकै आलोचनाको केन्द्रमा पर्छन् ।
टिनएज सेक्स एन्ड डेथ एट क्याम्प मिआस्मा
नेपालको अविनाशको फिल्म ‘इलाफेन्ट्स इन द फग’ सँगै ‘अन सर्टेन रिगार्ड’ सेक्सनको प्रतिस्पर्धामा रहेको जेन शोएनब्रुन निर्देशित यस फिल्ममा दुई महिलाले सँगै काम गर्ने क्रममा मनोयौन उन्मादमा फस्दै जाने कथा भनिएको छ । शोएनब्रुनले यसअघि २०२४ को ‘आई स द टिभी ग्लो’ र २०२१ को ‘वी आर अल गोइङ टु द वर्ल्ड्स फेयर’ मार्फत आफूलाई समकालीन अमेरिकी फिल्ममा एक महत्त्वपूर्ण फिल्मकर्मीको रूपमा स्थापित गरिसकेकी छन् ।
फादरल्यान्ड
पोल्यान्डका निर्देशक पावेल पाव्लिकोभस्कीले यसपटक कान्समा ‘फादरल्यान्ड’ ल्याउनु अघि नै २०१३ मा ‘इडा’ का लागि ओस्कर र ‘कोल्ड वार’ का लागि २०१८ मा उत्कृष्ट निर्देशकको कान्स जितिसकेका थिए । बायोपिक ‘फादरल्यान्ड’ ले एक जर्मन उपन्यासकारको जीवनी भन्छ जो शीत युद्धका क्रममा आफ्नी छोरीसहित पश्चिम जर्मनीको फ्रयांकफर्टदेखि पूर्वी जर्मनीको वेइमरसम्मको सडक यात्रामा निस्केको छ ।
अल अफ अ सडन
२०२१ को फिल्म ‘ड्राइभ माई कार’ ले जापानी निर्देशक रियुसुके हमागुचीलाई फिल्मको विश्वमञ्चमा चिनायो । ओस्करमा उत्कृष्ट विदेशी फिल्म बनेको ‘ड्राइभ माई कार’ बाट हमागुचीले कान्समा पटकथासहित तीन अवार्ड जितेका थिए । २०२३ मा ‘इभिल डज नट एक्जिस्ट’ बाट भेनिस फिल्म फेस्टिभलको जुरी अवार्डसमेत पाएका हमागुचीले ‘अल अफ अ सडन’ मा एक नर्सिङ होम निर्देशक र एक गम्भीर बिरामी जापानी नाटककारको बारेमा कथा भन्ने प्रयास गरेका छन् ।
सिप इन द बक्स
१६ मेमा कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गर्न लागिएको ‘सिप ईन द बक्स’ का निर्देशक हिरोकाजु कोरिडा २०१३ को फिल्म ‘लाइक फादर, लाइक सन’ बाट विश्व चर्चित भएका थिए । उक्त फिल्मले हिरोकाजुलाई कान्समा जूरी अवार्ड दिलाएको थियो । पछि २०१८ मा त उनले ‘सपलिफ्टर्स’ बाट फिल्म मेकिङमा छलाङ नै मारे । जून फिल्मले कान्समा पाल्म डी’ओर मात्र नभई ओस्करमा विदेशीभाषी फिल्मको अवार्ड समेत जितेको थियो ।
कमजोर मानवतावादको विषयमा फिल्ममार्फत बलियो वकालत गर्दै आएका हिरोकाजुको साई–फाई फिल्म ‘सिप इन द बक्स’ ले छोराको मृत्युमा शोक मनाइरहेको एक दम्पतीको कथा भन्छ, जो पछि मानवनिर्मित रोबोटलाई आफ्नो धर्मपुत्र बनाउँछन् ।
द म्यान आई लभ
इरा स्याक्स निर्देशित यस म्युजिकल फेन्टासी फिल्मले १९८० को दशकको अन्त्यतीर जीवन मृत्युको दोसाँधमा बाँचिरहेको न्युयोर्कको एक बिरामी अभिनेता जिम्मी जर्जको कथा बोकेको छ । प्राणघातक रोगबाट पीडित ती अभिनेता जो जीवनको अन्तिम तर महत्त्वपूर्ण भूमिकाका लागि तयारी गरिरहेका छन् । जिम्मीको उक्त भूमिकामा रामी मलेकले अभिनय गरेका छन् ।
द अननोन
फ्रान्सेली फिल्म निर्देशक आर्थर हरारीले तीन वर्षअघि पाल्म डी’ओर विजयी फिल्म ‘एनाटोमी अफ अ फल’ का लागि जस्टिन ट्रिएटसँग सह–लेखन गरेका थिए । साइकोलोजिकल फेन्टासी ‘द अननोन’ मा हरारीले एक फोटोग्राफरको बारेमा कथा भनेका छन् । पार्टीमा एक महिलाको फोटो खिचेपछि उक्त फोटोग्राफरले महिलालाई पछ्याउन थाल्छ र ब्युँझदा महिलाको शवमाथि हुन्छ ।
मिनोटौर
२०१४ को ‘लेभियाथन’ र २०१७ को ‘लभलेस’ बाट ओस्करको इन्टरनेसनल फिचर फिल्ममा मनोनीत भइसकेका रूसी फिल्म निर्देशक एन्ड्रे ज्भ्यागिन्त्सेभ यतिबेला रूसको एक ग्रामीण भेगमा काम गर्ने एक व्यवसायी ग्लेबको कथा लिएर कान्स आएका छन् । कोरोना महामारीको समयमा बालबाल बचेका एन्ड्रेले यस फिल्ममा आफ्नी पत्नी एक मजदुरसँग सम्बन्धमा रहेको थाहा पाएपछि उक्त व्यवसायीले गर्ने क्रियाकलापलाई समेटेका छन् ।
